कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

तियानमेन स्क्वायरका एउटा ‘जेन्टलम्यान’

बन्दी अवस्थामा रहेकाले लिउ जियाबो पुरस्कार थाप्न जान सकेनन्। उनको कुर्सी खाली राखेर उनले उक्ति वाचन गरियो, ‘मेरा कोही दुश्मन छैनन्। मेरो कसैप्रति घृणा छैन।’
दुर्गा खनाल

सन् १८८९ मे महिनाको अन्त्यतिर ‘तियानमेन स्क्वायर’ मा ठूलो प्रदर्शन भइरहेको थियो। राजनीतिक अधिकार, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै उत्रिएका प्रदर्शनकारीहरूलाई दमन गर्ने राज्य पक्षको प्रयास जारी थियो। प्रदर्शनकारी र राज्य दुवै पक्षको उग्रता बढ्दै थियो।

तियानमेन स्क्वायरका एउटा ‘जेन्टलम्यान’

त्यही बेला ‘बेइजिङ नर्मल युनिभरर्सिटी’ का एक पूर्वप्राध्यापकले लिउ जियावोले शान्तिपूर्ण ‘भोक हडताल’ आन्दोलनको आह्वान गरे। सम्पूर्ण बुद्धिजीवीहरूलाई शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन अनुरोध गरे। आग्रहअनुसार साथ दिन हाजिर भए अन्य तीन जना बुद्धिजीवी– होउ देजियान, झोउ दोउ र गाओ झिन। हजारांै आन्दोलनकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनको आह्वान गर्दै जुन २, १८८९बाट लिउ सहित चार जनाले ‘भोक हडताल’ सुरु गरे। भोक हडतालका लागि लिउले तयार गरेको आह्वान पत्रको मुख्य नारा थियो– ‘हाम्रा कोही दुस्मन छैनन्।’ हडताल सुरु गर्दै गर्दा उनीहरूले यो पनि भने कि, ‘हामीले भोक हडताल थाल्यौं। हामी विरोध गर्छौं। हामी जनतालाई आह्वान गर्छौं, हामी मृत्यु खोजिरहेका छैनौं। हामी वास्तविक जीवन खोजिरहेका छौ।’ 

उग्र प्रदर्शन भइरहेका बेला सुरु भएको भद्र र शान्तिपूर्ण आन्दोलनका यी अभियन्तालाई आन्दोलनकारीले ‘फोर जेन्टलम्यान’ अर्थात् चार भलाद्मीको संज्ञा दिएका थिए। प्रदर्शनमा जनुसुकै बेला रक्तपात हुन सक्थ्यो। त्यही खतरा देखेरै यी ‘चार भलाद्मी’ ले शान्तिपूर्ण आन्दोलनको बाटो रोजेका थिए। लिउले आन्दोलनकारीलाई सम्झाउँदै प्रश्न गरेका थिए, ‘तपाईंहरू के सोचिरहनुभएको छ, के चाहनुहुन्छ भन्ने म राम्ररी बझु्छु, तर पहिलो प्रहारमै पछि हट्नुपर्ने अवस्था ल्याउने, तियानमेन स्क्वायरलाई रगतको खोलो बनाउने?’ यो अवस्थाबाट रोक्न शान्तिपूर्ण प्रदर्शनको आवश्यकता रहेको भन्दै उनले आन्दोलनको स्वरूप बदल्न खोजे।
तर लिउले गरेको आह्वानको २४ घण्टा नबित्दै ३ जुन १८८९ मा ‘तियानमेन स्क्वायर’ मा रक्तपात भयो। सुरक्षाकर्मीले आन्दोलनकारीमाथि माथि फायर खोले। सयौं मारिए। रक्तपातपूर्ण घटनाको भोलिपल्ट लिउ पक्राउ परे।
त्यसपछि पटक–पटक गरी ४ चोटी पक्राउ परी सत्र वर्ष जेल जीवन बिताएका तियानमेन स्क्वायरका ती एक ‘जेन्टलम्यान’ नोबेल शान्ति पुरस्कार बिजेता लिउ गत साता धर्तीबाट बिदा भएका छन्। कलेजोको क्यान्सरबाट पीडित उनको जेल जीवनमै गत जुलाई १३ मा निधन भयो। केही समयअघि उनी रिहाइ भएको घोषणा चीन सरकारले गरे पनि निधन हुदाँको अवधिसम्म पनि सुरक्षाकर्मीको निगरानीमा थिए। उनकी श्रीमती लिउ झिया पतिको निधनपश्चात् पनि नरजबन्दमै छिन्।
लिउको निधन संसारभरका शान्ति, लोकतन्त्र र स्वतन्त्रताका पक्षधरका लागि ठूलो शोकको विषय बनेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू लिउप्रति श्रद्धाञ्जलि र चीन सरकारको शैलीमाथि केन्द्रित भएर टिप्पणी गरिरहेका छन्। जबकी चिनियाँं मिडियाहरू लिउप्रति फरक मान्यता राखिरहेका छन्। करिब मौन छन्।

