१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रमाइरहे आँखाहरु

यात्रा
ठूला–ठूला हरिया पाटनहरू । जता हेरे पनि घाँसे मैदान । माथि नीलो आकाश अनि बाटोको डोबभरि रंगीचंगी लुगामा देखिने मानिसहरूको लर्को ।

सुदूरपश्चिम जिल्लामा भएको बेला पनि बडीमालिका दर्शन गर्नुभएन भने तपाईंले जीवनमा धेरै कुरा अनुभव गर्न पाउनुहुन्न,’ अघिल्लो वर्षका यिनै दिनहरूमा खप्तड यात्राबाट फर्कंदै गर्दा पुजारीले मलाई भनेका थिए । कामविशेषले बझाङ पुग्दा त्यहाँका मानिसहरूले पनि मलाई यस्तै सुझाएका थिए, ‘बझाङ आएको बेला पनि खप्तड नपुगेर हुन्छ ।’

रमाइरहे आँखाहरु

मधुसूदन दाहाल

खप्तड पुग्दाको अनुभव मेरा लागि विशेष थियो । मैले यस्तो घाँसेमैदान र ठूला–ठूला पाटनको अनुभव जीवनमा पहिलोपटक गरेको थिएँ । यात्रा कठिन लागेको थियो । तर ओरालो झर्दा मलाई पुजारीले भने, ‘यो बाटो त धेरै सजिलो हो बडीमालिकाको अगाडि । यसैलाई गाह्रो नभन्ठान्नुस् । यही जनैपूर्णेमा बडीमालिका जानू । त्यहाँ ठूलो मेला लाग्छ ।’
थकानले हत्तु भएको बेला मैले उनको सुझावलाई खासै वास्ता गरेको थिइनँ । उनले प्राकृतिक सुन्दरताभन्दा पनि धार्मिक पक्षलाई बढी महत्त्व दिएका थिए ।
थाकेको ज्यानले तत्कालै कतै गइहाल्ने योजना बुनेको थिइनँ । तर सुदूरपश्चिमकै साथी कृष्णले भनिहाल्यो, ‘यो पालि बडीमालिका क्षेत्रमा पर्ने त्रिवेणी धाममा नुहाएर जसरी पनि आमाको नाममा श्राद्ध गर्न र दान गर्न जानु छ ।’ सुदूरपश्चिकमा धेरै मानिस आफ्नी स्वर्गीय आमाको नाममा त्रिवेणीमा श्राद्ध गर्दा रहेछन् । उसले भनिरहँदा नै मेरो मानसपटलभरि ममी छाउनुभएको थियो । साढे चार वर्षअघि एक रात एक्कासि मस्तिष्कघात भएपछि हामीले उहाँलाई सपना जसरी गुमाएका थियौं । पत्याउन अझै गाह्रो हुन्छ, उहाँ अब हामी माझ हुनुहुन्न । यस्तै सम्झँदै गर्दा मैले धेरै नसोची उसलाई भनें, ‘म पनि जान्छु ।’
यात्रा धनगढीबाटै सुरु भयो । पहिलो दिन झन्डै १२ घण्टा यात्रा गरेर बाजुराको सदरमुकाम मार्तडी पुग्यौं । सदरमुकामसम्म पनि गाडी नपुग्ने रहेछ । करिब १० मिनेट पैदल पनि हिँड्यौं । भोलिपल्ट बिहान हामी उकालो लाग्यौं । बाजुराका गाउँहरूमा एउटा चलन रहेछ । बडीमालिका जाने यात्रुहरूलाई बाटोमा पूजा सामग्री राखेर बिदाइ गर्ने । तीर्थयात्रीहरूले भगवान्सम्म उनीहरूको सन्देश पुर्‍याइदिन्छन् भन्ने विश्वास रहेछ यो ।
जति माथि उक्लँदै जान्थ्यौं, मार्तडी बजार उति सानो हुँदै जान्थ्यो । रमाइलो के भने क्षणभरमै मार्तडीलाई कुहिरोले ढाक्थ्यो, क्षणमै घमाइलो देखिन्थ्यो । हुस्सु पनि बजारसँग लुकामारी खेल्न आएजस्तो । त्यही बेलादेखि नफर्किँदासम्मै हाम्रा आँखा रमाइरहे ।
हामी हिँडिरहँदा बडीमालिकाका एक जना पुजारी भेटिए, नेत्र उपाध्याय । उनैबाट हामीले बडीमालिका देवी र वरपरका धार्मिक क्षेत्रबारे बुझ्दै गयौं । बडीमालिकामा विशेषगरी जनैपूर्णिमाको बेला ठूलो मेला लाग्नेरहेछ । द्वादशी, त्रयोदशी र चतुर्दशीको दिन यहाँ सुदूरपश्चिम र भारतका समेत भक्तजनहरू आउने रहेछन् ।
देवीका १ सय १२ रूपमध्ये बडीमालिका जेठी रहिछन् । त्यसैले उनको पूजापछि मात्रै अरूको गर्नुपर्ने जनविश्वास रहेछ ।
वर्षमा झन्डै ८ महिना हिउँ पर्ने यो ठाउँमा मानिसहरू अरू बेला बिरलै जाने रहेछन् । फेरि यहाँ जानका लागि दुई/चार जनाको समूह पर्याप्त पनि छैन । असाध्यै असजिलो बाटो । मेलाबाहेकको समयमा चियापसलसम्म भेटिँदैन बाटोमा । त्यतिबेला आउँदा खाने र बस्ने पालको व्यवस्थासमेत आफैँ गरेर आउनुपर्छ ।


