तरकारी फल्ने मेसिन

किरण पाण्डे, विवेक सुवेदी

सहरको थोरै जमिनमा बनेको घर पनि त्यतिखेर सानो लाग्ने छैन जतिखेर छत वा कौसीमै तरकारी फल्नेछ। अनि, घरको सौन्दर्य बिग्रिने गरी माटो पनि थुपार्नुपर्ने छैन।

प्लास्टिकको ड्रम वरपर प्वाल पारेर सबैतिर ‘डिस्पोजेवल ग्लास’ मा उब्जाउ हुनेछ। माटो नै नभएपछि जराहरू लुत्रुंग झुन्डिनेछन्। फल उमार्ने पोषण भने तिनले स्वचालित रूपमा तयार हुने पोषणयुक्त छिटा (स्प्रे) बाट पाउनेछन्। ढुक्क हुनुस्, तरकारीको स्वादमा यसले कुनै असर पार्ने छैन।

धेरैले ‘तेस्रो हरित क्रान्ति’ नाम दिइराखेको यो एरोपोनिक कृषिमा बिकसित भइरहेको एउटा नयाँ विधि हो। र, यसको अभ्यास नेपालमै पनि सुरु गरिएको छ। अमेरिकाको बोस्टन युनिभसिर्टी र बेलायतको ग्लेनडोर युनिभर्सिटीबाट एमबीए सकेका सिजर राना र प्रकाश दाहालले आफ्नै कलंकीस्थित घरको छतमा एरोपोनिकका अनेकथरी अभ्यास गरिराखेका छन्।
सन् २०५० सम्ममा विश्वका पचास प्रतिशत 
जनसङ्ख्या सहरमा बस्ने आकलन भइराखेका बेला धेरैको आँखा अहिले यसमा गडेको छ। के थाहा, यही अभ्यास कृषिको भविष्य पो बन्नेछ कि † एरोपोनिक त्यही प्रविधि हो जसमा आधारित भएर अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले मंगल ग्रहमा मानवसहितको यान पठाउँदा यसैगरी खेती गर्ने योजना बुनिरहेको छ। नासामा दिनहुँ यसबारे अनेकथरी अभ्यास हुन्छन्। 

Yamaha

व्यस्त कलंकी चोकबाट सय मिटरजति मात्र छेउमा पर्ने एउटा साढे दुईतले घरको छतमा यी दुई नेपाली तन्नेरीले तरकारी उब्जाउन ढिलो गरेनन्। अहिलेका लागि यो सिर्फ उनीहरूको सोख हो। तर यही सोखले भविष्यको एउटा चित्र भने स्पष्ट देखाइरहेको छ। 
विदेशबाट पढेर फर्केपछि काठमाडौंमा एमबीए पढाइरहेका थिए उनीहरू। तर मनले भने आफ्नै केही व्यवसाय होस् जसले सिर्जनशील तरिकाबाटै धेरै उत्पादन दिन सकोस् चाहिरहेका थिए। उनीहरूको त्यही चाहनाको उपज हो यो अभ्यास। टेलिभिजनमा देखिराखेको र पत्रपत्रिकामा पढिराखेका कुरा आफैंले अभ्यास गरेर हेर्दा उनीहरू अहिले यसको भविष्यप्रति धेरै द्विविधामा छैनन्। ‘सायद हाम्रो सपना, समय र बजारको आवश्यकता मिलेको छ,’ सिजर ठान्छन्, ‘यसले व्यावसायिक स्वरूप लिन सकेमा कृषिमा सहरिया मानिसको जोहो टर्ने मात्र नभई एकखाले क्रान्ति त अवश्य आउनेछ।’ 

