२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चिनियाँ हाते चिया

चेतनाथ आचार्य

चियाको आविष्कार पाँच हजार वर्षअगाडि चीनमा भएको हो । संसारमा सबैभन्दा धैरै चिया चीनमा उत्पादन हुन्छ र सबैभन्दा बढी चिया पनि चीनमै खपत हुन्छ ।

चिनियाँ हाते चिया

चीनले मात्र विश्वको ३५ प्रतिशत चिया उत्पादन गर्छ । चीनका चिया उत्पादन हुने विभिन्न प्रान्तमध्ये फुचियान महत्त्वपूर्ण मानिन्छ । चीनको दक्षिण पूर्वमा रहेको फुचियान प्रान्त चियाका लागि विश्वमै प्रख्यात छ ।  चीनमा चिया प्रशोधन गर्ने थुप्रै विशाल उद्योगहरू छन् । तर, अझै पनि चीनमा हातले चियापत्ती बनाइन्छ भन्दा अनौठो लाग्छ । नेपालको इलाममा सबैभन्दा धेरै चिया उत्पादन हुन्छ । इलाममा मात्र दर्जनभन्दा बढी चिया प्रशोधन गर्ने उद्योगहरू स्थापित छन् । अझै नयाँ उद्योग खुल्ने क्रम जारी रहेको छ । इलाममा चिया किसानले हाते चिया खासै बनाउँदैनन् । आफूले खाने सीमित मात्रामा हाते चिया बनाउने किसानले आफ्नो हरियो चिया कारखानालाई बुझाउँछन् र त्यही कारखानाबाट महँगोमा तयारी चिया किनेर खाने गर्छन् । चीनका चिया किसानचाहिँ आफैँ चिया प्रशोधन गर्छन् र चिया कारखानाको भन्दा कैयौँ गुणा महँगोमा बजारमा बेच्छन् ।
चीनमा पुस्तौँदेखि हाते चिया बनाउने प्रचलन कायम छ । उनीहरूले बनाएको चिया बजारमा निकै महँगो मूल्यमा बिक्री हुने गर्छ । विशेषगरी चिनियाँ किसानहरू रातो (कालो) चिया, हरियो चिया, ओलङ चिया र सेतो चिया हातैले बनाउने गर्छन् । यसरी बनाइएको चियाको बजार खुद्रा मूल्य प्रतिकिलो पचास हजार रुपैयाँदेखि साढे तीन लाख रुपैयाँसम्म पर्छ ।
फुचियान प्रान्तको वुयी पर्वतमा मात्र पाइने चट्टाने चियालाई ‘रक टी’ भनिन्छ । ओलङ चियाकै एउटा प्रकारका रूपमा रहेको रक टीलाई चिनियाँ भाषामा ‘ताहोङफावो’ भनिन्छ । फुचियान प्रान्तको उत्तरी क्षेत्रको वुयी पर्वतको अत्यन्त जोखिमपूर्ण चट्टानका खोँचहरूमा चियाका बुटाहरू छन् । त्यहाँ उष्ण प्रदेशमा जस्तै प्राय: पानी परिरहन्छ तर गर्मीचाहिँ हुँदैन । अष्ठ्यारा चट्टानमा पलाएका अथवा रोपिएका चियाका बुटालाई ३६५ वर्षदेखि संरक्षण गरेर राखिएको छ । त्यहाँको चिया वर्षको एकपटक मात्र टिपिन्छ । विशेषगरी अप्रिलदेखि जुन महिनामा टिपेर हातैले बनाइने यो चिया सबैभन्दा महँगो पर्छ । यसको बजार खुद्रा मूल्य तीन लाख रुपैयाँसम्म पर्छ । रक टीलाई तातो पानीमा राखेर खाइन्छ । तातोपानीमा कुनै रङ नआउने तर चियाको बासना भने हर्रर आउने गर्छ । चिया पारखीहरूले परैबाट यो चियाको विशेषता थाहा पाउँछन् । रक टीलाई चियाहरूको राजा मानिन्छ । वर्षको एकपटक मात्र टिपिने र सीमित क्षेत्रमा उत्पादन हुने भएकाले यसको माग बढी छ तर आपूर्ति कम ।
