सेल्फी संवेदना
सहस्राब्दीको दुर्गम किनारमा
उभिइरहेथ्यो एउटा गिद्ध
जो आत्तुर थियो ठुाडोले आहारा लुछ्न
उसको आहारा—
अन्न देख्दै नदेखेका रुग्ण आँखा
खानाको वासना नपाएको शुष्क नाक
अन्तिम सास फाल्दै गरेको फोक्सो
आखिरी धड्कन दिइरहेको कलिलो मुटु
संवेदनाले भरिएको कलेजो
हड्डी देखिने पातलो न पातलो पारदर्शी छाला
र जम्मामा घोप्टिनै लागेको सिङ्गै अस्थिपञ्जरजस्तो बालक !
हो, यही क्यानभासजस्तो तस्बिर कैद गरेपछि क्यामरामा
रातारात चर्चित भएथेँ म
पाएँथेँ इज्जत र धनदौलत
एकाएक बढेथ्यो मेरो सानसौकत
तर जति फैलँदै गयो यो तस्बिर
त्यत्ति नै विक्षिप्त हुँदै गएँ म
र थाम्नै नसकी बिसाइदिएँ सदाका लागि आफैँलाई मैले
आज, समयको त्यही पाखामा
बल्ड्याङ खाएको बसबाट उछिट्टिएर
पानी..पानी..कराइरहेको यात्रुसामु
तिमीले पनि हान्यौ उसैगरी एक सेल्फी
र हिँड्यौ पोस्ट गर्न
कथित मर्दको अतृप्त प्यासको सिकार बन्दै
त्यो आदिम गल्लीमा
साना पृथ्वीजस्ता दुई आँखाबाट
विरह गुन्जाइरहेकी नाबालिकासामु उभिएर
तिमी स्टिभ जब्सका उपभोक्ताले थप्यौ एक क्लिक
र सोच्न थाल्यौ उत्तम स्ट्याटस
दु:खको इपिसेन्टरमा
थरथरी काँपिरहेका वारपाकवासीका हातमा
कर्पोरेट कोसेली स्वरुप अजिनोमोटोको प्याकेट थमाएर
उत्रियौ तिमी लाइक, कमेन्ट र सेयरको मैदानमा
खै के भयो भयो, के हुँदै छ धरतीमा ?
जे जे देखे पनि छुँदैन सायद !
दुख्दै दुख्दैन कुनै कुराले
करूणा गायब छ
वेदना हराएको छ,
र अत्तोपत्तो छैन संवेदनाको
बस् हान्यो सेल्फी र गर्यो पोस्ट
अनि गन्यो लाइक, सेयर र कमेन्ट
यदि करूणा, भावना, संवेदना केही जागेन भने
यो फोटोग्राफरको बाटोमा
सबै सबै सहर शून्य हुने भय छ
बस्ती बस्ती सबै रित्तिने त्रास छ
यतिखेर गहिरो गर्तमा गाडिएको संवेदनामाथि उभिएर
मुख चुच्चो पार्दै सेल्फी हानिरहादा
मलाई तिम्रो औधि दया लागेर आयो !
कतै तिमीले पनि मैलेजस्तै बोधिचेत खुल्दा
आत्मग्लानिले आत्महत्या गर्ने त होइनौ !!
म मरेर पनि आज फेरि मरो
सेल्फी महाशयले
अघि नै पोस्ट गरिसकेका छन् मेरो मृत्यु
कृपया लाइक गर्न नबिर्सनुहोला है !