तपाईं कहाँनेर उभिने ?

सरिता तिवारी

सामान्यतया पुरुष पितृसत्ताको कारिन्दा हो । हेर्दा कार्यकारी देखिए पनि पुरुषसमेत यो सत्ताको जालोबाट मुक्त छैन । पितृसत्ता खासमा पुरुषविशेषको मात्र सत्ता होइन, पुलिंगकेन्द्री पारिवारिक र सांस्कृतिक राजनीतिको सत्ता हो ।

तपाईं कहाँनेर उभिने ?

एउटा यस्तो व्यवस्था जहाँ ‘मर्दपन’ का आधारमा पुरुषका विशेषाधिकार, शक्ति र क्षमताको व्याख्या गरिन्छ । पारिवारिकदेखि सामाजिक र सांस्कृतिक मनोविज्ञानसम्म यही व्याख्याको विस्तार छ । कुनै बालक जन्मँदै शासक भएर जन्मन्न । धर्तीमा टेक्न नभ्याउँदै उसलाई पितृ–व्यवस्थाको उत्तराधिकारी बनाउने काम सुरु भैसक्छ । परिवार र समाजको मनोवैज्ञानिक दिक्षाले ऊ आफ्नो स्थान र हैसियत चिन्दै जान्छ र वयस्क हुन्जेलसम्ममा यो सत्ताको पहरेदार बनिसक्छ । पुरुष भन्नासाथ प्रचलित विम्ब यस्तरी निर्मित छन्, ती विम्बको बोझ बोक्न नसक्ने पुरुष ‘पौरुष’ को जाँचमा फेल हुन्छ । त्यो हो— आँटिलो, रवाफिलो, कमाउ र प्रभावशाली शासक अर्थात् ‘मर्द’ विम्ब । यसको जगमा आर्थिक विशेषाधिकार छ । सामाजिक अग्राधिकार छ । यिनै कुराले पुरुषमा उच्चता मनोग्रन्थिको बीज रोपिदिन्छन् । ‘आइमाई–केटाकेटी’ माथि शासन गर्ने प्राधिकारी बनाइदिन्छन् । समाजमा रवाफ र धाक स्थापित गर्ने प्रेरणा दिन्छन् । राज्यका निर्णायक अङ्गहरूमा पुग्ने सुगम मार्ग पनि खोलिदिन्छन् । यसरी हेर्दा पितृसत्ता पुरुषका लागि फापिलो देखिन्छ । तर पुरुष साथीहरू, के यसले तपाईंहरूलाई चाहिँ बलियो नै बनाइरहेको होला त ? तपार्इं यसभित्र आफ्नै मोडेलको ‘मानवीय’ जीवन बाँच्न मुक्त हुनुहुन्छ ?
आज पुरुषका पक्षबाट पितृसत्ताका विद्रुपता हेरौं ।

परिवारको पालक 
बालककालदेखि नै पुरुषमाथि परिवारले ठूलो अपेक्षाको भारी बोकाउँछ । बाउ, छोरो कहिले ठूलो होला र व्यवहारको नाम्लो उसको थाप्लामा सुम्पौंला भनेर कुर्छन् । आमा विवाह गर्ला, नाति नातिनाको मुख देखिएला, बुढेसकालमा सुखले पाल्ला भन्ने आशा गर्छिन् । नातेदार, इष्टमित्रका अपेक्षाका चाङ उस्तै हुन्छन् । आफूमुनिका भाइबैनाका रहरका उरुङ उति नै हुन्छन् । पद्धतिले तपाईंलाई आफ्नो परम्परा रक्षक र परिवारको ‘पालक’ का रूपमा हुर्काउँदै हुर्काउँदै उसको बनिबनाउ फ्रेममा ढालेरै छोड्छ । यसका लागि तपाईंले बयलझैं जोतिएर भए पनि अर्थोपार्जन गर्नुपर्छ । कामका क्षेत्र फरक होलान्, मालिकका वचन, लात र घुस्सा