जनैपूर्णिमाको बेला भने बाटोभरि मानिस भेटिन्छन् । पृथ्वीनारायण शाहको पालादेखि नै बडीमालिकामा जनैपूर्णिमाको बेला सरकारी पूजा हुँदोरहेछ । सरकारी टोलीसँगै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी पनि थिए । हामी त्यही टोलीको पछि–पछि उकालो लाग्यौं । हिँडाइ सुरु गरेको पहिलो दिन ८ घण्टाको पैदलयात्रापछि सोटा भन्ने ठाउँमा बस्यौं । उचाइमै पनि हरिया फाँटहरू । त्यहाँ पुग्नेबित्तिकै सबैले आ–आफूले ल्याएको पाल गाड्न थाल्यौं । जसोतसो खाने र बस्ने व्यवस्था त मिलायौं तर रातभरि दर्किएको पानीले आँखा लाग्नै सकेन । हुन त त्यहाँका जुम्ला, बाजुरा, बझाङ, अछामजस्ता छिमेकी जिल्लाबाट आएका मानिसहरू रातभरि गीत गाउने रहेछन् ।
दोस्रो दिनको हिँडाइ पनि सबेरै सुरु भयो । ठूला–ठूला हरिया पाटनहरू । जता हेरे पनि घाँसे मैदान । माथि नीलो आकाश अनि बाटोको डोबभरि रंगीचंगी लुगामा देखिने मानिसहरूको लर्को । हेर्दै लोभलाग्दो थियो त्यो दृश्य । दैनिक जीवनको एकांकी छोडेर केही टाढा जाने हो भने साँच्चै नेपाल स्वर्ग नै छ । मनमनमा यस्तै तर्कना गर्दै म क्षण–क्षणमा त्यहाँको दृश्य कैद गर्दै हिँडिरहें । अघिल्लो दिनको थकान शरीरमा निमेष मात्रै पनि थिएन ।
जति उकालो लाग्यो, लेक लाग्ने सम्भावना उत्तिकै बढ्ने रहेछ । प्राय: सबैले लसुनका पोटी र खुर्सानीको अचार बोकेकै हुने । कति मानिस त लेक लागेर मन्दिर नपुगी फर्किँदा रहेछन् । हामीले सुन्यौं विगतका वर्षहरूमा त केही मानिसले ज्यानै पनि गुमाएका छन् । ४ हजार २१६ मिटर अल्टिट्युडमा पुग्नुपर्छ तर लगभग ३ हजार हाराहारीदेखि नै मानिस बिरामी पर्न थालेको देखियो ।
कहिले क्यामेराले कहिले मोबाइलले फोटो खिच्दै हिँड्दै गरिरहेको थिएँ । फेरि पुजारी भेटिए । उनले बडीमालिकाको पौराणिक महत्त्व हिजो भनिसकेकै थिएनन् । खै के कारणले हो हाम्रो समूह कुरा बिथोलिएको थियो । उनले आज पुन: सुरु गरे ।
स्वस्थानी वर्णन अनुसार मल्लागिरी पर्वतमा सतीदेवीको दाहिने कुम पतन भयो । त्यही मल्लागिरीको नाम अपभ्रंश भएर पछि मालिका देवी भएको र मालिका देवी जेठी देवी भएकाले उनको नाम बडीमालिका देवी भएको कथन छ ।
