कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

हार्नेको कथा

वैकुण्ठ मानन्धरले जति म्याराथन जिते त्यसमा सधैं दोस्रो हुने अरू कोही थिएनन्, मुकुन्दहरी श्रेष्ठ थिए।
विनोद पाण्डे

दुखको विषय कथा प्राय जित्नेको लेखिन्छ। धावक मुकुन्दहरी श्रेष्ठ यही भन्छन्। उनले वैकुण्ठ मानन्धरसँगैको दौड कहिल्यै जितेनन्। वैकुण्ठले लगभग सबैपटक जिते।

हार्नेको कथा

इतिहास उनकै बारेमा मात्र लेखियो। मुकुन्दको इतिहास विलीन होलाजस्तै भयो। त्यसको एउटै कारण उनी वैकुण्ठका अगाडि ‘हरुवा’ खेलाडी थिए। 

वैकुण्ठले जति म्याराथन जिते त्यसमा सधैं दोस्रो हुने अरू कोही थिएनन्, मुकुन्द नै थिए। दाजु–भाइ, नङ–मासुको जस्तो थियो वैकुण्ठ र मुकुन्दको सम्बन्ध। अति नै प्रगाढ। बाग्मती अञ्चललाई च्याम्पियन बनाउन पर्छ भनेर वैकुण्ठ म्याराथनमा दौडिए मुकुन्द ५ र १० हजार मिटरमा तथा वैकुण्ठ ५ र १० हजार मिटर दौडमा सहभागी भए मुकुन्द म्याराथनमा दौडिन्थे। 
छुट्टिएर दौडिए वैकुण्ठ र मुकुन्द आफ्नो विधामा च्याम्पियन भइहाल्थे। यसले बाग्मती अञ्चललाई पनि च्याम्पियनको उपाधि दिलाउँथ्यो। जब एकै साथ दौडियो, मुकुन्दको दुर्गति सुरु भइहाल्थ्यो। वैकुण्ठलाई पछ्याएर कहिल्यै माथि नजानेमा दुई जना थिए। एक अर्जुन बस्नेत र अर्को मुकुन्द। मुकुन्द र अर्जुन क्रमश: दोस्रो र तेस्रो हुन्थे। 
‘मुकुन्दले जस्तो ट्रेनिङ वैकुण्ठले कहिल्यै गर्दैन्थे,’ उनीहरूका समकालीन रघुराज वन्त ती दिनहरू सम्झन्छन्, ‘५० दिनमा एकपटक ८० किलोमिटर दौडिनुपथ्र्यो। वैकुण्ठले धेरैपटक पूरा गर्न सकेनन्। तर मुकुन्दले सधैं पूरा गर्थे। प्रमुख प्रतियोगितामा भने मुकुन्दको मेन्टल ब्लक भएपछि उनी जहाँको त्यहीं अड्किए।’ अर्को वैकुण्ठको चलाख स्वभाव थियो। मुकुन्द लयमा देखिएमा आफू र उसलाई छुट्टयाएर खेलिहाल्थे। 
मुकुन्द निकै मिहिनेत गर्थे। ८० किलोमिटर दौडिने दिन बिहान साढे ६ बजे देखि दिउँसो ४ बजेसम्म उनी दौडिन्थे। यो अवधि काठमाडौंको रिङ रोड ३ पटकभन्दा बढी परिक्रमा गर्न पर्याप्त थियो। ९३ किलो मिटर दौडिने क्रममा बीचको समयको ब्रेकमा सुन्तलाको जुस पिउँथे। उनको मिहिनेत देखेरै डाह गर्नेहरू थिए। ‘तर मैरो दौडको स्पिडमा फिनिसिङ थिएन,’ वैकुण्ठसँगको माथ खानुको कारण तेस्र्याउँछन् उनी। मुकुन्दसँगको दौड जति पनि जिते वैकुण्ठले त्यो सबै फिनिसिङ प्वाइन्टमा गएर थियो। ४२ किलोमिटरजस्तो मुकुन्द अगाडि हुन्थे। बाँकीको १ सय ९५ मिटर सेरोफेरोमा वैकुण्ठले मुकुन्दलाई उछिनिसकेका हुन्थे। वैकुण्ठलाई लास्ट मिनेटमा जहिले पनि जितिहाल्छु भन्ने परेको थियो सायद। 
