१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रेखा : ‘कभी नहीं देखा’ !

व्यक्ति
भानुरेखा गणेशनबाट नाम फेरिएर रेखा बनेकी नायिकाको जीवन–जगत् जति बाहिरबाट हेर्दा ‘सहज’ देखिन्छ, उत्तिकै ‘असहज’ छ भित्रबाट ।
ध्रुवचन्द्र गौतम

आजभन्दा लगभग पचास वर्षअघि चेन्नेई, त्यसबखतको मद्रासको कुनै ठाउँमा एउटी १४ वर्षकी केटीले एक रात, एउटा सम्बोधनबिनाको चिठी लेखी । चिठीको अन्त्यमा लेखी— ‘मलाई अब यस्तो जीवन चाहिँदैन ।’

 रेखा : ‘कभी नहीं देखा’ !

त्यो उसको ‘सुसाइडल’ चिठी थियो । रातको समयमा । कोठामा एक्लै । त्यसले त्यो चिकर्टो मोर्दामोर्दा चाहिनेभन्दा सानो, जन्तरजत्रै बनाई र आफ्नो तकियामुन्तिर घुसारी । त्यसपछि पहिल्यैदेखि बन्दोबस्त गरेको, आफ्नी आमाले खाने गरेको निद्राको चक्की सिसीबाट हत्केलामा घोप्टाई । कतिवटा भनेर गनिन । मुठीभरि र फाँको हालेर सुती । रात धेरै बितेको थियो । आमा प्राय: ढिलो आउँथी । त्यस रात आएर छोरीको कोठामा जाँदा, छोरी त लडेर मुखबाट फिँज काढिरहेकी  ! हत्तपत्त अस्पताल लगी । डाक्टरहरूले लगातार प्रयास गरेपछि, बिहानीपख बल्ल केटीलाई ‘खतरामुक्त’ घोषित गरे । यही केटी हिन्दी फिल्मकी प्रख्यात नायिका रेखा थिइन् । आत्महत्या गर्न खोज्दा उनको नाउँ थियो— भानुरेखा गणेशन ।
आत्महत्याको तात्कालिक कारण थियो, उनी नौ कक्षामा फेल भएकी थिइन्— सन् १९६८ मा । भित्री कारण झन् भयानक छ, आत्महत्याको । त्यसै बेलादेखि हो, आत्महत्यासित यिनको बारम्बार सरोकार परेको थियो । 
हामी केही केटाकेटी एकताक खुब फिल्म हेथ्र्यौं । तिनमा दक्षिण भारतका हिन्दीमा डब गरिएका फिल्म पनि हुन्थे । तिनका प्रमुख स्टारसित हामी परिचित थियौं । एमजी रामचन्द्रन, शिवाजी गणेशन र जेमिनी गणेशन । यिनैमध्ये एक— जेमिनी गणेशन रेखाका पिता थिए । रेखाकी आमा पुष्पवल्ली, तमिल र तेलुगुकी नामी अभिनेत्री थिइन् । यिनैसँग जेमिनीले सम्बन्ध राखे, जसबाट दुई छोरी जन्मे । जेठी रेखा थिइन्, कान्छी राधा । जेमिनी गणेशनले हिन्दी फिल्ममा पनि काम गरेका थिए । दुवै हिट भए । तिमध्ये ‘संसार’ बन्दा रेखा जन्मेकै थिइनन्, ‘मिस मेरी’ बन्दा उनी तीन वर्षकी थिइन् । 
जेमिनी गणेशनभन्दा अघि रेखाकी आमाको सम्बन्ध जेमिनी स्टुडियोका मालिक वासनसँग थियो । वासनले जब दिलीपकुमार र देव आनन्दलाई लिएर ‘इन्सानियत’ बनाउन खोजे, उनले यिनै पुष्पवल्लीलाई नायिका बनाउन त चाहे तर एउटा सर्त राखे, रामास्वामी गणेशनलाई छाड्नुपर्नेछ । कारण, त्यस बखतसम्म (पछि जेमिनी गणेशन भएका) रामास्वामी गणेशनसँग पुष्पवल्ली लागेकी थिइन्, पुुष्पवल्लीले गणेशन नै रोजिन्, नत्र ऐतिहासिक बनेको फिल्म ‘इन्सानियत’ की हिरोइन पुष्पवल्ली हुन्थिन् । ‘इन्सानियत’ मा पछि वीना रायलाई नायिका लिइयो । ‘इन्सानियत’ चल्दा पनि रेखा तीन वर्षकै थिइन् । 
