कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अफगानिस्तानको उदय

अफगानिस्तानको टेस्ट मान्यताले नेपालको बाटो सजिलो भएको मान्ने जति छन् त्यत्ति छन्– नेपालले मौका चुकाएको ठान्नेहरू ।
विनोद पाण्डे

अफगानिस्तान क्रिकेटको प्रसङ्ग आउनेबित्तिकै श्रीनिवास राणा अहिले पनि त्यही दिन सम्झिन्छन्, जुन दिन अफगानिस्तानले नेपालसँग पहिलोपटक खेल्दै थियो । सन् २००४ को एसीसी ट्रफी अफगान क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यही पाँचौं स्थानको प्लेअफमा स्थान पाउन अफगानिस्तानको भेट नेपालसँग हुँदै थियो ।

अफगानिस्तानको उदय


मलेसियामा भएको यस प्रतियोगितामा नेपालले राम्रो खेल्न सकेको थिएन । महत्त्वपूर्ण खेलमा चुक्ने नेपाली क्रिकेटको परम्परा यहींबाट सुरु भएको थियो । कतारसँग ४ विकेटको स्तब्धपूर्ण हारपछि नेपाल प्लेअफमा खेल्न बाध्य भयो । यस्तैमा अन्तिम खेलमा नेपालको प्रतिद्वन्द्वी बनेर आएको थियो अफगानिस्तान । कतारसँगको हारले नेपालले सीधै विश्व क्रिकेट लिग डिभिजन २ मा पुग्ने मौका गुमाइसकेको थियो ।
अफगानिस्तानसँगको जितले नेपाललाई विश्व कप छनोट शृंखला २ मा पुर्‍याउँथ्यो । नेपाल ४९ औं ओभरमा नेपाल १ सय ४७ रनमा अलआउट भयो । नेपाललाई समेटेपछि अफगानिस्तानले खेल जितेको जस्तै गरेर खुसियाली मनाउन सुरु गरिसकेको व्यवस्थापक राणाले पाएका थिए । उनीहरूको चुरीफुरी नै अर्कै थियो । अफगान अफिसियलहरूले त नेपाललाई ‘हार्ड लक’ समेत भन्न भ्याइसकेका थिए । अफगानिस्तान कस्तो टिम भन्ने नेपाली टोलीलाई खासै थाहा थिएन । नेपाली टोली आफैंलाई भने आफ्नो बलिङमा विश्वास थियो । त्यही विश्वास मैदानमा खरो उत्रियो । राजुकमार प्रधानले ४ विकेट लिएपछि नोवरुज मंगल सम्मिलित अफगानिस्तानलाई १ सय रनमा अलआउट गरी युद्धग्रस्त राष्ट्रसँगको पहिलो भेटमा नेपालले बाजी मात्र मारेन विश्वकप छनोट शृंखलामा २ मा पनि पुग्यो ।
ििि

