१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महोत्सव मन्थन

प्रकाश थाम्सुहाङ

यो बर्षको राष्ट्रिय नाटक महोत्सव इलाममा सम्पन्न भयो, असार २२ देखि २५ गतेसम्म। इलाम उद्योग वाणिज्य संघले स्थानीय संयोजन गरेको महोत्सवको प्रमुख आयोजक थियो— नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान।

महोत्सव मन्थन

महोत्सवमा नौवटा नाटक मञ्चित भए। हेटौंडाको एउटा नाटकबाहेक अरू एक नं. प्रदेशका नाट्य समूहको प्रस्तुति मात्र थिए। धन्न हेटौंडा सहभागी भयो नत्र राष्ट्रिय नाटक महोत्सव एक नं. प्रदेशमा मात्र सीमित हुने थियो। मिथिला संस्कृति र सुदूरपश्चिमको समाज नाटकमा हेर्ने रहर यसपटक इलामवासीले पूरा गर्न पाएनन्। 

नाटक महोत्सव गर्न पक्कै सजिलो छैन। एउटा नाटक मञ्चन गर्न धेरै थोक आवश्यक पर्छ। आफ्नै खाले प्राविधिक कठिनाइहरू पनि होलान्। तर प्रज्ञा प्रतिष्ठान नै मुख्य आयोजक भएपछि अलग–अलग ठाउँको नाटक हेर्ने धोको दर्शकमा जाग्नु अन्यथा होइन। 
सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको नाट्य विभागमा कति बजेट छ? त्यो आमदर्शकको सरोकारको विषय होइन। आम दर्शकको सरोकारको विषय हो— कस्तो नाटक मञ्चन हुन्छ? प्रतिष्ठानको नाट्य विभागको छनोटमा कस्ता–कस्ता नाट्य समूहहरू परे? कुनै पनि राष्ट्रिय महोत्सवहरू औपचारिकतामा सीमित नभएको बेस। विधागत महोत्सवहरूले उक्त विधाको समकालीन धार, चेतना र स्तरको आकलन गर्छ। अझ यसो भनौं उक्त विधाको समकालीन आवाजको प्रतिनिधित्व गर्छ। राष्ट्रिय नाटक महोत्सव २०७४ ले मोफसलका सहभागी नाट्य समूहहरूको नाट्य चेतनालाई उदाङ्गो पारिदिएको छ। 
करिब तीन हजार वर्षअघि पाश्चाय नाट्यशास्त्रका आदि चिन्तक एरिस्टोटलले भनेका थिए— नाटक विरेचक तत्त्व हो। यसले पीरहरू विरेचित गरिदिन्छ। 
तर राष्ट्रिय नाटक महोत्सवमा देखाइएका एक–दुई नाटकलाई छाडेर अरू नाटकहरूले पीर विरेचन गर्नुको साटो वृद्धि गरिदिएका छन्। आम दर्शकको मनमा अझ पीर थपिदिएका छन्— के मोफसलको नाटक महान् ट्रयाजेडीमा फसेकै हो? 
लगभग एक वर्षअघि मण्डला नाटकघरमा चिया गफमा कवि स्वप्निल स्मृतिले ठट्टैठट्टामा गम्भीर कुरा गरेका थिए, ‘उहिलेका नाटकहरूले रुवाए। अहिले हँसाइरहेछन्। दर्शकलाई सोच्न बाध्य पार्ने नाटक कहिले बन्छ होला?’
राष्ट्रिय नाटक महोत्सव २०७४ मा प्रस्तुत अधिकांश नाटक हेरिरहँदा हामी आम दर्शकलाई सोच्न बाध्य होइन सोचमग्नचाहिं बनायो। सोचमग्न यस अर्थमा मोफसलमा यति लामो नाटक इतिहास हुँदाहँुदै यो विधा किन निरन्तर ओरालो लागिरहेछ। आउने दिनमा प्रतिष्ठानको नाट्य विभागले मोफसलको नाटकलाई उभो लगाउने जुक्ति कस्तो लगाउँछ? आम दर्शक सोचमग्न छन्। 
कला ठट्टा होइन। झन् नाटकजस्तो आम मानिससँग प्रत्यक्ष संवाद गर्ने विधासँग खेलाँची गर्न नहुने हो। दस ठाउँ समय बाँडेर बचेको समय नाटकलाई दिँदा आफैं दुर्घटित भइन्छ। परिणाम महोत्सवमा देखियो।