आफ्नो घरको छतमा उनीहरूले कतै ड्रमलाई सोझो उभ्याएर त कतै तिनलाई ठाडै दुई टुक्रा पारेर त्यसलाई एकखाले मेसिनको रूप दिएका छन्। तयार भइसकेका ‘मेसिन’ मा के मात्र फलेका छैनन्, गोलभेंडादेखि बोडीसम्म र सिमीदेखि भिन्डीसम्म। ‘सैद्धान्तिक रूपमा यसमा माटोमा फल्ने सबै थोक फल्छन्, सवाल सिर्फ तिनलाई चाहिने पोषणको जोहो हुन्छ कि हुँदैन भन्ने मात्र हो,’ सिजरले सुनाए। 
एउटा सामान्य गणित के पनि हो भने जमिनमा नभई तला थपेजसरी आकाशमा जब फलहरू उम्रन्छन्, उत्पादकत्व आफैं गुणात्मक रूपमा बढ्छ। ‘खेतमा २० रोपनीमा गरिने उब्जाउ यसले एक रोपनीमै दिन्छ,’ प्रकाशले सुनाए, ‘त्यसमाथि पानी पनि जमिनमा जति खर्च हुन्छ त्यसको एक प्रतिशत मात्रै भए पुग्छ।’ माटोसँग सरोकार नै नहुने भएपछि तरकारी खेतीको एउटा प्रमुख चुनौती माटोबाट सर्ने रोगहरू असम्भवप्राय: हुनेछ। 
यस्तो खेतीका लागि ‘स्पन्ज’ भरिएका डिस्पोजेबल ग्लासहरू ड्रमका प्वालमा टाँगेर बिरुवा सारिन्छ। ड्रमभन्दा छुट्टै कुनै स्थानमा राखिएको कन्टेनरमा हुर्काउन खोजिएको तरकारीलाई आवश्यक पर्ने पोषणयुक्त झोल राखिन्छ। जसलाई स्वचालित ‘हाई प्रेसर पम्प’ ले ड्रमको भित्रपट्टि झुन्डिने बिरुवाका जरामा हरेक मिनेट छर्कन्छ। बचेको पोषण झोल पुन: संकलन भएर ‘स्प्रे’ को चक्रमा जोडिन्छ। सिजरले थपे, ‘त्यसैले यस प्रक्रियामा अनावश्यक र खेर जाने भन्ने केही हुँदैन।’ स्वचालित रूपमा 
यो प्रक्रिया चल्ने हुँदा श्रम र समय दुवैको बचत हुन्छ। 

गोडमेल गर्ने जोत्नेजस्ता खेतीका मुख्य कामहरू स्वत: यो प्रक्रियाबाट हट्छन्। 
मूलत: आम पोषण तत्त्वले धेरैखाले तरकारी उब्जाउन सकिन्छ। तर यस अभ्यासको क्रममा उनीहरूले के कुरा बुझेका छन् भने तरकारीको समूह अनुसार पोषणको सम्मिश्रण फरक–फरक तय गर्दा अझ गुणस्तर र मात्रा वृद्धि हुन्छ। जस्तो, गोलभेंडाजस्तो फल लाग्ने तरकारीमा पोटासियम बढी चाहिन्छ भने फल नलाग्ने सागजस्ता तरकारीलाई नाइट्रोजनको आवश्यकता बढी हुन्छ। फसफोरस, पोटासियम र जिंकको मात्रा समेत फलको प्रकृतिअनुसार फरक–फरक हुन्छ।
एउटा ड्रममा बनाउन सकिने चालीसवटासम्मका प्वालमा उब्जाउ हुने तरकारीले दैनिक दुई परिवारलाई पुग्छ। ९ वटासम्म ड्रममा त दैनिक बीसदेखि तीस किलोसम्म तरकारी फल्छ। ‘खासमा यसको आकर्षण कौशी खेतीकै लागि हो,’ प्रकाशले भने, ‘तर उपलब्ध थोरै ठाउँमै पनि व्यावसायिक खेती गर्न खोज्नेलाई त यो वरदान नै हुनेछ।’ 

सिजर र प्रकाश अहिले गोदावरीमा ६ रोपनी जग्गा लिएर एरोपोनिक शैलीबाटै व्यावसायिक तरकारी खेती गर्ने योजनालाई अन्तिम रूप दिँदै छन्। उनीहरू भन्छन्, ‘हामी किन पनि उत्साहित छौं भने परम्परागत खेतीको ४० देखि ६० रोपनी बरावर हुनेछ त्यो।’ यस प्रक्रियामा परम्परागत विधिभन्दा तीस गुणा छिट्टो फल पाग्छ। ‘ड्रम’ भन्दा बाहेक फिट यसलाई अनुकूल हुनेगरी अन्य थुप्रै डिजाइन पनि गर्न सकिन्छ। 

