कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रातो आतंक

निबन्ध
कुमारी लामा

प्रत्येक महिना रातो आतंक विस्फोट हुन्छ उनको स्वतन्त्र आकाशमा । त्यसपछि ऊ एउटा कुना, नाघ्न नमिल्ने निश्चित घेरा या एउटा गोठमा थन्किन्छे । भनिन्छ, रातो शुभ, रातो जीवन, रातो ऊर्जा, रातो सपनाको रंग हो ।

रातो आतंक

रातो रगतको रंग । तर उही रातो बनिदिन्छ संशय, ग्लानि, अभर अनि पीडा । हरपल आफ्नै नसामा दौडिरहने रगतले नै फैल्याउँछ भयंकर आतंक । 

रातो... रगतको यानिकी रजस्वलाको आतंक । 

रातो पीडा
रातो, पीडाको रंग । 
छरपस्ट छन् पत्रिकाका पृष्ट भरि–भरि समाचार बनेका तुलसा शाही र कृष्णकला विकहरू । कारण, प्राकृतिक महिने चक्र, रजस्वला । कोही सास छुटेपछि त कोही सास हुँदै बन्छन् समाचार । केवल समाचार उनीहरू । पुरातन रुढीवादी सोचको तावामा डामिएर कठैबरा बनाइएका समाचारहरू । रजस्वालाजस्तो प्राकृतिक कुराका लागि पनि कलिला किशोरीहरूलाई अपराधीझैँ अलग्ग राखेर अनेकन जोखिमको सामना गर्न बाध्य पारिन्छन् । 
प्रत्येक महिनाले दिने शारीरिक असहजता त छँदै छ त्यसमा पनि थोपरिन्छ मानसिक पीडा । सुदूरपश्चिमतिरका ढल्दै उठ्दै गरेका छाउगोठ व्याप्त गाउँहरूमा मात्र हैन सहरका धेरै घरहरूमा प्रत्येक महिना कोरिन्छ एउटा निश्चित घेरा र थमाइन्छ छुट्टै प्लेट, कचौरा र गिलास । अलग हालिन्छ पानी त्यस ग्लासमा उसको लागि । सुकेपछि मात्र ती भाडाले प्रवेश पाउँछन् फेरि भान्सामा । चार दिन यही प्रक्रिया चलिबस्छ क्रमिक रूपमा । क्या पीडा । यही प्रक्रियाबाट लामो समय गुज्रिसकेपछि बनेको मानसिकता यति जब्बर हँुदो रहेछ कि सबै कुरा बुझ्दाबुझ्दै पनि अब ऊ आफैं ती सीमाहरू पार गर्न मन गर्दिन । 
एउटी मित्र छिन् जसको घरमा उनको रजस्वालाको समयमा पुग्दा निकै निराशा फैलिन्छ मभित्र । पढालेखा, जागिरे, आफ्नो अस्तित्व र स्वतन्त्रताप्रति सजग उनी प्रत्येक महिना केही दिन यसैगरी सीमामा बाँधिन्छिन् । खाएर पखाली ढोकाछेउ घोप्ट्याएको उनको प्लेट र ग्लासले खिसी गरेझैं लाग्छ उनको अस्तित्व चेतको बुलन्द अभिव्यक्तिलाई । एकपटक घरमा पानी सारिदिने कोही नहुँदा पसलबाट किनेर पिएको कुरा उनले सहजै बताउँदै गर्दा ममा भने असहजतापूर्ण औडाहा मडारिएको थियो । आखिर किन ? 
केही नराम्रो हुन्छ कि भन्ने डर लाग्छ । उनी भन्छिन्—
म अवाक हुन्छु । 
डर, त्यसमा पनि धर्मसँग जोडिएको कतिसम्म कडा हुँदो रहेछ, मैले त्यसबखत महसुस गरेकी हुँ । 
छाउगोठमा नबसे देउता रिसाउने कुराले सुदूरपश्चिमा पिरोलिनु कुन ठूलो बात भयो त । 

