३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भव्य किताबको कथा

भारतीय प्रसिद्ध इतिहासविद् रामचन्द्र गुहाको चर्चित पुस्तक ‘इन्डिया आफ्टर गान्धी’ प्रकाशनको १० वर्षे सन्दर्भमा ‘स्क्रलडटआईएन’ मा छापिएको पुस्तकको रचनागर्भको भावानुवाद:

इन्डिया आफ्टर गान्धी’ पुस्तकको सोच खासमा मेरो दिमागमा फुरेकै थिएन। नोभेम्बर १९९७ मा एक बेलायती प्रकाशक बैंग्लोरमा मसँग सम्पर्कमा आए। उनको नामै मैले सुनेको थिइनँ।

भव्य किताबको कथा

अक्सफोर्डले इतिहासबारे प्रकाशन गर्ने जर्नल ‘पास्ट एन्ड प्रेजेन्ट’ मा मेरो एउटा लेख प्रकाशन गरेको थियो। त्यही लेख ती प्रकाशकले पढेर मलाई भेट्न उत्सुक भएका रहेछन्। उनी दिल्ली जानेवाला थिए। म पनि जाँदै थिएँ। दिल्लीमा भेट्ने योजना बन्यो हाम्रो।

ती प्रकाशक दिल्ली पुगेको साता हाम्रो त्यहाँ भेट भयो। उनी बसेको होटलको एउटा कफी सपमा, जुन भव्य थियो, हावा मज्जाले खेल्थ्यो, हामी गफियौँ। उनको नाम पिटर स्ट्रास थियो, उनले पिकाडोर नामक प्रकाशनगृह चलाउँथे। थुप्रै अन्यमध्ये भीएस नयपाल, माइकल ओन्दाजेजस्ता लेखकका किताब उनको प्रकाशनगृहबाट आइसकेका थिए। उनले ‘पास्ट एन्ड प्रेजेन्ट’ जर्नल नै बोकेर मलाई भेट्न आएका थिए जसमा मेरो पनि लेख थियो। मैले त्यति बेला के काम गर्दै थिएँ भनी सुरुमै उनले प्रश्न तेर्साएका थिए।
उनले हातमा लिइराखेको जर्नलतिर मैले औँला तेर्साएँ। त्यही जर्नलमा पढेको मेरो लेख (जुन उपनिवेशकालीन भारतमा खेलकुदको सामाजिक इतिहासमाथि लेखिएको थियो) लाई किताबको रूप दिन थप काम गरिरहेको पनि बताएँ। त्यो काम रोकेर स्वतन्त्र भारतको इतिहासबारे किताब लेख्न म इच्छुक छु कि छैन होला? पिटरले सोधे।
यो प्रश्नले त मेरो बोली नै बन्द गरिदियो। उनले लेख्न सुझाउँदै गरेको किताब मेरो महत्त्वाकांक्षा र जानकारीको क्षेत्रभन्दा बाहिरको यथार्थ थियो। प्रेसका लागि मैले कहिलेकाहीँ लेख्न सुरु गरेको थिएँ। तर, आफैँलाई चाहिँ मैले सिद्धान्तत: प्राज्ञिक इतिहासकार (एकेडमिक हिस्टोरियन) नै मान्ने गरेको थिएँ जसले केही साथीसंगी र विश्वविद्यालयका विद्यार्थीका लागि मात्र लेख्ने गथ्र्यो। मैले पहिले लेखेको किताबको शीर्षक म आफैँले छानेको थिएँ जुन हिमालयका कृषकहरूको विरोध आन्दोलनको सामाजिक इतिहासबारे थियो, दुइटा किताबचाहिँ वातावरणीय द्वन्द्वमाथिको सहलेखन थियो। अर्को किताब थियो, अलिक विद्रोही पाराका मानवशास्त्री भेरिअर एल्विनको जीवनकथा। सबै किताब विश्वविद्यालयका प्रेसले छापेका थिए र ती सबै किताब विशेष ‘थिम’ वा क्षेत्रमाथि केन्द्रित थिए। अनि, भारतजस्तो विशाल र विविधतायुक्त मुलुकको इतिहासबारे एउटै भल्युममा सबै खालका पाठकले पढ्ने पुस्तक मैले कसरी लेख्न सक्थेँ होला र!
