१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘नेपालीपनको अनुहार कोर्ने प्रयास’

अखबारहरूमा फरक बान्कीको लेखनशैली र विचार प्रवाहका कारण परिचित सौरभको ‘असंगति’ पुस्तक यसै साता सार्वजनिक भएको छ । उनका यसअघि ‘सौरभका २५ वर्ष’ र ‘असहमति’ प्रकाशित छन् । लेखकले ‘असहमति शृंखला’ अन्तर्गत पाँच कृति लेख्ने घोषणा गरेका छन् । असंगति उनको दोस्रो शृंखला हो ।

धेरै कुराहरू छुटे । अरूले लेख्दैनन् । लेखेको भए हुन्थ्यो । लेख्दे गयो भने भने डकुमेन्टेसन हुन्छ भनेर प्रयास गरेको हुँ ।

‘नेपालीपनको अनुहार कोर्ने प्रयास’

‘असंगति’ पुस्तक किन लेख्ने निर्णयमा पुग्नुभयो ? 
चराले जंगलमा एक दुई थोपा पानी खसालेको जस्तो प्रयास हो यो । नेपालीहरूले नेपालको ढाँचा कस्तो थियो भनेर बिर्सन थालेको हुनाले मैले सम्झाउने कोसिस गर्नुपर्‍यो । नेपाल देशको पहिचानमै निकै ठूलो संकट आएको छ, अहिले । किनकि पश्चिमाहरूले हाम्रो बारेमा धेरै गलत र भ्रामक कुरा लेखेका छन् । भिक्टोरिया, अलेक्जेन्डर, पिटर द ग्रेट आदिका बेला कस्तो अन्याय थियो, लुईहरूले फ्रान्समा के गरे भन्ने कुरा हामीले लेख्न सकेनौं । त्यस बेला हामी ‘अफेन्सिभ’ हुन नसकेका कारणले गर्दा अहिले ‘डिफेन्सिभ’ हुनुपर्‍यो । उनीहरूले हामीलाई ज्ञानको क्षेत्रमा झन्–झन् ‘डिफेन्सिभ’ बनाउँदै लगे । मगर, गुरुङ आदिको बारेमा बोल्ने उनीहरूको के हैकम ? 

सबै अध्ययन शोध अनुसधानका लागि ‘न्याटिभ रिसर्चर’ पर्याप्त नहोलान् नि त ?
न्याटिभ रिसर्चर पर्याप्त नहोलान् भन्न मिल्दैन । नेपालमा छन् । तर उनीहरूका लागि पर्याप्त पैसा छैन । त्यसो भएपछि जसले पैसा दिन्छ, उसका लागि बोल्ने अवस्था देखियो । यहा गोरो छालाको महत्त्व छ । घरको बुद्धिजीवीले बोलेको कम महत्त्व दिइन्छ । नेपालका सार्वजनिक बौद्धिक भनिएका अधिकांशले बाहिरको पैसामा काम गरेका छन् । महेशचन्द्र रेग्मीलाई विदेशी नियोगहरूले नेपाली अनुवादको काम दिन्थे । अरू केही नगरे पनि अनुवाद गरे पुग्ने अवस्था थियो । विदेशी अनुदानमा पैसा प्रशस्त थियो । त्यसैले उनीसहित विभिन्न बुद्धिजीवीहरूले आफ्नो स्वतन्त्र दिमाग प्रयोग गर्न पाएनन्, सर्तमै अनुबन्ध भए । लियो ई रोजले नेपालको एकमात्र स्कलर भनेर रेग्मीको नाम लिएको सुनियो । के नेपालमा उनीबाहेक कहिल्यै अरू स्कलर भएनन् होला त ? तर मानिसहरू रोजकै किताबमा भर पर्छन् । त्यसमा रि–वर्क गर्दैनन् । डोरबहादुर विष्टले ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट’ लेखे । कोही युरोपेलीले पहिल्यै लेखिसकेको कन्टेन्टलाई उनले ल्याए भनेर कसैले प्राज्ञिक आलोचना गरेको सुनेको छु, पढ्नचाहिँ पाएको छैन । तर के थाहा पाइसकें भने जसले यो कुरा लेखेको थियो, उसले समेत पश्चिमासित सम्झौता गरिसक्यो । हामीकहाँ जस–जसले जे चाह्यो त्यही गराइदिन्छ । यो दुर्भाग्य हो । 

हाम्रो ज्ञान निर्माणमा पश्चिमा दबदबा नै बढी छ ?
एकदमै छ । हाम्रो आफ्नो त के छ र ? एउटा कोही गोरो छाला भएको मानिसले फेक पीएचडी गरेर आयो भन्दैमा हामी तर्सिइहाल्छौं । आखिर पीएचडी के छ र ? तीन वर्षको कुरा हो । थेसिस भइहाल्छ । तर हामी पीएचडीवाला भनेपछि त्यत्तिकै आतंकित हुन्छौं । एउटा अखबारमा छ, डा. लेखेका तीन जनाले सधैं बेकारका चिठी पठाउँछन् । के त्यस्ता चिठी लेख्ने डा. हरूले पीएचडीको भार थाम्न सक्छन् ?