रातो संशय
रातो, संशयको रंग । 
क्यालेन्डरमा चिनो लाएको मिति नाघेपछि फैलिन्छ कालो शंका । ऊ आफू र समग्र महिलाहरूको स्वतन्त्रता र अस्तित्वको वकालत गरिहिँड्ने एक सजग महिला । तर प्रत्येक महिना बिताइसँगै फरक आतंकले डेरा जमाउँछ ऊभित्र । शंकैशंकाको जातोले पिँधिन्छे, घाइते हुन्छे, रन्थनिन्छे अनि अन्तत: दिनहरू कुर्न थाल्छे । एक दिन, दुई दिन, तीन दिन अनि त्यसपछि उसको शंकाले भयको रूप लिन्छ । किन त्यो देखिनुपर्ने रातो चीज देखिएन ? कतै... अनि केलाउन थाल्छे अघिल्लो महिनाको घटना । कतै त्यो (अ)घोषित प्रेमीसँगको... केही गड्बडी त भएन ? (स्वतन्त्रता र अस्तित्वको पक्षधर धेरै महिलाको भोगाइ यस्तो हुन सक्छ ।)
उनी मधुरो अनुहार लिएर देखा परिन् । समस्या रहेछ हप्ता कटिसक्दा पनि ‘पिरियड’ नहुनु । म उनको शंकाको घाउमा अलिकति मह्लम लाउने डाक्टरी भाषा बोलिदिन्छु । हप्ता–दस दिन त ‘न्याचुरल’ हो नि । उनी अलिकति आश्वस्त भएजस्तो गर्छिन् । तर त्यो हप्तापछिको केही दिन कुर्नु पक्कै दस जुनी हुनेछ उनलाई । 
(प्रत्येक सेकेन्डको ढुक्कुकी छाम्नु, ट्वाइलेट जाँदैपिच्छे भइ पो हाल्छ कि भनी आशाले हेर्नु अनि भोलि बिहान त पक्का हुन्छ भनी मनलाई थप्थपाउँदै निदाउनु उसको केही दिने रुटिन बन्छ । दुई दिनमै उनको पहिलेको मानसिकतामा कायापलट हुन्छ । ऊ सुटुक्कै आफ्नो स्वतन्त्रतामा मख्ख भई विचरण गर्ने आत्मनिर्भर महिलाबाट ग्लानि र शंकाले गलेकी निरीह स्वास्नी मानिस बनिसक्छे )
केही दिनपछि उनी उज्यालो अनुहार बोकेर झुल्किइन् । अनुहारको चमकबाटै बुझिगएँ उनलाई पिरियड भएछ । हो रैछ । अनि सुनाउन थालिन् केही दिनसम्म लगातार उनको मनमा परेको चट्याङको इतिवृत्ति । उनले भ्याएछिन् सोच्न परिवारको इज्जत, नाता–गोताको कुरा कटाइ, साथीभाइको कानेखुसीदेखि आफू पल्टिरहेको मेरिस्टोप्सको एक कुना पनि । (पिरियड केही दिन ढिला हुँदैमा उनीभित्र उर्लिएका तनावका अनगिन्ती छालहरूका पछाडि हाम्रो समाजको समग्र मानसिकता हावी छ ।
धेरै महिलाको हकमा यी र यस्ता मनस्थिति निरन्तर चलिरहने प्रक्रिया हुन् । त्यही मासिकस्राव एकातिर छाउगोठको पीडा भएर उभिदिन्छ सुदूरपश्चिमका प्रत्येक युवतीको मनमा भने अर्कोतिर कहिलेकाहींको गडबडले यातनाको बज्रपात गरिजान्छ कैयौँ ऊर्जाशील युवतीहरूको मस्तिष्कमा । त्यसैले होला उनीहरू बिस्तारै आफू साँच्चै नै कर्मले ठगिएको जातको भएको स्विकार्न थाल्छन् । 

