२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘एन्टिथेसिस नै हो देखाउन खोजेको’

लेखक तथा विश्लेषक युग पाठक अखबारी स्तम्भहरूमार्फत् मुलुकको इतिहास, सामाजिक व्यवस्था र समसामयिक विषयमाथि खरो टिप्पणी गर्छन् । ‘उर्गेनको घोडा’ उपन्यासका यी लेखकको हालै बजारमा गैरआख्यान आएको छ– ‘माङ्गेना’ ।

नेपाली समाजका ज्वलन्त समस्याहरू चिन्ने, बुझ्ने, पर्गेल्ने र यो समाजलाई बदल्ने भाष्यको खोजी गर्ने पुस्तक हो– माङ्गेना : नेपाल मन्थन ।

‘एन्टिथेसिस नै हो देखाउन खोजेको’

‘माङ्गेना’ कस्तो पुस्तक हो ? यसलाई कसरी परिभाषित गर्न चाहनुहुन्छ ?
यो पुस्तक लेख्ने क्रममा मेरो दिमागमा पटक–पटक उठेका प्रश्नहरू तपाईंलाई सुनाऊव । हामीलाई इतिहासका नाममा जे जस्ता कथाव्यथा र तिनको व्याख्या पढाइयो, ती सबै कसका दृष्टिकोणबाट लेखिएका थिए ? राजा–महाराजाको दृष्टिबाट कि आम नेपाली जनताको दृष्टिबाट ? के हामीले पढेको र बुझेको इतिहासले हामीलाई हाम्रो समाज र यसका समस्या चिन्न र समाधान गर्न मद्दत गरे ? 
विकास–विकास भनेर कोकोहोलो मच्चाइएको ७० वर्ष भयो, के विकास कुनै मायावी चरोको नाम हो जो कहिल्यै आइपुग्दैन तर त्यसको उडानको दन्त्यकथा सधैं बिकिरहन्छ ? दर्जनौं भाषा, संस्कृति, जाति र समुदाय भएको मुलुक हो नेपाल, तर विविध समुदाय र सभ्यताको समान ढंगको सम्मान र अधिकार स्थापित नहुँदा नेपालले प्रगति गर्न सक्यो ? शासक वर्गले स्थापित गरेको भाष्यले जातका कुरा नगर भन्छ, नारीको अधिकारका कुरा नगर भन्छ, यसोचाहिँ किन भनेको होला त ? के कुरा नगरेर अनेकौं किसिमका भेदभाव स्वत: मेटियो ? पटक–पटक राजनीतिक आन्दोलन हुने, तर एकपछि अर्को राजनीतिक परिवर्तनपछि पनि समाजले अपेक्षित प्रगतिको गति समात्न किन सकेन ? के सतीले सरापेको देश भन्ने उखान हालेर यी सवालको जवाफ खोज्न सकिन्छ ? कि हामीले आफ्नो देश, आफ्नो समाज, आफ्नो अर्थतन्त्रबारे फरक भाष्यको खोजी गर्ने ? यस्तै प्रश्नको वस्तुगत उठान र जवाफको खोजी गर्ने पुस्तक हो यो ।