आजको समय कुनै पनि सिर्जनशील क्षेत्रमा लाग्ने व्यक्ति अपडेट हुन नितान्त जरुरी छ। विश्वको नभए पनि आफ्नै देशको सम्बन्धित विधाले कुन मार्ग अपनाइरहेछ। बुझ्नु जरुरी हुन्छ। किनकि हिजोका विचारहरू, मान्यताहरू आजको समयमा बासी भइसकेका हुन्छन्। फेरि अहिलेको युगमा अनेक प्रविधिहरूको सहुलियतले आम मानिसहरू थिएटर सायदै धाउँछन्। धन्न स्कुले केटाकेटीले इलामको महोत्सवमा दर्शक जुटाइदिए। नत्र इलामको सन्दर्भमा ऐतिहासिक ठहरिएको राष्ट्रिय नाटक महोत्सवलाई दर्शकको खडेरी परेकै हो। आम दर्शक क्यान्डी क्रसमा रमाइरहेछन्। सेल्फी खिच्नुमा निमग्न छन्। आमदर्शकलाई उपभोक्तावादले अचेँटिरहेछ। यो परिस्थितिमा कलाको संवेदनाले बाँधिराख्नु ठूलो चुनौती छ। यो चुनौती सम्बन्धित क्षेत्रका अभियन्ताहरूले बुझ्न जरुरी छ। स्वान्त सुखाय र आत्मरतिमा रम्ने दिन अब गए। एक नाटकमा पुरुषले महिलालाई लछार –पछार गरिरहेछ, तर दर्शकदीर्घा हाँसिदिन्छ। छेउमा हेर्‍यो— कोही हाई काढिरहेछ। कोही निदाइरहेछ। यस्तो विसंगत अवस्था किन उत्पन्न हुनगयो? नाटकको संवेदनाले दर्शकलाई किन छोएन? 
कुलपति सरुभक्तले उनकै नाटक ‘थाङ्ला’ को एउटा संवाद वाचन गरेर नाटक महोत्सवको उद्घाटन गरेका थिए। नाटक महोत्सवको उद्घाटन भव्य थियो। तसर्थ विचारले, कलाले र कलाकारको जीवन्त अभिनयले नाटकहरू उम्दा होलान् हामी आमदर्शकले सोच्नु किमार्थ गलत थिएन। पहिलो प्रदर्शित नाटकले गतिलो खुराक नदिएपछि आमदर्शक निराश बन्नु स्वाभाविक थियो।
पहिलो नाटकसँग दर्शकको धेरै अपेक्षा थियो। किनभने पहिलो नाटक स्थानीय नाट्य समूहको थियो। दर्शकले ती ऊर्जाशील युवासँग भरोसा राखेका थिए। त्यसकारण सिर्जनात्मक मोर्चामा अग्रसर भइसकेपछि पूरा तयारी गर्न पाएनौं भनेर पन्छिनु सायदै मनासिब होला। सुर्ती शून्यवाद भनेको के? सुर्तीजन्य वस्तु सेवन गर्नु हानिकारक छ भनेर सुजनामा उपदेश दिन मिल्छ कि मिल्दैन? कला र नैतिक शिक्षामा के फरक छ? चुरो कुरा यहाँनिर छ। ल सन्देश ठीक छ रे, तर त्यो कलात्मक रूपले प्रस्तुत हुनुपर्‍यो नि। एउटै चरित्रले पाँच मिनेटसम्म संवाद बोल्न थालेपछि विचरा दर्शक ननिदाएर के गरोस्?
नाटक बनाउन कति दु:ख छ? त्यो आमदर्शकको चासोको विषय परेन। ‘प्रतिभाशाली नाट्य कलाकर्मीहरू पलायन भइरहेछन्’ भन्ने गनगन पनि आमदर्शकको चासोभित्र परेन। पहिलो सर्त, मञ्चित नाटक प्रभावकारी हुनुपर्‍यो। नाटक देखाउने अठोट लिएपछि नाटकलाई उम्दा बनाउन मिहिनेत गर्नुपर्‍यो। केवल झारा टार्ने काम गर्नु भएन। त्यसो गर्नु दर्शकमाथि सरासर अन्याय हो। झन् नाटकमा प्रस्तुत दृष्टिकोण नै गलत भयो भने? त्यो त झन् समाजकै लागि प्रत्युत्पादक हुन्छ। नाटकमा राजनीतिलाई कन्टेन्ट बनाउन नपाइने होइन, पाइन्छ। तर नाटकमा एकको पक्षपोषण गरी अर्को समुदायलाई पूरै भ्रष्टीकरण गर्नु सिर्जनात्मक नैतिकताले दिँदैन। सामाजिक मुद्दाहरूलाई विषय बनाउन नाट्य निर्देशक झनै गम्भीर हुन जरुरी छ। नाटकका लागि नाटक मात्र हो भने दर्शकको केही भन्नु छैन।