१२ वर्षपछि खोला मूलधारमा फर्किन्छ भनेझैं नेपालले अफगानिस्तानसँगको अर्को खेल जित्न १० वर्ष कुर्नुपर्‍यो । २०१४ मा विश्व ट्वान्टी–२० मा आएर मात्र अफगानिस्तानमाथि नेपालको अर्को विजय सम्भव भयो । नेपाललाई एउटा सान्त्वना के थियो भने ठूलो इभेन्टमा आएर अफगानिस्तानसँग बदला लिन सफल भएको थियो । पहिलोपटक विश्वकप खेल्नुअघि नेपालले दशकयता अफगानिस्तानसँग निरन्तर हारेको थियो ।
२००४ को एसीसी ट्रफी खेल्दा होस्, २०१४ को विश्व ट्वान्टी–२० खेल्दा या हालै गरेको क्यारेबियन भ्रमणमा वेस्ट इन्डिजसँगको शृंखलामा अफगानिस्तानको खेल कहिल्यै परिवर्तन भएन । विकेटको स्थिति कस्तो छ, जित–हारले कस्तो प्रभाव पार्छ त्यो अफगानिस्तानको क्रिकेटले कहिल्यै मतलब राखेन । उनीहरू आक्रामक रूपमा खेल्थे । विकेट झरेमा अर्को आउने ब्याट्सम्यानले टिकेर खेल्नुपर्छ र साझेदारी बढाउनुपर्छ भन्ने खेल पनि अफगानको कहिल्यै रहेन । उनीहरू केवल आफ्नो प्राकृतिक खेल खेल्थे । प्रतिद्वन्द्वी र बलर जस्तोसुकै होस् उनीहरू आफ्नो आक्रामक खेललाई निरन्तरता दिन्थे । बलर जहिल्यै अफगानिस्तानको राम्रो थियो ।
यसैको प्रतिफल अफगानिस्तानले भर्खरै टेस्ट मान्यता पायो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अफगानिस्तान र आयरल्यान्डलाई क्रमश: ११ औं र १२ औं राष्ट्रको रूपमा टेस्ट टोलीमा समावेश गर्‍यो । विश्व क्रिकेटको सर्वोच्च संस्थाले बंगलादेशलाई सन् २००० मा दसौं राष्ट्र बनाएयता पाँचदिवसीय क्रिकेटमा नयाँ राष्ट्रका लागि ढोका बन्दजस्तै गरेको थियो । शताब्दीको सुरुआती वर्षहरूमा बंगलादेशले सेतो कपडा लगाएर पाँच दिने क्रिकेट खेल्न निकै संघर्ष गर्नुपर्‍यो । अर्कोतर्फ आईसीसीले नवप्रवेशी राष्ट्रका लागि स्पष्ट बाटो कोर्न सकेको छैन । १० राष्ट्रमा भारत, अस्ट्रेलिया र इङ्ल्यान्डको दादागिरीजस्तै छ । उनीहरू आफ्नो देशको लिगहरूलाई बढावा दिँदै साना र कमजोर मानिएका राष्ट्रसँग कम खेल्न खोज्छन् ।
२००५ मा आफ्नै देशमा विश्वकप छनोट आयोजना गरेपछि मात्र आयरल्यान्ड एसोसिएटमा बलियो टोलीमा देखिन लागेको हो । छनोटबाट ५ राष्ट्र विश्वकपमा पुग्ने प्रावधान हुँदा आयरल्यान्ड च्याम्पियन नै बनेको थियो । २००७ को विश्वकपमा आयरल्यान्डले बंगलादेश र पाकिस्तानलाई पराजित गरी सनसनी नै मचायो । त्यसयता एसोसिएटमा आयरल्यान्डको वर्चस्व रहँदै आएको छ । ३ वर्षअघिको मात्र प्रसङ्ग हो, जब आयरल्यान्डले आईसीसीसमक्ष टेस्ट मान्यताका लागि निवदेन दिएको थियो । थप टेस्ट क्रिकेट राष्ट्रका लागि आफूहरूको कुनै योजना नभएको भन्दै आईसीसीले आयरल्यान्डलाई गिज्याएको ताजै छ ।
स्पष्ट के हो भने आयरल्यान्डले मात्र आईसीसीको टेस्ट ढोका घचघचाउन सकेन । अफगानिस्तानले पहिलोपटक विश्वकप छनोट २००९ मा मात्र खेलेको थियो । त्यसयता अफगानिस्तान एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रको रूपमा रहँदैं आएको छ । २०१५ को विश्वकप अफगानिस्तानका लागि पहिलो थियो । त्यसअघि टोलीले दुई विश्व ट्वान्टी–२० खेलिसकेको थियो । अहिलेसम्म छोटो स्वरूपको विश्वकपमा अफगानिस्तानले ५ विश्वकप खेलिसकेको छ । गत वर्ष भारतमा भएको विश्व ट्वान्टी–२० मा अफगानिस्तानले पछिल्लो ठूलो नतिजा निकाल्ने क्रममा वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।
