मनसुनलाई माया

रामदेवी महर्जन

धुमफिरका हिसाबले मनसुनलाई ‘अफ सिजन’ मानिन्छ । तर, होसपूर्वक मनसुन यात्रा गरेमा धेरै रमाइलो हुन्छ । यात्रा ज्ञानबद्र्धक बन्छ । बर्खामा कहिले रुझ्दै, कहिले रेनकोट वा छाता ओढेर हिँड्नुको मज्जा बेग्लै हुन्छ ।

मनसुनलाई माया

छिनमै आकाश खुल्छ— छिनमै बादल मडारिन्छ । अनि छिनमै मेघ गर्जिन्छ, पानी पर्छ । धर्तीलाई नुहाइदिन्छ । खासमा धान रोप्न खेतको माटो भिज्ने गरी पानी परेपछि मनसुनको सुरुआत हुन्छ । वर्ष दिनसम्मका लागि पानीका मुहानहरूलाई पुनर्जीवन दिन्छ मनसुने झरीले । नेपालमा मनसुन जेठ अन्तिम साताबाट सुरु भएर असोज पहिलो सातासम्म रहन्छ ।

कृषिप्रधान देश नेपालमा मनसुनको ठूलो महत्त्व छ । मानो रोपेर मुरी फलाउने समय । किसानहरू मनसुनलाई पर्वकै रूपमा मनाउँछन् । धान रोप्ने पहिलो दिन र अन्तिम दिनको रोपाइँलाई पर्वकै रूपमा मनाउँछन् । असार १५ लाई धान दिवसका रूपमा मनाउन थालेको पनि १४ वर्ष भइसक्यो ।

मनसुनमा प्रकृतिले अपार सुन्दरता खनाउँछिन् । असारे रोपाइँको रौनक, साउनको हरियाली, कलकल गर्दै बग्ने नागबेली खोला, दूधजस्ता झरना, कालो बादल, इन्द्रेनी, नीलो आकाश मनसुनका विशेषता हुन् । त्यति मात्रै होइन, मनसुनमा भुइँकुहिरोको राज चल्छ । पानी परेपछिको खुला आकाशलाई छुऔंलाझैं गरी भुइँबाट सेता कुहिरा उठ्छन् ।

मनसुन सिर्जनाको समय पनि हो । कविहरू मनसुनमा झन् ऊर्जाशील बन्छन् । मनसुन सौन्दर्यलाई कविता र गीतमा उतार्छन् । त्यति मात्र होइन, मनसुन माटो र पानीको सुवास आउने समय पनि हो । खेतैभरि काँधमा हलो, हातमा कोदाली बोकेर उकाली–ओराली गरिरहेका किसान, खेत जोतिरहेका बाउसे, रोपो रोपिरहेका वा गोडिरहेका रोपाहारहरूको दृश्य आँखामा टाँसिन्छन् ।

यही मनसुन सुन्दरतालाई मनसुन प्याकेज बनाएर हाइकिङ, ड्र्राइभिङ, वा साइक्लिङ गर्न सकिन्छ । त्यसलाई अम्ब्रेला हाइकिङ, रोपाइँ टुर, हिले टुर आदि जे नाउँ दिए पनि हुन्छ । यस्ता प्याकेजले दुवै आन्तरिक र बाह्य पर्यटक लोभ्याउन सकिन्छ । काठमाडौं उपत्यकाका कतिपय विद्यालयले विद्यार्थीलाई रोपाइँमा सहभागी गराउँछन् । त्यसबाट विद्यार्थीले कृषिको महत्त्व बुझ्छन् ।

मनसुनमा झमझम पानीमा रुझ्दै, कहिले चर्को घामसँग लुकामारी खेल्दै त कहिले हिलोमा लड्दै र आँप टोक्दै अनि किसानका असारे भाका सुन्दै पदयात्रा गर्नु रोमाञ्चक हुन्छ । अझ रोपाइँ भइरहेका खेतमा पुगेर छुपुछुपु धान रोप्न पाए झन् कति आनन्द !