२०३४ को भद्रपुर राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा दुई जनामा कसले जित्छ भन्ने स्थिति थिएन । चारआलीबाट इलाम जाने बाटो हुँदै पुन: चारआली फर्की भद्रपुर रंगशाला जानुपर्ने रुट थियो। सुरुदेखि अन्तिमसम्म राम्रो प्रतिस्पर्धा भएको थियो। अग्रता लिने तिनै मुकुन्द थिए। जित्ने उही वैकुण्ठ। सन् १९७६ मा लाहोरमा काइदे आजम च्याम्पियनसिपमा भने वैकुण्ठ दोस्रो भए। दौड पूरा गरी रंगशालाभित्र पुग्दा मुकुन्द अगाडि थिए। फिनिसिङमा पछाडि परेपछि मुकुन्द तेस्रो भए। पहिलो हुने अरू नै कोही थिए। वैकुण्ठको समय २ घण्टा २९ मिनेट १० सेकेन्ड र मुकुन्दको समय २ घन्टा २९ मिनेट १३ सेकेन्ड थियो। 
त्यसको अर्को वर्ष उनीहरू भारतको जालन्धरमा अल इन्डिया च्याम्पियनसिप खेल्न गएका थिए। ४४ डिग्रीको गर्मी थियो। २० वर्षपछि जालन्धरमा त्यस्तो गर्मी उर्लिएको उनीहरूलाई बताइएको थियो। वैकुण्ठ र मुकुन्द पुग्न ढिला भयो। उनीहरू पुग्दा दौड सुरु भइसकेको र प्रतिस्पर्धी रंगशालाबाट बाहिर निस्किसकेका थिए। आयोजकले उनीहरूलाई पछि–पछि दौडिन अनुमति दियो। भारतमा अन्य प्रतियोगिता पनि खेलेकाले उनीहरूलाई यस्तो दृश्य सामान्य लागेको थियो। जम्मा गरेर टाइमिङ निकाल्दा उनीहरू क्रमश: पाँचौं र छैटौं भए। यहाँ पनि अगाडि वैकुण्ठ नै भए। 
मुकुन्दले १९७८ को सातौं एसियाली खेलकुद र १९८० को मस्को ओलम्पिक पनि खेले। अमेरिकाले बहिष्कार गरेका कारण सुरक्षा निकै कडा पारिएको थियो। पार्क घुम्न जाँदा पनि बन्दुकधारी सुरक्षाकर्मी उनको पछि लागेका हुन्थे। उत्तर कोरियाका एक खेलाडीसँग उनको लिफ्टमा उनको नियमित भेटघाट भइरहन्थ्यो। जिस्किन्थे पनि उनीसँग मुकुन्द। आफूजस्तै होचो कदको भएकाले उनले गर्दन समातेर ती उत्तर कोरियाली खेलाडीसँग हँसिमजाक गर्थे। उत्तर कोरियाली खेलाडी भने केही बोल्दैनथे। भिलेजमै बसिरहेको समयमा टीभीमा उत्तर कोरियाले स्वर्ण जितेको देखेपछि मुकुन्द आश्चर्यचकित भए। भिलेजमा फर्किनेबित्तिकै उत्तर कोरियाली खेलाडीले मुकुन्दलाई देखे। उत्तर कोरियाली खेलाडीको त्यही मन्द मुस्कान मात्र आयो। मस्को ओलम्पिकमा मुकुन्दको वैकुण्ठसँगको प्रतिस्पर्धा पनि उत्तर कोरियाली खेलाडीको हाउभाउजस्तै थियो, कुनै परिवर्तन नभएको। वैकुण्ठ ३७ औं र मुकुन्द ४३ औं भएका थिए। 
मुकुन्द अहिले ६२ वर्षका भए। १६ वर्ष हुँदा उनले खेल्न सुरु गरेका थिए। स्कुलको बाग्मती अञ्चलस्तरीय प्रतियोगिता हुन्थ्यो। वीरगन्जमा २०२८ मा भएको स्कुल राष्ट्रिय प्रतियोगिताबाट उनी प्रतियोगितामा दौडिन सुरु गरेका थिए। ४ सय मिटरमा उनी पहिलो र २ सयमा दोस्रो भए। त्यसपछि उनले पहिला ४ सय र ८ सय मिटर तथा त्यसलाई पनि परिवर्तन गर्दै ८ सय र १५ मिटरमा दौडिन लागे। पहिलो र दोस्रो हुने क्रम निरन्तर चलेको थियो। 
