१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वाम राजनीतिको शल्यक्रिया

‘प्रेमदासको डायरी’ मा प्राप्तिभन्दा सपना धेरै छन् । आशा धेरै छन्, बहकाउ धेरै छन् । विदु्रप प्रेम, प्रेमभङ्गका प्रसङ्ग धेरै छन् । रुन्चे हाँसो धेरै छन् । कौतूहल धेरै छन् समष्टिमा राजनीतिक सचेत पाठकको निम्ति मननीय सन्देश धेरै छन् ।
भुवनहरि सिग्देल

२०७३ चैतमा प्रकाशित भएको रेशम विरहीको उपन्यास ‘प्रेमदासको डायरी’ नेपाली साहित्यजगत्को नवीन हो ।

वाम राजनीतिको शल्यक्रिया

उपन्यासमा रेशम विरहीको परिचय नदिएको भए तापनि म उनलाई कवि पत्रकार र निबन्ध लेखकका रूपमा चिन्छु । ३०३ पृष्ठको कायाकलेवरमा प्रकाशित यो उपन्यास कस्तो होला ? मेरो मनमा अनेकौं जिज्ञासा थिए । कवि, पत्रकार र निबन्धकारले कस्तो उपन्यास लेखे होलान् ?

पहिले विषय प्रवेश पढेर मात्र सिङ्गो उपन्यास पढ्ने वा नपढ्ने निक्र्योल गर्नुपर्ला भन्ने लाग्यो । मैले ‘कुटीमा कथारम्भ’ प्रवेशपृष्ठ पल्टाएँ । भाषा, विचार प्रस्तुति, शैलीमा कुनै अवरोधबिना म कथामा प्रवेश गरेँ । तर यहाँ उपन्यासकार स्वयम् धीवर बनेर कथाशृङ्खला हाँके । कथा अन्त गर्दा प्रेमदासले स्वामीको चीवर ओढेर नेपालको जनमुक्ति आन्दोलनको पटचित्र देखाएझैँ लाग्यो । यसमा उनले राजनीतिक दुष्परिणामका अवशेष देखाए । नेपालगन्जको परिवेश, प्रेमदासको कुटी, अप्रत्यासित भेट भएकी चम्पाले कथित वाम आन्दोलनको कहालीलाग्दो इतिहास र त्यसको दयनीय पक्षको उद्घाटन गरिदिए । मभित्र पूरै किताब नपढी नहुने जिज्ञासा र कौतूहल मडारियो ।

यथार्थ हो, कटु यथार्थ । राणाकालमा जनस्वतन्त्रता सामन्तको मुठीमा बन्द थियो । पञ्चायत र राजाका शासनकालमा नेपालीको स्वतन्त्रता दरबारभित्र थुनिएको थियो । त्यो स्वतन्त्रताको निष्पक्ष उपयोग गर्न जनताले चाहे । त्यसैको भङ्गालो बनेर वाम आन्दोलनको जन्म भएको थियो । त्यो प्रवाहमा नेतृत्व गर्नेहरूसँग भित्री लालसा थियो, स्वार्थ थियो, जाल थियो । तर उन्मुक्तिकामी कार्यकर्ताको विशाल समूहको संघर्ष र प्राप्तिपछिको सपना मात्र थियो, अमनचैन ।

यो कथाको दिउल चितवनबाट टुुँसाएको हो । कथाको आधारभूमि अत्यन्तै रोचक तवरले चित्रित छ । चितवनका धनाढ्य, नवधनाढ्य र सर्वहाराको सीमा टिकौली नहरलाई प्रस्तुत गरिएको छ । टिकौलीको खगेरीखोलाको नहर शारदानगरसम्म पुग्दा त्यसले अनौठो आर्थिक परिमाण देखायो । नहरको तल्लो भूखण्ड सिँचाइको कारणले हराभरा भयो । बढी उब्जनी हुन्थ्यो । नहरदेखि उतरतर्फका किसानहरू उत्पादनको कमीले विपन्न थिए । दक्षिणतिरका जनता कम्युनिस्ट बने । नहरदेखि उतरको जमिन सुक्खड भयो । त्यहाँका जनता विपन्न भए । ती कांग्रेस भए ।