खाएर पनि टिक्नुपर्छ । चारैतिरबाट तपाईंमा लक्षित अनेकौं अपेक्षाहरूको जुुलुसले तपाईंभित्रका असंख्य सिर्जनशील सम्भावनाका कोपिला निमोठनामोठ पार्छन् । तपाईं सिर्फ पैसा छाप्ने मेसिन बन्न्नुहुन्छ । कमाउन, आर्जन गर्न नसक्दा परिवारदेखि इष्टमित्र र समाजले समेत तपाईंको हस्ती अस्वीकार गरिदिन्छ । पितृसत्ताको कानुनमा तपाईं निसर्त रूपले परिवारको पालक हो । तपाईंले ‘स्वास्नीको कमाइ’ खान हुँदैन । कारण, उसको कमाइ खान थालेपछि त परिवारमा उसको स्थान माथिल्लो हुन थाल्छ र तपाईं शासित हुनुपर्छ । यो कुरा तपाईंलाई त कथम् मञ्जुर होला तर वरिपरिको वातावरणले ‘जोइटिङ्ग्रे’ बिल्ला भिराइदिँदा तपार्इंको ‘मर्दानगी’ संकटमा पर्छ । यो संकट भोग्ने दुस्साहस (या उदारता) विरलै पुरुषमा हुन्छ । यसैकारण अवचेतनदेखि नै तपाईं आफ्नो रोब, शान र अविच्छिन्न शासन कायम राख्न हरबखत सतर्क भइरहनुहुन्छ ।
पितृसत्ताको सबभन्दा बलियो आधार अर्थतन्त्र हो । आर्थिक वर्चस्वको आधारमा यसले सांस्कृतिक वर्चस्वको प्रारूप तय गरेको छ । त्यसैअनुसार परिवारभित्र लिंगका आधारमा व्यक्तिको हैसियत र अग्राधिकार सुनिश्चित छ । यो दीक्षा जसरी समाजमा वा परिवारमा खाँदीखाँदी भरिएको छ तपाईंको मनमा त्योभन्दा बढी छ । आफ्नो उच्चता मनोग्रन्थि साबित गर्न आमा–बाबुका बुढ्यौली धोकोदेखि श्रीमतीका थरी–थरी सोख र बच्चाहरूका फर्माइस पूरा गर्दा तपाईं लत्तु पर्नुहुन्छ । बालबच्चाको शिक्षा र भविष्यको सुरक्षा पनि प्राथमिक नै भयो । साथीभाइको अगाडि निम्छरो हुने कुरा भएन । लोकाचार र चाडबाड पनि धान्नैपर्‍यो । यी सब कुराको पूर्ति गर्न सके त तपाईंको पौरुष साबित होला नभए यिनै कुराको कुण्ठाले भित्रभित्रै तपाईं खोक्रो भइसक्नुहुन्छ । होइन, जसरी पनि आर्जन गर्छु, जुन बाटोबाट भए पनि पैसो कमाउँछु भन्ने हो भने तपाईं भ्रष्ट, तस्कर वा दलाल बन्ने सम्भावना इन्कार गर्न सकिन्न । यी सबैका बीच तपाईंका अमूक इच्छा, रहर र रुमानी सपना कुन दिन खरानी भए ? पत्तो पाउनुहुन्न । यी कुनै पनि कुरामा न तपाईंको परिवारको दोष हुन्छ, न साथीभाइ, इष्टमित्रको न समाजको ।
तपाईंलाई चाहेर नचाहेर जीवनका सुन्दर सम्भावनादेखि पर भँड्खालोमा लगेर निरीह बनाइछोड्ने अरू कुनै चीज होइन, पितृसत्ता हो । यसको उत्तराधिकार बोक्ने हुँदा तपाईंको काँध गोरुको भन्दा गएगुज्रको भइसक्छ । यो फन्डा नबुझीकनै तपाईंको उमेर सिद्धिन्छ । सारा अपेक्षाहरूको कोलाहलभित्र अघोषित कैदी हुनुका दु:खले तपाईंलाई रुनु न हाँस्नु पारेको त थाहा पाउनुहुन्छ तर यसको वास्तविक कारण जान्नु हुन्न । किनभने पितृसत्ताबारे तपाईंले प्राप्त गरेको सूचना र ज्ञान एकोहोरो छ ।