लिउप्रति चीनले पूर्वाग्रह राखेको र उपचारसम्म गर्न नदिएको भन्दै संसारभर आलोचना भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समयमै राम्रो उपचार नपाएका कारण उनको निधन भएको भन्ने तर्क हाबी छन्। 
बेलायती विदेशी सचिव बोरिस जोन्सनले भनेका छन्, ‘लिउ जियावोलाई विदेशमा गएर उपचार गर्न दिनुपर्‍थ्यो तर चिनियाँ अधिकारीहरूले पटक–पटक अस्वीकार गरे, यो गलत थियो, अब म उनीहरूसँग उनकी विधवा लिउ झियालाई रिहाइ गर्न माग गर्छु।’ नोबेल पुरस्कार कमिटीले यो घटनाको दोष चीन सरकारमाथि थोपरेको छ। ‘लिउको अल्पायुको निधनप्रति सम्पूर्ण रूपमा चिनियाँ सरकार जिम्मेवार छ,’ नोबेल कमिटीको वक्तव्यमा छ। 
मानव अधिकार र लोकतन्त्रका लागि लिउले गरेको योगदानको चर्चा र उनीमाथि भइरहेको अन्यायका कुराले ग्लोबल मिडिया भरिइहँदा, चिनियाँ अधिकारीहरूले भने निधनमा श्रद्धाञ्जलिका दुई शब्द पनि खर्चेका छैनन्। किनभने चिनियांँ संस्थापन लिउलाई देशद्रोही ठान्छ र पश्चिमाहरूले उकासेका एक अभियुक्तको रूपमा सम्झन्छ। चीन लिउप्रति कस्तो सोच्छ भन्ने बुझ्न सरकारी मुखपत्रजस्तै मानिने ‘ग्लोबल टाइम्स, सिन्ह्वा, सीसीटीभी’ जस्ता चिनियाँ मिडियाले गरेको कभरेजबाट पुष्टि हुन्छ।
 लिउको निधनको भोलिपल्टै ग्लोबल टाइम्सले सम्पादकीय लेख्दै लिउलाई ‘पश्चिमाहरूबाट पुल्पुल्याएका एक पीडित’ को संज्ञा दियो। लिउको उपचारका कुनै कञ्जुस्याइँ नगरेको र वरिष्ठ क्यान्सर विशेषज्ञहरूको निगरानीमा उपचार गरिएको उल्लेख गरेको छ। विदेश लैजाँदा ठीक हुन्थ्यो भन्ने विवादको पनि कुनै अर्थ नरहेको उसले लेखेको छ। विदेश लैजाने सम्बन्धमा जर्मन डाक्टर मार्कुस बुच्लरले ‘तिमीहरूले त्यहांँ उपचार गरेभन्दा राम्रो उपचार हामी गर्न सक्छौजस्तो लाग्दैन’ भन्ने जवाफ दिएपछि विदेश नलगी चीनमा नै उपचार गरिएको तर्क ग्लोबल टाइम्सको छ। 
‘लिउका अन्तिम दिनहरूलाई बाह्य शक्तिहरूले राजनीतीकरण गरे। उनीहरू लिउको बिमारलाई आफ्नो छवि उंँचो पार्ने र चीनको धमिल्याउने साधनको रूपमा प्रयोग गरे। खासमा उनीहरू लिउको जीवन लामो समयसम्म चलोस् भन्ने चाहँदैनथे, जब कि चिनियाँ डाक्टरहरूले लिउलाई बचाउन सक्दो प्रयास गरे’ ग्लोबल टाइम्सको सम्पादकीयमा छ। 
नोबल शान्ति पुरस्कार दिएर पश्चिमाहरूले आफ्नो स्वार्थका लागि लिउलाई ‘अपहरण’ नै गरेको टिप्पणी उक्त पत्रिकाले गरेको छ। ‘लिउ चीनले गरिरहेको तीव्र उन्तनीका एक साक्षी हुन्, तर उनले पश्चिमाहरूको समर्थनमा चिनियाँ मूल समाजसँंग ‘जोरी’ खोज्ने कोसिस गरे, त्यसैले उनको जीवन दु:खद रह्यो’ सम्पादकीयको अन्त्यमा छ, ‘यदि उनी लामो समय बाँचेका भए पनि उनले आफ्नो राजनीतिक उद्देश्य हासिल गर्न सक्ने थिएनन्।’ 
लिउप्रति अनुदार चिनियाँ संस्थापनले निधनपछि पनि कुनै सहानुभूति राखेको छैन। त्यसैले सर्वसाधारणहरूले उनीप्रति टिप्पणी नगरून् भनेर सामाजिक सञ्जालमा पनि सेन्सर गर्‍यो। सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको निधनबारे श्रद्धाञ्जलि व्यक्त गर्न घुमाउरो शैलीमा ‘इमोजी’ हरू प्रयोग गरेका छन्। सेन्सर छल्दै व्यङ्गात्मक शैलीमा पोस्ट गरेका छन्। चिनियाँ सर्च इन्जिन ‘बाइदु’ मा सर्च गर्दा कुनै समाग्री नआउने बनाइएको छ। उनका बारेमा गत फेब्रुवरीपछिका कुनै पनि सामग्री सर्च गर्दा परिणाम देखाउँंदैन। समाजिक सञ्जाल र वेबसाइटहरूमाथि लगाएको सेन्सरप्रति बीबीसीले व्यङ्ग्य गर्दै लेखेको छ, ‘यतिसम्म कि, श्रद्धाञ्जलिमा समेत सन्सेर?’ 
