योगमायाका तस्बिरहरू

लेखनाथ भण्डारी

सूचना प्रविधिको यस जमानामा अब कुनै समाचार या विचार सम्प्रेषण हुँदा त्यसमा तस्बिर नहुनु अनौठो मानिन्छ । त्यस्ता सम्प्रेषणहरूमा कुनै तस्बिर नभए पनि पाठकहरूमा तत्सम्बन्धी विषय र लेखकका बारेमा एक प्रकारको तस्बिरको सञ्चार हुन्छ ।

योगमायाका तस्बिरहरू

आजभोलि लेखकका विचार अर्थात् लेखहरूसँगै लेखहरूभन्दा पनि निकै ठूला र आकर्षक देखिने लेखकका तस्बिर सार्वजनिक हुने गर्छन्, खासगरी अनलाइनहरूमा । खासमा कुनै पनि पाठ्यसामग्रीहरूमा लेखको सन्देश सम्प्रेषण वा सन्देश ग्रहणका लागि लेखकको तस्बिरले कुनै भूमिका खेल्दैन । तर पनि कहिलेकाहीं प्रस्तुत तस्बिर लेखकको हो वा लेख वा समाचारसँग सम्बन्धित पात्र कसको हो भनेर छुट्याउने आधार पाठकले पाउँदैनन् पनि ।

यसै सन्दर्भमा यहाँ नेपाली सामाजिक जागरणको आन्दोलनकी अगुवा तथा कविका रूपमा परिचित क्रान्तिकारी महिला योगमाया नेउपानेका तस्बिरहहरूको बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ । उनको जीवित अवस्थामा खिचिएका कुनै तस्बिर अहिलेसम्म भेटिएको छैन । तर उनैका आधा दर्जनभन्दा धेरै तस्बिर सार्वजनिक भएका छन् ।

विसं १९२० को दशकमा भोजपुर जिल्लामा जन्मेकी योगमायाको जीवनकालमा तस्बिरको चलन आइसकेको थियो । योगमायाका बारेमा २०२० सालयता लेखिंदै आएको भए पनि उनको वास्तविक तस्बिर सार्वजनिक हुन सकेको छैन । उनलाई देवीका रूपमा ४ हात भएको तस्बिर बनाएर उनका अनुयायीहरूले पूजा गरेको पनि पाइएको थियो । २०५६–५७ सालमा उनका अनुयायीहरूलाई सोध–खोज गरेर एक स्केच र तस्बिर बनाउने प्रयास भयो । कलाकार लक्ष्मण भुजेलले योगमायाकी अनुयायी तत्काल ८१ वर्षीय चन्द्रकुमारी बस्नेतले बताएअनुसार एक तस्बिर बनाए । त्यो देखेपछि चन्द्रकुमारीले भनेकी थिइन्, ‘ठ्याक्कै माता हजुर ।’ यो तस्बिर अस्मिता प्रकाशनगृह र नेपाल अध्ययन केन्द्रका प्रकाशनहरूमा सार्वजनिक भयो । यस सम्बन्धमा ‘हिमाल खबर पत्रिका’ मा पनि सानो टिप्पणी प्रकाशित भएको थियो । त्यसपछि योगमायाको सोही तस्बिर अन्य केही प्रकाशनहरूमा पनि सार्वजनिक हुन थाल्यो ।

तर केही वर्षयता योगमायाका अन्य किसिमका तस्बिरहरू पनि सार्वजनिक हुन थालेका छन् । सार्वजनिक भएका ती आधा दर्जनभन्दा बढी तस्बिरहरूको स्रोत वा कलाकार र अन्य आधिकारिकताका बारेमा पनि केही उल्लेख गरेको पाइँदैन । नेपाल सरकारले २०७३ मंसिरमा योगमायाको तस्बिर अंकित हुलाक टिकट प्रकाशनमा ल्यायो । योगमाया, समाज सुधारक (विसं १९२४–९८) उल्लेख दस रुपैयाँको यो हुलाक टिकटमा जारी योगमायाको तस्बिर पनि सार्वजनिक अन्य तस्बिरभन्दा भिन्नै छ ।

नेपाली सामाजिक जागरणको आन्दोलनमा एक साहसी महिला योगमायाबारे देश–विदेशका इतिहासकार, अनुसन्धादाता वा पत्रकारहरूको रुचि र खोजी बढ्दै गएको छ । यो अवस्थामा उनका नजिकका नातेदार, उनलाई चिन्ने, देख्नेहरू जो अझै पनि जीवित अवस्थामा छन्, उनीहरूलाई सोधेर उनको एक आधिकारिक तस्बिर तयार गर्नु उनको सम्मान र योगदानको कदरको एक कदम हुन सक्छ ।

कान्तिपुर दैनिकको विसं २०७० असार २९ गते प्रकाशित यही पंक्तिकारको ‘साहसी सुधारक’ शीर्षकको लेखमा पनि उनको एकदमै भिन्न प्रकारको तस्बिर–स्केच प्रकाशित गरिएको थियो । यो तस्बिर योगमाया नाममा गुगल सर्चबाट लिइएको रहेछ ।

महाराज छन् दरबारमा हेर्न आउँदैनन् ।

दु:खी जनले निञा निसाफ् सिधा पाउँदैनन् ।

जागिरदार लोभी छन् निञा हेर्दैनन् ।

मर्नुपर्ने शरीर हो विचार गर्दैनन् ।

–सर्वार्थ योगावाणी

कठिन योगसाधना र धार्मिक माध्यमबाट नेपाली समाजमा विद्यमान सबै प्रकारका कुप्रथा र अन्धविश्वास, धनी–गरिबबीचको होचो अर्घेलो, जातीय वा महिला विभेदविरुद्ध तत्कालीन समाज र सत्तासँग विद्रोह गरेकी योगमायाका वाणीहरू भजन वा कविताका रूपमा ‘सर्वार्थ योगावाणी’ मा प्रकाशित छन् । आफ्ना मागहरूलाई तत्कालीन सरकारले बेवास्ता गरेका कारण एकपटक सामूहिक अग्निदाह प्रयास गर्दा एक दर्जनभन्दा धेरै अनुयायीसहित पक्राउ परेर जेल सजाय पाएकी योगमायाले अन्तत: १९९८ असार २२ गतेका दिन ६८ जना अनुयायीसहित अरुण नदीमा हाम फालेर जलसमाधि लिएकी थिइन् ।

सामाजिक जागरणको आन्दोलनकी यी अगुवा योगमायाबारे समय–समयमा केही लेखकले चर्चा गर्ने गरेको भए पनि सामूहिक आत्मदाहको आधा शताब्दीसम्म यिनी गुमनामजस्तै थिइन् । संवत् २०५० र ६० को दशकयता योगमाया नेपाली समाजमा एक परिचित र प्रतिष्ठित महिला योद्धाका रूपमा स्थापित भएकी छन् । हरेक वर्ष उनको सम्झना र सम्मानमा कार्यक्रमहरू हुने गरेका छन् । उनका नाममा संघसंस्था वा प्रतिष्ठानहरू स्थापना भएका छन् । उनको जन्मस्थल, साधना वा कर्म भूमि र जलसमाधि लिएको स्थान नेपालेडाँडा/मजुवाबेंसी र भोजपुर जिल्ला सदरमुकाममा सालिक स्थापना गरिएको छ । संखुवासभामा उनको नाममा सडक छ । डकुमेन्ट्री र चलचित्र बनाउन सुरु भएको छ । योगमायाका नाममा सरकारले पुरस्कार पनि स्थापना गरेको छ ।

नेपाली समाज र संस्कृति विकासमा त्यस्ता अन्य धेरै आदिपुरुष (व्यक्तित्व) हरूको भूमिका छ । ती सबैको जीवनकालमा नै लिइएका तस्बिर हामीसँग छैनन् । यद्यपि सबैको प्रचलनमा ल्याइएका त्यस्ता स्केच र तस्बिरहरूलाई हामी सजिलै चिन्दछौं र आधिकारिक पनि मान्दछौं । त्यसैले योगमायाका बारेमा पनि सम्बन्धित सबै पक्षको समन्वयमा एक आधिकारिक तस्बिर कायम गर्नु राम्रो हो ।

योगमाया, तत्कालीन नेपाली समाजमा रहेका सबै प्रकारका कुप्रथा वा यथास्थितिविरुद्ध जागरणको विगुल फुक्ने एक साहसी योद्धा र तपस्वी हुन् । उनलाई नेपाली समाजका अन्य सबै अगुवाहरूका साथमा सबैसरह गणना, सम्मान र सम्झना गरिनुपर्छ । उनी महिला त हुन् तर उनको योगदान महिला भएका कारण वा महिलाका पक्षमा मात्र भएको भनेर सीमित गरिनु हुन्न । उनी महिलाका साथै समग्र सामाजिक जागरणको अगुवा हुन् । त्यसैले उनको भूमिका वा योगदान तुलनात्मक रूपमा अझै धेरै छ ।

प्रकाशित : असार ३१, २०७४ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?