१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रेमिल उपहार : ‘पफ्र्युम’

पुस्तक

प्रेम गरिन्छ या आफैँ हुन्छ ?
प्रेममा राजनीति र राजनीतिमा प्रेमको घुुसपैठ हुन्छ, हुँदैन ?
बन्दुकको नालबाट बारुद होइन गुलाबको सुगन्ध निस्कियो भने ?
प्रेमी–प्रमिकाको पुनर्मिलनमा निस्कने हर्षाश्रुमा कुन रसायन होला ?

समीरबाबु कट्टेल

प्रेम गरिन्छ या आफैँ हुन्छ ?

प्रेममा राजनीति र राजनीतिमा प्रेमको घुुसपैठ हुन्छ, हुँदैन ?
बन्दुकको नालबाट बारुद होइन गुलाबको सुगन्ध निस्कियो भने ?
प्रेमी–प्रमिकाको पुनर्मिलनमा निस्कने हर्षाश्रुमा कुन रसायन होला ?

यी मेरा बनिबनाउ प्रश्न होइनन् । कथासंग्रह ‘पफ्र्युम’ को गाताको पछाडिबाट साभार गरिएका हुन् । प्रश्नहरूका पुछारमा रहेको ‘यी प्रश्नका जवाफ किताबभित्रका २४ थान कथा हुन्’ भन्ने वाक्यले पाठकको ध्यानाकर्षण गर्छ । रस चुहुन्छ कि, चुहुन्छ कि ? लाग्ने मुखपृष्ठमा रहेको मुलायम गुलाबबाट विछट्टको आभा मिल्छ ।
समकालीन कथाकारका प्रेम कथा संकलित राजकुमार बानियाँ र दीपक सापकोटा सम्पादित किताब पढ्दा थप प्रश्नहरू तेर्सिए । प्रेम के हो ? प्रेममा शारीरिक सम्बन्ध अनिवार्य छ ? प्रेममा उमेर बाधक हुन्छ ? प्रेम विपरीत लिंगका बीच मात्र गरिन्छ ? इत्यादि । पाठकको मस्तिष्क उद्वेलित बनाउने यस्ता थुपै्र प्रश्नहरूको उत्तर खोज्न सघाउँछ, खुल्दुली मेटाउँछ, ‘पफ्र्युुम’ ले ।
साहित्यका सबै विधामा समेटिने मुख्य विषयमध्ये प्रेम अग्रपंक्तिमा आउँछ । एउटा समुह यस्तो छ, जो प्रेमलाई पठनीय र लेखनीय ठान्दैन । अर्को समूह छ, जो प्रेमबिनाको साहित्य पढ्नलायक मान्दैन । यिनै प्रश्नका माझमा पुन: प्रश्न तेर्सिन्छन् । सम्पादकद्वयले कुन सूत्रले यी कथा छाने ? यी कथाले मात्रै खोजेको कुरा दिन्छन् ? किताबको पूर्वाद्र्धमा उल्लिखित सम्पादकको भनाइमा उत्तर हाजिर छ । ‘प्रेम कथा कसलाई
लेखाउने भन्ने विषय पक्कै सजिलो रहेन । फर्माइसी लेखनको कटुसत्य के हो भने जसलाई लेखाउने इच्छा हुन्छ, उसले आनाकानी गर्छ या ताकेतालाई त्यत्तिकै गुुजारिदिन्छ । जसले बिनाआनाकानी लेख्छ, उसलाई समेट्नु जरुरी हुन्छ । यद्यपि सम्पादकको मुख्य अभिप्राय: सम्पूर्ण नभए पनि प्रतिनिधि झलक देखियोस् भन्ने हो । समग्रमा पफ्र्युम ‘सिलेक्सन’ नभएर ‘कलेक्सन’ हुन गए पनि कुनै खेद छैन ।’
पफ्र्युममा समेटिएका कथा अतिरेक आनन्द दिने प्रेमालाप, प्रेमालिङ्गन, अनि शारीरिक सम्बन्धमा मात्र खुम्चिएका कथा होइनन् । देशभरका कथाकारले आफ्नो समयमा देखे–भोगेका गाउँ–सहरका व्यथा पनि हुन् । धेरै कथाहरूमा प्रेम सम्बन्धका अगाडि जातीय र वर्गीय विभेद तगारो बनिदिन्छ । कतिपय कथाले विवाहिता जोडीको बाहिरी खेलो फड्को उजागर गर्छन् । सशस्त्र द्वन्द्वको विषय समेटिएका कथाले प्रेमले समय र परिवेश रोज्दैन भन्ने प्रस्ट पार्छन् । कतिपय कथाले हाम्रा सामाजिक संस्कारजन्य प्रथा परम्पराको झल्को दिन्छन् ।
वैदेशिक रोजगारीका कारण उत्पन्न बहुविवाह, सम्बन्धविच्छेदजस्ता जटिल समस्याहरूको विषय पनि उठान गर्छन्, किताबले । सामाजिक सञ्जालको दुरुपयोग, बढ्दो बेरोजगारी, दुव्र्यसनी, अशिक्षा आदिले समाजमा पारेको नकारात्मक प्रभावको नालीबेली पाइन्छ, कथाहरूमा । कथाहरूमा पाठकको समय बोल्छ, परिवेश बोल्छ । कतै न कतैबाट पाठकलाई छुन्छ । प्रेमका बारे नयाँ तरिकाले सोच्न बाध्य बनाउँछ, प्रेमका नयाँ परिभाषा सिकाउँछन् यहाँका कथाहरूले ।