रातो स्वतन्त्रता
रातो, स्वतन्त्रताको रंग । 
रातो विद्रोह र जीवनको रंग । तर अधिकांश नेपाली महिलाहरूको हकमा भने रातो भयको रंग भइदिन्छ । खासमा यही महिने चक्र नै महिला हुनुको विशिष्ट पहिचान र सन्तान उत्पादन गर्ने क्षमताको उद्घोष हो । रजस्वला र पाठेघरको शक्ति महिलाको विशेषता र शक्तिको विम्ब पनि हो । संसारभरका सचेत महिलाहरूको बुलन्द आवाजमा पनि यही प्राकृतिक गुणको भयंकर व्याख्या विश्लेषण समेटिने गरेको छ । 
तर हाम्रो समाजमा त महिनावारी हुनुको पनि एक खाले पीडा छ भने झन् अविवाहितको महिनावारी रोकिनु त सामाजिक मान्यताको जग नै हल्लाइदिने महाभूकम्प भइदिन्छ । अविवाहित छोरी गर्भवती भइन् भने त परिवारको मात्र नभई गाउँकै इज्जतको पनि स्वाहा भइजाने डर हुन्छ । आफ्नो स्वतन्त्रताको उपभोगका कारण मात्र नभई अनेकन अप्रत्यासित घटनाका सिकार भएर पनि गर्भ बोकेका हुन सक्छन् । तर समाजले त्यो देख्दैन । हाम्रो समाजले कति सजिलै पीडितहरूलाई कि त गाउँ निकाला गर्न तम्सिन्छ कि त आत्महत्याका लागि डोरी अघिल्तिर सारिदिन्छ । भोजपुरकी ती बालिकाको पीडाको मूकदर्शक हुने समाजका सदस्य हांै हामी । (बलात्कारका कारण गर्भवती भएकी ती बालिका गाउँबाट लखेटिएकी छन् ।)
राष्ट्रिय दैनिकहरूले लेखेको लेखै छन् बलात्कार र छाउगोठमा भएका घटनाहरू । सरकार प्रमुखसम्मको नजर पुगेको देखिन्छ यी विषयहरूमा । केही सचेत वर्ग पनि पछि परेका छैनन्, यस्ता विषयहरूमा पत्रपत्रिकादेखि सामाजिक सञ्जालमा लेख्न र अनेकन बहसहरूमा उत्रन पनि ।
तर कहाँनिर चुकेका छौँ हामी ? किन हाम्रो समाज निरन्तरता दिइबस्छ यस्तै रुढी मान्यतालाई र साक्षी भइबस्छ अनेकन अमानवीय घटनाहरूको ? 
फेरि पनि किन यतिबिघ्न धारिलो भइबसेको छ यो रातो आतंक ?

