१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मिथिलाञ्चलका अमृतनाथ

किशोर नेपाल

सांस्कृतिक विविधताको भूमि हो, नेपाल। पौराणिक ग्रन्थहरूमा तपोभूमिका रूपमा वर्णित यो देशको पाइला पाइलामा आस्थाका फूल छरिएका छन्।

मिथिलाञ्चलका अमृतनाथ

हिमालयबाट सुरु हुने जल प्रवाहले पूरै देशको भूगोल सिञ्चित गरेको छ। यहीं छन् साधु र सन्त। यहीं छन् विभूति। धर्म मानिसको आस्था होला। तर धर्मशास्त्रहरू धर्मसम्म मात्रै सीमित छैनन्। सामाजिक विकासका निरन्तरताका प्रतीक हुन् ती ग्रन्थहरू। धर्मशास्त्रहरूले आ–आफ्ना कालखण्डको सामाजिक विवरणहरू समेटेर आगामी समयका लागि सुरक्षित राखी दिन्छन्। ती सामग्रीहरू स्मृति र श्रुतिका आधारमा वर्तमानसँग जोडिएका हुन्छन्। हामी त्यसलाई परम्पराका रूपमा पनि हेर्न सक्छौं। समकालीन इतिहासका सूत्रहरूसँग जोड्न पनि सक्दछौं।