१९५५ डिसेम्बर २५ मा जन्मेका लिउ १९७७ देखि १९८२ जिलिन युनिभर्सिटीमा कलेजको सुरुआती अध्ययन गरे। १९८४ मा बेइजिङ नर्मल युनिभर्सिटीबाट साहित्यमा मास्टर्स गरेपछि उनको पीएचडीको अध्ययन सुरु भयो। त्यस बेलादेखि नै उनी चीनको संस्थापनभन्दा फरक धारणा राख्थे र लोकतन्त्र, मानव अधिकारको वकालत गर्न थालेका थिए। १९८८ मा पीएचडी गरेपछि उनी ओस्लो, हवाई, कोलम्बियालगायतका युनिभर्सिटीमा भिजिटिङ अध्यापक बनेर पढाउन गए। कोलम्बिया युनिभर्सिटीमा अध्यापन गरिरहेका बेला १८८९ मा चीनमा लोकतन्त्र र मानव अधिकारको माग गर्दै आन्दोलन सुरु भयो। तियानमेन स्क्वायरमा प्रदर्शन बढ्दै गएपछि लिउको मन थामिएन। स्वदेश फर्केर तियानमेन प्रदर्शनकारीलाई समर्थन गर्दै शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरे। 
आन्दोलनको क्रममा पक्राउ परेपछि पनि लिउले स्वतन्त्रताको वकालत गर्न छाडेनन्। उनी सरकारका गतिविधिको आलोचना गर्दै लेख टिप्पणी लेख्थे, चीनको अवस्थाबारे विदेशीहरूलाई जानकारी गराउँथे। यस्तै गरेबापत उनी ४ पटक पक्राउ परे। १९९५ मा उनले राजनीतिक सुधारको अभियान थाले, त्यही निहुँमा पक्राउ गरेर ६ महिना जेलमा राखियो। १९९६ ‘ताइबान र चीन शान्तिपूर्ण रूपमा मिल्नुपर्छ’ भन्ने समान्य भनाइ राख्दा उनलाई पक्रेर तीन बर्ष ‘श्रम शिविर’ मा राखियो। १९९९ मा छुटेपछि उनले राजनीतिक आलोचना गरिएको ‘अ नेसन द्याट लाइज टु कन्साइन्स’ नामक पुस्तक निकाले। सँगसँंगै श्रीमती लिउ झियासँंग मिलेर २ हजारवटा कविताको संग्रह पनि तयार गरे। तीन वर्षको जेल अवधिमा उनले चीनको सुधार कसरी गर्ने भन्ने एउटा घोषणापत्र ‘चार्टर–०८’ पनि लेखे। जसमा संविधानको संशोधन, मानव अधिकार, शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने, अभिव्यक्ति दिन पाउन र स्वतन्त्र निर्वाचन गर्नेलगायतका कुरा समावेश थिए। तीन सय चिनियाँ बुद्धिजीवी र अधिकारकर्मीहरूले हस्ताक्षर गरेको ‘चार्टर–०८ सन् २००८ डिसेम्बर ८ मा संयुक्त राष्ट्रसंघको ६० औं महासभाको अवसरमा अनलाइन भर्सनमा प्रकाशित भयो। चीनलाई चित्त बुझेन। तत्कालै इन्टरनेट सर्च इन्जिनहरू बन्द गरायो। लिउ पुन: पक्राउ परे। जेलमै रहेका बेला सन् २०१० मा लिउलाई लोकतन्त्र र मानव अधिकारको पक्षमा वकालत गरेबापत नोबल शान्ति पुरस्कार दिने निर्णय भयो। यो निर्णयका कारण चीन र नर्बेबीच सम्बन्धमा खटपटीसमेत उत्पन्न भयो। चीनले नर्वेसंँगको सम्बन्ध नै टुटाउने धम्कीसमेत दियो। बन्दी अवस्थामा रहेकाले उनी पुरस्कार थाप्न जान सकेनन्। उनको कुर्सी खाली राखेर उनले सधैं दोहोर्‍याउने गरेको उक्ति वाचन गरियो, ‘मेरा कोही दुस्मन छैनन्। मेरो कसैप्रति घृणा छैन।’ 

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : श्रावण ७, २०७४ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?