जो जहाँ बस्छन्, त्यहीँ वरपरका ठाउँमा मनसुन यात्रा गरे हुन्छ । आफूलाई पायक पर्ने ठाउँमा परिवार वा साथीसँगी मिलेर यात्रा गर्नु बेस हुन्छ । काठमाडौंमा बस्नेहरूका लागि मनसुन सौन्दर्यमा रमाउने धेरै गन्तव्य छन् । मनसुने हरियालीमा रमाउँदै, गाउँले मुस्कानमा हेर्दै गाउँकै भान्छामा परिवारजस्तै बसेर एक रात सजिलै बिताउन सकिन्छ । गाउँलेको मीठो मुस्कान र न्यानो मायामा परिवारजस्तै बस्नेलाई होमस्टे भनिन्छ । काठमाडौं वरपर होमस्टेमा बस्न मिल्ने केही रुटहरू :

दलचोकी

दलचोकी टप (२३०० मिटर) ललितपुरको दक्षिणी भेकमा पर्छ । त्यहाँबाट उत्तरतिर १८० डिग्रीमा हिमाल र उपत्यका देखिन्छ भने दक्षिणमा हरियाली महाभारत शृंखलासाथै तराईका भूभागसमेत देखिन्छ । बाहुन, क्षत्री, मगर, तामाङ आदि बसोबास रहेको दलचोकीमा मगर र बाहुनका घरमा होमस्टे सुविधा छ । तर, १२ वैशाखको भुइँचालोले घर भत्काएकाले स्थानीय रामप्रसाद तिमिल्सिनाको घरमा होमस्टे सुविधा छ । जहाँ एकै रात २० जना बस्न सक्छन् । गाउँमा मनकामना मन्दिर, दलचोकी माईको मन्दिर छ । त्यहाँ प्रकृतिप्रेमी समूहले साँचो वन जिउने कला अभ्यास गराउन निरोग आनन्दधाम बनाएको छ । वर्षैभरि शीतल हुने भएकाले बाह्रैं महिना पदयात्रा गर्न सकिन्छ ।

कसरी पुग्ने : लगनखेल बसपार्कबाट टीकाभैरवसम्म बसयात्रा । त्यहाँबाट ८ किलोमिटरमा दलचोकी । टीकाभैरवबाट भैंसे, मल्ल होटल, आर्मी क्याम्प हुँदै दलचोकी । गाउँसम्मै कच्ची मोटरबाटो छ ।

बल्थली

काभ्रेको पर्यटकीय गन्तव्य बल्थली (१७०० मिटर) मा जताततै हरियाली देखिन्छ । तामाङ बाहुल्य गाउँमा क्षत्री, बाहुन, नेवार, मगर, संन्यासीलगायतको बसोबास छ । डाँडाबाट गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, रोल्वालिङदेखि सगरमाथा हिमालसम्म देखिन्छ ।

गाउँलेहरू पशुपालन र कृषिमा निर्भर छन् । बल्थलीलाई केन्द्र मानेर धेरैतिर हाइकिङ गर्न सकिन्छ । बल्थलीबाट तीन घण्टामा नमोबुद्ध र पनौती पुगिन्छ भने चार घण्टामा कामीडाँडा । ककनीबाट चिसोपानी, नगरकोट, धुलिखेल, नमोबुद्ध, बल्थली हुँदै पनौतीसम्म ‘काठमाडौं भ्याली कल्चरल ट्ेरल’ पदमार्ग छ ।

गाउँमुनि लड्खु खोला किनारमा लड्केश्वर महादेव छन् । गाउँमा रिसोर्ट र होमस्टे सुविधा छ । भुइँचालोअघि थापा र भारतीका ७ घरमा होमस्टे सुविधा थियो । भुइँचालोले घर भत्काएपछि अचेल पाहुनालाई टेन्टमा राखिन्छ ।

कसरी पुग्ने : काठमाडौं–बल्थली ४० किमि । काठमाडौंको पुरानो बसपार्कबाट छुट्छन् बनेपा हुँदै पनौती जाने बस । पनौतीबाट ४ किमि खोपासीसम्म बस चल्छ । खोपासीबाट लड्केश्वर हुँदै खोपासीसम्म ११ किलोमिटर पदयात्रा । जिप र मोटरबाइक बल्थलीमै पुग्छन् ।

चित्लाङ

उत्तरदक्षिण फैलिएको चित्लाङ उपत्यका मकवानपुरमा पर्छ । जहाँ नेवार, तामाङ, क्षत्री, बाहुन र बलामी आदिको बसोबास छ । ऐतिहासिक बस्ती चित्लाङमा सम्राट् अशोकले ईशापूर्व २७३ मा बनाएको चैत्य छ । त्यस्तै त्रिगजुरेश्वर, शिवालय, तलेजु भवानी कोत, सात धारा, बाख्राको फार्म, बाख्राको दूधबाट बन्ने चिज, स्वच्छन्द भैरव आदि ठाउँ हेर्न सकिन्छ ।

चित्लाङमा नेवार, ठकुरी र क्षत्रीका ६ घरमा होमस्टे गराइन्छ । भुइँस्याउ, मुला, बाख्राको चिज, वलिभ तेल, किवि आदि चित्लाङका कोसेली हुन् । चारैतिर हरियाली, शीतल र शान्त वातावरण भएको चित्लाङ एक रात बिताउन निकै उपयुक्त छ ।

कसरी पुग्ने : काठमाडौंबाट २५ किमि दूरीमा चित्लाङ । थानकोट पार्कपछाडि गोदामबाट जिप चल्छन् । त्यहाँबाट चन्द्रागिरी भञ्ज्याङ हुँदै चित्लाङ पुगिन्छ । बाटो कच्ची छ । गोदाम–चित्लाङ १३ किमि ।

नगरकोट

नगरकोटको बास्तोला गाउँमा बाहुन समुदायले चलाएको सामुदायिक होमस्टे छ । तेलकोट भञ्ज्याङ नजिकैको गाउँमा । नगरकोट नगरपालिका–११ मा पर्ने गाउँमा १७ घर छन् । भूकम्पमा घर भत्केपछि पुन:निर्माण हुँदै छ । केही घरमा अहिले पनि होमस्टे गराइन्छ । गाउँलाई केन्द्र मानेर चाँगुनारायण, साँगाको कैलाशनाथ महादेव, साँखुको पञ्चलक्ष्मी मन्दिर र नगरकोट टावरसम्म हाइकिङ गर्न सकिन्छ ।

गाउँमुनि खोलामा झर्ना छ । गाउँ नजिकै जाल्पादेवी मन्दिर छ । स्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतीदेवीलाई बोकेर हिँड्दा यहाँ आइपुगेपछि उनको तल्लो ओठ पतन भयो । गाउँबाट मौसमअनुसार तरकारी, फलफूल, हलुवादेव, आरुबखडा, अम्बा, सुन्तला आदि कोसेली ल्याउन सकिन्छ ।

कसरी पुग्ने : काठमाडौंको कोटेश्वरबाट २० किलोमिटरमा बास्तोला गाउँ । काठमाडौंको बागबजारबाट भक्तपुरको कमलविनायकसम्म सार्वजनिक बस गुड्छन् । कमलविनायकबाट नगरकोट जाने बसमा ८ किमि पार गरेपछि बास्तोला गाउँ ।

मनसुन टिप्स

- हाइकिङ भनेकौ स्वास्थ्यका लागि हिँड्नु हो । त्यसैले सकेसम्म धूलो–धूवाँरहित गोरेटोमा हिँड्ने । नभए कम गाडी चल्ने ठाउँमा । रुटबारे पहिल्यै जानकारी लिने ।

- मनुसुनमा पानी परेर चिप्लो हुने भएकाले सकेसम्म नचिप्लने फराकिलो गोरेटोमा हिँड्ने ।

- नचिप्लने सजिलो स्पोर्ट जुत्ता, हिँड्न सजिलो खुकुलो लुगा लगाउने ।

- लेउ लागेका ठाउँबाट नहिँड्ने । झारपातमा नछुने, विषालु किराबाट बच्ने । जुकाबाट बच्न नुन र सन्चो बोक्ने ।

- पछाडि भिर्ने झोलामा २–३ लिटर पानी, मौसमअनुसार फलफूल र स्वास्थ्यबद्र्धक खाना बोक्ने ।

- छाता/बर्सादी, घाम छेक्ने क्याप, सनग्लास, लौरो, क्यामेरा, डायरी, कलम, दुरबिन बोक्ने ।

- एक्लै नहिँड्ने । समूहमा बनाएर हिँड्ने ।

- सुरुमै छिटो हिँड्दा श्वास फुलेर गारो हुन्छ । मध्यम गतिमा हिँड्ने । निश्चित ठाउँमा पानी र फलफूल ब्रेक गर्ने । .

- पदयात्रामा मैदाजन्य जंक फुड, मादक पदार्थ र नुन बढी भएका खाना नखाने । यसले शरीरमा भारीपन आई हिँड्न गारो हुन्छ । पचाउन सजिलो हुने रेसेदार खाना फलफूल खाने ।

- एकैपटक धेरै पानी नपिउने । धेरै पानी एकैपटक पिउँदा पेट फुल्ने समस्या आउँछ । प्रतिघण्टा अढाई सयदेखि तीन सय मिलिलिटर पिउने । ठोस आहार र पानी कम्तीमा तीस मिनेट फरकमा खाने ।

- प्राथमिक उपचारका सामान सिटामोल, टेप, ब्यान्डेज, सियो धागो आदि बोक्ने ।

- पदमार्गका बासिन्दालाई अप्ठयारो हुने गतिविधि नगर्ने । ठूलो स्वरले नकराउने । फोहोर जथाभावी नफयाँक्ने ।

- समय ख्याल गरेर हिँड्ने । साथमा जगेडा पैसा बोक्ने ।

प्रकाशित : असार २४, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?