तपाईंको पुस्तक नेपाल र नेपाली समाजको वरिपरि घुमेको छ । यो ‘नेपाल’ भनेको के रहेछ, तपाईंले कसरी बुझ्नुभयो ?
संसारले विकास गरेको ज्ञान र प्रविधिबाट हामी टाढा बस्नुपर्छ भन्ने हुँदै होइन । तर युरोपमा विकास भएका लोकतन्त्र, समाजवाद आदि सिद्धान्तको रटान मात्र गर्ने तर आफ्नै समाजलाई सही ढंगले नबुझ्ने समस्याबाट हामी ग्रसित छौं । प्रजातान्त्रिक समाजवाद भन्ने कांग्रेस होस् वा नेपालका विभिन्न ‘ब्रान्ड’ का कम्युनिस्टहरू हुन्, सबैले संसारमा चलेका राजनीतिक सिद्धान्त त मीठासपूर्ण ढंगले दोहोर्‍याउने गरेका छन् । तर नेपाली समाजलाई चिन्ने र बुझ्ने, यसका अन्तरविरोध पहिल्याउने सवालमा परम्परागत शासकीय ज्ञानको सहारा लिएको देखिन्छ । त्यसैले राजनीतिक आन्दोलन खास प्रकारको सैद्धान्तिक व्याख्या र जनतामा बाँडिएको समानताका सपनामा टेकेर सफल हुन्छन्, तर त्यसपछि सत्ताको गाडी हाँक्न पुगेपछि पार्टी र नेताहरू ठगजस्ता, बेइमानजस्ता देखिन्छन् । किनभने नेपाल र यसको समाज चलाउने विचारचाहिँ तीन सय वर्षदेखि चलेका परम्परागत अवधारणामा आधारित छन् ।
जनयुद्धको कठिन बाटोमा हुँदा माओवादीले नेपाली समाजका जातीय, धार्मिक, सामाजिक, लैंगिक, आर्थिक तथा वर्णव्यवस्थामा आधारित अन्तरविरोधहरू पहिचान गरेको थियो । उसले ती अन्तरविरोधले सिर्जना गरेको असन्तोषमा टेकेर व्यापक ठूलो सशस्त्र आन्दोलनको रचना गरेको पनि हो । तर अहिले ती अन्तरविरोधहरू अधकल्चो छाडेर नयाँ संविधान लागू गर्ने चरणमा ऊ पनि प्रवेश गरेको छ । अर्को जनजाति, दलित, महिला वा मधेसीको कुरा गर्नुस्, एकथरी यसै तर्सिन्छन् । यसरी तर्साउने भूत हाम्रै परम्परागत बुझाइले खडा गरेको हो । 
मैले भन्न खोजेको के भने नेपाल एउटा झन्डाको अभिमान हुन सक्दैन, यो त जनताले दिनहुँ रचना गर्ने रगत–पसिनाको पहिचान हो । झन्डा, सगरमाथा, बुद्ध, जनक आदिको अभिमानमा रचना गरिएको नेपालको भाष्य अस्वीकार गरिनुपर्छ र जनताले दैनिक रचना गर्ने नेपाललाई चिन्ने नयाँ भाष्य अबको पुस्ताले खोज्नुपर्छ । अरब, मलेसियादेखि मुम्बई वा टोकियो पुगेका नेपालीले दैनिक जीवनको संघर्षमा रचना गर्ने नेपाल नै वास्तविक नेपाल हो । यहाँका नारी, दलित, मधेसी, जनजाति, थारूले दिनहुँ संघर्षबाट कोरल्ने नेपाल वास्तविक नेपाल हो । किसान, मजदुरले उत्पादन गर्ने नेपाल वास्तविक नेपाल हो ।

तपाईंले नेपालको चिनारी पुन:परिभाषित गर्नुपर्छ या अरूभन्दा फरक देखिनुपर्छ भन्ने नाउँमा जबर्जस्ती ‘एन्टिथेसिस’ स्थापित गर्न खोजेजस्तो लाग्दैन ? नेपालीपन नभएको भए यो राष्ट्र यही रूपमा रहन्थ्यो होला र ?
नेपालीपन भनेको के हो ? नेपाली सोझा हुन्छन्, आदेशपालक लडाकु हुन्छन्, दु:खमा पनि हाँस्ने खालका हुन्छन् इत्यादि । यस्तै भाष्यले नेपालीलाई चिनाइएको छ । पञ्चायतकालमा राजतन्त्रले सगरमाथा र बुद्धको देश भन्यो । बलभद्र र अमरसिंहको कथा हालेर कहिल्यै अंग्रेजको उपनिवेश नभएको भाष्य सुनायो । के नेपाल उपनिवेशभन्दा पनि खराब किसिमको छद्म–उपनिवेश थिएन ? 
हरेक ‘थेसिस’ को ‘एन्टिथेसिस’ स्वत: हुन्छ । मैले बनाएर हुने वा नबनाएर नहुने होइन । नेपाली जनताको मनमा गढेर बसेको खिल निकाल्ने कोसिस मात्र मैले गरिरहेको छु । खिल निकाल्दा दुख्छ । भ्रम र अन्धविश्वासमा बाँच्ने बानी भएपछि भ्रम तोडिँदा पनि दुख्छ । यो मेरो फरक देखिने रहर होइन, बरु आफैंभित्रको खिल निकाल्ने प्रयत्न हो ।
एन्टिथेसिस नै हो मैले देखाउन खोजेको, तर ख्याल गर्नुस्, यो मैले मेरो रहरका लागि बनाएको होइन । यो एकथरीलाई चिसो पसेजस्तो कुनै नेपालीपन भत्काउन खोजिएको पनि होइन । भत्काउनलाई त केही गतिलो बनेको पनि हुनुपर्‍यो नि । संसारकै गरिब देश, आजसम्म संसारले थाहा पाउनेगरी केही रचनात्मक काम गरेर चम्किन नसकेको देश, दशक–दशकमा विद्रोह उठ्ने तर विद्रोहका कारणहरूको उपचार गर्न नसक्ने देश न हो नेपाल । रोगहरू पालेर बस्ने र हिमाल–पहाडको गीत गाएर यसै नक्कली अभिमान साँचेर बस्यौं हामी धेरै दशकसम्म । यो भाष्यको एन्टिथेसिस त चाहियो नि । तथ्यमा, सत्यमा, दु:खमा, उत्पीडनमा, उत्पीडनविरुद्ध संघर्षमा उभिने साहस भएको नयाँ भाष्य चाहिएन ? शासकीय इतिहासलाई प्रश्न गर्ने, जनताका दु:खमा उभिएर औंलो ठड्याउने एन्टिथेसिस चाहिएन र ?