हाम्रै हिँडाइको गतिमा यति सुनाएपछि पुजारी फटाफट अघि लम्किए । हामीले उनको वेग पछ्याउन सकेनौं । बाटोमा हामीले थुप्रै अस्थायी पाल हालेर बसेका पसलहरू देख्यौं जहाँ स्याउ, रोटी र चिया बेच्न राखिएका थिए ।
यसपटक म त्यस्ता मानिसलाई सुन्दै हिँडिरहेको छु, जसले भौतिक सुख–सुविधाको दुनियाँ खासै देखेका छैनन्, आफ्नो दैनिक घरधन्दा गरेर व्यवहार चलाइरहेका छन् । अचम्मको कुराचाहिँ उनीहरूसँग जीवनप्रति गर्ने गुनासो कति थोरै हुने । जीवनमा भेटिने साना–साना कुराले नै उनीहरूको मुहारमा निश्चल मुस्कान छरेको छ । नत्र हामीले सम्झने हो भने पहाडको भोगाइ कहाँ सहज हुन्छ, उनीहरूले दिल खोलेर हाँसिदिएजस्तो ।
यो यात्राको विशेषता पनि त्यही हो, आँखाले भ्याएसम्म अनन्त पहाड देखिन्छन्, हरिया घाँसे मैदान देखिन्छन् अनि सँगै मानिसहरूका हिँडाइका वेग । ती हिँडाइका वेग हामीले सहरमा देखेजस्ता महत्त्वाकांक्षाले भरिएका पनि छैनन् । मात्रै उद्देश्य भगवान्को मन्दिरमा पुगेर आफ्नो आस्था प्रकट गर्नु मात्रै । यस्तै यात्रा गरेर हामी हिँडाइको दोस्रो दिन बढीमाई मन्दिर पुग्यौं ।
बढीमाई मन्दिरबारे एउटा कथन रहेछ । राक्षसहरूको नाश गरेपछि यही ठाउँमा देवीले विश्राम लिएकी रहिछन् । त्यसैले बढीमाई मन्दिरसँगैको खोलाका ढुंगाहरू हाडजस्तो र कहीँ–कहीँ पानी पनि रातो देखिने बढीमाई मन्दिरका पुजारीले बताए । हेर्दा हामीलाई पनि होजस्तो लाग्ने ।
बढीमाई मन्दिरबाट हिँडेको एक घण्टा जतिपछि त्रिवेणीधाम पुगिँदो रहेछ । यात्राभरिको मनमोहक ठाउँ । तीनवटा खोला मिसिएकाले यो ठाउँलाई त्रिवेणी भनिएको रहेछ । खोला वरपर ठूलाठूला फाँटहरू देखेरै हामी लोभियौं । हामीसँगै आएका साथीहरूले दोस्रो रात त्यहीँ बिताउनुपर्छ भन्दै पाल हाल्न थाले । हामी जाँदाखेरि पानी परिरहेकाले मौसम निकै कठ्यांग्रिँदो थियो । हामी चिसो बढेसँगै आआफ्नो सिल्पिङ ब्यागभित्र छिर्‍यौं । मौसम पनि के बिघ्न मत्याउने खालको ? एकै छिनमा टललल् घाम