कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंक बुक !

गम्भीर साहित्य दोस्रो संस्करणको माग बजारमा भयो भने लेखकले आफूलाई भाग्यमानी ठाने हुन्छ ! तेस्रो, चौथो र अझ बढी संस्करणमा पुग्ने त अग्घोर भाग्यमानी साहित्यकार हुन् ।
राजेन्द्र पराजुली

कागजमा छापिएर आउने सबै पुस्तकाकार थोक साहित्य हुन् ? कि वाङ्मय मात्रै ? वाङ्मय र साहित्यबीचको फरक रेखा कहाँ र कसरी कोरिएको छ ? आधुनिक बजारशास्त्रमा यो रेखाको कुनै अर्थ छ कि छैन ?

जंक बुक !


नेपाली शब्दकोशले साहित्य र वाङ्मयको अर्थ फरक–फरक बताएको छ । वाङ्मय भन्नाले ‘गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुवै प्रकारका समस्त भावबद्ध रचनाहरूको समूह, ग्रन्थ’ हो । साहित्यको अर्थचाहिँ ‘जीवन र जगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ’ लाई बुझाउँछ । यसले यी दुई तत्त्वबीचको पृथकतामा झिनो अन्तर देखाए पनि साहित्यमा ‘मान्छे’, ‘माटो’ ‘समय’ र ‘जीवन’ उभिनैपर्ने अवस्था चित्रण गरेको बुझ्न सकिन्छ ।
रूपमा वाङ्मयको आयतन फराकिलो देखिन्छ, सारमा साहित्य गहिरो र गम्भीर । वाङ्मय निर्माण गर्न सकिन्छ, त्यसमा उचाइ, लम्बाइ–चौडाइ (शब्द परिमाण) थप्न वा घटाउन सकिन्छ, त्यो दिमागको उपज हो । साहित्य सिर्जना गरिन्छ, त्यसमा मन र भावना हुन्छ अनि दिमागको हिस्सा न्यून मात्रै मिसिन्छ । तीसको दशकमै आयामेली लेखकहरूले साहित्यको लम्बाइ, चौडाइका साथै गहिराइको कुरा गरेकै हुन् । त्यसकारण पनि भन्न सकिन्छ— मान्छेको कथा साहित्य हो भने अक्षरमा कुँदिएका अर्थोक वाङ्मय । त्यसो भए चम्किएको हिमाल, अनवरत बहने नदी, समुद्र, फूल वा अन्य त्यस्तै प्रकृतिको वर्णन साहित्य होइन ? जवाफ पनि हाम्रा अघिल्तिरै छ— त्यो वाङ्मय हो, साहित्य नै हो भने पनि त्यो स्वान्तसुखाय हो । स्वान्तसुखाय साहित्यले लेखकलाई केही आनन्द दिए पनि त्यसको प्रभाव दिगो रहँदैन । किनकि, त्यसले मान्छेको कथा भन्दैन र माटोको सुगन्ध पनि छर्दैन न त त्यसले समयको प्रतिनिधित्व नै गर्छ ।