तपाईंले प्राचीनकालदेखि अस्तित्वमा रहेको लेख्नुभएको ‘नेपाली सभ्यता’ भन्ने कुराचाहिं वास्तवमा के रहेछ ? 
प्राचीनकालको नेपाली सभ्यता नेपाल उपत्यकाको सभ्यता थियो भन्ने इतिहासकार र पुरातत्त्वविद्हरूको ठहर छ । हालको काठमाडौं उपत्यका र यसवरपर विकसित सभ्यता थियो त्यो । त्यसो त मिथिलाञ्चल, अवध, लिम्बुवान, जुम्ला आदि स्थानमा पनि विविध सभ्यताहरू विकसित भएका थिए । तर अठारौं शताब्दीसम्म आइपुग्दा नेपाल उपत्यकाको सभ्यता सबैभन्दा समृद्ध देखियो । कला, उद्यम–उत्पादन, साहित्य, राजनीतिक पद्धति, आर्थिक प्रणाली, बन्दव्यापार आदि सबै हिसाबले मल्लकालसम्म नेपाल उपत्यकाको सभ्यता बलियो थियो ।
गोर्खाली आधिपत्यपछि यो सभ्यता ओरालो लाग्यो । यसका अनेक कारण छन् । आक्रामक राजतन्त्रले फरक संस्कृति र सभ्यतालाई कब्जा गर्ने स्थितिले निम्त्याएका अनेक परिणामको व्याख्या हुन बाँकी छ । संक्षेपमा भनौं, नेपाली सभ्यता प्राचीनकालदेखि नेपाल उपत्यकामा विकसित सभ्यता थियो । धेरै आयामहरूमा यो नेवार सभ्यता थियो । तर हालको नेपालको सम्पूर्ण भूगोलको सभ्यतालाई नेपाली सभ्यता भन्ने हो भने कुरा फरक पर्छ । गोर्खाली दरबारले बोकेको खस हिन्दु सभ्यता होस् वा लिम्बुवान र किराँतको मुन्धुमी सभ्यता, मधेसका भाषिक, सांस्कृतिक सभ्यता हुन् वा शेर्पाको सभ्यता, नेपाल उपत्यकाको नेवार सभ्यता होस् वा अरू सीमान्तकृत सभ्यता, सबै सभ्यताको संगमलाई नेपाली सभ्यता भन्नुपर्ने हुन्छ । त्यस्तो सभ्यता निर्माण गर्ने एउटा कोसिस हो मेरो पुस्तक पनि ।

नेपाल अझै किन बन्न नसकेको, हाम्रो देशको अपेक्षित विकास किन नभएको जस्तो लाग्छ ?
नेपालमा विकास शब्दको प्रयोग नै सात सालको क्रान्तिपछि हुन थालेको हो । धेरैलाई आर्थिक विकास मात्र विकास हो भन्ने परेको छ । तर जब नेपाल नबनेको प्रसंग आउँछ, सवाल आर्थिक विकासको मात्र रहँदैन, अर्थतन्त्रको त्यस्तो लय निर्माण गर्ने सवाल आउँछ, जसले समाजमा विद्यमान विभेदहरूको उपचार पनि सँगसँगै गरोस् । 
जसरी नेपालभित्र विभिन्न समुदाय र जाति सीमान्तकृत छन्, उसैगरी विश्व व्यवस्थामा नेपाल आफैंमा सीमान्तकृत देश हो । शक्ति राष्ट्रका नियोग हुन् वा विश्व बैंकजस्ता ठूला अन्तर्राष्ट्रिय पुँजीवादी संस्था, यिनले नेपालको अर्थतन्त्रको नाभिमा कसरी खेलिरहेका छन् ? वैदेशिक सहायता भन्ने जिनिसले सत्तरी वर्षमा नेपालमा विकास ल्यायो कि परनिर्भरता ? विकास हामी आफैंले खोजेको चीज हो कि विदेशीले सिकाइदिएको मन्त्र ? यी सवालको जवाफ खोजिनुपर्छ । अमेरिकी प्वाइन्ट फोर प्रोग्राम के थियो ? सात सालदेखि यो प्रोग्रामले विकासको भाष्य नेपालमा कसरी संस्थागत गर्‍यो ? खुब विकास गरेका भनिएका राजा महेन्द्र र उनको पञ्चायतले कसरी परनिर्भरतालाई नेपाली अर्थतन्त्रको जरासम्म पुर्‍याए ? यी सबै सवालसँग जुध्न हिम्मत गर्ने कि नगर्ने ? आज पनि हाम्रो विकासको भाष्य पञ्चायतको जस्तै छ, त्यसमा विश्व बैंकले ल्याइदिएको नवउदारवाद थपिएको होला, अन्तर्यमा कुरा एउटै हो । हामी विकास विदेशीले आयोजना गर्ने सेमिनारमा खोजरहेका छौं कि हाम्रा मजदुर, किसान जनताको पसिनामा ? सही ठाउँमा समाधान खोज्यौं भने उत्तर फेला पर्नेछ । 

नेपालीको बौद्धिक धरातल कहाँ छ जस्तो लाग्छ ? किन बौद्धिक नेतृत्वले राजनीतिक नेतृत्वलाई डोहोर्‍याउन नसकेको ?
म हाम्रो बौद्धिक धरातलको हिसाबकिताब गर्ने पक्षमा छैन । तर हाम्रो बौद्धिक आन्दोलन बडो कमजोर भएको सत्य हो । हुन त हामीसँग विदेशी विश्वविद्यालयमा पढेका एकसेएक विद्वान् नभएका होइनन्, हाम्रा योजना आयोग होस् वा विश्वबैंक, आईएमएफका अफिस हाम्रा विज्ञको उपस्थिति सबैतिर छ । तर समाजमा बौद्धिक आन्दोलन हुनु वा नहुनु विश्वविद्यालय वा सरकारी गैरसरकारी संस्थामा विद्वान् हुनु वा नहुनुले निर्धारण गर्दैन । बौद्धिक आन्दोलनले परम्परागत ज्ञान प्रणालीमाथि प्रश्न गर्छ, सत्ताको भाष्यको विकल्पमा नयाँ भाष्य खोज्छ, समाजको गतिलाई धक्का मारेर दिमागहरू चलायमान पार्छ । यस हिसाबले हामी बडो कमजोर अवस्थामा छौं । पञ्चायतकालमा सिनासजस्ता संस्था थिए, रिसर्च हुन्थ्यो, बहुदलपछि बिग्रियो सकियो भन्ने गुनासो हामीले धेरै सुनेका छौं । तर पञ्चायतकाल नै त्यो समय थियो जब बौद्धिकहरू सत्ताका पहरेदार भए र त्यसको निरन्तरता अहिलेसम्म कायम छ । जबसम्म बौद्धिकहरू नियुक्ति, पुरस्कार र पदको मोहबाट मुक्त भएर स्वतन्त्र आन्दोलन निर्माणमा लाग्दैनन्, तबसम्म यो हालत कायम रहनेवाला छ । 

तपाईं आख्यानमा अभ्यस्त लेखक, राजनीतिक गैरआख्यान लेख्न कति सहज हुँदो रहेछ ? 
मलाई जब आममानसले लेखकका रूपमा चिन्न थाले, त्यही बेलादेखि नै मैले आख्यान र गैरआख्यान दुवै विधामा लेखिआएको छु । आख्यान मेरो प्रिय विधा हो । अहिले पनि मेरो एउटा मोटो उपन्यासको पाण्डुलिपि थन्किएर रहेको छ । अहिले पनि म आख्यान लेख्दा खुब आनन्द महसुस गर्छु । तर नेपाली समाजमा चरित्र र कथा बुझ्दै जाँदा गैरआख्यानका किताब नै धेरै पढ्नुपरिरहेको हुन्छ । नेपाली समाजको सुन्दरता र जटिलता पनि एउटा कुरामा छ, कुनै पनि लेखक एकैपटक सबै समुदायको सदस्य भएर जन्मन र हुर्कन सक्दैन र यसै कल्पनामा डुबेको भरमा यी समुदायहरूबीचको सम्बन्ध बुझ्न पनि सक्दैन । कुनै पात्र, चरित्र वा कथा निर्माण गर्दा नेपाली समाजका अनेकन जटिलता एकैपटक सामुन्ने आउँछन् । तिनै पात्रहरूलाई बुझ्ने क्रममा म गैरआख्यान लेखनको आनन्द उठाउँछु । मेरा लागि आख्यान र गैरआख्यान लेखन परिपूरक र उत्तिकै उत्तेजनायुक्त छन् ।

प्रकाशित : असार १७, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?