लोकका हात

कविता

बुन्दै छ बुनकर
हाते तानमा रातो रूमाल
रेशमको नरम धागोमा
रूमालसँगै बुन्दै तानमा

पुरूषोत्तम सुवेदी

बुन्दै छ बुनकर

हाते तानमा रातो रूमाल
रेशमको नरम धागोमा
रूमालसँगै बुन्दै तानमा
दु:ख, पीडा, आँसु, हाँसो
मिसिएका लोक सुस्केरा
अनेक गाथा, उखान र आख्यानहरु
त्वरित सिर्जनाका अनेक बान्की
ढिकी, जाँतो, मेला, पर्व र जात्रामा
लोककै भाकामा घन्काउँदै
मादल र मुर्चुङ्गासँगै
तानको ख्याट्ख्याट् आवाज
फैलिँदै छ दिगदिगन्तसम्म

छिनाले कोप्दै र तरास्दै बज्रमा
आँखा, नाक, घाँटी, छाती, हातखुट्टा
र अनुहारको आकृति
आँसुले कुँद्छ एउटा बज्रकर्मी
आफ्नै सहिद छोराको निर्गुण मूर्ति
र, अर्को कुनामा अर्को काष्ठकर्मी
खोप्छ अक्षरहरु
चिल्लो फलेकमा
जनप्रतिरोधमा मारिएको
सहिदका पिताको अभिनन्दनपत्र

ऊ पित्तलको पातामा
श्रीयन्त्रको मिहिन संरचना पनि खोप्छ
नयाँ शासकका पत्नीहरुको अर्डरमा
रहस्यमय पूजाकोठा
र अभिजात्य बैठकमा सजाउन

चुपचाप काम गर्छन् श्रमिक कलाकारहरु
रच्दै, कुँद्दै, खोप्दै अनेक–अनेक बान्कीका
कठपुतली, पुतली, चरा, गणेश, लक्ष्मी, सरस्वती,
सूर्य, चन्द्र र कृष्ण कन्हैयाको सौम्य मूर्ति

निकट इतिहासका विजयी योद्धाको
कालभैरवजस्तो विकराल अनुहार
सेनानायकको ड्रयाकुला आकृति
र, अनाम श्रमजीवी पुर्खाका पराक्रमको
भित्ते चित्रकथा आफ्ना खारिएका खस्रा हातबाट

अक्षरमा नलेखिएर के भो ?
गुन्जिएका छन् खुल्ला सडकमा
उनका स्वर र सुर लयबद्ध
ढ्याङढ्याङ, ट्वाकट्वाक, ख्याट्ख्याट्
र लयहीन उचाल्ने पछार्ने क्रममा
ज्यासलबाट नि:सृत आवाज
आलाप र आक्रोश
प्रतिरोध र प्रतिहिंसा
आशा र निराशा
उमङ्ग र उत्कण्ठा
अघोर गर्मी र हिमठण्डी
छिनाको सिर्जनशील
सङ्गीतमा मिसिएर
दिगदिगन्त
लोकका हातबाट लोकका हृदयसम्म ।

प्रकाशित : श्रावण २१, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?