नेपाली साहित्यमा पछिल्लो समय उपन्यास र आत्मकथाको बाढी आएको छ । भए–नभएका कुरा तथा घटनामा फूलबुट्टा भर्दै जीवनका सफलतालाई लेखिदिँदा पनि ती आत्मकथामा दरिन पुगेका छन् । आफ्नै अन्तर्वार्ता, संस्मरण वा रिपोर्ताज अनि निबन्धात्मक रचना राखेर पनि आत्मकथाका पुस्तकलाई मोटो पारिएको छ ! आत्मकथा हुन पुस्तकमा के–के तत्त्व आवश्यक पर्छन् भन्नेबारे न त लेखकलाई थाहा भयो न लेखिदिने (गोस्टराइटर) वा सम्पादकलाई नै ! पुस्तकको मूल शीर्षकमुन्तिर ‘आत्मकथा’ लेखिदिए पुगिहाल्यो ! त्यो बजारमा आत्मकथाका रूपमा प्रचारित भइहाल्छ । पद, पैसा र सञ्चारमाध्यमको साथ पाएपछि त त्यो ‘दशककै उत्कृष्ट कृति’ मा दरिन पुगिहाल्छ । कृतिकारले सम्मान–पुरस्कार पाउने क्रम सुरु भइहाल्छ, दोसल्ला र माला पहिरनु त सामान्य कुरा भइगयो ! त्यसको बिक्री परिमाण उच्च हुन्छ, तर त्यो किन्ने सबैले पढ्छन् नै भन्नेचाहिँ कुनै निश्चितता छैन । घरमा किताब थुपारेर अरूलाई बौद्धिक वा पढैया भनाउन चाहनेको जमात कहाँ सानो छ र ! उसै पनि फूलका गमलाले भन्दा किताबले कोठा सजाउनु धेरै कोणबाट फाइदाकारी छ । समकालीन पुस्तामा पुस्तक पढ्दै नपढी ‘वाह’ भन्ने तथा ‘छि:’ भन्नेको कमी छैन । साहित्यमा पनि सिन्डिकेट, गुट–उपगुट, राजनीतिक आस्था, क्षेत्रगत हेराइ थप असरकारी र बलशाली बन्दै गएको छ ।
उपन्यास र आत्मकथाबाहेक अन्य विधालाई साहित्य नै होइन भनेजस्तो व्यवहार हुन थालेको छ । कथा, नाटक, कविता, निबन्ध, गीत–गजल यतैकतै हराएका छन् । तिनलाई साहित्यको सहायक विधाका रूपमा हेर्न थालिएको छ । ती सहायक कुनै पनि कोणबाट होइनन्, साहित्यका मूल विधा हुन्, प्रभावकारी विधा हुन् ।
आधुनिक उपन्यासले समातेको टेकोमा ‘यौन र रोदन’ प्रमुख बन्न पुगेको छ । यदाकदा त्यसमा आग्रह–पूर्वाग्रह पनि मिसिनाले त्यो उपन्यास नबनेर कुनै दल, क्षेत्र वा समूह, जातविशेषको टिप्पणी तथा घोषणापत्रजस्तो पनि बन्न पुगेको छ । आग्रहलाई पनि कलाको प्रचुरताले छोपिदिने सामथ्र्य हुँदो हो त त्यो साहित्य बन्थ्यो, रुचिकर कृतिमा दरिन्थ्यो । अब त कतिपय सरकारी, गैरसरकारी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थाले पनि पुस्तक लेख्न आर्थिक सहयोग गर्न थालेका छन् । त्यस्तो अवसर प्रतिभावान्ले मात्र पाउँछन् भन्नका खातिर त्यसको नाम ‘फेलोसिप’ बनाइएको छ । फेलोसिप पाउनेले युरोप, अमेरिका वा अन्य त्यस्तै देशको भ्रमण गर्ने मौका पनि पाएका छन् । र, ती किताब ‘निर्माण’ मा जुटेका छन् । तर, विधा तोकिएको छ— उपन्यास, कथा, निबन्ध, कविता, संस्मरण वा आत्मकथा !