प्रिन्टमा होस् वा गफगाफमा, मलाई प्राय: शब्दको अभाव हुँदैन। तर, त्यस बेला म चुपचाप बसेँ। ती प्रकाशकले मलाई थप केही प्रश्न सोधे। के भारतका इतिहासविद्हरूले आ–आफ्ना न्यारेटिभ्स सन् १९४७ (भारत स्वतन्त्र हुँदाको मिति) पछि लेख्न छाडेका थिए? भारतले स्वतन्त्रताको ५० औँ वर्षगाँठ मनाइसकेको थियो, त्यसैले उसको उबडखाबड र जटिल इतिहासको प्राज्ञिक विश्लेषण जरुरी थिएन र? भारतीय युवा पुस्ताका लागि यो विषय रुचिकर हुँदैनथ्यो र? अनि, के मैले माइक्रोफिल्मबारेका अप्रकाशित चिठी, पाण्डुलिपि र पत्रपत्रिका पढ्न (‘पास्ट एन्ड प्रेजेन्ट’ ले देखाएझैँ) खुब मन गर्दिनथेँ र?
यी सबै प्रश्नमाथि म घोत्लिएँ र टाउको हल्लाएँ। अनि, प्रकाशकले भनेको कुरा सकारेँ, त्यस खालको इतिहास लेखिनैपर्छ। त्यसो भए अनुसन्धान गरेर म आफैँले किन नलेखूँ त? वा, त्यसबारे कम्तीमा सोच्न त सोचौँ न!
त्यसपछि हामी त्यत्तिकै छुिट्टयौँ। एक महिनापछि पिटरले मलाई फोन गरेर सोधे, मैले त्यस विचारलाई थप आकार दिने काम गर्न थालेँ कि थालिनँ भन्दै। त्यति बेला म बैंग्लोर थिएँ। मैले काम गर्न थालिसकेको थिएँ, त्यही भनेँ। अनि, औपचारिकताका लागि एउटा प्रपोजल लेखेर पठाउन पनि मलाई अह्राए उनले। मैले पठाएँ पनि। सम्झौतापत्र (कन्ट्राक्ट पेपर) मा चाहिँ मार्च १९९८ मा हस्ताक्षर भयो। किताब सकेर चार वर्षपछि, अर्थात् मार्च २००२ मा दिने सहमति थियो त्यस सम्झौता पत्रमा।

अनवरत अनुसन्धान
कहाँबाट सुरु गरौँ काम? पहिलो संस्करणको सुरुआतमा मैले उल्लेख गरेको थिएँ, म युरोपको इतिहासविद् भएको भए, र युरोपकै वा कुनै महादेशको दोस्रो विश्वयुद्धपछिको इतिहास लेख्न मलाई अह्राइएको भए महत्त्वपूर्ण राजनीतिक व्यक्तित्वको आत्मकथा र राजनीति, संस्कृति, कानुन, आर्थिक नीति, सामाजिक परिवर्तनका बारेमा लेखिएका पाँच सय किताब पुस्तकालयबाट मगाउँथेँ। अनि, बल्ल सार लेख्ने कोसिस गर्थें।
तर, भारतको समकालीन इतिहासमा त्यति विधि गहिरो अध्ययनका लागि द्वितीय स्रोत पाइन्नथे। किनभने, भारतमा इतिहासको अर्को हाँगोको जन्म भइसकेको थिएन। राष्ट्रिय अभिलेखालयमा थुप्रै रेकर्डहरू त थिए तर उपनिवेश कालका मात्रै। तर, १९४७ पछिको महत्त्वपूर्ण समयको चाहिँ निकै कम। सौभाग्य† नेहरू मेमोरियल म्युजियम एन्ड लाइब्रेरी (एनएमएमएल) स्थापना भइसकेको थियो र त्यहाँ प्रभावशाली भारतीय व्यक्तित्वहरूको निजी कथा भएका कागजात टन्नै थिए। एनएमएमएलमा माइक्रोफिल्मबारे पत्रपत्रिका, जर्नलका गजब–गजबका संकलन थिए।