लागिदियो । त्यस्तो सुन्दर ठाउँमा पालभित्र बस्न मन के मान्थ्यो । त्रिवेणी खोला आफ्नै गतिमा बग्दै थियो । एउटा मधुर मीठो खोलाको बगाइ कानमा गुन्जिरह्यो । खासमा मलाई बडीमालिकासम्म ल्याउने यही त्रिवेणीधाम थियो । आमाको श्राद्ध यहाँ गरे उनीहरूले स्वर्गमा बास पाउँछन् भन्ने नसुनेको भए सायद मलाई मेरै मनले डोर्‍याएर यहाँसम्म ल्याउने थिएन ।
भोलिपल्ट सखारैदेखि त्रिवेणीमा नुहाउने मानिसहरूको घुइँचो लाग्दोरहेछ । यहाँ प्रत्येक वर्ष बाजुरा र छिमेकी जिल्लाका मानिसहरूको एउटा प्रतिस्पर्धा हुँदोरहेछ । त्रिवेणीधाममा गोरखनाथ र चन्दन्नाथ लेख्न छत्र नुहाइ हुँदोरहेछ । जुम्लावासीहरू चन्दननाथ अनि अछाम, डोटी, बाजुरावासीचाहिँ गोरखनाथ । जसले छत्र नुहाइ गर्‍यो उसैले बडीमालिकाको पहिला पूजा गर्ने चलन रहेछ । पोहोरको जनैपूर्णिमामा चन्दननाथले छत्र नुहाइ गर्‍यो ।
त्रिवेणीधामबाटै बडीमालिका मन्दिरमा लिंगो लिएर जाने चलन रहेछ । तेस्रो दिनको हिँडाइ सबैभन्दा कठिन । निकै साँघुरो पहाडको बाटो । हिँड्दा कतिपय ठाउँमा त मानिसहरू ओहोरदोहोर पनि गर्न निमल्ने । कति ठाउँमा हिँड्दा मानिसहरू लडेर ज्यानै गुमाएका प्रसंग पनि हामीले सुन्यौं । र, बाटोको अवस्था हेर्दा हामीलाई अचम्म लागेन । मैले जीवनमा यति कठिन यात्रा कहिल्यै गरेको थिइनँ । त्रिवेणीधामबाट बडीमालिकाको मन्दिर पुग्न कसिलो ६ घण्टा लाग्नेरहेछ । बाटो हेर्दा यही डाँडोबाट त्यहीँसम्म त हो नि भन्ने लाग्ने तर उक्लँदै जाँदा कहिल्यै नपुगिने । करिब–करिब धेरै ठाउँमा हामीले ज्यान हत्केलामै राखेर यात्रा पूरा गर्‍यौं । यात्राभरिको सबैभन्दा अग्लो डाँडाको टुप्पोमा रहेछ बडीमालिका देवीको मन्दिर । खासै व्यवस्थित नभएको एउटा सानो मन्दिर । तर भगवान् आकारले वा सुविधाले ठूला हुने पनि होइनन् । यति धेरै मानिसहरू आस्थाले आउँछन् । मलाईचाहिँ धार्मिक आस्था मात्रैले नभई प्राकृतिक सुन्दरताले पनि यो यात्रा उत्तिकै विशेष लाग्यो ।

प्रकाशित : श्रावण २१, २०७४ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?