अहिले सामान्य एउटा मेसिन बनाउन पचास हजार रुपैयाँ खर्च हुन्छ। मेसिन जति धेरै र ठूलो हुँदै गयो वा ड्रममा जति धेरै प्वालहरू थपिंदै गए, त्यति लगानी बढ्दै जान्छ। 
एरोपोनिक झट्ट हेर्दा कौशीमा सामान्य तरकारी खेतीका लागि मात्र जस्तो देखिए तापनि ड्रम वा ग्लासको आकार केही बढाइयो भने त्यसमा ठूल्ठूला फल र अन्न उब्जाउन सकिन्छ। पोषणहरूको गुणस्तर कायम गर्न सक्दा यसका उत्पादन ‘अर्गानिक’ हुनेछन्। एरोपोनिकका अध्येताहरूको एउटा सामान्य तर बलियो तर्क के हुनेगर्छ भने ‘जब उब्जनी प्रक्रियामा माटो जोडिंदैन, फल स्वत: अर्गानिक बन्छ।’


सिजर र प्रकाशको पृष्ठभूमि न इन्जिनियरिङ हो न त कृषि नै। केवल केही नवीन तथा नतिजा देखिने काम गर्ने हुटहुटीले नै उनीहरूलाई यहाँसम्म डोर्‍याएको हो। हुटहुटीमा अहिले झन् रंग र जोस थपिएको छ। ‘घर छँदै छ, अब आकाशतिरै खेती गर्ने त हो, सकेजति,’ सिजरले हाँस्दै भने, ‘सानैदेखि सुनेको ‘स्काई ह्याज नो लिमिट’ भन्ने भनाइको अर्थ सायद यस्तै पो हो कि !’

 

प्रकाशित : श्रावण ७, २०७४ ११:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सम्झना : लिम्बूलाई किपट अर्थ्याउने इतिहासकार

बसन्त बस्नेत

पञ्चायत सरकारले किपट बिर्ता खोस्नेगरी २०२१ सालमा भूमिसुधार योजना ल्याएपछि पूर्वका लिम्बू अगुवाहरू चर्कै रिसाए। तिनीहरूले राजा पृथ्वीनारायण शाहबाट १८३१ साउन २२ मा पाएको लालमोहर प्रमाणका रूपमा पेस गरे।

त्यसैलाई आधार मान्दै राणाहरूबाट पाएको सनद पनि ठीकठाक तयार राखे। सरकार भने किपटियाहरूमार्फत् समुदायले भोगचलन गरिआएको जमिन अब रैकरमा बदल्ने योजनामा थियो। सुब्बाहरू राज्यले दिएको दस्तावेज देखाएर राज्यसँगै लड्ने मनस्थितिमा पुगे।

तेह्रथुमका भूपू गभर्नर ललितबहादुर तुम्बाहाङ्फे (पूर्वसांसद विजय सुब्बाका बुवा) को घरमा सबैतिरका सुब्बाहरूले संकलन गरेको दस्तावेज संग्रह गरियो। अगाडिका सरकारहरूले भूमि व्यवस्थाबारे जेसुकै नीति लिएको भए पनि पञ्चायतले आफ्नो नयाँ योजना लागू गरिछाड्यो। इतिहासकार शिवकुमार श्रेष्ठले तुम्बाहाङ्फेकहाँ गएर सबै दस्तावेज केलाए। साझा प्रकाशनले प्रकाशन गरेको ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’ को परिशिष्ट खण्डमा यी बहुमूल्य लेखोटहरू पढ्न पाइन्छ।
८२ वर्षको उमेरमा अघिल्लो बुधबार, २८ असारमा देहान्त भएका धनकुटा क्याम्पसका पूर्वप्रमुख श्रेष्ठ १९९२ असार ३० गते जन्मेका थिए। उनले इतिहास संकलन र अध्ययनको दायरालाई लिम्बुवानमा खुम्च्याएर भने बसेनन्। उनी भन्थे, ‘लिम्बू नभए पनि म लिम्बुवानमा नै जन्मे, हुर्केकाले सानै उमेरदेखि लिम्बुवानको रीतिथिति, इतिहास र संस्कृति अध्ययन गर्ने जिज्ञासा थियो यही जिज्ञासाले मलाई लिम्बूको रीतिथिति, इतिहास र संस्कृति खोज्न प्रेरणा दियो।’