मैले १९४७ पछिको भारतबारे लेखिएका जबर्जस्त लेखहरूको संकलन (प्राय:जसो प्रयोगमा नआएका) एनएमएमएलमा महिनौँसम्म खुब रमाउँदै मज्जाले पढ्न थालेँ। मैले अध्ययन गरेका अनगिन्ती सामग्रीबारे यो किताबको इन्डनोटमा उल्लेख गरिएको छ। तीमध्येका एकदमै महत्त्वपूर्ण सी राजागोपालाचारी र पीएन हस्करका कार्यपत्र थिए। राजागोपालाचारी जवाहरलाल नेहरूका घनिष्ठ साथी र पछि आलोचक भएका व्यक्ति हुन्। हस्कर १९६७–१९७४ मा इन्दिरा गान्धीका नजिकका राजनीतिक दोस्त थिए।
नेहरू मेमोरियलमा पुराना पत्रपत्रिका पनि थिए जसमार्फत् मैले प्रमुख घटनाक्रम र विवादहरू भेटेँ, भारतीय संसद्को रेकर्ड, लेफ्ट–राइट (र, सेन्टरको पनि) सम्बन्धित घटना पनि फेला पारेँ। सँगै, थुप्रै जर्नलहरू पनि फेला पारेँ जसमा विविध राजनीतिक बहस तथा घटनाक्रमको प्रकृति र त्यसका गहिराइबारे उल्लेख गरिएका थिए। त्यसर्थ, त्यो पुस्तकालय/अभिलेखालय नै मेरो अनुसन्धानको प्रमुख आधार थियो। त्योसँगै भारतका अन्य ठाउँ र बेलायतमा पनि मैले अध्ययन सामग्री फेला पारेको थिएँ।
मेरा राजनीतिक स्तम्भ पढ्ने पाठकलाई थाहा छ, म कडा विचारधारा राख्ने व्यक्ति हुँ। यद्यपि, जब प्राज्ञिक कामको सवाल आउँछ मैले अनुसन्धानलाई नै बोल्न लगाउँछु, आफू बोल्दिनँ। हुन त कुनै पनि लेखकले आफूभित्रको पक्षपातलाई चाहेर पनि रोक्न सक्दैन, यो किताब मैले सकभर विचारको पक्षपाती नभईकन लेख्ने प्रयत्न गरेको थिएँ। मैले व्याख्या गर्ने कोसिस गरेको थिएँ, निर्णयकर्ता हुन होइन। यो द्वन्द्वग्रस्त र अचम्मलाग्दो लोकतन्त्र भएको मुलुकबारे प्रशस्त डिटेलिङसहित लेख्ने सोचेको थिएँ। किताबले राजनीति, अर्थशास्त्र, धर्म, भाषा, जात, लिंगबारे सजिलो गरी बुझाओस् भन्ने ध्येय राखेको पनि थिएँ। तैपनि, एक जना प्राज्ञको सीमिततालगायत केही कुराले मेरो त्यो पकडको उद्देश्य केही यताउति भएकै छ।
एक्काइसौँ शताब्दीको पहिलो दशकमा मैले यो किताब लेखिरहेको थिएँ, जब भारतको अर्थतन्त्र झांगिँदै थियो। त्यस बेला हामी महाशक्ति (सुपर पावर) बन्ने होडमा पनि थियौँ। तर, मैले भेटाएका अध्ययन सामग्रीले भने समग्रमा फरक कथा भनिरहेका थिए। विभाजनका केही शेषसँगै संघर्ष गरिरहेको नयाँ राष्ट्रमा शरणार्थीको समस्या थियो, नयाँ राज्यलाई एउटै मालामा उन्ने जटिलता थियो, कम्युनिस्ट विद्रोहले पनि गति लिँदै थियो। यी सबै जटिलताका कारण थोरैले मात्रै सोचेका थिए, भारत भन्ने राष्ट्र जीवित हुनेछ भनेर। यो अत्यन्तै गरिब र विविधतायुक्त राष्ट्र, जहाँ विभाजनको गहिरो घाउ छ त्यहाँ लोकतन्त्र र बहुलवाद कसरी फस्टाउला भन्ने चिन्ताका कारण त्यस्तो सोच उब्जिएको थियो।
स्वतन्त्रताका सुरुआती वर्षमा, यो नयाँ राष्ट्रका लागि थुप्रै समवेदना साहित्य लेखिए। भारतीय गणतन्त्र गृहयुद्धमा जानेछ, टुक्रा–टुक्रामा छरिनेछ, यस मुलुकलाई चरम भोकमरीले सताउनेछ, सैन्य कब्जामा जानेछ....भन्दै थुप्रै–थुप्रै अड्कल काटिए।