रातो बहस
बहस–बहसकै खातिर कि समाज परिवर्तनका निम्ति ?
हाम्रा बौद्धिक विलासले समाजलाई कत्तिको परिवर्तन गरेको छ ?
मैले पत्रिकामा लेख्ने टुक्रे लेखको अर्थ के ? 
यस्तै अनेक प्रश्नहरूको झटारो बेहोरिहेको छु यतिखेर । 
दिनानुदिन केही न केही यस्ता घटनाहरू सम्प्रेषित भएका छन् सञ्चारमाध्यममा । छाउ नबारे देउता रिसाउने ठाउँकै डा. अरुणा उप्रेतीले पहिलोपटक छाउ हुँदा कसैलाई नभनी सबैतिर छोइहिँड्दा पनि केही नभएको प्रसंग बारम्बार आफ्नो लेखमा लेखेकै छिन् । लेखक रामेश्वरी पन्तले लामो समयदेखि परम्परा, धर्म र महिला जोडिएका पेचिला लेखहरू निरन्तर लेखिरहेकै छिन् । तर समाज विशेषत: धर्म र परम्पराका कुराबाट टसमस हुन सकेको स्थिति छैन । ताज्जुब यही छ । 
झलक सुवेदीको समाज विश्लेषण सही लाग्छ । केहीअघिको ‘नयाँ पत्रिका’ को लेखमा उनी भन्छन्, ‘नेपाली समाज परम्परा र धर्मका नाममा महिलाको शरीरमाथि नियन्त्रण चाहन्छ । महिलाको शरीरका नियमित जैविक प्रक्रियालाई समेत पुरुषभन्दा भिन्न र कमजोर या सीमाबद्ध देखाएर उनीहरूमाथि नियन्त्रण गर्ने परिपञ्च युगौँदेखि जारी छ ।’ 
निश्चय नै हाम्रोजस्तो परम्परावादी समाजको ग्रान्ड डिजाइन नै हो परम्परागत मूल्य मान्यताको नाममा महिलामाथिको नियन्त्रण । धर्म र पापको डर देखाएर महिलाहरूलाई एउटा निश्चित परिधिमा बाँधिराखेकै हो । र, उही हतियार प्रयोग गरेर उनीहरूलाई हीनताबोधको खाडलबाट माथि उक्लिन नदिएकै हो । 
पुरातनवादी पितृसत्तात्मक सोचका हिमायतीहरू अझ पनि महिलालाई नै दोषी करार गर्न पछि पर्दैनन् । उनीहरू निर्धक्कै पोखिहिँड्छन्, महिलाहरू नै परिवर्तन हुन सक्दैनन्जस्ता ‘क्लिसे’ भनाइहरू । अनेकन बहानामा महिलामाथि नियन्त्रण गरी आफ्नो शासकीय वर्चस्व कायम गरी बसेकाहरू किन डराउँदा हुन् सिक्काको अर्को पाटो नियाल्न ? किन बुझपचाई बस्दै छन् कि महिलाहरूको समग्र मानसिकताको निर्माणमा सामन्ती पितृसत्तात्मक समाजकै हात छ भन्ने कुरा ?
महिलाहरूलाई धर्म, संस्कृति, परम्परा, सामाजिक मान्यतालगायतका नेलहरू ठोकेर हलचल गर्न नसक्ने स्थितिमा राखेको कुरा के कोरा कल्पना मात्र हुन् ?

सेतो निकास
लामो समयदेखि बोक्दै आएको मानसिकतालाई फुत्तै फाल्न सजिलो नहुन सक्छ ती महिलाहरूलाई । अझै पनि धेरै महिला त्यस्ता केही मानिआएका मान्यताहरूका अदृश्य सिक्रीहरूले कँसिएकै छन् । एकखाले भय उनीहरूभित्र झ्यांगिएको छ । यस्तो जब्बर आम मानसिकतामा परिवर्तन ल्याउने कुरा पत्रिकाले छाप्ने केही खबर या केही लेखहरूको भरमा सम्भव छैन । 
विडम्बना यो छ कि, छउपडीजस्तो संवेदनशील विषयलाई पनि आइमाईका कुरा त हुन् भनी समाजको ठूलो बौद्धिक जमातले खास चासो दिएजस्तो देखिन्न । महिलाहरूले उठाइरहेको बहस र लेखिरहेका लेखहरूलाई पनि कतिले त आइमाईहरूको रोइलो भन्नेसम्म सुनिन्छ । किशोरीहरूको कलिलो मानसिकतामा नकारात्मक असर पार्ने साथै ज्यानकै असुरक्षा बेहोर्नुपर्ने यस्ता रुढीवादी चलनविरुद्ध आवाज उठाउन अब सबै तह–तप्काका बौद्धिक वर्ग, समाज, राज्य संयन्त्र सम्पूर्णको संवेदनशीलता र सहकार्य आवश्यक छ । रातो आतंकको सेतो निकास जरुरी छ ।

प्रकाशित : श्रावण १४, २०७४ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?