पफ्र्युम
विधा : कथासंग्रह
प्रकाशक : इन्डिगो इन्क
सम्पादक : राजकुुमार बानियाँ,
दीपक सापकोटा
मूल्य : ३९९ रूपैयाँ


राजु स्याङ्तानको कथा ‘एउटा अफलाइन मेसेज’ समसामयिक छ । कथामा सामाजिक सञ्जालको दुरुपयोगबाट उब्जिएको परिणाम देखाइएको छ । नाम, थर फेरर फेसबुकमा नक्कली अकाउन्ट खोल्ने आयुष र रियाका बीचको वार्ता चाखलाग्दो छ । अन्त्यमा अदालतले फैसला सुनाउँछ, ‘सामजिक सञ्जालको दुरुपयोग गरी मानव तस्करी गरेको अभियोगमा अभियुुक्त दिलबहादुुर खत्रीलाई दस वर्ष कैद सजाय तोकिएको छ ।’ यो हाम्रो समाजमा समकालीन समस्या हो ।
लेनिन बञ्जाडेको कथा ‘अफेयरगन्ज’ रोचक र घोचक छ । विवाहिताहरू घरपरिवार भुलेर कसरी बाहिरी सम्बन्धमा सल्किएका हुन्छन् । यही समस्याले ग्रसित परिवारको प्रभातले आत्महत्या गरेको प्रसंग हृदयविदारक छ । यो आम पाठकको साझा समस्या बन्दै गइरहेको छ ।
मनोज दहालको कथा ‘प्रेमधर्म’ भिन्न प्रकृतिको छ । यसमा सहरको कोलाहल र भीडभाडबाट मुक्ति पाउन एक आश्रममा छिरेको युवकको कथा छ । विपरीत लिंगका बीचको सम्बन्ध छैन यहाँ । गुरुसँग प्रेम बगैँचामा भएका प्रणय वार्ताहरू गजब छन् । प्रेमप्रतिको दृष्टिकोण बदल्न सहयोगी छन् । कथाले पाठकलाई नयाँ तरिकाले सोच्न बाध्य पार्छ ।
दिनमान गुर्मछानको कथा ‘प्रेमको पहिलो आँकुरा’ मर्मस्पर्शी छ । यहाँ जातीय र वर्गीय विभेद सम्बन्धमा तगारो बनिदिन्छ । कथामा उल्लिखित पात्रको संवादले कथाको चुरो खोल्छ । ‘तिम्रो र मेरो प्रेम असम्भव छ । म मधेस मुलकी मधेसी । तिमी पहाडी मूलको पहाडी । तिमीले मलाई बिर्सिदिए हुन्छ ।’ धेरै पछि उनीहरूको भेट बसयात्राका क्रममा हुन्छ । विवाहित सविताका हातमा धेरै वर्षअघि उसैले जन्मदिनको अवसरमा दिएको औँठी टल्किरहेको देखेर ऊ दंग हुन्छ । जहाँ जीवनको पहिलो प्रेम अङ्कुुराएको ठान्छ ।
सुविन भट्टराईको ‘घृणा कि प्रेम’ गम्भीर प्रकृतिको छ । कथाकी मुख्य पात्र एक युवती मामाघरमा माइजूको भाइबाट बलात्कृत हुन्छे । हार र जितरूपी प्रश्नका उत्तरमा अल्झिन्छे । त्यो युवकले शरीर मात्र जितेको तर मन आफ्नै वशमा भएको स्विकार्छे । कथामा प्रेम, मन, शरीर आदिका बारेमा लेखिएको विचार पठनीय छ ।