रुचि र क्षमताको आधारमा परिवारका सदस्यबीच सहज रूपमा जिम्मेवारी बाँडफाँड हुँदा कुनै एक जनामा आर्जनको भार पर्दैन । ‘पौरुष’ को विम्बलाई पुरुषसँग मात्र टाँसेर नहेरी महिलातर्फ पनि ‘सिफ्ट’ गर्दा आफ्नो ‘हाइरार्की’ तोडिने डर जुन दिन त्याग्नुहुन्छ त्यो दिन वास्तवमै तपाईंको ‘मुक्ति दिवस’ हुनेछ । पौरुषको अर्थ कायिक बलसँग मात्र गाँसिन्न बौद्धिक वा अन्य सामथ्र्यसँग पनि जोडिन्छ । यसले पुरुष र महिला दुवैलाई सफल जीवन बाँच्न प्रेरित गर्छ । यसबाट कोही शासक र शासित हुनु पर्दैन । एकअर्काप्रतिको सम्मान र समर्पणको भावले जीवन सुन्दर बन्छ । तपाईं कुनै सिर्जनात्मक काम गर्दै हुनुहुन्छ भने आफूले कमाउन र सञ्चय गर्न नसकेको घडीमा पनि यही सम्मान र समर्पणले तपाईंलाई ऊर्जा दिइरहन्छ । तर जब तपाईं पत्नीको कमाइमा बाँच्नुलाई सनातन जोइटिङ्ग्रेपनको आख्यानसँग जोड्नुहुन्छ तपाईं आजीवन एक दु:खी प्राणी बन्नुहुन्छ । यसरी तपाईंलाई दु:खी बन्न अभिषप्त पार्ने चीज अरू केही होइन तपाईं आफैंभित्र जबर्जस्त रूपमा बाँचेको शिक्षा हो । यो ‘पालक’ विम्बलाई जति छिटो भत्काउनुहुन्छ र ससम्मान साझेदारीको भाव रोप्नुहुन्छ त्यति नै छिटो सुखी, सहृदयी पुरुष बन्नुहुन्छ ।

‘लउनी छोरो भ’र नि रुनहुन्च ?’ 
हाम्रा आहानमध्ये अधिकांश त महिला, दुर्बल र असहायप्रति हेपाहा खालका छन् भन्ने कुरो उखान टुक्काको हेक्का राख्नेलाई ज्ञात भएकै कुरा हो । तीमध्ये एउटा आश्चर्यलाग्दो आहान प्रचलित छ, ‘लोग्नेमान्छे रुन हँुदैन’ । रुने गुण त स्वास्नीमान्छेको मात्र हो भन्ने मान्यता बनाइएको छ । मर्दले रुन हुन्न ! भन्ने सुन्दासुन्दै एउटा बालक किशोर हुन्छ । युवा हुँदै प्रौढ बन्छ । कोही रोइहाले उसलाई कस्तो केटीजस्तो रहेछ भनेर गिज्याइन्छ । मानवीय संवेदना सबैसँग हुन्छ तर मानिसको रुवाइलाई पनि लिंगअनुसार निषेध वा सदर गर्ने मिथका कारण पुरुष रोएको दृश्य दुर्लभ हुन्छ । योगेश्वर अमात्यले यही आहान पक्रेर लेखिएका दानियल कार्थकका शब्द बडो मार्मिक रूपले गाएका छन् ।
भन्छन् लोग्नेमान्छे भएर रुन हुन्न रे
मर्दको छोरोले आँसु झार्न हुन्न रे
मन सबको उस्तै–उस्तै 
के नर नारी, को मर्द को नामर्द ?