श्रेष्ठका ‘आधुनिक विश्वको इतिहास,’ ‘युरोपको इतिहास,’ ‘विश्वका प्राचीन सभ्यताहरूको इतिहास’ जस्ता पुस्तकहरू छन्। किराती लोककथाहरूका दुई भाग लेखेका उनको ‘हिमालयन फोकलोर : टेल्स् अफ् इस्टर्न नेपाल’ र ‘किराती फोक–टेल्स’ अनूदित छन्। आठपहरिया जातिको ऐतिहासिक, सामाजिक र आर्थिक अवस्थामाथि उनको अर्को त्यस्तै पुस्तक छ। उनको ‘किराती लोककथाहरू’ पूर्वतिर निकै चर्चित पुस्तक हो, जसमा संगृहीत दन्त्यकथाहरू उनले आफैं विभिन्न जिल्लाहरू पैदल घुमेर खोजबिन गरेका हुन्।

जानकारहरूका अनुसार महेशचन्द्र रेग्मीले ‘ल्यान्डअनरसिप इन् नेपाल’ पुस्तकमा राज्यको भूमिसुधार नीतिले लिम्बूसहित विभिन्न जाति, क्षेत्रका मानिसहरूलाई दिएका प्रभाव र असरबारे जुन प्राज्ञिक उचाइबाट ऐतिहासक विवरण प्रस्तुत गरे, आम पाठकका लागि त्यो निकै दुर्बोध्य थियो। त्यस किताबमा किपट प्रथामाथि छुट्टै परिच्छेद नै छ। लिम्बुवानको इतिहास अनुसन्धान गरेका अध्येता अर्जुनबाबु माबुहाङ भन्छन्, ‘राज्यले सुब्बाहरूलाई दिएको सनत तिरोहरूको सरकारी रेकर्ड खोज्ने काममा रेग्मीको योगदान छ, तर त्यो अधिकांशले त्यसलाई बुझ्नै सकेनन्। लिम्बूलाई किपटको बारेमा सजिलो गरी अथ्र्याउने पहिलो इतिहासकारचाहिं शिवकुमार श्रेष्ठ हो। केही समय भूमिसुधार विभागका कर्मचारी भएर काम गरेकाले गर्दा जग्गाको किसिम र प्राविधिक पक्षमा उहाँको पकड थियो।’ लिम्बुवानको ऐतिहासिक अध्ययनलगायत शोध ग्रन्थहरू पढेपछि राजनीतिज्ञ तथा लेखक स्व. काजीमान कन्दङ्वाले श्रेष्ठलाई इतिहास अन्वेषणको क्षेत्रमा इमानसिंह चेम्जोङ र प्रेमबहादुर माबोहाङपछि तेस्रो लहरमा उभ्याएका छन्। 

पहिले प्राज्ञिक वृत्तमा छलफल हुने, अनि पछिल्ला वर्षहरूमा क्षेत्रीय राजनीतिको मुद्दा बनेको ‘किपट’ के हो त? रेग्मी लगायत शोधकर्तालाई उद्धृत गर्दै श्रेष्ठले आफ्नो पुस्तकमा लेखेका छन्, ‘जमिनको स्वामित्व जात, गाउँ, नातागोता र पारिवारिक आधारमा रहेको हुन्छ र व्यक्तिहरूको उक्त जमिनमाथिको निश्चित स्वामित्व पनि उनीहरूको सम्बन्धित सामाजिक एकाइको सदस्यतामा आधारित हुन्छ। यस प्रकारको जमिनको स्वामित्व जातीय चरित्रको छ, यो पूर्ण रूपको स्वामित्वभन्दा पनि भोगाधिकारमा सीमित स्वामित्व हुन्छ।’ २००७ सालको परिवर्तनलगत्तै खुलेका विभिन्न पार्टीहरू किपट प्रथाबारे मौन बसे पनि नेपाली कांग्रेसले अब यो हटाउनुपर्छ भन्ने प्रस्ताव पारित गरेको पनि श्रेष्ठले उल्लेख गरेका छन्।

