कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बजेटमा रजाइँ

विश्व क्रिकेटको कमाइमा पनि ठूला देशकै दादागिरी छ ।
राजु घिसिङ

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) विश्व खेलकुदमा औंलामा गणना गरिने धनाढ्य संस्था मानिन्छ । उसले दस वर्षअघि सुरु गरेको घरेलु प्रतियोगिता हो— इन्डियन प्रिमियर लिग (आईपीएल) ।

बजेटमा रजाइँ

आईपीएल घरेलु प्रतियोगितामध्ये विश्व क्रिकेटकै सबभन्दा ठूलो ब्रान्ड स्थापित भएको छ । सन् २०१६ देखि यसको मुख्य प्रायोजक चिनियाँ मोबाइल उत्पादन कम्पनी ‘भिभो’ हो । यी दुईबीच प्रायोजन सम्झौता ५ वर्षका लागि मंगलबार गरियो । अब भिभोले आईपीएललाई वार्षिक ३४ करोड १० लाख अमेरिकी डलर दिनेछ ।
चिनियाँहरूको लोकप्रिय खेल होइन क्रिकेट । चार अर्ब डलरभन्दा बढी ब्रान्ड भ्यल्यू भएको आईपीएल क्रेजमा चिनियाँ कम्पनीहरू व्यावसाय प्रवद्र्धन गर्न लोभिएको हो । यसपालि भिभोलाई चुनौती दिने प्रयास अर्को चिनियाँ मोबाइल कम्पनी ओप्पोले मात्र गरेको थियो । यसलाई क्रिकेटको बढ्दो लोकप्रियताबाट फाइदा लिने चिनियाँ व्यवसायीको दाउ बुझ्न सकिन्छ । यसले क्रिकेटलाई ठूलो व्यवसाय बनाउँदै लगेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सन् २०१९ मा इङल्यान्डमा हुने विश्वकपमा १० टिमले मात्र खेल्ने निर्णय र ‘बिग थ्री’ को सिन्डिकेटले यस खेललाई सीमित क्षेत्रमै राख्ने प्रयास गरेको देखाउँछ । यसो गर्नुका कारण भने बाहिर आएको छैन ।
भारतका एन श्रीनिवासन चेयरमेन छँदा सन् २०१४ मा आईसीसीले त विश्व क्रिकेटमा बिग थ्रीको शासन नै लागू गरेको थियो । क्रिकेटको जन्मदाता इङल्यान्ड, पावरहाउस अस्ट्रेलिया र सवा अर्ब जनसंख्या भएको भारत ‘बिग थ्री’ हुन् । आईसीसीले आठ वर्षका लागि अडियो–भिज्युअल अधिकार २ अर्ब डलरमा बिक्री गर्ने सम्झौता सन् २०१४ मा गरेको थियो । त्यससँगै अर्को निर्णय पनि गरिएको थियो ६२ प्रतिशत बजेट बिग थ्रीले बाँड्ने । अरू टेस्ट खेल्ने देशलाई ५–५ प्रतिशत मात्रै दिने भएको थियो । सन् २०१६–२०२३ चक्रको क्रिकेट विकास कोषको ३० करोड डलर पनि कटौती गर्दै बिग थ्रीकै खल्तीमा दिने भएको थियो । भर्खर क्रिकेट फैलिन थालेको चीन, अमेरिकादेखि नेपालसम्मै विकास कोषको रकम आउने गर्छ । थुप्रैले भारत भ्रमणको लोभलाग्दो अवसर पाएकाले त्यसको चर्को विरोध भएन ।
अहिले आईसीसीमा भारतकै शशांक मनोहर चेयरमेन छन् । बिग थ्रीको सिन्डिकेट तोड्ने प्रयास गर्दा उनको पद नै धरापमा परेको थियो । क्रिकेट विकास र विस्तारमा जोड दिने प्रयास गर्दा उनले आईसीसीबाट राजीनामा पनि दिनुपर्‍यो । अहिले पदमा यथावत् रहे पनि उनी बीग थ्रीसँग सम्झौता गर्न बाध्य छन् । उनले बिग थ्रीको बजेट घटाएर क्रिकेटको विकास र विस्तारमा खर्च गर्ने योजना ल्याएका थिए । तर त्यो योजना गर्भमै धरापमा पर्‍यो ।