यो अंश पढ्दा यस्तो लाग्छ ‘प्रेमदासको डायरी’ तत्कालीन चितवनको सजीव दिग्दर्शन हो । यहाँको ठामगाम जमिन खोस्री खाने सपना बोकेर मदेस झर्नेको बिचल्ली, गल्ला व्यापारीले गर्ने शोषण, ठगी प्रपञ्च, रापतीको बाढी, त्यसले गरेको जमिन कटान आदिको पूर्वचित्र समेटिएको छ । यसैभित्र वामक्रान्तिको मुना पलाउँदै हुर्किएका हुन्, प्रेमदास, छन्दबहादुर, कविता, संगीत खवास, चम्पा, हर्के, टुकबहादुर, बिर्खबहादुर विवेक, राजु विश्वकर्मा आदि पात्र ।

नेपालको कथित राजनीति वाम आन्दोलनको बुई चढेर झन्डै बाह्र वर्षसम्म देश रुमलियो । यो क्रममा धेरैपटक राज्यको बन्दुक जनताको शिर ताकेर पड्क्यो । ठाउँ–ठाउँमा अमानुष र वर्वर हत्याकाण्ड भए । सन्त्रासकै मानसिकता लिएर अज्ञात सङ्ग्रामका मैदानमा निस्कनुपरेझैं जनताले आफ्नो दैनिकी चलाउनुपर्ने स्थिति भयो । हजारौं हजार युद्धकामी कार्यकर्ताका सङ्गठन भताभुङ्ग भए । कसैलाई राज्यले गिरफ्तार गर्‍यो । धेरैको ज्यान बेपत्ता पारियो ।

देशव्यापी रूपमा युद्ध विभीषिका र त्यसबाट उत्पन्न भय, आतङ्क र हाहाकारको तुमुल ध्वनि चल्दै थियो । चितवनको प्रमुख कार्यकर्ता सङ्गीत सवास मारिएको खबर पुग्यो । ऊसँग यो कथाकी नायिका कविताको बिहे गर्ने गोप्य निर्णय पनि चकनाचुर भयो । प्रभाकर, चम्पा, रामु विश्वकर्मा पनि सक्रिय कार्यकर्ता बनेर सङ्गठनका काम गर्न थाले । ठाउँ–ठाउँबाट कार्यकर्ता गिरफ्तार हुने क्रममा प्रभाकर, चम्पा, राजु विश्वकर्मालाई पुलिसले पक्रियो । वीरगन्ज पुर्‍याएर तिनलाई थुनेर निर्मम यातना दिइयो । चम्पा त्यहीँबाट परिन् । त्यही घटनामा रामु मारियो । प्रभाकरले भागेर ज्यान बचायो ।

तत्कालीन अवस्थाको रोमोत्तेजक घटना प्रसङ्गलाई लेखकले यसरी बुनेका छन् कथा पढ्न थालेपछि पूरै किताब नसकी छुट्कारा पाइँदैन । एकपछि अर्को कथा रोमाञ्चक बन्दै जान्छन् । यसप्रकार पाठकलाई खिच्न सक्नु लेखकको सफलता हो भन्ने मलाई लाग्छ ।

चितवनमा जग्गा जोती खान पाइन्छ भन्ने सपना लिएर मदेश झरेका बिर्खबहादुर, उसकी श्रीमती, छोरो छन्दु र तिनैसँग आश्रित कविता त्यहाँ पनि सुकुम्बासी नै हुन्छन् । बर्दियामा जग्गा वितरण सुरु भएको छ भन्ने हल्लाकै भरमा त्यो परिवार त्यहाँको ढोडेरी पुग्छ । माओवादी ‘जनयुद्ध’ सुरु भएपछि आतङ्कित मनस्थिति बोकेर प्रभाकर भारत भ्रमणमा निस्कन्छ । त्यहीँदेखि कथाले अर्को मोड लिन्छ ।