उमा सुवेदी ‘साउदी’ शीर्षकको कथामा पूर्वी तराईको प्रसंग जोड्छिन् । वैदेशिक रोजगारीले जन्माएका नकारात्मक समस्याको उठान गर्छिन् । समाजमा सम्बन्धहरू कसरी स्थापित र विस्थापित हुन्छन् भन्ने कुरा देखाउन खोजिएको छ उनको कथामा । त्यसैगरी अमर न्यौपाने, अशोक सिलवाल, अश्विनी कोइराला, अभय श्रेष्ठ, बच्चु विक, विमल आचार्य, विनोद विक्रम केसी, गणेशकुमार राई, कुमार नगरकोटी, मनीषा गौचन, मुनाराज शेर्मा, नवीन विभास, नयनराज पाण्डे, निरूपा प्रसुन, रिबन, ऋचा भट्टराई, श्याम साह, योगेश ढकालका कथाहरू आ–आफ्ना विशेषता बोकेका छन् ।
भाषा सरल छ । किताब केही बसाइमा पढिसकिन्छ । २४ कथाकारले कथाका प्रति दिएको अभिव्यक्ति रोचक छन्, पठनीय छन् । ‘कथा कोलाज’ शीर्षकमा सम्पादकद्वयले नेपाली कथा इतिहास र वर्तमानको सटीक टिप्पणी गरेका छन् । यसले किताब झन् ओझिलो भएको छ । सबै कथा एकै प्रकृतिका हुने कुरा पनि भएन । कोही वस्तुपरक निबन्धजस्ता त कोही संस्मरणजस्ता लाग्छन् । कतिपय कथाले न परम्परालाई पछ्याएका छन् । न नयाँ ढाँचामा नै छन् । केवल लेख्नका लागि लेखिएका छन् ।
किताबको उत्तराद्र्धमा राखिएको ‘प्रश्नहरूको ऐँठन’ शीर्षकको लेखमा उल्लिखित कुरालाई जोड्न यहाँ वाञ्छनीय छ । गुरुङ सुशान्त लेख्छन्, ‘सङ्ग्रहका धेरै कथामा पाठकीय उत्सुकता उमार्न सक्ने प्रसाद गुणको सर्वथा अभाव छ । लाग्छ हाम्रा अधिकांश लेखक हतार, दबाब र तन्द्राको ओदानमुनिको भुङ्ग्रोमा छन् । उनीहरूलाई धेरै लेख्नुमा नै अतिरेक आनन्द प्राप्त भइरहेको छ । यति हतारमा न प्रेम गर्न सकिन्छ, न प्रेम साहित्य लेख्न नै ।’
फेरि तिनै प्रश्नले गाँज्छन् । के कथाहरू उत्तर दिन समर्थ छन् । हाम्रो समाज दोसाँधमा छ । परम्परागत मान्यतालाई पूराका पूरा लत्याउन पनि नसकेको र आधुनिकतामा झ्वाम्म हाम फाल्न पनि नसकेको । यी दुवैका पक्षधर समाजमा पाइन्छन् । हामी प्रेमलाई साँघुरो दृष्टिगोचर लाउँछौँ । प्रेम र यौनका प्रति परम्परागत सोचभन्दा माथि उठ्न सकेकै छैनौँ । विवाहभन्दा बाहिरका सम्बन्धलाई समाजले स्विकार्ने अवस्था छैन । समाजको विकासक्रम सँगै शनै:शनै: सामाजिक सोचहरू बदलिन्छन् । प्रेमका प्रतिको सामाजिक दृष्टिकोण पनि फरक हँदै जाला ।
अरू जे–जे भए पनि पुस्तकमा संग्रहित २४ कथा हाम्रो समय र परिवेशसँग कतै न कतैबाट जोडिन्छन् । पफ्र्युमको सुगन्ध कत्तिको टिक्छ, त्यो हेर्न बाँकी नै छ । यो संग्रह प्रेमीले प्रेमिकालाई र प्रेमिकाले प्रेमीलाई दिन मिल्ने उपहार मात्र होइन । सबै पाठकका लागि प्रेमिल उपहार भने पक्कै हो ।

प्रकाशित : श्रावण २१, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?