स्थापित, चर्चित, ख्याति प्राप्त, प्रगतिशील, लोकतान्त्रिक विशेषण पाएका साहित्यकार नै पनि डलर, पाउन्ड वा युरोमा किताब निर्माण गर्न पाउँदा खुसी नहुने कुरै भएन । यसलाई किमार्थ नराम्रो कार्य भन्न खोजिएको होइन । तर, यस्ता ‘समस्यापूर्ति’ उद्देश्यबाट प्रेरित कतिपय विषयमा स्थापित लेखकले कलम चलाउँदा पनि आधिकारिक बन्न सकेको छैन । उपन्यास वा अन्य कृतिमा उठाइएका विषयको अन्तरतम गहिराइमा पुग्न नसक्नाले ती सतही लेखनी वा प्राविधिक रूपमा गलत पनि हुन पुगेका छन् । अग्लो बरन्डामा बसेर वा दैनिक पत्रिका, टेलिभिजन अथवा अन्य सञ्चारका माध्यममा आएका सूचनाका भरमा किनारीकृत, अन्यायमा परेका वर्ग, दूरदराजका बासिन्दा, राज्यहीनताको सिकार बनेका नागरिक वा समूहमाथि कलम चलाउनाले ती कमजोर कृति बन्न पुगेका छन् । ती गम्भीर साहित्य नबनेर ‘एउटा अर्को पुस्तक’ मात्रै हुन पुगेका छन् ।
आत्मकथाको कुरा त झनै दर्दनाक छ । ‘आत्मकथा’ भनी मुखावरणमै किटिएका कतिपय पुस्तक ‘आत्मप्रलाप’ बनेका छन्, ‘झूटका पुलिन्दा’ बनेका छन् । विगतमा आफूबाट भएका कमी–कमजोरी, भ्रष्टाचार, गलत निर्णय, व्यभिचारलाई छोप्ने असफल प्रयत्नका रूपमा आत्मकथाका कतिपय पुस्तक बजारमा आउन थालेका छन् । व्यभिचारीहरू पुस्तकबाट स्पष्टीकरण दिन पल्केका छन् । आत्मकथा भनिएका कतिपय पुस्तक साहित्य त परै जाओस् ती सामान्यभन्दा पनि तल्लो कोटीका किताब हुन पुगेका छन् । पुस्तकका अनुहार दिइएका त्यस्ता किताब स्वास्थ्यका निम्ति अहितकर ‘जंक फुड’ भन्दा पनि हानिकार बनेका छन् । जंक फुडले केहीबेर पेटको भोकलाई शान्त पारे पनि त्यो मानव शरीरका निम्ति हानिकारक हुन्छ । जंक फुडले मानिसको स्वास्थ्य खराब पार्छ भने ‘जंक बुक’ ले समाजको मनोविज्ञान बिगार्छ, पाठकलाई दिग्भ्रमित पार्छ । कतिपय आत्मकथा ‘जंक बुक’ बन्न पुगेका छन् । पाठकलाई पैसा तिरेर तिनका झूटका पुलिन्दा पढ्न बाध्य पारिएको छ । विख्यात तर निधन भइसकेका पात्रलाई बिउँताइएको छ, दिवंगत नेताहरूसँगको संवादको गलत प्रयोग गरेर आफूलाई महान् साबित गर्ने प्रयासमा लागेका छन् कतिपय आत्मकथाकार । असल तथा प्रभावकारी व्यक्तिसँग ‘मेरो राम्रै बसउठ थियो, म उनलाई यस्तो यस्तो सल्लाह दिन्थेँ’ भनेर लेखिएको छ । त्यस्ता आत्मकथाकारले इतिहासमाथि नै अन्याय गरेका छन् । तिनले आत्मकथा विश्वसनीय तथा रुचिकर बनाउन ‘कन्फेसन’ आवश्यक पर्छ भन्ने तथ्य भुलेका छन् । आत्मकथा जीवनभन्दा पनि बढी सत्यको नजिक हुन सक्नुपर्छ । तर, अधिकांश आत्मकथा झूटको सहारामा गरिएको आत्मप्रचार बन्न पुगेका छन् । तिनले न नेपाली साहित्यमा एउटा टुक्रा इँटा थप्न मद्दत गर्नेछन् न त पाठकको आकांक्षाको पूर्ति नै ! किताब किन्न पाठकले गरेको लगानी खेर गएको छ ।