नेपालको तराई मधेस सांस्कृतिक वैभवका हिसाबले त्यत्तिकै महत्त्वपूर्ण छ जति देशका अन्य क्षेत्र। नेपालको मधेस मुख्य रूपले मिथिलाञ्चलको भावभूमि हो। खासगरेर, जनकपुरधाम नेपालको महत्त्वपूर्ण धार्मिक केन्द्र हो। रामकी धर्मपत्नी सीताको जन्म जनकपुरधाममा भएको थियो। जानकी मन्दिर नेपालको गौरवका रूपमा उपस्थित छ। तर, धर्म र संस्कृतिका हिसाबले धनुषा र महोत्तरीका प्राय: सबै क्षेत्रहरू उत्तिकै महत्त्वपूर्ण छन्। महोत्तरीको सानो गाउँ बनौली धार्मिक र सांस्कृतिक दुवै हिसाबले उत्तिकै महत्त्वपूर्ण छ। राजा शिवसिंहको अवसानपछि यही गाउँमा दिव्य बाह्र वर्ष गुप्तवास बसेर मैथिली भाषाका महाकवि विद्यापतिले भागवत महापुराणको मैथिली संस्करण तयार पारेका थिए। मैथिली साहित्यकार तथा प्राज्ञ रामभरोस कापडी ‘भ्रमर’ का अनुसार बनौली धेरै मैथिली साहित्यकारका लागि प्रेरक भूमिका रूपमा रहेको छ।
यही गाउँमा जन्मिएका थिए भागवत महापुराणका वाचन शिरोमणि अमृतनाथ मिश्र (१९७७–२०७२) जसले मैथिलीमा भागवतको वाचन गरेर कीर्ति फैलाएका थिए। डा.मतिप्रसाद ढकालका अनुसार, भागवत मर्मज्ञ अमृतनाथ मिश्रले पढाउँदा आफ्ना शिष्यहरूलाई एकपटक पढ्ने, दोस्रोपटक सोच्ने र तेस्रोपटक लेख्ने गर्‍यो भने छिटो ज्ञान हासिल हुन्छ भन्ने गर्दथे। जीवनमा उच्च सफलता प्राप्त गर्न चाहने विद्यार्थीहरूका लागि यो नै महत्त्वपूर्ण सूत्र थियो।
अमृतनाथजीको बाल्य जीवन दुर्गा चैतन्य ब्रह्मचारीद्वारा सञ्चालित गुरुकुलमा भएको थियो। उनको विवाह भारत मधुवनीकी कन्या काशी दाइसँग विक्रम संवत् २००० मा भएको थियो। एउटा कन्यालाई जन्म दिएर काशी दाइको निधन भएपछि परिवारलाई निरन्तरता दिन उनले देवकालीसँग दोस्रो बिहे गरे। उनीहरूको छ जना छोरा र दुईवटी छोरी भए। 
अमृतनाथजी विद्वान मात्र होइन, समाजसेवी थिए। उनले शिक्षाको प्रचार गरे। मानिसलाई शिक्षा दिनु जस्तो सत्कार्य अर्को छैन भन्ने मूलमन्त्र लिएका थिए उनले। उनले बनौली गाउँमा वेद विद्यालय स्थापित गरे। त्यतिन्जेलसम्म नेपालमा अंग्रेजी भाषाको चलन चलिसकेको थिएन। संस्कृत शिक्षाको मुख्य भाषा थियो। अमृतनाथजीले सुधा पुस्तकालयको स्थापना गरेका थिए २०१३ सालमा। त्यो पुस्तकालयमा अमेरिकी दूतावासले सहयोग उपलब्ध गराएको थियो। 
जनताको उपचार सुविधाका लागि उत्तर प्रदेश, भारतको झाँसीस्थित आयुर्वेद चिकित्सालयबाट प्रशिक्षण लिएका थिए उनले। उनमा नयाँ–नयाँ विषय आफू पनि सिक्ने र अरूलाई पनि सिकाउने जिज्ञासा प्रवल थियो। यो जिज्ञासा पूरा गर्न उनी ज्ञान र सीपका नयाँ–नयाँ अवसरहरूको उपभोग गर्दथे। यसै क्रममा २०१२ सालमा शिक्षा मन्त्रालयले सञ्चालन गरेको आधारभूत शैक्षिक प्रशिक्षण कार्यक्रममा पनि उनको सहभागिता थियो। 
त्यो समयमा राजनीति समाजसेवाकै एउटा अंग थियो। अमृतनाथजीले शिक्षकका रूपमा परिवर्तनका लागि निकै साहसिक काम गरेका थिए। २००७ सालको क्रान्तिका समयमा महेन्द्रनारायण निधि, रामनारायण मिश्र, भद्रकाली मिश्र, रमाकान्त झा र शेख इद्रिसजस्ता दिग्गज नेताहरूसँग अमरनाथजीको घनिष्ठ सम्बन्ध थियो। यी नेताहरूलाई आवश्यक सेवा र सूचनाको स्रोतका रूपमा अमृतनाथजी रहेका थिए। पण्डितजीको व्यक्तित्वमा अरूलाई प्रभाव पार्ने खुबी थियो। यो खुबीका कारण उनको प्रतिष्ठा बढेको थियो। अन्धकारबाट भर्खर उज्यालोमा आएको समाजको परिवर्तनका लागि अमृतनाथजस्ता सुशिक्षित युवाहरूको भूमिका स्वाभाविक रूपले प्रभावकारी थियो। परिवर्तनलाई तत्कालीन ग्रामीण समाजमा महत्त्वपूर्ण हिसाबले स्थापित गर्न अमृतनाथजीको योगदान विशिष्ट रह्यो। 
अमृतनाथजी थिए विलक्षण वक्ता। पछिल्लो समयमा जसरी नारायणप्रसाद पोखरेल विलक्षण कथावाचकका रूपमा देखिएका थिए त्यसरी नै त्यो समयमा अमृतनाथजीको वाचन कीर्ति चारैतिर फैलिएको थियो। संस्कृत शिक्षाका केन्द्रका रूपमा चर्चित नेपाली भूभाग जनकपुर, जलेश्वर, मटिहानी र बनौली तथा भारतीय भूभागमा पर्ने सीतामढी, मधुवनी, उच्चैठ तथा मधवापुरमा भागवत शिल्पीका रूपमा अमृतनाथजीको ख्याति फैलिएको थियो। उनको वाचनमा धार्मिक चेतनाको अभिवृध्दि र विस्तार मात्रै हुँदैनथ्यो, लोकतन्त्रका पक्षमा जागरणको स्वर पनि उत्तिकै प्रभावकारी किसिमले ध्वनित हुन्थ्यो। 
समयका हिसाबले अमृतनाथजीले त्यही समयको प्रतिनिधित्व गर्दथे जुन समयमा पण्डित शुक्रराज शास्त्रीले पुराण वाचन र धार्मिक प्रवचनका माध्यमले परिवर्तनको सूत्रपात गरेका थिए। मानिसको कमी र पढे–लेखेका मानिसको झन् कमी त्यो अतीतको संकट थियो। अमृतनाथजीमा भागवत पुराणका गम्भीर ग्रन्थि र दार्शनिक गुत्थीका रहस्यलाई सहज ढंगले उदांगो बनाइदिने कौशल थियो। उनको कथावाचनको तिलस्मीमा डुबेका श्रोताहरू उनको शैलीसँग अहिले पनि उत्तिकै मोहित छन्। मैथिली भाषामा ५० पटकभन्दा बढी भागवत कथा वाचन गर्ने अमृतनाथजी आफैंमा अमर छन्। 
व्यक्तित्वका हिसाबले पण्डित अमृतनाथ स्नेहिल र सुललित स्वभावका थिए। उनी बालबालिकालाई प्रगाढ स्नेह गर्दथे। उनका नाति जयन्त भगवान् मिश्र लेख्दछन् : उहाँका विद्वतापूर्ण कथन होस् या हामी सन्तानप्रतिको स्नेहका अभिव्यक्ति हुन्, उहाँको वाणीको सम्झना मात्रैले पनि मलाई एउटा असल मान्छे बन्ने प्रेरणा दिन्छ। हजुरबुवा विद्वताको विशाल वटवृक्ष हुनुहुन्थ्यो।
अमृतनाथजीको अध्ययन सकिएपछि उनले संस्कृत शिक्षाको प्रचार प्रसारमा नै आफूलाई समर्पित गरे। आर्यावर्तको प्रतिष्ठा संस्कृत र संस्कृतिमा रहेको मान्यता रहँदै आएको छ। अमृतनाथजीले दीपशिखाको रूपमा संस्कृत शिक्षाको प्रसारमा आफूलाई समर्पित गरे। अमृतनाथजीले २००६ सालमा बनौलीको महादेव मन्दिर परिसरमा १२ विद्यार्थीलाई नि:शुल्क शिक्षा दिएर सुरु गरेको यो परम्परा निरन्तर छ। २०१२ देखि २०२६ सालसम्म बनौली विद्यालयका अध्यापक र सञ्चालक समितिको सचिवका रूपमा विद्यालय विकासका लागि उनले गरेको योगदान कसैले बिर्सिन सक्दैन। अमृतनाथजीका योगदानहरूको मूल्यांकन उनको निधनपछि सुरु भएको छ। उनको स्मृतिमा नेपाल सरकारले हुलाक टिकटको प्रकाशन गरेको छ। सरकारले भाषा र संस्कृतिको समान महत्त्वलाई बुझेर पण्डित अमृतनाथजीका योगदानहरूको शोध गर्ने, पुस्तक प्रकाशन गर्ने र मैथिली भाषा साहित्य उत्थानका लागि केही ठोस योजना बनाउने हो भने यसले नेपालको हित गर्नेछ। मैथिली भाषा मात्र होइन, यो नेपालको पनि भाषा हो। अमृतनाथजस्ता विद्वान् नेपाली विद्वान् हुन्। 

प्रकाशित : श्रावण ७, २०७४ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?