१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बोल्ने ब्वाँसो

कथा

१८ वर्ष पुगेपछि चलनअनुसार औपचारिक डान्स पार्टी (बल) हरूमा जानुपथ्र्यो । तर, मलाई त्यस्ता पार्टीहरूमा जान मन पर्दैनथ्यो । त्यसैले म प्राय: चिडियाघर जान्थें । त्यति धेरै जान्थें कि त्यहाँका जनावरलाई मैले आफ्नै उमेरका केटीहरूलाई भन्दा पनि राम्ररी चिन्थें ।

बोल्ने ब्वाँसो

लियोनोरा क्यारिङटन

मैले सबैभन्दा राम्रोसँग चिन्न पाएको जनावर ब्वाँसो थियो । उसले मलाई पनि चिन्थी । ऊ एकदम बुद्धिमान थिई । मैले उसलाई फ्रेन्च सिकाएको थिएँ र त्यसको सट्टामा उसले मलाई आफ्नो भाषा सिकाएकी थिई । यसरी हामीले रमाइला धेरै घण्टाहरू सँगै बिताएका थियौं ।
मेरी आमाले मे १ मा मेरो नाममा डान्स पार्टी गर्दै हुनुहुन्थ्यो । त्यसैका कारण मैले थुप्रैपटक पूरै रात चिन्तित भएर बिताएकी थिएँ ।
मे १ को बिहान सखारै म ब्वाँसोलाई भेट्न गएँ ।
‘आज मेरो डान्स पार्टीमा जानुपर्छ,’ मैले उसलाई भने, ‘कस्तो झ्याउ लाग्ने ।’
‘तिमी त भाग्यमानी रहेछौ,’ उसले भनी । ‘मलाई डान्स पार्टीमा जान रहर छ । मलाई कसरी नाच्ने भन्ने त थाहा छैन तर म विनम्र कुराकानी गर्न सक्थें ।’
‘त्यहाँ खानका लागि धेरै थरीथरीका कुराहरू हुनेछन्,’ मैले उसलाई भनें । ‘मैले ट्रकभरि खानेकुरा घरमा ल्याइएको देखेको छु ।’
‘तैपनि तिमीले गुनासो गरिरहेकी छौ,’ घृणित हुँदै ब्वाँसोले भनी । ‘मलाई हेर, मैले जम्मा दिनको एकपटक मात्र खान्छु । अनि तिमी कल्पना पनि गर्न सक्दैनौ मलाई फालिएको कस्तो खानाको थुप्रो दिइन्छ भनेर ।’
मलाई जोखिमपूर्ण एउटा विचार आयो । र, म धन्नै हाँसे पनि । ‘मैरो ठाउँमा तिमी गए भइहाल्यो नि ।’
‘हामी एकअर्काजस्तो देखिदैनौं, नत्र त म खुसीसाथ जान्थें,’ ब्वाँसोले भनी, दु:खी हुँदै ।
‘सुन,’ मैले भनें । ‘कसैले पनि साँझको बत्तीमा राम्ररी देख्दैन । तिमीले आफ्नो रूप बदल्यौ भने कसैले पनि तिमीलाई भीडमा याद गर्नेछैन । फेरि, हामी उही उचाइंका त छौं । तिमी त मेरो एक्लो साथी, मेरा लागि तिमी त्यति गर, म अनुरोध गर्छु ।’
उसले केहीबेर सोची । मलाई थाहा छ, उसलाई मेरो अनुरोध स्विकार्न मन छ ।
‘ल हुन्छ,’ उसले एक्कासि भनी ।
साह्रै बिहान भएकाले चिडियाघरमा रेखदेख गर्नेहरू धेरै थिएनन् । मैले हत्त न पत्त पिँजडा खोलें र केहीबेरमै हामी सडकमा पुग्यौं । मैले ट्याक्सी रोकें ।
घरमा सबै जना निदाइरहेका थिए । आफ्नो कोठामा पुगेपछि मैले साँझमा लगाउने ड्रेस झिकें । त्यो अलि लामो थियो र मेरो ठूलो हिल भएको जुत्तामा हिँड्न ब्वाँसोलाई गाह्रो भयो । मेराजस्ता नदेखिने रौंले छपक्क ढाकिएका उसका हातहरू, लुकाउनका लागि मैले केही पञ्जाहरू
फेला पारें ।
मेरो कोठामा सूर्य झुल्किने बेलासम्म उसले जसोतसो ठिंग उभिएर कोठा वरिपरि थेरैपटक हिँड्न सकी ।
हामी यति व्यस्त थियौं कि धन्न ब्वाँसो मेरो घाटमुनि लुक्नुभन्दा अघि आमाले गुड मर्निङ भन्नका लागि ढोका खोल्नुभएन ।
‘कस्तो नमीठो गन्थ छ कोठामा,’ झ्याल खोल्दै आमाले भन्नुभयो । ‘साँझअघि तिमीले मेरो नयाँ नुहाउने नुन (बाथ सल्ट) राखेर सुगन्धित स्नान लिनुपर्छ ।’
‘पक्का,’ मैले भनें ।
आमा कोठामा धेरैबेर बस्नुभएन । मलाई लाग्छ, गन्ध उहाँले सहनै नसक्ने खालको थियो ।
‘ब्रेकफास्टका लागि ढिलो नगर नि’ भन्दै उहाँ कोठाबाट निक्लनुभयो ।