यसरी मर्दले रुन हुन्न भन्ने कुरो किन स्थापित भयो ? रुन नहुने कारणचाहिँ के रहेछ ? आफ्नो प्रसिद्ध किताब ‘दुर्गद्वार पर दस्तक’ मा कवि कात्यायनी लेख्छिन्, ‘यो पुरुषप्रधान सामाजिक ढाँचामा व्याप्त संवेदनहीनता र निर्ममताको मानवद्रोही संस्कृतिको अभिव्यक्ति हो । शासकले रुन हँुदैन । रुँदा उसका कमजोरी बाहिर आउँछन् जसले उसको सत्ता कमजोर बनाउँछ र स्वास्नीमान्छेहरू ऊसित डराउन छोड्छन् ।’ उनी पुरुष सत्ताको स्वीकारका लागि यसलाई ‘शासक र शासित फ्रेम’ को जगमा उभिएको आहान भन्छिन् ।
प्राचीन र मध्ययुगमा राज्यका हट्टाकट्टा युवकहरू जति छानीछानी सैनिक संरचना बनाइन्थ्यो । राज्यको शक्ति भनेकै बलवान सिपाही हुन्थे । राज्य विस्तार वा सीमारक्षाका लागि प्रशस्त जनशक्ति चाहिन्थ्यो । त्यसैकारण पनि पुरुषलाई निर्मम र कठोर बनाउन उस्तै साँचोमा ढालिन्थ्यो । राजकुमारदेखि जनसामान्यसम्म सबै यही कुराले दीक्षित गराइन्थे । कालान्तर नाघ्यो । तर शत्रु पक्षमाथि निर्ममतापूर्वक आक्रमण गर्न र महिला र कमजोर वर्गमाथि शासन जमाउन निर्मित यो साँचो फेरिएको छैन । यसले छोरालाई निरंकुश, निर्मम व्यक्तिका रूपमा र छोरीलाई पितृसत्ता स्वीकार गर्ने, प्रतिकारको चेतना नपलाउने, पिन्चे र हीन पात्रका रूपमा विकसित गर्छ । हामीलाई यही सिकाइयो । त्यसैले महिलाले हृदय छल्केर बेफिक्री आउने हाँसो बलपूर्वक लुकाउँदै आए, पुरुषले मुटु फुट्ने गरी उम्लिएर आँखासम्म आउन खोज्ने आँसु पनि त्यसरी नै लुकाइरहे । हामीलाई हाँस्न र रुनसमेत निषिद्ध गर्ने यो पद्धतिलाई हामी किन निरन्तरता दिने ?
पुरुष मित्र, तपाईं मर्दले रुनु हुन्न भन्ने मिथ बोकेरै हुर्किनुभएको छ । कहिलेकाहीं त तपाईंलाई बेस्सरी रुन मन लाग्ला । छाती फुटाएर, भक्कानिएर रोऊँ हुन्छ होला । तर किन रुन सक्नुभएन ? तपार्इंले कहिल्यै आफैंसँग प्रश्न गर्नुभएको छ ? रुनु कमजोरी र काँतरताको प्रतीक मात्र हो र ? बरु यो त मनको विरेचन हो । पीडा र आर्तनादको निकास हो । औषधि विज्ञानले रुनुलाई मानसिक स्वास्थ्यको ओखती हो भनी प्रमाणित गरिसक्यो । रुवाइले व्यक्तिलाई गहिरो चोट, तनाव र निराशाबाट ‘रिलिज’ मात्र गर्दैन मानसिक पुनर्निर्माणसमेत गर्छ । रुवाइ असह्य संवेग र पीडाको सहज ‘आउटलेट’ हो । यसलाई जबर्जस्ती बन्द गर्दा मान्छे अरूप्रति मात्र होइन आफैंप्रति पनि क्रूर र निर्दयी बन्छ । आँसुले हृदय मात्र सफा गर्दैन आँखाका लागि ‘लुब्रिकेन्ट’ को समेत काम गर्छ भन्छ विज्ञान । पछिल्ला दिनहरूमा ‘क्राइङ थेरापी’ को प्रयोग र प्रचलन बढ्नु आँसुको शक्तिको स्वीकार्यता हो । तर जबसम्म तपाईंभित्र निर्मित शासक मनोवृत्तिको प्रेत बाहिर निस्कन्न तपाईं रोएर पनि विरेचित भइन्छ भन्ने अवस्थामा पुग्नु हुन्न । यसरी थोपरिएको आहानको ओभरडोजले तपाईंको ‘कथार्सिस’ प्रक्रियालाई तगारो लगाइदिएको छ । आउनुस्, मज्जाले हाँसौं, अघाउन्जेल रोऊँ र एकसाथ मिलेर पितृसत्ताको यो रूखो किल्ला तोडौँ । 

‘मर्दका दसवटी’
मर्द भन्ने शब्द आउनासाथ मलाई झट्ट दुइटा संवाद याद आउँछन् :
एक, ‘कि गरिछाड्यो कि मरिछाड्यो मर्दको इरादा...’