वुयी पर्वतका किसानहरू पुस्तौँदेखि हातैले रक टी बनाउने गर्छन् । हिजोआज हातैले चिया प्रशोधनलाई केही परिस्कृत गरिएको छ । हरिया चियाका मुनालाई ओइल्याउन र चिया माड्नका लागि आधुनिक उपकरण पनि प्रयोग गर्न थालिएको छ । यसरी उपकरण गरेको चियाको गुणस्तर पूर्ण रूपमा हातैले बनाएको जस्तो नहुने किसानहरू बताउँछन् ।
बोटबाट टिपेर ल्याइएको चियालाई ओइल्याइएर माडिन्छ । त्यसरी माडिएको चियालाई सुकाउन सबैभन्दा बढी ध्यान दिनुपर्छ । माडिएको चियालाई सुकाउँदा थोरै पनि तापक्रमको घटबढ र आगोमा प्रयोग भएको दाउराले चियाको गुणस्तर फरक पार्छ । सुकाउनका लागि सकेसम्म घामलाई प्राथमिकता दिइन्छ । घाममा चिया सुकाउनका लागि बाँसबाट बनाइएका नाङ्ला र माद्रा सबैभन्दा उत्तम सामग्री हुन् । घाममा टिन तात्ने र टिनमा छिटै सुक्ने भए पनि उनीहरू टिनमा चिया सुकाउँदैनन् । चियाको गुणस्तर बिग्रन्छ भनेर उनीहरू सधैँ चिन्तित रहन्छन् । मौसमको भर नहुने र माडिएको चियालाई तुरुन्तै नसुकाएमा बिग्रने हुनाले घाममा अलिअलि सुकाइएको चियालाई किसानहरूले आगोमा सुकाउने गर्छन् ।
खाल्डोमा दाउराको भुङ्ग्रोलाई खरानीले छोपिन्छ । त्यसमाथि बाँसको चोयाले बनाएको ढाकीमा राखेर माडिएको चिया सुकाइन्छ । दाउरा जुनसुकै काठको प्रयोग गर्न पाइन्न । विशेषगरी चियाको डाँठ र लिचीको दाउरा राम्रो मानिन्छ । त्यसबाहेक फलफूल दिने पोथ्रे रूखका काठ पनि प्रयोग गर्न सकिन्छ । यसरी सुकाइएको चियालाई समय र तापक्रमअनुसार फर्काउने गर्नुपर्छ ।
फुचियान प्रान्तको चङ्ख जिल्लास्थित चङ छिआन गाउँमा चियाका बारेमा एउटा रोचक प्रचलन छ । अप्रिल महिनामा पर्ने चिनियाँ पुर्खा दिवस ‘छिङमिङचे’ का दिन जोसुकै किसानले अरू जोकोहीको चिया बारीमा गएर चिया टिप्न पाउँछ । अरू बेला भए चोरीको अभियोग लाग्ने भए पनि पुर्खा दिवसका दिन टिप्दा कुनै अभियोग लाग्दैन ।
चङ छआन गाउँ पनि नेपालमा गाउँजस्तै युवाविहीन बनेको छ । युवाहरू अवसर र सुविधाको खोजीमा सहर र राजधानी गएकाले गाउँमा वृद्धवृद्धा मात्र चिया प्रशोधनमा लागेका छन् । नयाँ पुस्ता गाउँमा नभए पनि पुरानो पुस्ताले पुख्र्याैली बिँडो थामिरहेको छ । त्यहाँका चिया किसानहरूको चियासँगको साइनो कस्ता हुन्छ भने जन्मिएको तीन महिनादेखि नै बच्चालाई चिया खुवाउन थाल्छन् ।

प्रकाशित : असार १७, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?