इतिहासकार श्रेष्ठले किरात सभ्यताको उद्भव, काठमाडौं उपत्यकामा किरात राज्य निर्माणदेखि पछि बनेको नेपाल राज्य निर्माणमा लिम्बू समुदायको योगदानबारे प्रशस्तै अन्वेषण गरेका छन्। इतिहास पढ्दा थाहा हुन्छ— पृथ्वीनारायण शाहले अरू राज्यहरू जित्दै लगे पनि लिम्बुवानलाई वार कि पार लगाउन सकेका थिएनन्। गोर्खाली अफिसर रघु राना र लिम्बू कमान्डर काङसोरेबीचको लडाइँमा रघुराना मारिए। गोर्खाली फौजतिर ठूलो संख्यामा हताहती हुँदै गर्दा सिक्किमले पनि गोर्खाविरुद्ध लडाइँको विगुल फुक्यो। दुश्मनहरू आफूविरुद्ध संगठित हुँदै गएको देखेपछि पृथ्वीनारायण शाहले लालमोहर गरिदिए। त्यही लालमोहरमार्फत् लिम्बूको भूमिलगायत प्राकृतिक, सामाजिक स्रोतमाथि निश्चित अधिकारहरू सुरक्षित हुनेगरी उनीहरू गोर्खा राज्यमा समाहित भए।

पृथ्वीनारायणले लिम्बूसित सन्धि गर्दै गर्दा त्यहाँभित्रका प्रशासनिक पद्धतिहरूलाई उप्रान्त राज्यकै सम्पत्तिका रूपमा स्वीकार गर्ने वाचा दिलाएका थिए। पृथ्वीनारायणको लालमोहरमा किपट शब्द कतै उल्लेख छैन, बरु रणबहादुर शाहले छाप गरिदिएको लालमोहरमा पहिलोपटक उक्त शब्द प्रयोग भएको देखिन्छ। किपट शब्द लिम्बुवानसँग मात्रै सम्बन्धित भनी कतिपय अनुसन्धाताहरू भन्छन्, तर श्रेष्ठले गजेन्द्रबहादुर प्रधानांग, फ्रान्सिस ह्यामिल्टन लगायत इतिहासकारलाई उद्धृत गर्दै गोर्खालीहरूले पूर्व नेपाल विजय गर्नुपहिल्यै पश्चिम नेपालमा माझी र अन्य जातिले किपट चलाएको तथ्य दिए। तर इतिहासको जतिसुकै गीत गाए पनि किपटले फाइदा गरिरहेको भने थिएन।
यहाँनेर एक बुद्धिजीवीका रूपमा श्रेष्ठको आलोचनात्मक योगदान देखिन्छ। जतिसुकै ऋण परे पनि पर्वाह नगरी सामाजिक धार्मिक रीतितिथि चलाउने हुँदा भोगबन्धकी प्रथाका कारण किपट अन्तत: स्वयं लिम्बूहरूकै लागि हानिकारक बन्न पुगेको निष्कर्ष उनले आफ्ना पुस्तकहरूमार्फत् दिए। समाजशास्त्री चैतन्य मिश्र भन्छन्, ‘किपटलगायत त्यस बेलाका भूमि वितरणसम्बन्धी प्राय: सबै प्रथाहरू जमिनदारीमा आधारित थिए। समुदायका निश्चित मानिसहरूमा रहेको सम्पत्तिसम्बन्धी अधिकार राज्यले खोसेर व्यक्तिको निजी सम्पत्तिका रूपमा हस्तान्तरण गर्ने नीति लिनु उचित नै हो। किपट खारेजी भए पनि त्यसको ऐतिहासिक पक्ष खोजी गरिनु प्राज्ञिक अनुसन्धानको क्षेत्रमा श्रेष्ठको योगदान हो।’ 

