कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सम्झनामा एउटा गीत

फूलमान वल

रेडियो नेपालमा यो गीत बज्दै गर्दा म प्राय: सुन्तला बगैंचामा झार उखेलिरहेको हुन्थें या साँघुचौरको आँपघारीमा घाँस काट्दै । बुवाले सहरबाट किनेर ल्याउनुभएको जापानी टेप रेकर्डर हमेसा मै बोकेर हिँड्थें ।

सम्झनामा एउटा गीत

चुरियामाई कसम खाएर, 
कान्छीलाई पिरती गाँसौंला 
फापरबारी बजार घुमेर, 
तामाङ सेलोमा नाँचौंला 
हुरहुर मैच्याङ हुरहुर...

पछि यो आफन्तबाटै चोरी भयो । तर, रेडियोमै सुनेर कण्ठस्थ पारेपछिका दिनहरूमा चाहिँ ‘चुरिमाई कसम खाएर...’ गीत मेरो गोठालो जाँदाको अभिन्न साथी बन्यो । गीतमा प्रयुक्त शब्द र लयले यस्तो लोभलाग्दो सामीप्य दिएछ कि कलेज पढ्न काठमाडौं पस्दा पनि मैले यही गीत बोकेर आएँ । 
२०५५ को हिउँद । रत्नराज्य लक्ष्मी क्याम्पसमा राष्ट्रिय लोक गीत प्रतियोगिता गरेको थियो स्वतन्त्र विद्यार्थी युनियनले । साथी सूर्यजित लामासँगै मैले पनि यो प्रतियोगितामा भाग लिएँ । त्यतिखेर वैदेशिक रोजगारको चकचकी सुरु भइसकेको थिएन । ‘मुग्लान जाने’ शब्दचाहिँ निकै प्रचलनमा थियो । सहर आएपछि मैले गाउँ सम्झिँदै मुग्लान जानेको मनोदशा समेटेर एउटा गीत लेखेको थिएँ—
मुग्लानी भएको म तिम्रो, 
गाउँघरको मायालाई सम्झेर 
फर्केर आउँदै छु हे आमा, 
सम्झना मुटुमा बोकेर... 

सूर्यजित र मैले यही गीत गाएँ । लय भने ‘चुरियामाई कसम खाएर...’ बाटै सापटी लिएका थियौं । हामीले दोस्रो स्थान जित्यौं । सबैबाट वाहवाही पायौं । अहिलेका चर्चित सेलो गायिकाद्वय तुलसा वाइवा र इन्दिरा योञ्जन हामीलाई खोज्दै आए । चिनापर्ची भयो । 
त्यतिन्जेल मलाई ‘चुरियामाई कसम खाएर...’ गीतको ‘लोकेसन’ थाहा थिएन । गीतमा प्रयुक्त ‘फापरबारी’ र ‘चुरियामाई’ बारे बेखबर थिएँ । पछि बुझ्दै गएँ, गायक रामबहादुर जिम्बा रेडियो नेपालकै वाद्यवादक हुनुहुँदोरहेछ । घर सर्लाही । चुरे भावर क्षेत्रको यो तामाङ लोकलयमा जिम्बाले त्यही आसपासको समाज र कल्चरल लोकेसन समेट्नुभएको रहेछ । अब मनमा ‘फापरबारी’ को अमूर्त स्केच नाचिरहन थाल्यो । लामो समय मकवानपुरको ‘फापरबारी बजार’ कस्तो होला भन्ने सोचिरहें । सुन्दै नसुनेको चुरे क्षेत्रप्रति एकप्रकारको सम्मोहन पैदा भइरह्यो । 
यसको कारण गीतको लय नै थियो । एकपटक सुन्दैमा टिप्न सक्ने यो गीतको लय–माधुर्य मैले तिमाल क्षेत्रमा सुन्दै आएको तामाङ सेलोभन्दा भिन्न थियो । कलेज बिदाको बेला गाउँ फर्किंदा मैले तीनताका तन्नाको पर्दा हालेर मञ्चन हुने केही ग्रामीण नाटकमा ‘मुग्लानी भएको म तिम्रो...’ गाएँ । स्कुलमै छँदा हामीले झलकबहादुर आले, डिल्लीमान दोङ, आसमान तामाङलगायतका साथीहरूसित मिलेर ‘झिल्को’ नामक सांस्कृतिक समूह बनाएका थियौं र गिटार बजाउँदै मैले ‘मुग्लानी भएको म तिम्रो...’ गाउँदा आमा, दिदी र बहिनीहरू आँखाभरि आँसु बोकेर सुनिरहन्थे । 
जतिखेर यो गीत गाउँथें, मनमा रामबहादुर जिम्बाको तस्बिर जिउँदो भएर आउँथ्यो । तिनताक रेडियो नेपालमा उहाँको अर्को गीत पनि खुब बज्थ्यो, ‘गाई–भैंसीलाई बाँधेको किला, माया लाउन मिल्ला कि नमिल्ला... ।’ पछि थाहा भयो, रेडियो नेपालमा उहाँको मुख्य जागिर बाँसुरीवादकको रहेछ । चार दर्जनभन्दा बढी लोकगीतसमेत गाएका उहाँसित मादल, डम्फु, ढोलकको विज्ञतासमेत रहेछ । 
मैलेचाहिँ कलेज पढ्न थालेको केही वर्षमै काठमाडौं छोडें । विद्यार्थी राजनीतिको कारण । पछि अखिल काभ्रेको अध्यक्ष र केन्द्रीय सदस्य हुँदा काभ्रेकै डाँडापारि क्षेत्र जानुपर्ने भयो । यो क्षेत्र अहिले पनि निकै विकट मानिन्छ । पनौती, कामीडाँडा हुँदै थामको लेक (महाभारत) उक्लेर बागमती नदी झर्ने रुटमा हिउँ परेको कारण हामीले तराईको बाटो समाउनुपर्ने भयो । खासमा म भित्रैदेखि त्यस्तै चाहन्थें, किनभने हेटौंडा हुँदै तराईको बाटो काभ्रे पस्दा बीचमा मकवानपुरको फापरबारी पथ्र्यो र म त्यहाँ कुनै पनि हालतमा जान चाहन्थें । 
रामबहादुर जिम्माको गीतकै कारण फापरबारीसित म यति सम्मोहित भएको थिएँ कि, मानांै ‘फापरबारी’ मा पूर्वजुनीका मेरा कोही आफन्तहरू पर्खिबसेका छन् । यो एउटा गीतको शक्तिको कारण भएको थियो । 
अन्तत: फापरबारीले तानेरै छाड्यो । 
डाँडापारिकै साथी हर्कबहादुर गोलेसित म २०५८ सालको हिउँदमा हेटौंडा पुगें । त्यहाँबाट पहिलो दिन लोकल बसमा कहाँसम्म गयौं र बास कहाँ बस्यौ बिर्सें । दोस्रो दिनचाहिँ ट्याक्टरमा थियौं । चुरे क्षेत्रका अग्ला–होचा स–साना थुम्काहरू, जंगल, नागबेली खोलाहरूसहितको ल्यान्डस्केप पार गर्दै ट्याक्टर अघि बढेको सम्झना मस्तिष्कमा अझै कैद छ । द्वन्द्वकालको समय थियो । हर्कबहादुर बेला–बेला सजग गराइरहन्थे । मनमा ठूलो भयको बीच फापरबारीको तस्बिर नाचि नै रहेको थियो । 
हामी फापरबारी पुग्दा दिउँसोको तीन बजेको थियो । तर, फापरबारी त हुस्सुले छोपिएर साँझ परेको जस्तै पो देखियो । बाटो आसपास टिन र काठका छानाहरू देखिए, तर महाभारत, चुरे र तराई जोड्ने यो पुरानो बजार किन यतिविधि सुनसान ? बाटोको दुईतर्फी लस्करै उभिएका छाप्रोहरू किन मलामी गएजस्तै मलीन छन् ? रामबहादुर जिम्बाको गीतमा सुनेको फापरबारी त जात्रामय थियो । मैच्याङ र च्याङबाहरू हुरहुर गर्दै नाच्थे । किनमेल गर्थे । त्यो फापरबारीमा जीवन थियो । यो फापरबारीमा कुनै लय थिएन । 
मैले ट्याक्टर रोक्न चाहें । तर, हर्कबहादुरले मानेनन् । उनका अनुसार द्वन्द्वयता यो बजार भयमा बाँच्दै छ । हुस्सुभित्र सुनसान फापरबारीलाई छोड्दै अघि बढ्दा मन नराम्रोसित उराठियो । शताब्दीऔं अघि मैले पूर्वजुनी लिएको आदिम थलोजस्तै लाग्दै थियो फापरबारी । गायक रामबहादुर जिम्बालाई सम्झें । सोचें— पुराना टिन र काठको टेस्क्चरले झनै आदिम बनाएको यो बस्तीमा मैच्याङ र च्याङबाहरूको दु:खका कतिवटा युग गुज्रिए होलान् ? 
फर्किंदा हिउँ पग्लिसकेको हुनाले हामी लेककै बाटो बनेपा फर्कियौं । फापरबारीसित फेरि भेट हुन पाएन । तर, जिम्बाको गीतसित भने भेट भइ नै रह्यो । 
तीन वर्षअघि सेलो थिएटरले भक्तपुरमा एउटा नाटक कार्यशाला राख्यो । स्थानीय निर्वाचन नहुँदा गाउँमा आइपुर्ने समस्यामाथि नाटक ‘ठि थान थान’ (कुर्सी खाली छ) बन्दै थियो । नाटकको सुरुआतमै डान्स स्टेप राख्न कुनै तामाङ लोकलयमा आधारित गीत चाहियो भने सेलोका साथीहरूले । मैले झट्ट गायक जिम्बाको त्यही ‘चुरियामाई कसम खाएर...’ सम्झें । काभ्रेमा गर्ने नाटक भएकाले ‘चुरियामाई’ र ‘फापरबारी’ ले त काम गर्दैन थियो, मैले ‘नमोबुद्धको मेलैमा, भेट भएको बेलैमा...’ बोलको गीत लेखिदिएँ । सेलोले यसलाई लोकगायक जिम्बाकै लयमा प्रस्तुत गर्‍यो । 
यतिन्जेल मैले ‘चुरियामाई कसम खाएर....’ सुनेको झन्डै साढे दुई दशक बितिसकेको थियो । भन्नेहरू काठमाडौं सहर सानो र साँघुरो छ भन्छन्, तैपनि गायक जिम्बासँग भेट हुनै सकेन । प्रचारबाजीका लागि सञ्चारकर्मी खोज्दै हिँड्ने स्वभावको भएको भए सायद उनीसित भेट हुन्थ्यो पनि होला, तर सेलो गायक फूलकुमार बमजनका अनुसार उनी सालीन व्यक्तित्वको धनी, प्रचारबाजीमा नलाग्ने र भद्र थिए । २०४८ मा पहिलोपटक गणेश हिमाल आसपासको लोकगीत ‘म्हेन्दोमाया’ रेकर्ड गर्ने क्रममा रेडियो नेपाल पुगेर जिम्बासित भेटेका लेक योञ्जन तामाङ पनि त्यसै भन्छन् । २०४० देखि रेडियो नेपालमा प्रवेश गरेर नेपाली लोकबाजासँगै पश्चिमा बाजा ‘एकर्डियन’ वादकको रूपमा नाम कमाएका उनै जिम्बाको सोमबार हृदयाघातबाट निधन भएको खबर सुन्नुपर्‍यो । उनको गीतसित जोडिएका क्षणहरू सम्झेर निकै भावुक भएँ । उनले संकलन गरेको चुरे भावर क्षेत्रको लयलाई सापटी लिएर कुनै समय गीत गाउँदै हिँडेको कुरा सुनाउने ठूलो धोको थियो । ५१ वर्षअघि सर्लाहीमा मायाकुमारी थिङ र टीका जिम्बाको सन्तानको रूपमा जन्मिएका उनीसित अब भेट सम्भव छैन, तर उनका सिर्जनाहरूमार्फत भने बारम्बार भेट भइ नै रहनेछ । 

प्रकाशित : असार ३, २०७४ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?