दुई, ‘मर्द को दर्द नहीं होता !’
पहिलोले भन्छ, मर्दले कल्पेपछि पुर्‍याएरै छोड्छ । दोस्रोले भन्छ, मर्दलाई दुख्दैन । या दु:खे पनि त्यसको आह ! ऊ दुनियाँलाई देखाउँदैन । देखाए नामर्द कहलिइन्छ । बेइज्जत हुन्छ । ‘मर्द’ भन्ने शब्दको ‘पुरुष’ वा भाले भन्दा अलग्गै अर्थ लाग्छ । खासमा यो प्रभुत्वको अवधारणा हो । उच्चता ग्रन्थिले भरिएको शासक धारणा हो । पुरुष जैविक रूपले भाले मानव हो तर ‘मर्द’ भालेसहित अरू धेरै कुरा हो । सत्ता र शक्तिको केन्द्र । निर्णयकर्ता वा आफूवरिपरिका सम्पूर्ण वातावरणको नियन्त्रक र सञ्चालक । जसको एक गर्जनले धरती थर्रर्रर होस् । जसको एक इसाराले हावाको दिशा नै बदलियोस् । जसका जँुगाको लयले ऊसँग ठोक्किनेको नियति तय गरोस् । जो साम, दाम, दण्ड, भेद सबै विद्या र नीतिमा यस्तो पोख्त होस् कि सबै अदनाजन उसको अगाडि झिँगा–कमिला लागुन् । नर र नारीबीचका अन्तरबारे जति पनि व्युत्पन्न (निर्मित) धारणा छन् तिनको स्रोत यही मर्द शब्दसँग गाँसिएको म देख्छु । पुरुष र महिलाका आ–आफ्नै जैविक विशिष्टता छन् । यिनलाई यौनिक र शारीरिक पहिचान भन्न सकिन्छ । तर मर्द शब्द पुरुषत्वसँग गाँसिएका यौनिक वा शारीरिक विशिष्टताभन्दा पर सांस्कृतिक र राजनीतिक निहितार्थमा जोडिन्छ । यसैबाट ‘मर्दपन’ का मिथ र सौन्दर्यशास्त्र बनेका हुन् भन्ने अनुमान गर्न सकिन्छ ।
‘मर्द’ पहिचानको धारणा पनि हो । मर्दका दसवटीजस्ता अति अपव्याख्याले तपार्इंलाई नैतिक मूल्य र प्रेमबिनाको असामान्य व्यक्ति बन्न उत्प्रेरित गर्छ । यसले पुरुषमा ‘भोगी’ र निरंकुश प्रवृत्ति रोप्न लाउ दिन्छ । कानुन, पारिवारिक व्यवस्थाका जटिलता र आर्थिकलगायतका कारणले पनि ‘मर्दका दसवटी’ जस्ता विशेषाधिकार अबको समयमा हुबहु लागू नहोलान् तर जति धेरै अत्याचार, व्यभिचार गर्‍यो, उति ‘मर्द’ होइने तर्कलाई विवेकको चस्मा लगाएर हेर्नुस् मर्दानगी सावित गर्दा पुरुष कुन रसातलमा खसेको हुन्छ ? के यो ‘मर्दानगी’ ले ऊ आजका र भोलिका छोरी, नातिनी पुस्ताको नजरमा सम्मानित भइरहन सक्छ ? कतिपय व्यक्ति मर्दपनको प्रदर्शनमा यति धुर्त हुन्छन्, तिनीहरू आफ्नो ओहोदा र गरिमा मात्र होइन मानवीय विवेक र न्यायका न्यूनतम मूल्य पनि बिर्सन्छन् । ‘मर्द’ बन्ने होडले तपाईंभित्रको मानवीय तन्तुको निरन्तर क्षति भइरहेको हुन्छ । तपाईंलाई असहिष्णु र स्वकेन्द्री मात्र होइन ‘कापुरुष’ समेत बनाइरहेको हुन्छ ।