२०३३ मा काठमाडौंको राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपबाट उनले लामो दूरी तय गरी म्याराथन रोजे। त्यसको ८ वर्षसम्म उनको प्रतिस्पर्धा वैकुण्ठसँग चलिरहयो। वैकुण्ठ, जितबहादुर केसी र मुकुन्दसँगैं दौडिन्थे। जितबहादुर पहिलो, वैकुण्ठ दोस्रा र मुकुन्द तेस्रो हुन्थे। जितबहादुर यी दुईभन्दा सिनियर थिए। उनले १९७६ मा संन्यास लिएपछि वैकुण्ठ र मुकुन्दको प्रतिस्पर्धा सुरु भएको थियो। यी दुईले काठमाडौं भगवतीबालको शान्ति निकुञ्जमा स्कुल सँगै पढेका थिए। वैकुण्ठलाई ठूलो भुँडीका कारण सुरुमा ‘अयोग्य’ भनेर निकालिएको थियो। तर उनी दशरथ रंगशालामा आफैं आएर दौडिरहन्थे। मुकुन्दलाई भेट्न ठहिटी पुगेर वैकुण्ठ उनीसँगै रंगशाला जान्थे। आत्मविश्वास नभएकाले वैकुण्ठले मुकुन्दको साथ खोज्दै रंगशाला पुग्नुको कारण थियो। 
सुरुआती दिनमा मुकुन्द ब्वाइज स्पोर्टस क्लबबाट ‘बी’ डिभिजन फुटबल पनि खेलेका थिए। त्यही समयमा नेपालमा चीनका एथलेटिक्स प्रशिक्षक आएका थिए। उनले नेपाली एथ्लेटिक्स खेलाडीलाई चीन लैजान्छ भन्ने खबर मुकुन्दको कानमा परेको थियो। उनमा कम्युनिस्ट राष्ट्र एकपल्ट जानुपर्छ भन्ने थियो। रंगशालामा अमेरिकन भोलिन्टियर्स प्रशिक्षक आएका थिए। चिनियाँ प्रशिक्षकले अमेरिकन समकक्षी प्रतिद्वन्द्वीलाई रंगशालामा देखेपछि २ दिनमै नेपालबाट फर्किहाले। मुकुन्द फुटबलमा फर्किएनन्। एथलेटिक्समै लागिरहे। 
खेलाडी जीवनपछि फुटबल मोह भने उनले त्यागेका थिएनन्। २०४४ मा उनी जनकुपर चुरोट कारखाना र मुक्ति जोद्धाबीचको त्रिभुवन च्यालेन्ज सिल्डको खेल हेर्न पाँचवर्षे छोरी सोनिया र साथीको छोरालाई लिएर रंगशाला पुगेका थिए। खेलको दौरान आँधी–हुरी आयो। उनी भीआईपी प्यारापिटको भागमा बसेका थिए। हावा–हुरीले भाग दौड मच्चियो। छोरीलाई अँगालो हालेर प्यारापिटमुनि ओत लागेर उनी जोगिए। हावा–हुरी रोकिएपछि छोरीलाई लिएर घर पुगे। साथीको १७ वर्षे छोराको भने अत्तोपत्तो थिएन। चिन्ता बढ्दै थियो। त्यही साथीको छोराले रंगशालामा ७०–८० जना मरिसकेको खबर लिएर घर पुगेका थिए। 
अहिले पनि उनी स्कुलहरूमा प्रशिक्षण गराउँछन्। एक समय यस्तो थियो। जति खेर उनी आफ्नो उत्कृष्टतामा हुँदा राजधानीका ३० स्कुलमा समेत एथलेटिक्स सिकाउँथे। आफ्नो विधामा च्याम्पियन भइरहेको बेला म्याराथनमा हाम फालेकोमा मुकुन्दलाई कुनै दुखेसो छैन। यही तीव्र प्रतिस्पर्धाले नै वैकुण्ठलाई दक्षिण एसियाको समेत कीर्तिमान बनाउन सघाउ गरेको उनलाई लाग्छ। 
तर वैकुण्ठको धङधङीले मुकुन्दलाई कतिसम्म प्रभावित पारेको थियो भन्ने १९८१ मा थाइल्यान्डको बैंककमा भएको ह्यान टेन म्याराथन नै उदाहरण काफी छ। ट्रयाकभित्रसम्म मुकुन्द पहिलो थिए। फिनिसिङ अर्कैले गरेको थियो। जबकि त्यो इभेन्ट वैकुण्ठले खेलेका थिएनन्। भारतमै १९८२ को एसियन गेम्समा वैकुण्ठले म्याराथन पूरा गर्न सकेनन्। मुकुन्दले २ घन्टा ३७ मिनेटको समय निकाले। वैकुण्ठसँग उनले जितेको दौड यही थियो। 

प्रकाशित : श्रावण ७, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?