उसो भए नेपालीपन खोजीका अवरोधकहरूचाहिँ पीएचडीधारीहरू पनि हुन् ?
यी प्राडा त यस्ता छन्, नेपाली भाषा बिगार्नमा पूरा सहयोग गरेका छन् । विद्यानाथ कोइरालालाई ५० हजार रुपैयाँ दिई उनीहरूको कुरा मानिदिन प्रस्ताव गर्दा उनले नमानेको कुरा त बाहिरै आयो । भनेपछि उहिलेदेखि त्यस्ता प्राडाहरूले उल्लू काम गरिरहेका रहेछन् भन्ने त त्यसै थाहा भइहाल्यो नि ।

नेपालीका सबैभन्दा ठूला असंगतिहरू के हुन् ?
नेपालप्रति माया छ । उभिन न्युयोर्कमा मन लाग्छ । ओहो नेपाली पन, हामी नेपाली, हाम्रो नेपाल भन्ने, तर उता बस्ने । भ्रष्टाचार गर्नुपरेको छ, सामन्त हुनुपरेको छ । तर एक नम्बरको सज्जन देखिनुपरेको छ । अझ त्यसको सिद्धान्तकार नै हुनुपरेको छ । यसरी व्यक्तित्व विभाजित हुन गएको छ । सोचअनुसारको जीवनशैली, त्यसअनुसारको सामान्यपन छैन । दोहोरो मापदण्ड भएपछि समस्या आउँछ । यसले सबै पक्षलाई समस्याग्रस्त बनाइदिन्छ । अहिलेका असंगतिहरू यिनै हुन् ।

तपाईंले आजसम्म भनिदै आएको भन्दा फरक हो इतिहास लेख्नुभएको छ, पुस्तकमा । अलिकति व्याख्या गर्नुुस् न । 
म ४० वर्षयता नेपाली इतिहास पढ्दै छु । तर असाध्यै रूखो खालको इतिहास पढियो । एकातिर घटनाहरू, अनि निरस तथ्यांकहरू छन् । राजाको बिहा भएको, घटनाहरू भएको, मन्दिर यति सालमा बनेको जस्तो मात्रै लेखन चल्दै आयो । यो असाध्यै सीमित र अपूर्ण इतिहास हो । म इतिहासको मान्छे त होइन, तर मैले यसमा कोसिस गरें । हामीभित्रका धेरै कुरा छन् भनेर बताउनुपर्ने भएको छ । कागज वा शिलापत्रमा लेखेपछि मात्रै इतिहास बन्ने होइन, इतिहास भनेको प्रोजेक्सन पनि हो ।

तपाईंले पुस्तकमा नेपालीपनको खोजीमा प्रयासहरू आवश्यक रहेको लेख्नुभएको छ । हामीसँग भएका राजनीतिक पार्टीलगायत सार्वजनिक संस्थाहरू कत्तिको हदसम्म नेपालीपनले भरिएका छन् ?
माओवादीले ठाडो रूपमा पश्चिमाको एजेन्डा बोक्यो भनेर हामी भन्छौं । तर माओवादीभन्दा चर्को पश्चिमा काम एमालेले गरिरहेको छ । एनजीओ, आईएनजीओको पैसा लिएर, गाउँ–गाउँसम्म सञ्जाल बनाएर पश्चिमाकरण गर्ने काम त एमालेले बढी गरेको हो । र, आज एमालेको लोकप्रियताको आधार त्यही आईएनजीओको पैसा हो । यस्ता कुरा नगरेको कांग्रेसले हो । तर उनीहरू हाम्रो त सिद्धान्तै छैन भन्दै हिँड्छन् । रमाइलो त के भने उनीहरू यो कुरा सगर्व भन्दै हिँड्छन् । हिजो पश्चिमाहरूले डलर ल्याएर समाजमा खतम गरे भनेर नियन्त्रण गर्न रानी ऐश्वर्य समाजकल्याण परिषद्मा गएको होइन र ? तर त्यहाँ गएपछि उनकै आँखा डलरमा लाग्यो ।

यो पुस्तकमा चाहिँ त्यस्ता विषयहरूमा कसरी चर्चा गरिएको छ ? 
यसमा मैले नेपालीपनका विषयहरू के हुन् भनेर सैद्धान्तिकीकरण गरेको छैन । कोलाजहरू बनाइदिएको छु । त्यो कोलाजबाट आँखा गुज्रेपछि मानिसहरूले रियलाइज गरेर अर्को कोलाज हामी पनि बनाउन सक्छौं भनेर गए भने त्यो मेरो सफलता हुनेछ । सबै विषयहरूलाई सैद्धान्तिकीकरण गर्ने होइन ।
तर हाम्रो ज्ञान निर्माणदेखि सम्पूर्ण गतिविधिहरूमा राज्यले यो गरेन, त्यो गरेन भन्ने आम गुनासो सुनिन्छ । यो गलत हो । पब्लिकले केही गर्दैन, गर्न सक्दैन भन्ने त होइन । पब्लिकले जितेर राज्य चलाउन जाने हो नि । कसैको पसलमा सामान राम्रोसग बिक्री भएन भने पनि राज्यले हेरिदिएन भन्ने चलन छ । आफूले गर्न सक्ने काममा आफैं योगदान गर्नुपर्छ ।