गैरलिम्बू समुदायमा जन्मी हुर्की विश्वको इतिहास विषयमा उच्च शिक्षा लिए पनि श्रेष्ठले आफ्नो शोधको विषय लिम्बुवानको क्षेत्रीय अवयवलाई बनाए। ‘लिम्बुवानको सम्बन्धमा आजसम्म स्वदेशी र विदेशी इतिहासकारले आफ्नै दृष्टिकोणले मात्र लेख्ने प्रयास गरेका छन्, तिनीहरूले तथ्य केलाएर वास्तविकता औंल्याउन सकेका छैनन्,’ श्रेष्ठले आफ्नो पुस्तक ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ को भूमिकामा लेखेका छन्, ‘इतिहासकारहरूले कसैप्रति पूर्वाग्रह राख्नु हुँदैन भन्ने धारणाले मैले ऐतिहासिक अध्ययन थालेको छु।’ लिम्बुवानको पुरानो भूगोल कहाँदेखि कहाँसम्म भन्ने विवाद राजनीतिकर्मीहरू गरिरहन्छन्। श्रेष्ठले ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम र संखुवासभा गरी ४३४७ वर्गमाइलमा रहेको भूभाग मात्रै लिम्बुवान भएको पुस्तकमा ठोकुवा गरेर लेखेका छन्।

२०७० असोज दोस्रो साता यो पंक्तिकार धनकुटा सदरमुकाम सिरानबजारस्थित श्रेष्ठको घर पुग्दा उनी धर्मपत्नीसहित बुढ्यौलीका दिनहरू गुजार्दै थिए। किरातहरूको इतिहास खोजीमा आफू क्रियाशील रहेको बताउने उनी स्वास्थ्य र स्मरणशक्ति पहिलेजस्तो नरहेकाले दस्तावेजहरूको सिलसिलेवार अध्ययन तथा तिथिमितिको ‘क्रोनोलोजिकल अर्डर’ मिलाउन नसकिरहेको दुखेसोमा थिए। आफ्ना केही प्रकाशित कृति थमाउँदै उनले भनेका थिए, ‘बूढा मरे, भाषा सरे भन्छन्। आफू कहिले मरिने हो ठेगान छैन। इतिहासचाहिँ अरूलाई सारिराखूँ।’ नयाँ पुस्ताको प्राविधिक विषयप्रति मोह, तर इतिहास, अर्थशास्त्रजस्ता विषयप्रति घट्दो रुचिले उनी दिक्किएका थिए। उमेरले हो कि, तन्नेरीहरूको सोच–समझप्रति उनले पत्यार गरेको देखिएन।

श्रेष्ठ अब फर्कन्नन्, अनि पुरानै भूमि पद्धतिमा आधारित किपट, विर्ता, अमाल पनि फर्कने छैन। तर उनले हाम्रो नेपाली समाज कस्तो कालखण्डबाट गुज्रिएर विकास भएको हो भनी अध्ययन गर्न गतिला सामग्रीहरू लेखेर छाडिदिएका छन्। श्रेष्ठ अरू इतिहासकारभन्दा यसर्थ अब्बल छन्— किरात लिम्बुवानमाथि लेखिएका अधिकांश इतिहास कि त लिम्बू भाषामा छन्, कि त अंग्रेजीमा। श्रेष्ठले आम नेपाली पाठकमा पुग्ने माध्यम भाषा बदले। आफूलाई फैलाए, र अमर भए। प्राध्यापक बालकृष्ण माबुहाङ भन्छन्, ‘इतिहास भनेर शासकहरूका गाथा पढाइने पञ्चायती युगमै शिवकुमार श्रेष्ठले उपेक्षित भूमिको इतिहास खोतल्ने काम गर्नुभयो। प्रजातन्त्र आउँदा उहाँमा जुन प्रकारको केही गरौं भन्ने उत्साह थियो, त्यसलाई राज्यले उपयोग गर्न सकेन।’

प्रकाशित : श्रावण ७, २०७४ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT