सेरालाबाडाको सेरोफेरो

गंगा बीसी

काठमाडौं — माथि हरियो जंगल, गाउँको पुछारमा सम्म परेको खेतबारी ।

सेरालाबाडाको सेरोफेरो


झ्वाट्ट हेर्दा पर्यटकीय क्षेत्रजस्तो सुन्दर बस्ती । बाहिरबाट हेर्दा यो बस्ती जति सुन्दर छ, त्यसको भित्री यथार्थ भने ठीक उल्टो । प्रकृतिले जति सिँगारेको छ, भौतिक विकासले समृद्ध हुन नसकेको यो गाउँको मुख्य विशेषता पूर्ण रूपमा भारतमा निर्भर हुनु हो । राजधानीबाट करिब आठ सय किलोमिटर टाढा रहेको बाजुरा बुढीगंगा नगरपालिका–९ मा पर्ने सेरलाबाडा गाउँमा सबै दलित परिवार बस्छन् । उनीहरूको थरबाट गाउँको नाउँ रहन गएको छ । कुनै बेला उपल्लो जातले थिचिएको यो बस्ती यति बेला भने आफ्नै नियतिले ठगिएको छ ।
खुसी के हो ? सेरलाबाडाका बासिन्दाका लागि दुई छाक खाना र एक सरो लुगा । दिल्लीबाट पैसा आएको दिन उनीहरू सबभन्दा खुसी हुन्छन् । अब केही दिन खर्चपर्च ढुक्क भो । उनीहरूका ठूला सपना छैनन् । पुस्तौं भइसक्यो, नियति उस्तै छ । गाउँ नजिक सडक पुग्यो, बजार बढ्यो । खास फरक फरेन । किनकि सेरलाबाडाको रूप उस्तै छ । निर्वाचनको बेला गाउँ/नगरमा समृद्धिको धेरै कुरा भए पनि त्यहाँ परम्परागत शैलीका घरमा अलिकति पनि समृद्धि छिरेको छैन । सडक र बजारले अलि–अलि विकृति भने ल्याएको छ गाउँमा । युवायुवतीलाई थोरबहुत फेसनले छोएको छ । सहर र सडक गाउँ पसेपछि फेसन र अरू लत पनि सँगसँगै जान्छ । सुविधा पनि थपिन्छ । तर, त्यसको उपभोगको तौरतरिका नमिल्दा प्रत्युत्पादक हुन जान्छ । त्यस्तै भएको छ त्यहाँ पनि । बगाउँमा उत्पादन घट्दै छ, बाहिरबाट गएको दाल, चामल, चाउचाउ र चाइनिज लत्ताकपडाले जरा गाडिसकेको छ ।

हुन त गाउँ नजिक उच्च माध्यमिक तहसम्म पढाइ हुने सामुदायिक विद्यालय र हुनेखानेका लागि बोर्डिङ स्कुल छ । एकाध घरका बच्चा बोर्डिङ र केहीका बच्चा सरकारी स्कुलमा पढ्न जान्छन् । दस कक्षासम्म पुग्ने बच्चा थोरै मात्र हुन्छन् । यो वर्ष ४ जनाले एसईई (१०) कक्षाको परीक्षा दिए । फेल कोही भएनन्, राम्रो अंक पनि कसैले ल्याएनन् । १२ कक्षा ४ र स्नातक ३ जनाले पास गरेका छन् । एक जनाले मात्र सरकारी जागिर खाएका छन्, नेपाल प्रहरीमा । ‘पढेर के गर्नू ? जागिर पाइने होइन’ स्नातक गरेका देव सेरालाले भने, ‘हाम्रो भर भारत हो ।’ यहाँका ९५ प्रतिशत युवा चौकीदारी गर्न दिल्ली जान्छन् । एक सय २० घरधुरी भएको सेरालाबाडामा करिब साढे पाँच सय जनसंख्या छ ।
निर्वाचनको बेला भने केही व्यक्ति घर फिरेका भेटिए । अधिकांश समय भारतमा बिताउने उनीहरू दसैं वा कुनै पर्व मौका पारेर बाजुरा फिर्छन् । यसपटक निर्वाचनको मौका पारी उनीहरू घर फिरे पनि मतदाता नामावलीमा नाम छुटेछ । मतदाता नामावली दर्ता गराउने बेला उनीहरू गाउँमा थिएनन् । गाउँमा खेतबारी छ तर उनीहरूको जिउने ‘खेती’ दिल्लीतिरै छ । दिल्ली नगई सेरलाबाडामा चुल्हो बल्दैन । त्यो खेतबारीले त्यति साह्रो स्याहार पाउँदैन, किनकि लोग्नेमान्छे जति भारत हुन्छन् । महिलाको मिहिनेत राम्रो नपुग्ने भएकाले उत्पादन न्यून हुन्छ । ‘यहाँको उत्पादनले तीन महिना पनि खाना पुग्दैन,’ चक्र सेरालाको भनाइ छ, ‘हाम्रो खेतीपाती भनेको दिल्ली जाने हो । त्यसले नै गुजारा चलाउने हो ।’

दलितको पक्षमा काम गर्ने गैरसरकारी संस्था सेरालाबाडामा पनि छन् । ती गैरसकारी संस्थाले ती दलितहरूको जनचेतना जगाउन सफल देखिएनन् । गाउँमा चर्पी बनेका छन्, तर सही ढंगले प्रयोग भएका छैनन् । गाउँकै छेउमा स्कुल छ, तर सबै बालकालिका पढ्न जाँदैनन्, गए पनि १० कक्षा नपुग्दै छाड्छन् । गाउँभन्दा मुनि खेतबारी छ, राम्ररी खेती लगाइँदैन । जबकि नजिकै अर्को ठकुरी र क्षत्रीको टोल छ, त्यहाँ खेतीपाती राम्रो हुन्छ । गाउँको नजिक खानेपानीको मुहानको पनि सही प्रयोग भएको छैन । त्यसो त दलित भएकै कारण उनीहरूले नजिकको प्राकृतिक स्रोतसाधन राम्ररी प्रयोग गर्न नपाएको गुनासो गरे । ‘हामी माथिको वनको उपभोक्ता समितिमा छौं, मथिल्लो जात (ठकुरी) ले प्रयोग गर्न दिँदैनन्, समितिमा बसे पनि पाउँदैनौं भन्छन्,’ देव सेरालाले भने । पहिलेजस्तो जातीय छुवाछुत नभए पनि वन प्रयोग गर्ने विषयमा भने उनीहरूबीच विभेद रहेको पाइयो ।
गाउँका अधिकांश महिलाहरू नेपाली राम्ररी बुझ्दैनन् । डोट्यालीमा आफ्नो दु:ख सुनाए, ‘पानीका लागि रातभर पालो बस्नुपर्छ । गुजारा चलाउन गाह्रो छ,’ सुन्तला सेरालाले सुनाइन् । स्थानीयका अनुसार अधिकांश महिला छोटै उमेरमा वृद्धा देखिन्छन् । यसको कारण उचित खानाको समस्या भएको स्थानीयको भनाइ छ । ‘वर्षभरि सामान्य खाना पुर्‍याउन समस्या छ, पौष्टिक खानेकुरा कहाँबाट पाउनु ?’ हालै दिल्ली लालकिल्लाबाट आफ्नो गाउँ फर्किएका दीपक सेरालाले भने ।
निर्वाचनले केही आशा पनि जगाएको छ गाउँमा ।

निर्वाचनको बेला कान्तिपुरकर्मी पुग्दा उनीहरूले गाउँको सिरानको चौतारोमा भेला भए । युवादेखि वृद्धसम्मले उस्तै प्रश्न गरे, ‘चुनाव जितेपछि सेरालाबाडामा केही होला ? पहिलेभन्दा काम हुन्छ भनेका छन् ।’ चुनाव जित्नेहरू गाउँमै बस्ने भएकाले पहिलेभन्दा कसो विकास नहोला भन्ने पनि भेटिए । ‘अब त केही होला । बजेट सीधै गाउँमा आउँछ रे, उम्मेदवार नेता त्यसो भन्दै थिए,’ रूप सेरालाको भनाइ छ । प्राकृतिक रूपमा सेराला जति सुन्दर छ, त्यसलाई विकासले समृद्ध गराउन सके पक्कै पनि ‘सुनमा सुगन्ध’ हुनेछ ।

प्रकाशित : असार १७, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?