१९९५ मा अफगानिस्तान क्रिकेट बोर्डको गठन भएको थियो । तर तालिबान शासकले क्रिकेटलाई प्रतिबन्ध लगाएको थियो । २००० मा अप्रत्यासित रूपमा तालिबानले क्रिकेटमाथिको प्रतिबन्धलाई फुकुवा गरिदियो । जबकि अन्य खेलहरूमाथिको प्रतिबन्ध कायमै थियो । त्यसको अर्को वर्ष अफगानिस्तान क्रिकेट बोर्ड आईसीसीसँग आवद्ध भयो । तालिबानी शासनकै क्रममा केही अफगानिहरू पाकिस्तानमा शरण लिन पुगेका थिए । अफगानिस्तानको माथिल्लो स्तरको क्रिकेटको विकास पाकिस्तानी सीमाका सहरहरूमा शरणार्थीले गरेका थिए । २००४ मा एसीसी ट्रफी खेल्न मलेसिया पुगेका अफगानिस्तानको टोलीमा तीनै शरणार्थी खेलाडीको वर्चस्व थियो ।
त्यसयता पाकिस्तानले अफगानिस्तानको क्रिकेटलाई ठूलो सहयोग गर्दै आएको छ । काबुलमा रहने टोलीको मुख्यालय पाकिस्तानमै जस्तो थियो । २००९ मै पाकिस्तानी खेलाडी रफातुल्लाह मोहम्मदले पाकिस्तानको घरेलु क्रिकेटमा आमेर साजादसँग ५ सय ८० रनको साझेदारी निभाउँदै प्रथम श्रेणीको क्रिकेटमा दोस्रो विकेटका लागि विश्व कीर्तिमान बनाएका थिए । तिनै मोहम्मद अफगानिस्तानबाट २००९ को विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका पुगेका थिए । शरणार्थी जीवन बिताएका खेलाडीपछि अर्को पुस्ता निस्किन गाह्रो पर्ने भनेर अफगानिस्तानको क्रिकेटमा प्रश्न उठाउने पनि थिए ।
नोवरुज मंगल, सामिउल्लाह सेनवारी, असघर स्टानिकजाई, हमिद हसन, मोहम्मद शाहजाद, सपुर जाद्रानदेखि मोहम्मद नावी र रसिद खानले अफगानिस्तानको क्रिकेटमा झन्डै पछिल्लो डेढ दशकमा खेलाडीको अभाव महसुस हुन दिएनन् । नावी र रसिदले त पछिल्लो समय पैसाको हिसाबमा विश्व क्रिकेटकै सबैभन्दा उत्कृष्ट मानिएको इन्डियन प्रिमियर लिगमा खेले । रसिदले त्यहाँ १७ विकेट लिँदै प्रमुख खेलाडीको रूपमा आफ्नो उपस्थिति देखाए । नाबी बंगलादेश, वेस्ट इन्डिजको प्रिमियर लिग खेल्दै आएका छन् । अफगानिस्तानका खेलाडी रन र विकेटका लागि कति भोका छन् भने २००९ को विश्वकप छनोटमा विकेटकिपर–ब्याट्सम्यानको भूमिका खेल्दै बलर पनि बनेका करिम खानले ११ विकेटले प्रस्ट हुन्छ ।
अफगानिस्तान अहिले पनि युद्धको चपेटामै छ । खेलाडीहरू ठूला सफलता हात पार्दा मात्र राष्ट्रपतिबाट सम्मान थाप्न काबुल फर्किने गरेका छन् । राम्रो प्रदर्शनकै कारण आईसीसीले अफगानिस्तानलाई ठूलो आर्थिक सहयोग गर्दै आएको छ । अफगानिस्तानले त्यो सहयोग आफ्नै देशका विभिन्न स्थानमा मैदानहरू बनाइरहेको छ । तर अफगानिस्तानले आफ्नै देशमा अझै अन्तर्राष्ट्रिय म्याच खेलेको छैन । यूएईलाई पछिल्लो समय अफगानिस्तानले गृह मैदान मान्दै अन्तर्राष्ट्रिय म्याच गल्फ भूमिमा खेलेको थियो । केही गृह म्याच श्रीलंकामा पनि खेलेको अफगानिस्तानले अहिले ‘होम’ म्याच भारतको दिल्लीको नोयडामा खेल्छ । पछिल्लो समय अफगानिस्तान क्रिकेटलाई सहयोग गर्ने भारतीय क्रिकेट बोर्ड बनेको छ । अर्को वर्षबाट लागू भएपछि अफगानिस्तानले पहिलो टेस्ट पनि नोयडामा वा प्रतिपक्षी टिमसँगको उसैको मैदानमा गएर खेल्नेछ । सम्भवत: त्यो अफगानिस्तानको पहिलो टेस्ट प्रतिद्वन्द्वी पनि आयरल्यान्ड नै हुनेछ र मैदान पनि डब्लिनवरिपरि हुनेछ ।
ििि