कतिपय सन्दर्भ र प्रमाण नै नखुलाई लेख्ने गरेको आरोप तपाईंमा छ नि ?
प्रशस्तै सन्दर्भ दिएको छु । त्यस्तो आरोप लगाउनेले पहिले मलाई पढ्नुपर्‍यो नि । कोष्ठमै हालेर चाहिँ लेखिदिने गरेको छैन । किनकि विश्वविद्यालयमा थेसिस लेख्नेले त्यसलाई सजिलो गरी सार्न सकियोस् भनेर सन्दर्भग्रन्थ सूची माग्छन् । म त्यो काम गर्दिनँ । तर पढ्दाखेरि धेरैवटा तहहरू आउने गरी मैले लेख्छु । 

युवा पुस्ताको आकर्षण पश्चिमी विद्या, कला, साहित्यमा छ । उनीहरूलाई आफ्नो धरातलतिर कसरी फर्काउने ? 
राणाकाल अन्त्य र २००७ सालको खुलापनपछि नेपाल डिकल्चर्ड हुँदै गयो । हरेक कुरामा बाहिरबाट अरूको लिनुपर्ने अवस्था आयो । गएको २०–३० वर्षपछि चाहिँ संरचनागत ढंगले डिकल्चर्ड हँुदै गएको जस्तो लाग्छ । समाज डिकल्चर्ड हुँदै गएपछि पुराना ठाउँमा ल्याउन निकै कठिन पर्छ । यो सबैले सोच्नुपर्ने कुरा हो ।

उसोभए आफ्नोपन निर्माणका समस्याहरू कसरी पहिचान गर्ने ?
शिक्षा नहुनु मुख्य समस्या हो । मैले प्रमाणपत्रको शिक्षा भनिरहेको छैन । ज्ञान निर्माणको पाटो बताइरहेको हो । बुझाइहरूको निरन्तर प्रशोधन चलाइरहनुपर्छ । यसो गर्न समाज समृद्ध र सम्पन्न पनि हुनुपर्छ । आफूसँग नभएपछि अरूबाट लिन बाध्य भइन्छ । आर्थिक हैसियत र सामथ्र्य बनाउन आवश्यक छ ।

असंगतिलाई संगतिमा कसरी फर्काउने उपायहरू पनि होलान् नि ?
आफू पहिले सम्पन्न हुनुपर्‍यो । सेल्फ–एजुकेटेड हुनुपर्‍यो । हाम्रोचाहिँ राम्रो हो भन्ने हेजेमोनिक व्यवहार सच्याउनुपर्छ । म्याकाले शिक्षाले हामी पश्चिमाहरूको सेवा गर्न जन्मेको हो भन्ने बी ग्रेडको एसियन, नेपाली हो भन्ने सोच्न सिकाउँछ । अनुहार हाम्रो छ, विचार अरूको । त्यसेले शिक्षादीक्षाको तरिका सच्याउनुपर्छ ।

पछिल्लो समयमा आइरहेका फरक खाले लेखन, धारणाहरूलाई कत्तिको नियाल्दै हुनुहुन्छ ?
नियाल्दै छु । तर त्यसमा सीमाहरू पनि त्यत्तिकै छन् । धोबीघाटको एउटा चर्चबारे समाचारहरू आइसकेका छन् । बैंकको फारममा हामीले धर्म भर्नुपर्छ, हिन्दु वा अरू कुनै भनेर । मैले किन त्यसमा धर्म भर्नुपर्ने ? कोही नन–क्रस्चियन छ भन्दैमा हिन्दु नै हो त ? म त हिन्दु होइन, म त सनातन हो । हिन्दु भनेको त इन्डियाको हो । त्यसले मस्टो मान्दैन, बोन मान्दैन । म त शैव हुँ, मस्टो पूजक हुँ, सनातन हुँ । 

तपाईंलाई अहिलेका नयाँ पाठकले किन पढ्ने ?
मलाई कसैले पढ्नैपर्छ भन्ने छैन । नपढ्न, नमान्न स्वतन्त्र छ । यसमा म एकदम खुला छु ।

क्लिष्ट छ तपाईंको लेखाइ भन्ठान्ने पनि छन् नि ?
कतिपय विषयवस्तु नै यस्ता हुन्छन्, जसले लेखनलाई सरल बन्नै दिँदैनन् । कोही त पारिभाषिक शब्दहरू लेखेर भन्नुपर्ने हुन्छ । कुनै अर्थशास्त्रीले सबै जार्गन फुकाएर लेख्न बस्यो भने १५ सय शब्दमा अखबारको लेख बनाउनै सक्दैन । तीन पेजले पनि उसलाई पुग्दैन । मैले जति सकें, लेखें । नसकेको त सकिनँ । 

प्रकाशित : असार १७, २०७४ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?