मर्द शब्दको सही व्याख्या हुँदो हो भने जस्तै परिस्थितिमा पनि आफ्नो स्वाभिमान र नूर गिर्न नदिने मानवीय भावको विस्तार हँुदो हो । यसले त अरूमाथि शासन गर्ने, अरूलाई कर्‍याप्च्याप् पारेर भए पनि आफ्नो हँुदो मात्र गर्ने, यौनवृत्तिलाई पाशविकतातर्फ मोड्ने अमानवीय र अन्यायी व्याख्याको विस्तार गरिदिएको छ । यसले हरेक नयाँ पुस्तालाई कोमल र मानवोचित मूल्यतर्फ होइन बलात् र क्रूर व्यवहारतर्फ प्रेरित गरेको छ । यसरी ‘मर्दानगी’ आफैंमा एउटा शोषणको राजनीतिक दाउपेच हो जसको आडमा असंख्य अपराध र कुकृत्यहरू हुन्छन् । यसो गर्न प्रेरित गर्ने पितृसत्ताले तपाईंलाई यस्तो ‘स्लो पोइजन’ ख्वाइरहेको छ जसले सुस्तरी–सुस्तरी तपाईंभित्र मानवीय गरिमा र विवेकको दुश्मन हुर्काइरहेको छ ।

इतिहासको घुम्दो चक्रमा तपाईं
समयको पाङ्ग्रा स्थिर हुन्थ्यो भने इतिहास भन्ने धारणा नै जन्मिन्थेन । समय हिँड्छ र त्यसैका पाइलालाई हामी इतिहास भन्छौं । समयले भित्रभित्रै उसिनेर सिध्याउने ‘मौन’ मात्र जन्माउँदैन अकल्पनीय आवाजको मोहरी पनि जन्माउँछ । त्यसले स्वीकार मात्र लिएर हिँड्दैन, प्रतिकारको आँधी पनि बोक्छ । अब समय ‘बेश्या हुन्या हाँस्तछन्’ भन्ने रहेन । एउटै वा दुई छोरीबाट सन्तानसुख लिएर उनैको भविष्य निर्माणले धन्य हुने पिताहरूको समय पनि हो यो । जब–जब यस्ता पिताहरूसँग संवाद गर्छु, समाजको चित्र फेरिँदै छ भन्ने संकेतले आनन्दित हुन्छु । जब–जब आँखामा प्रतिरोधको आगो र ओठमा आत्मविश्वासको इन्द्रेणी लिएर हिँडेका साथीहरू देख्छु समाज अहिल्यै, भर्खरै युगान्तर हुँदै छ भन्ठानेर ढुक्क हुन्छु । जब–जब तिमीहरू मुक्त नभई न म मुक्त छु न यो युग मुक्त छ भन्ने जोसिला पुरुष मित्रहरूसँग हात मिलाउँछु मलाई समयले एउटै कोरस गाएजस्तो लाग्छ । हुरुक्क हुन्छु । 
परिवर्तन विज्ञानको नियम हो । तर परिवर्तन हावाले ल्याउने होइन । घडीको सुईले ल्याउने पनि होइन । परिवर्तनको ढोका खोल्ने चीज त हामीभित्रैको चेतना हो । हामै्र इमान र संकल्प हो । हामीले राजनीतिक परिवर्तनका उल्लासमय दिन देखेका छौं । राजनीतिक आन्दोलनको कोर्सले मात्र समाजका सबै प्रकारका आन्दोलनको आयतन पूरा गर्दो रहेनछ । हामीमध्ये कतिलाई लाग्छ, अब त केका लागि लड्नु हौ ? यस्तो ठान्ने साथीभाइ र अग्रजहरू देख्दा बुझपचाहा चेतनाप्रति खेद भरिन्छ । लडाइँ सकिएका होइनन्, लडाइँका स्वरूप फेरिएका हुन् । सांस्कृतिक प्रभुत्व र वर्चस्वको एकल साम्राज्यविरुद्धको मानवीय लडाइँ अझै सकिएको छैन, जारी छ । पहिचान र आत्मसम्मानको लडाइँ सकिएको छैन । कानुनको शासन र न्यायका लागि लडाइँ सकिएको छैन । यसप्रति तपाईं कति उदार हुनुहुन्छ ? कति सहयोगी र कति सहकारी हुनुहुन्छ ? मुख्य कुरा यहाँ छ ।