विगत दशकदेखि नेपाली साहित्यमा अर्को एउटा छेद पनि प्रवेश गरेको छ । त्यो छेद हो, शब्द गनेर लेख्ने चलन । थुप्रै छेदमध्ये शब्द गन्ने चलनले पनि साहित्यलाई निर्माणको वस्तुमा परिणत गर्न मद्दत गरेको छ । चाउचाउ वा साबुन उत्पादकले ५० ग्राम वा सय ग्रामको परिमाण तोकेजस्तो हुन पुगेको छ साहित्य ! के साहित्य नापेर–जोखेर–गनेर–तौलेर लेख्ने चिज हो ? उत्पादकले चाहेको परिमाणमा शब्द थुपारेर लेख्नु साहित्य हो ? बजारमा चर्चामा रहेका कतिपय लेखक नै भन्छन्, ‘५० हजार लेखिसकेँ, अब २० हजार शब्द थप्न पाए त ३०० पृष्ठको उपन्यास हुन्थ्यो ! अथवा एक लाख शब्द लेखिसकेँ, प्रकाशकले २० हजार घटाउ भनेको छ !’ पछिल्लो समय प्रकाशकको आदेशमा यस्तो साहित्यका नाममा किताब निर्माणको प्रवृत्ति मौलाएकाले नै गम्भीर लेखनी ओझेलमा पर्न गएको छ । मेरो आशय निर्मित किताबको नेपाली वाङ्मयमा कुनै स्थान छैन भन्ने बिल्कुलै होइन । तिनको स्थान पनि माथिल्लो तहमै छ, जसरी रचित साहित्यको छ । कम्तीमा तिनले पढन्ते जमात निर्माण गर्न सहयोग पुर्‍याएका छन् । चिन्ता यत्ति नै हो मनभित्रबाट फुर्ने साहित्य र अन्य पुस्तकबीच भिन्नता हुन छाडेको छ !
केही महिनाअघि एउटा एफएम रेडियोमा नेपाली सेनाका एक जना पूर्वअधिकारीको किताबबारे चर्चा चलिरहेको थियो । कार्यक्रम सञ्चालकले तिनलाई पटक–पटक साहित्यकार–आत्मकथाकार भनिरहेका थिए । मुख्य चिन्ता यही ‘विशेषण’ मै हो । उक्त आत्मकथा साहित्य हो कि एउटा उच्च तथा जिम्मेवार पदमा पुगेको व्यक्तिको सफलताको लेखोट ? त्यो निर्माण हो कि सिर्जना हो ? जवाफ यो मेरो विचार पढिरहने सबैलाई थाहा छ । चिन्ता ‘कोही पनि नबोल्नु’ मा छ । स्वयं साहित्यकार त झनै बोल्दैनन् । किनकि, भोलि आफ्नो पुस्तक निस्किँदा नकारात्मक टिप्पणी होला भन्ने डर छ ! ऊ जे–जस्तो कृतिलाई पनि उत्तम भनिदिनुमै आफ्नो फाइदा देख्छ । साहित्यमा ‘पर्म’ संस्कृति मौलाएको छ । मैले उसको पुस्तक ‘राम्रो’ भनिदिएको छु, अब उसले कसरी मेरो पुस्तकलाई ‘नराम्रो’ भन्न सक्छ ! यस्ताखाले पर्मजन्य सोचले राम्रा कृति ओझेलमा पर्न गएका छन् भने कमजोर लेखनी चर्चित हुने अवस्था निम्तिएको छ ।
लेखक तथा प्रकाशकलाई विश्वास गर्ने हो भने विगत एक दशकमा प्रकाशित हरेक कृति कम्तीमा पनि २ हजार प्रति बिक्री भएका छन् । किनकि, पछिल्लो समय निजी प्रकाशन गृहले पहिलो संस्करण २ हजार प्रति छाप्ने गरेको देखिएको छ । यो संख्याभन्दा कम बिक्री भएको मान्न कुनै पनि लेखक तयार छैन । निश्चय पनि पाठकवृद्धिको यो अवस्था सुखद हो । कतिपय गम्भीर साहित्यकार रोइलो गरिरहेको देखिन्छ । ‘मैले राम्रो साहित्य लेख्दालेख्दै पनि किन बजारले पत्याएन’ भनेर तिनीहरू विक्षिप्त अवस्थामा पुगेको पनि देखिएको छ । यसरी रोइलो गर्नुको कुनै अर्थ छैन । रोइले लेखकका कृति पाठकले झनै बहिष्कार गरिदिन्छन् । बजारु किताबसँग गम्भीर साहित्यले जित्न अब लेखकले धेरै मिहिनेत गर्नु आवश्यक छ । आफूले उठान गर्न खोजेका विषयमा अध्ययन, अनुसन्धान तथा पात्रहरूसँग लामो समयको साक्षात्कार आवश्यक छ । भुइँमान्छेको कथा लेख्ने हो भने पटक–पटक भुइँमा लडीबुडी खेल्नु आवश्यक छ । बलियो ‘कन्टेन्ट’ बिना पुस्तक स्तरीय हुन सक्दैन । साथमा नयाँ ढंगको लेखनशैली र आकर्षक भाषा हुनु पनि उत्तिकै जरुरी छ । कल्पनाशीलता त झनै महत्त्वपूर्ण छ नै । कन्टेन्ट बलियो हुन लेखनीमा आधिकारिकता, शोध–अनुसन्धान आवश्यक पर्छ । के त्यसो गर्न हामी तयार छौँ ?