प्रभाकार कानपुर पुग्छ । १९२५ मा सर्वप्रथम भारतीय कम्युनिस्ट पार्टी गठन गरिएको भवनको खण्डहर देख्छ । यात्राकै क्रममा भेटिएकी तिलस्मी स्वरूपाले मुम्बईको आफ्ना ९४ वर्षीय हजुरबा द्वारिकानारायण घोषसँग भेटेर कम्युनिस्ट राजनीतिको इतिवृत्ति बुझ्ने सल्लाह दिन्छे । द्वारिकानारायण आफैं रहस्यमय पात्र छ । उसले बनारसको सन्त भाइ आनन्दनारायणलाई भेट्ने सल्लाह दिएर बिदा दिन्छ । तीसँगको भेट र सङ्गतले नेपालको पूरै राजनीतिको विदु्रप तथ्य महसुस गरेपछि राजनीतिमाथि प्रभाकरलाई हदैसम्मको वितृष्णा आउँछ । त्यहीँको हरदेवको साथ लागेर ऊ नेपालगन्ज फर्किन्छ । फुलटेक्रा महादेवको मन्दिरसँगैको कुटीमा पीतवस्त्र धारण गरेर साधु बन्छ ।

चितवनदेखि सुरु भएको वाम आन्दोलनको सक्रिय कार्यकर्ता प्रभाकार नै कुटीको सन्त प्रेमदास हो । नेपाली राजनीतिको विशादपूर्ण कथा हो उसको डायरी । केवल सत्ता मोहमा सोझा जनतालाई स्वप्निल घिउचिनी चटाएर गरिने प्रपञ्चको भण्डाफोर हो उपन्यासको उत्कर्ष । आफूलाई देशको शासन हत्याउन प्रयोग गरिएका कार्यकर्ता भनूँ, पात्र सबैको बिल्लिबाँठ भएको छ कथामा । उपन्यास पढ्दा यस्तो लाग्छ, यसको लेखक नै प्रेमदास हो या उसले निकटबाट पहिचान गरेको कुनै बिचरा पात्र । यस्तै कार्यकर्ताका रगत कुल्चँदै या मरणासन्न पात्रको काँधमा कुल्चने सत्ताका मदान्धहरूको इतिवृत्त हो यसको कथावस्तु ।

लेखकले माक्र्सवादको उपेक्षा कतै गरेका छैनन् । सत्तासीन नेतृत्ववर्गप्रति उपेक्षा र घृणा मात्र वमन गरेका छन् यसमा । उपन्यासले नेपालको राजनीति कहाँबाट कसरी सञ्चालन हुन्छ भन्ने रहस्यको पर्दा खोलिदिएको छ । यहाँसम्म कि नेपालमा भोलि हुने अहं निर्णयहरूको अग्रिम जानकारी भारतका गल्लीमा बस्ने मठाधीशले आजै घोषणा गरिदिन्छन् । हामी यहाँ नेपाली हुनुको गौरवबोध गर्छौं, स्वाभिमान निष्ठा र देशप्रेमका गीत गाउँछौं । तर देशको राजनीतिले भने हाम्रो नियम निष्ठा र इमानको खिल्ली उडाएको अंश पढ्दा घृणाको अमिलो पानी हुलुकहुलुक आउँछ । लेखकले प्रस्ट नभने पनि नेपालको कथित राजनीतिको कुनै वाद र सिद्धान्त छ/छैन । केवल लिप्त पदलिप्सा मात्र छ । यसको उदाहरण बर्दिया ढोडेरीको राधेश्याममार्फत दिइएको छ ।

कथाको एउटा भङ्गालो जमिन पाउने आसले बिर्खबहादुर, उसकी श्रीमती, छोरो छन्दु र आश्रित केटी कवितासहित बर्दियाको ढोडेरी पुग्छन् । छन्दु र कविताको त्यहीँ बिहे हुन्छ । त्यहाँका नेता राधेश्यामबाले केही जग्गा मिलाइदिन्छन् । उनको व्यवहार भने क्रमश: कमलरीको हुन थाल्छ । राधेश्यामको चरित्र सिद्धान्तवादी छैन जसरी अवसर प्राप्त हुन्छ उस्तै सिद्धान्त बनाउँदै नेतृत्व तहमा पुग्छन् । बिर्खबहादुर, छन्दु र कविता मारिन्छन् ।