सूचना र जागरुकताको दर ह्वात्तै बढेपछि पछिल्लो समय ढुंगाले पनि मुख खोल्ने भएको छ । कवि गोपालप्रसाद रिमालको कवितामा भनिएजस्तै आज तिन (यो सन्दर्भमा महिला) को मौनता पनि बोल्न थालेको छ । आज हामी इतिहासका मात्र होइन अज्ञानता वा दम्भवश भएका आफ्नै अतीतका त्रुटिहरू सच्याउने अवसरको ढोका अगाडि छौं । यो पूर्वजहरूका कर्तुतको सामूहिक प्रायश्चित गर्ने अभूतपूर्व समयसन्धि पनि हो । तर अझै पनि आफ्नै प्रभुत्वमा गर्जन बानी परेको अनुदार मर्दहरूको एउटा समूह आजको जागरुकतालाई ‘आतंकको कोरस’ देख्छ । यो वर्गले बत्तीस लक्षणले पूर्ण शास्त्रवर्णित सुन्दरी त उपद्रै मन पराउँछ तर मनुष्य बन्न मानवीय आन्दोलनका झन्डा बोक्ने जागरुक केटीहरूचाहिँ देखिसहन्न । पुरुषजस्तै महिला पनि एक स्वायत्त पहिचानधारी व्यक्ति हुन पाउनुपर्छ भन्ने स्वरलाई ‘अतिवादी’ को ट्याग लगाइदिने, हरेक दिनजसो समाचार बन्ने बलात्कार र हिंसाको विरोध गर्दा ‘गन्गने’ को पदवी दिने यो वर्ग आफ्ना आमा, काकी, दिदीबहिनी र छोरीहरूलाई कुन नैतिकताले प्रेम र सम्मानको दाबी गर्छ ? म बुझ्दिनँ । माफ गर्नुहोस्, तपाईं पनि यही वर्गमा पर्नुहुन्छ भने बडो अफसोसपूर्वक भन्नुपर्छ तपाईंका प्रेम र सम्मान सब ‘फेक’ हुन् । 
पुरुष मित्र, ढल्दो पितृसत्ताको पतन त निश्चित छ । समावेशी लोकतन्त्र र समतामूलक समाजको परिकल्पनालाई मूर्तता दिने क्रममा यो सत्ताका कैयौं अवयव कमजोर भइसकेका छन् । कुनै एउटा समूह र वर्गको इच्छाविपरीत पनि धरै चीजहरू हामीले सोचेको भन्दा तीव्र गतिमा बदलिनेवाला छन् । माने पनि या नमाने पनि हामी बाँचेको संरचनाले हामीलाई शासक र शासितका रूपमा आमनेसामने उभ्याइसकेको छ । तर इतिहासको यो चक्रमा तपाईं कहाँनेर उभिने ? आफैंले तय गर्नुपर्नेछ । मानवीय गरिमा र सम्मानको पक्षमा कि मर्दवादी अहंकार र संस्थापनको पक्षमा ? तपाईं सामन्ती पितृसत्ताको एजेन्ट बन्ने कि भद्र सत्याग्रहका आन्दोलनकारीको साथी बन्ने ? जुन संरचनाले तपाईंलाई निरन्तर अमानवीय र निरंकुश बन्न प्रेरित गर्दै आएको छ, त्यसको किल्लामा लात हान्न तपाईं ऐक्यबद्ध हुने कि नहुने ? 
तपाईं जति छिट्टै र इमानपूर्वक शासक र शासितको यो कठोर फ्रेम भत्काउन प्रतिबद्ध हुनुहुन्छ त्यति नै सहजतापूर्वक आफ्ना आमा र छोरीसँग आँखामा आँखा जुधाएर भन्न सक्नुहुन्छ, हो म नारीहरूलाई सम्मान गर्छु । 

प्रकाशित : असार १७, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?