२००८ मा अफगानिस्तानसँग नेपालको एउटा यस्तो भेट जुरेको थियो, जसले नेपाललाई अफगानिस्तानको आजको स्थान हाराहारीमा पुर्‍याउन सक्थ्यो । यो भेट टापु राष्ट्र जर्सीमा विश्व क्रिकेट लिग डिभिजन ५ ले दिलाएको थियो । सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १ सय ४२ रनमा रोकी एउटा खुट्टा फाइनलमा टेकिसकेको थियो । यस खेलले २००४ को एसीसी ट्रफीको नेपाल र अफगानिस्तानको खेलको झल्को दिलाएको थियो, जसमा पहिला ब्याटिङ गर्ने टिम जितेको थियो । नेपालले ३५ रनको हार स्विकारेको थियो र अफगानिस्तान उक्लेको थियो । यहींबाट अफगानिस्तानको उदय सुरु भयो । टोली डिभिजन ४, ३ जित्दै विश्वकप छनोटमा पुगेको थियो र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
ठीक उल्टो नेपाल डिभिजन ५ मै अड्कियो । डिभिजन ४ पनि नेपाललाई अर्को तगारो बन्यो । त्यसपछि अफगानिस्तानसँग नेपालको बदला लिने सम्भावना पनि हरायो । एसियाली क्रिकेट परिषद् (एसीसी) को प्रतियोगितामा मात्र नेपालले अफगानिस्तानसँग खेल्न पाउन थाल्यो । पुबुदु दासानायके प्रशिक्षक भएर आएयता २०१२ पछि मात्र नेपालले ठूला सफलता हात पार्न लाग्यो । सफलता, आपसी विवाद र गुटबन्दी नेपाली क्रिकेटको एउटा हिस्सा बन्यो । अब के गरेमा नेपाली क्रिकेट अगाडि बढ्ला भन्दा पनि विवादमै रुमलिरहेपछि नेपाली क्रिकेट सर्वोच्च निकाय अहिले आईसीसीको निलम्बनको स्थितिमा पुगेको छ ।
यसमा कुनै शंका छैन अफगानिस्तान उत्कृष्ट क्रिकेट खेल्दै यो स्थितिमा आइपुगेको हो, त्यसैले टेस्ट क्रिकेटमा पुग्नुसम्मको श्रेय मैदानभित्र गरेको प्रदर्शनलाई दिइन्छ । २०१३ मा आएर आईसीसीको एसोसिएट सदस्यता पाएको अफगानिस्तानलाई आईसीसीले २०१५ मा एकदिवसीय अन्तर्राष्ट्रियको पूर्ण सदस्यता राष्ट्र बनाएको थियो । २०१६ मा रणनीतिक योजना सार्वजनिक गर्दै अफगानिस्तानले २०१९ भित्र एकदिवसीयको शीर्ष तीन टिम बन्ने र २०२५ सम्ममा एकदिवसीय र ट्वान्टी–२० को शीर्ष तीन टिमभित्र पर्ने लक्ष्य बनाएको छ । साथै भारतसँग द्विपक्षीय शृंखला खेल्ने योजना अफगानिस्तानको छ ।
नेपाली क्रिकेटको लक्ष्य के हो कहिल्यै स्पष्ट रहेन । आईसीसीको प्रमुख प्रतियोगिता अगाडि नेपालको त्यो किसिमको तयारी बिरलै मात्र देख्न पाइन्छ । त्यसमा व्यवस्थापन पक्षको लडाइँ नेपाली क्रिकेटको विकासभन्दा विदेश को जाने भन्नेमा मात्र केन्द्रित रह्यो । अफगानिस्तानलाई टेस्ट मान्यता दिएपछि अब नेपाललाई माथि जान सजिलो हुने आशा पनि देखिएको छ । एउटा निश्चित के हो भने अफगानिस्तानको टेस्ट मान्यताले अब नेपालको बाटो सजिलो हुने भनेर भन्ने जति छन् त्यत्ति नै नेपालले मौका चुकाएकोमा चित्त दुखाउनेहरू पनि छन् । त्यसैले होला आईसीसीले अफगानिस्तान र आयरल्यान्डलाई टेस्ट मान्यता दिएको दिन पत्रकार निरञ्जन अधिकारी सोसल मिडियामा लेख्दै थिए, ‘आईसीसीबाट अफगानिस्तान र आयरल्यान्डले पूर्ण सदस्यता राष्ट्रको मान्यता पाएका छन् । टेस्ट मान्यताका लागि शुभकामना छ । नेपाल क्रिकेटको बारेमा अहिले बहस नगरौं ।’

प्रकाशित : असार १७, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?