यो आठवर्षे चक्रमा आईसीसीले दुई अर्ब ७० करोड डलरको कारोबार गर्ने अनुमान छ । यसबाट भारतले ६१ करोड डलर पाउनुपर्ने दाबी गर्‍यो । तर आईसीसीले २९ करोड ३० लाख डलर मात्र दिने भन्यो । उसलाई १० करोड डलरको ‘गुडविल’ पनि थप्ने भन्यो । तर भारतले मानेन । क्रिकेटको ७० प्रतिशत बजेट भारत भएकोले ठूलै बजेट पाउनुपर्ने उसको दाबी हो । चालीस करोड ५० लाख डलरमा बल्ल भारत तयार भयो अनि मात्र आईसीसीको बजेट वितरणबारे गत साता लन्डनमा निर्णय गरियो ।
आईसीसीबाट दोस्रो ठूलो रकम पाउने इङल्यान्ड हो र उसले आठवर्षे चक्रमा इङल्यान्डले १३ करोड ९० लाख डलर पाउनेछ । जिम्बाबेले नौ करोड ४० लाख पाउनेछ । आईसीसीका टेस्ट खेल्ने अरू सात देशको भागमा समान १२ करोड ८० लाख डलर छ । नयाँ टेस्ट सदस्य अफगानिस्तान र आयरल्यान्डसहित १ सय ५ एसोसिएट/एफिलियट सदस्यका लागि २४ करोड डलर छुट्याइएको छ । त्यसबाट अफगानिस्तान र आयरल्यान्डले तीन करोडदेखि साढे तीन करोड डलर पाउने बताइएको छ ।
कुल एक अर्ब ५३ करोड ६० लाख डलर वितरण गर्न लागिएको बजेटबाट आईसीसीको पूर्ण सदस्य भएपछि नै आफगानिस्तान र आयरल्यान्डको आम्दानी ह्वात्तै बढ्ने भएको हो, नहुँदो हो त प्रतियोगिता/कार्यक्रममा आधारित बजेटमै सीमित हुन्थे । ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा रहेका २२ अफगान खेलाडीको मासिक तलब ४ सयदेखि ७ सय डलर छ । अब उनीहरूको तलब पनि बढ्ने निश्चित छ । ठूला टिमसँग खेल्ने एक्सपोजर सबभन्दा महत्त्वपूर्ण हो । आईपीएलमा भारु ४ करोड र क्यारेबियन प्रिमियर लिगमा ६० हजार डलर कमाएका १८ वर्षीय स्पिनर रसिद खानको बाटोमा अरू अफगान खेलाडीहरू पनि बढ्नेछन् ।
विश्वकप २००७ मा सनसनीपूर्ण प्रदर्शन गर्दै सुपर एट पुगेको आयरल्यान्डले ५६ हजार डलर पुरस्कार पाएको थियो । जब कि समूह चरणबाटै बाहिरिएको जिम्बाबेले मिडिया राइट पुलबाट १ करोड १० लाख डलर लगेको थियो । आईसीसीले कमाउने र ठूलालाई बाँड्ने होइन, सिन्डिकेट तोड्दै यस्ता खाडल पुर्न सके मात्र क्रिकेटको विकास र विस्तार हुनेछ । त्यस्तै बजेट वितरण प्रणाली हो भने ५० लाख डलरभन्दा पनि कम वार्षिक बजेट रहेको आयरल्यान्डले आफ्ना खेलाडी कसरी जोगाउन सक्छ ? किनभने उसका उत्कृष्ट खेलाडीहरू इङल्यान्डमा काउन्टी क्रिकेट खेल्छन् । उसका खेलाडी आकर्षक तलब लिँदै त्यतैबाट इङल्यान्डको टिममा जाने गरेका छन् ।
आईपीएल र काउन्टी क्रिकेटबाट एकै सिजन खेलाडीले लाखौं डलर कमाउने गर्छन् । त्यसैले आम्दानी कम भएका देशका उत्कृष्ट खेलाडी राष्ट्रिय टिम त्यागेर अर्कैतिर लाग्ने डर छ । यसका लागि पनि ठूलालाई पोस्ने आईसीसीले बजेट वितरण प्रणाली सच्याउनु आवश्यक छ, जसले क्रिकेटलाई पनि अझ स्तरीय र लोकिप्रय बनाउन सक्छ ।

प्रकाशित : असार १७, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?