जब दुइटा मनसुन फेल हुन्थे, कोही प्रधानमन्त्रीको मृत्यु हुन्थ्यो, ठूल्ठूला हिंसा फैलन्थे तब केही पश्चिमा लेखकले लेखिहाल्थे, एकीकृत र लोकतान्त्रिक भारतको सम्पूर्ण उद्देश्य असफल भयो भन्दै। केही दशकसम्मै पनि त्यस्तो लेख्ने, अड्कल काट्ने क्रम जारी रह्यो।
तर, भारत असफल भएन। व्यापक चुनौतीका बाबजुद आफ्नो अस्तित्व कायम राख्दै भारत लड्दै–पड्दै हिँड्यो। नेहरू, पटेल, अम्बेदकर, राजागोपालाचारी आदि लगायत हाम्रा पहिलो पुस्ताका नेताहरूले साहसपूर्वक चुनौतीको सामना गरेकाले यस्तो सम्भव भयो। सम्भवत: अरू एउटै कुनै राष्ट्र यतिबिघ्न अप्ठ्यारो अवस्थाबीच जन्मिएको थिएन, आफ्नो जन्मको सुरुआती वर्षमा भोगेको दुरवस्था देख्ने नेताहरूको महत्त्वपूर्ण मिलाप कुनै पनि अरू राष्ट्रले सायदै पाएका छन्। ती नेताहरू नभएका भए वा जे गर्नुपर्ने हो त्यो उनीहरूले नगरिदिएका भए, भारत असफल हुने आकलन सही हुने थियो। पक्का।
मैले ती नेताहरूको प्रशंसा गर्छु। तैपनि, विश्लेषण गरिएका सबै घटनाको आधारमा यो किताबलाई सर्वोच्च नै त मान्न सकिँदैन। किनभने, भारतले राष्ट्रको रूपमा आफूलाई उठाइरहँदा त्यसको इतिहासका पनि विविध खाल्डाखुल्डी थिए। मैले कश्मीरबारे लेख्नुपथ्र्यो। यद्यपि, अनुसन्धानको क्रममा मैले पाएको थिएँ, कश्मीरीभन्दा अघि नागाहरूले भारतीय सम्प्रभुता बहिष्कार गरेका थिए। नागाल्यान्डको द्वन्द्वले कश्मीरको द्वन्द्वलाई उकास्यो। दुवै ठाउँ भारतको फरक–फरक पोइन्ट हुन् जहाँका नागरिक गणतान्त्रिक भारतका पनि नागरिक कहलिएका थिएनन्। अझ, माथिल्लो जातका हिन्दुसँग बराबर स्तर प्राप्त गर्न लामो समयसम्म कठिन संघर्ष गरेका दलित, मुसलमान, ट्राइबल्सजस्ता तीन सामाजिक समूहबारे पनि अनुसन्धान गर्नु थियो।
अनुसन्धान ताका म एकदम रमाएँ। लेखेका नोट्सहरू (ल्यापटप थिएन मसँग त्यो बेला) को सगरमाथा बनेको थियो। बैंग्लोरको मेरो दराज भरिभराउ थियो। सेकेन्ड हेन्ड पुस्तक पसलबाट पाएका आउट अफ प्रिन्टका केही पुस्तक, पर्चा पम्पलेटलगायतका केही सन्दर्भ सामग्रीहरू अन्य दराजमा राखेको थिएँ। तर, मैले संकलन गरेका त्यति भव्य सामग्रीहरूलाई कसरी एउटा खाकामा उन्न सुरु गर्ने होला त? समस्या थियो।
पुस्तकको विश्वसनीय फ्रेम बनाउन, हरेक अध्यायको सार बनाउन, विविध अध्यायहरूको वर्णानुक्रम मिलाउन मलाई निकै लामो समय लाग्यो। सम्झौतापत्रमा उल्लेख भएअनुसारको मिति आयो। गयो। पछि कम्प्युटर पाइसकेपछि डेक्सटपमा एउटा फोल्डर बनाएँ जहाँ लेख्दै गरेका अध्यायहरूको ड्राफ्ट एक एक गरी राखेँ। त्यो फोल्डरको नाम थियो— मिथिकल हिस्ट्री बुक। म ढुक्क थिइनँ, त्यो किताब सक्छु कि सक्दिनँ भन्नेबारे। यद्यपि, औपचारिक डेडलाइन सकिएको ४ वर्षपछिको समयक्रममा एउटा ड्राफ्ट तयार भयो। अनि, रिनेम गरेको एउटा फोल्डर पिटरलाई पठाएँ। फोल्डरको नाम थियो— हिस्ट्री बुक रिभाइज्ड।