इलामको परिवेशमा चार दिनसम्म नाटक मञ्चन भएको सम्भवत: पहिलोपटक थियो। त्यो महोत्सवले इलाममा नाट्य संस्कृतिलाई बढुवा दिनेछ, सोच्नु गलत थिएन। अरू मोफसलका सहर, गाउँतिर थिएटर संस्कृतिको प्रारम्भिक विकास भइरहेको सन्दर्भमा इलाम बजारमा पनि नाट्य संस्कृतिको विकास होस् भनेर नै महोत्सवको थलो इलाम रोजिएको होला। यसका लागि नाट्यप्रेमी आमदर्शकहरू आयोजकप्रति कृतज्ञ छन्। यो महोत्सवको सुरुआती प्रभाव इलाममा नाटकको चर्चा हुन थालेको छ। नाटक कस्ता–कस्ता मञ्चित भए? आम दर्शकले समीक्षा गरिरहेछन्। यसलाई उपलब्धि मान्नुपर्छ। नाट्य संस्कृतिको विकास यसरी नै हुनेहोला। तर उम्दा नाटकहरू मञ्चित भएको भए इलामेली दर्शकहरूमा नाटकले गहिरो प्रभाव छाड्ने थियो। फलस्वरूप उक्त प्रभाव कालान्तरमा नाट्य संस्कृतिका लागि उपलब्धिमूलक हुने थियो। 
प्रत्येक सर्जक आफ्नो सिर्जनाप्रति विश्वस्त हुनु सकारात्मक पक्ष हो। यद्यपि उक्त विश्वासलाई एउटा सीमामा राखे मात्र सर्जक र सिर्जनालाई भलो गर्छ। सिर्जनामाथिको अति विश्वासले घात गर्दोरहेछ। आफ्नो सिर्जनामाथि आत्ममूल्याङ्कन गर्न नदिँदो रहेछ। अहिलेको उत्तरआधुनिक समयले बहुकेन्द्रहरू स्थापित गर्दै लगेको छ। मोफसल पनि सिर्जनाको एउटा केन्द्र हो। यो पनि बहुकेन्द्रहरूमा विभक्त छ। एउटा रोचक पक्ष यहाँनिर के छ भने यसरी बहुकेन्द्रको निर्माणले सिर्जनात्मक प्रतिस्पर्धा बढाउँछ। तर नाट्य विधामा राजधानीको हेजेमोनीलाई मोफसलले प्रतिवाद गर्न सकिरहेको छ त? सिर्जनात्मक प्रतिस्पर्धा कस्तो छ? दर्शक सोचमग्न यहाँनिर भइदिन्छ। 
चिन्तक इन्द्रबहादुर राई भन्छन्— अध्याँरो भन्नेबित्तिकै उज्यालो साथमै जोडिएर आउँछ। 
राष्ट्रिय नाटक महोत्सवको निष्पट अँध्यारोमा आम दर्शकले जूनकीरीको उज्यालो अनुभूत गरेका थिए। त्यो धिप–धिपे उज्यालोले आमदर्शकलाई आंशिक राहत दिएको थियो र अँध्यारोको एकलौटी आतंकबाट मुक्ति दिएको थियो। त्यो उज्यालो थियो— केही आशालाग्दा नाट्य समूह र तिनले देखाएको नाटक। जसले महोत्सवको इज्जत जोगाइदिएका थिए। 
झोराहाट नाट्य समूहले मञ्चित गरेको नाटक ‘पर्खाल’ आरोहण गुरुकुल विराटनगरले मञ्चित गरेको नाटक ‘लखन पटवारी’ र कदम थिएटर दमकले मञ्चित गरेको नाटक ‘मरिचेको चुपी’ ले मोफसलको नाट्य क्षेत्रमा थोर बहुत आशा जगाएको छ। नाट्य विधाप्रति निरन्तर समर्पण रहिरहेने हो भने चुलाचुली रंगमञ्च र परिवर्तन थिएटर काकरभिट्टासँग आउने दिनमा नाट्यप्रेमी दर्शकले उज्यालोको आशा राखेको छ। 
सम्भवत: नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रस्टै अनुमान गरे होलान् कि नाटक उम्दा बन्न नाटकघर आवश्यक पर्छ। आरोहण गुरुकुल विराटनगर र झोराहाट नाट्य केन्द्रसँग आफ्नै नाटकघर छ। नाटकघर निर्माण हुनु भनेको नाट्य संस्कृतिमा एक पाइला अगाडि बढ्नु हो। त्यस्तै कदम थिएटर दमक पनि आफ्नो नाटकघर निर्माणको क्रममा छ। नाटककार कुलपति सरुभक्त भन्छन्— नाटकको महत्व जीवन जत्तिकै शाश्वत छ भन्दा अत्युक्ति हुँदैन। उनको कथनलाई स्विकार्ने हो भने नाटक जीवनविरोधी हुनु भएन। यति महत्त्वपूर्ण नाटक विधाले समाजको सही चित्रण गर्नुपर्‍यो। कला उम्दा हुनुपर्‍यो। सिर्जनामा पूर्वाग्रह राख्नुभएन। दृष्टिकोण ढुलमुले नभएर प्रस्टै हुनुपर्‍यो।

प्रकाशित : श्रावण ७, २०७४ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?