केही समयअघि पोखरामा सम्पन्न नेपाल लिटरेचर फेस्टिभलमा भारतीय लेखिका इरा त्रिवेदीसँग कुरा गर्ने मौका मिलेको थियो । उनले भनेकी थिइन्, ‘म साहित्य होइन, पुस्तक लेखिरहेकी छु ।’ उनका अधिकांश कृति लाखौँ प्रति बिक्री भएका छन् । आफूलाई ‘साहित्यकार’ नभनिएकोमा उनलाई कहिल्यै चित्त दु:खेको छैन, पाठक–समीक्षकप्रति उनले कटाक्ष पनि गरिनन् । तर, यता हाम्रा लेखकको आफ्नो कृति बिक्री नभएकोमा र साहित्यकार नभनिदिएकोमा उत्पन्न रोइलोको ‘भोल्युम’ निकै बढेको छ । उक्त भोल्युमका कारण पाठक वाक्कदिक्क भएका छन् । इराको लेखनको मूल विषय प्रेम र सेक्स हो । आफूले उठाएको विषय युवाजमातका निम्ति भएको र त्यही समूहले आफूलाई बढी पढेकोमा उनी खुसी छिन् । यसकारण पनि अब साहित्य रच्ने र किताब निर्माणको उद्योग चलाउनेले आफूले समातेको बाटोबारे स्पष्ट हुनुपर्ने देखिन्छ । साहित्य नबिक्दा रोइलो गरिरहनु आवश्यक छैन, तर किताब बिकेन भने उद्योग बन्द हुने चिन्ता हुन्छ । यसको अर्थ साहित्य बिक्नु हुन्न वा बिक्दैन भन्ने मेरो धारणा अथवा चाहना हुँदै होइन । डेढ अर्ब जति जनसंख्या भएको भारतमा होस् वा अन्य मुलुकमा गम्भीर साहित्यका पाठक कमै छन् । भारतका युवावयका पाठक (लेखक पनि) ले केदारनाथ सिंह, हरिशंकर प्रसाईं, निर्मल बर्मा, उदय प्रकाश, चन्द्रधर शर्मा गुलेरीजस्ता लेखकको नामै नसुनेका पनि हुन सक्छन् । हामीले यता खुबै रुचाएका कतिपय लेखकको नाम उनै इराले पनि सुनेकी रहिनछन् । उदय प्रकाशको नामै नसुनेको कुरा उनले निर्धक्क बताइन् ।
हजारौँ प्रति बिकोस् भन्ने कोही चाहन्छ भने उसले किताब निर्माण गरोस्, खोल चिल्लो र आकर्षक राखोस् अनि विज्ञापनमा लाखौँ रुपैयाँ खर्च गरोस् । गम्भीर साहित्य त दोस्रो संस्करणको माग बजारमा भयो भने लेखकले आफूलाई भाग्यमानी ठाने हुन्छ ! तेस्रो, चौथो र अझ बढी संस्करणमा पुग्ने त अग्घोर भाग्यमानी साहित्यकार हुन् ।

प्रकाशित : असार १०, २०७४ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?