किताब निकै ढिलो गरी बुझाएको थिएँ। प्रकाशकले आस गरेको समयभन्दा पनि निकै ढिलो भएको थियो।
अमेरिकी बजार बुझेको एक जना साथीले मलाई आत्मीयतासाथ बतायो, किताब पाँच सय पृष्ठभन्दा लामो नभएकै बेस। बेलायतबारे प्रशस्त जानेको अर्कोले भन्यो, किताब त चार सय पृष्ठभन्दा बढी हुनै हुँदैन। भारतीयहरू आख्यानबाहेकका त्यति लामा किताबसँग खासै परिचित पनि थिएनन्। त्यसैले, परम्परागत ज्ञानहरू मेराविरुद्ध टाउको उठाउँदै थिए। यद्यपि, भाग्यवश, मेरा सम्पादकले मैले बुझाएको पाण्डुलिपिबाट पाँच हजार शब्द मात्रै हटाए। र, तयार भयो ९ सय पृष्ठको भब्य किताब!
‘इन्डिया आफ्टर गान्धी’ को पहिलो संस्करण सन् २००७ मा आएको थियो। यद्यपि, जे जति कुरा पुस्तकमा अटाएका छन्, जति लामो छ किताब, ती सबै हेर्दा पुस्तकले भारत र भारतीयको जीवनको सम्पूर्ण महत्त्वपूर्ण पाटो समाहित गरेको छ भनिहाल्न पनि सकिन्न। सौभाग्य भनौँ, समकालीन इतिहासबारे चासो राख्ने समूहको व्यापक वृद्धि भइरहेको छ, भारत स्वतन्त्र भएपछिको इतिहासका विविध आयाममाथि गहकिला डिजर्टेसन र पुस्तकमार्फत् भारतीय र गैरभारतीय युवा प्राज्ञहरूको जन्म भइरहेको छ।
‘इन्डिया आफ्टर गान्धी’ प्रकाशनको १० वर्ष पुगिसकेको छ। यतिन्जेल, यो गणतान्त्रिक मुलुकले दुइटा आम निर्वाचन, कांग्रेसको पतन, मोदीको उदय, भ्रष्टाचारविरुद्धका प्रमुख आन्दोलनहरू, महिला, दलित र धार्मिक अल्पसंख्यकविरुद्धका हिंसाका स्वरूप, केही राज्य, क्षेत्र र वर्गको समृद्धि पनि देखिसकेको छ। यद्यपि, यहाँ गरिबी व्याप्त छ, नागाल्यान्ड तुलनात्मक रूपमा शान्तिपूर्ण छ तर कश्मीरचाहिँ अशान्त नै छ। थुप्रै अन्य कुरा पनि छन्। नयाँ आएको यो किताब केही परिस्कृत छ, व्याख्या विश्लेषण थपिएका छन् जसले वर्तमानसम्मका घटना शृंखलालाई अनुभूत गरेको छ। अहिले पाँचौँ खण्डलाई पुनर्गठन गरेको छु, दुइटा अध्याय थपेको छु जुन बिल्कुल नयाँ अध्ययनमा आधारित छ।
यस पुस्तकबाहेक मैले लेखेका (वा भविष्यमा लेख्ने) सम्पूर्ण पुस्तक मेरै अघि सराइका कारण लेखिएका हुन्। दूरदृष्टि भएका मेरा प्रकाशकप्रति म कृतज्ञ छु किनभने मेरो आफ्नै देशको इतिहासबारे गम्भीर पुस्तक लेख्न उनले मलाई हौस्याए। केही अनुभव नभएको ३० छेउछाउको उमेरताका मैले यस्तो पुस्तक लेख्ने आँट गर्न सक्दिनथेँ, न त ५० पुग्दा सबै ऊर्जा गुमाइसकेको उमेरमा नै लेख्न सक्थेँ।
अनुवाद : सिपी अर्याल 

प्रकाशित : श्रावण ७, २०७४ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?