छन्दुको भाइ टुकबहादुर सानै उमेरमा भारततिर गएको थियो । ऊ यस्तै अवस्थामा सेवानिवृत्त भएर घर फर्कन्छ । जुन बेला उसको परिवारको कुनै सदस्य बाँचेका पनि हुँदैनन् ।

अनौठो मिलन छ अन्तमा । फुलटेक्रा महादेव मन्दिर परिसरको कुटीमा बस्ने सन्त प्रेमदाससँग चम्पाको भेट हुन्छ । उता बिर्खबहादुरको कान्छो छोरो टुकबहादुर ढोडेरी पुग्छ, बाबुआमा दाजुभाउजूलाई खोज्दै । त्यहाँ उसका कुनै पनि परिवार बाँकी छैनन् केवल छ विगतको युद्ध विभीषिकाले छोडेको भयानक श्रुति, निर्दोष बाबु र बिर्खबहादुरलाई राज्यले गोली ठोकेर मारेको ठाउँमा माटो मात्र ।

चम्मा र प्रेमदासको भेट भएपछि प्रेमदासले यो विकृत राजनीति, यो फ्रस्टेड सन्तभेष छाडी सुदूर गाउँमा बसेर चम्पासँग घरजम गर्ने सपना बुन्छ । पीतवस्त्र, रुद्राक्षमाला र निधारको विगुत फालेर झिसमिसे रातमै दुवै जना कुटीबाट गायब हुन्छन् । वाम आन्दोलनले दिएको अन्तिम उपलब्धि भनूँ या निष्कर्ष नै यही हो ।

‘प्रेमदासको डायरी’ विचार र चिन्तनले खारिएको सशक्त लेखन हो । यसमा प्राप्तिभन्दा सपना धेरै छन् । आशा धेरै छन्, बहकाउ धेरै छन् । विदु्रप प्रेम, प्रेमभङ्गका प्रसङ्ग धेरै छन् । रुन्चे हाँसो धेरै छन् । कौतूहल धेरै छन् समष्टिमा राजनीतिक सचेत पाठकको निम्ति मननीय सन्देश धेरै छन् । समग्र उपन्यास पढिसक्दा यस्तो लाग्छ रेशम विरहीले यो उपन्यास चुलबुले वयका पाठकलाई लक्षित गरेर लेखेका होइनन् । उनले सतासीन राजनीतिज्ञ र प्रबुद्ध पाठक वर्गलाई निसाना गरेर यसको सुगठन मिलाएका हुन् भन्ने बुझिन्छ ।

नेपाल अहिले गणतन्त्र युगमा छ । नेपालको राजनीतिमा यो उपन्यास समयले खडा गरेको कोसेढुङ्गो हो । नेपाली जनता अहिले सही गणतान्त्रिक शासन चाहन्छन् । गणतान्त्रिक उपलब्धिको अपेक्षा राख्छन् । स्वच्छ र समानुपातिक नेतृत्वको अग्रगामी आचरण चाहन्छन् । प्रयोग प्रयोग र प्रयोगमै आक्रान्त भएको देशलाई जनमुखी धावनमार्गमा हिँडाउन चाहन्छन् । तर यी अपेक्षामाथि सदैव तुषारापात मात्रै हुनु विषादपूर्ण विडम्बना हो ।

यसमा पूर्वदीप्ति शैली अपनाउन खोजिएको छ । कथा एउटै धारमा बगेको छैन । पाठकले रोकिँदै पूर्वप्रसङ्ग खोज्दै गम्भीर भएर यो उपन्यास पढ्नुपर्ने हुन्छ । भारतको भावभूमिको अंशलाई प्रस्ट शब्दमा नभनी आफ्नै देश समाजमा बढी खेल्न सकेको भए बेस हुन्थ्यो । यो हामीले देखेको कटु यथार्थ हो । यसका लेखक पक्कै पनि उल्लिखित घटनाका साक्षीझैं प्रस्ट विचार लिएर यसमा प्रस्तुत भएका छन् । उनको यो उपन्यास पढेपछि उनी वाम राजनीतिका गहन चिन्तक हुन् भन्ने आभास मिल्छ ।

प्रकाशित : असार १७, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?