सबैभन्दा गाह्रो काम ब्वाँसोको अनुहार लुकाउने उपाय निकाल्नु थियो । कुनै उपाय पत्ता लगाउनका लागि हामीले घण्टौं बितायौं । तर यो, त्यो, जुनसुकै उपाय भने पनि उसले त्यसलाई अस्वीकार गरिदिन्थी । अन्तमा उसले भनी, ‘मलाई लाग्छ मैले उपाय पत्ता लगाएँ । तिम्रो कुनै सुसारे ?’
‘अँ, छ,’ अचम्म मान्दै मैले भनें ।
‘ल, त्यसो भने, तिम्रो सुरारेलाई बोलाऊ । जब ऊ आउँछे, उसलाई झम्टिएर उसको अनुहार च्यात्छु र साँझ आफ्नो अनुहारको साटो त्यही अनुहार लगाउँछु ।’
‘त्यो त व्यावहारिक हुँदेन,’ मैले भनें । ‘अनुहार नभएपछि त ऊ त मर्ली नि अनि कसैले उसको लास भेट्नेछ र हामीलाई जेलमा राखिनेछ ।’
‘उसलाई खाइदिने गरी म भोकाएकी छु,’ ब्वाँसोले भनी ।
‘तर, हड्डीहरू नि ?’
‘त्यो पनि खाइदिन्छु,’ उसले भनी, ‘त्यसो हो भने, तयार छौ हैन त ?’
‘यदि उसको अनुहार च्यात्नुभन्दा पहिला उसलाई मार्ने वाचा गर्छौ भने । नत्र त धेरै नै दुख्छ ।’
‘हुन्छ । जसो गरे पनि मलाई त उही नै हो ।’
अलिकति डराउँदै मैरो सुसारे म्यारीले बोलाएँ । डान्स पार्टीमा जानै मन नलाग्ने नभएको भए मैले यस्तो कदापि गर्दिनथें ।
जब म्यारी आइन्, तब म भित्तातिर फर्के, उनलाई हेर्न नपरोस् भनेर । मैले भन्नैपर्छ, अलि कति समय पनि लागेन ... छोटो कराई अनि शून्य । ब्वाँसोले खाँदै गर्दा, मैले झ्यालबाट हेरें । केही मिनेटपछि उसले भनी, ‘अब अरू खान सक्दिनँ । उसका दुईवटा खुट्टा बाँकी नै छन्, तर तिमीसँग सानो झोला छ भने दिउँसो खाउँला ।’
‘इन्द्रकमल फूलले कढाइ गरिएको झोला देख्नेछौ अल्मारीमा । त्यहाँभित्र भएका रुमालहरू खन्याएर झोला लिऊ ।
मैले भनेअनुसार नै उसले गरी । अनि भनी, ‘अब मतर्फ फर्क र हेर म कति राम्री छु ।’
म्यारीको अनुहार भिरेर ब्वाँसो आफैंलाई प्रशंसा गर्दै थियो, ऐनाअगाडि । उसले म्यारीको अनुहारको वरिपरि यति बारिकीसँग कुटुकुटु टोकेकी रहिछे कि जुन बाँकी थियो त्यो ठ्याक्कै चाहिएको जस्तै थियो ।
‘तिमीले साँच्चै नै राम्ररी गरे छौ,’ मैले भनें ।
लुगा लगाएर तयार भइसकेपछि साँझपखतिर उसले उत्साहित हुँदै भनी, ‘मलाई लागेको छ, म साह्रै दामी देखिएको छु । मलाई लाग्छ, साँझ राम्रो हुनेछ ।’
तल्लो तलाबाट आएको संगीत केहीबेर सुनेपछि मैले उसलाई भने, ‘अब तल जाऊ । अनि मेरो आमाछेउ नउभिनू । बिर्सेलाऊ नि । उहाँले तिमी म होइन भन्ने थाहा पाइहाल्नुहुन्छ । उहाँबाहेक त अरू कसैलाई म चिन्दिनँ । ल शुभकाना ।’
मैले उसलाई तल धकेल्दै म्वाई खाएँ । साँच्चै नै उसबाट कडा गन्ध आइरहेको थियो ।
रात पर्‍यो । दिउँसोभरिको भोगाइले धकित मैले एउटा पुस्तक उठाएँ र खुला झ्यालछेउ बसें शान्तिको खोजीमा । मैले सझें, मैले जोनाथन सुइफ्टको गुलिभर्स ट्राभल्स पढ्दै थिएँ ।
एक घण्टा जतिपछि, मैले समस्या आइलागेको पहिलो संकेत देखें । झ्यालनेर एउटा चमेरा उड्यो, मसिनो आवाज निकाल्दै । म धेरै नै डराउँछु चमेरादेखि । म कुर्चीपछाडि लुकें, दाँत किट्दै । घुँडाले टेक्नै लागेको थिएँ, चमेराको फट्फटाइरहेको पखेँटाको आवाजलाई दबाउने गरी मेरो ढोकाबाट ठूलो आवाज आयो ।
मेरी आमाभित्र आउनुभयो, रिसले आगो हुँदै ।
‘हामी खानाका लागि बस्न मात्र के लागेका थियौं,’ उहाँले भन्नुभयो, ‘तिम्रो ठाउँमा बसेको त्यो चीज उठ्यो र करायो, ए, म अलि बढी गनाउँछु हैन ? त्यसो त, म केक खान्न ।’
त्यसपछि त्यसले आफ्नो अनुहार च्यात्यो र खायो । अनि एउटा ठूलो फड्को मारेर झ्यारबाहिर गएर हरायो ।
अनुवाद : अजित बराल

प्रकाशित : श्रावण २१, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?