रेखालाई जीवनभरि नराम्ररी प्रभावित पार्ने कुरो के थियो भने, उनी नामी मातापिताकी ‘नाजायज’ सन्तान थिइन् । जेमिनी गणेशनले यिनीहरूलाई कहिल्यै स्वीकार गरेनन् । रेखाहरू पहिले त ‘ऐशो आराम’ मै पालिएका हुन् । पछि पुष्पवल्लीको उमेर खस्किँदै गयो, फिल्म कम हुँदै गयो । ऋण चढदै गयो । हुन त रेखाले लहडमा भनूँ— १२ वर्षको उमेरमा एउटा तमिल फिल्म ‘रंगुला रत्नम्’ मा बाल–भूमिका खेलेकी थिइन्, साँच्चि भन्ने हो भने रेखाको पहिलो फिल्म यही थियो । त्यसबखत उनी आठ कक्षामा पढ्दै थिइन् । त्यसै बखत उनको जीवनमा अनेक द्वन्द्वले प्रवेश गरेको देखिन्छ । स्कुलमा उनलाई ‘लोट्टा’ भनिन्थ्यो जसको तमिलमा अर्थ हुन्छ— ‘नाजायज’ । रेखा काली र मोटी थिइन्, मान्छेहरू ‘कलुटी’ र ‘थसुल्ली’ भन्थे । उनी पढ्नमा पनि तेज थिइनन् । बल्लतल्ल पास हुन्थिन् । जसोतसो गरेर नौ कक्षासम्म पुगिन् । नौ कक्षामा फेल भएपछि पढाइ त उनले छाडिन् नै त्यसअघि उल्लेख गरेको ‘सुसाइड अटेम्ट’ गरेकी हुन् । असफलता, हतासा, काली र लोट्टा सम्बोधनसँगै (त्यसमाथि) उनको कम्मरलाई ‘कमर नहीं कमरा’ भनिन्थ्यो । यी सबका साथ ३३ इन्चको कम्मर लिएर उनी फिल्मी दुनियाँमा प्रवेश गरेकी थिइन् । यिनलाई ‘हिरोइन मेटेरियल’ कोही मान्दैनथे । उनको लवाइ–खवाइ पनि ‘बिन्दास’ थियो । हुन त त्यही ‘अनगढता’ले उनलाई काम पनि दिलायो । एकदिन एउटा निर्माता कुलजित पालले रेखालाई दायाँ–बायाँ कतै नहेरी निश्चिन्त भएर प्लेट चाटचुट गरेर खाइरहेको देखे । के मन पर्‍यो, के मन पर्‍यो, उनले घोषणा गरिदिए— मेरो फिल्मकी हिरोइन यही केटी हुन्छे । नत्र दक्षिणकी नायिका वाणीश्रीसँग कुरा भइसकेको थियो । फिल्म थियो, ‘अनजाना सफर’ नायक विश्वजित र अर्का विनोद खन्ना ।
नायिका बनेर यही फिल्मका लागि रेखाले पन्ध्र वर्षको उमेरमा पहिलोपटक क्यामेरा फेस गरिन् । ‘अनजाना सफर’ पछि ‘दो सिकारी’ बन्यो । तर ‘दो सिकारी’ फिल्म बनेको नौ वर्षपछि मात्रै सन् १९७८ मा प्रदर्शित भयो । यो फिल्म हीरा खजानाको खोजमा आधारित छ । अंग्रेजी फिल्म ‘सोलोमन्स माइन्स’ मा आधारित यो फिल्म न उच्च हो, न 
खास (बिशेष) हो । 
तैपनि ‘दो सिकारी’ रेखाको पहिलो साइन गरेको फिल्मका रूपमा चिनिन्छ । फिल्मको पहिलो सुटिङको दिन विश्वजितले क्यामेरा अन भएपछि रेखालाई पाँच मिनेटसम्म ‘किस’ गरिदिए । फिल्म यसले गर्दा चर्चित भयो, यद्यपि यो फिल्ममा त्यो दृश्य राखिएको छैन, तर फिल्मको ‘हाइलाइट’ नै आजसम्म पनि त्यसैको छ । रेखा भन्छिन्— उनलाई थाहा थिएन । कोही भन्छन्— उनलाई थाहा थियो, यस्तै । यो उनको पहिलो विवाद थियो, त्यसपछि जीवनभरि उनी कुनै न कुनै विवादमा अल्झिरहिन् । उनी आफैंले पनि यस्ता विवादलाई निम्त्याएकै हुन् । उनको यस्तो धारणा देखिन्छ— ‘बदनाम’ हुँदा 
नाम हुँदैन र ?
एउटा आँटिलो फिल्मी यात्रा गरिन् रेखाले । काली, मोटी नायिका त्यस बखतसम्म हिन्दी सिनेमामा कोही आएकै थिएन । मोटी भएपछि फिल्ममा गएकी भन्नेहरू छन् । हेमा मालिनीलाई पनि काली भन्थे तर उनी मोटी रहिनन् । र ‘ड्रिम गर्ल’ भनिन्थ्यो उनलाई । 
पछि यिनै हिरोइनसँग प्रेम गर्न नायकहरू झुत्ती खेल्ने भए, कसरी ? रेखाले पछि आफूलाई बनाउँदै–सजाउँदै लगिन् । दुग्ध–कल्प, योग आदिको त ट्रेन्ड नै चलाइन् रेखाले । उनीअघि हिरोइनहरूको यस्तो त्यति सुनिँदैनथ्यो । उनलाई ‘अग्ली डकलिङ’, ‘सेक्स किटेन’, ‘सेक्स क्रेजी’ आदि कैयौं अपमानजनक सम्बोधन दिइन्थे— फिल्मी दुनियाँमा । रेखा सहन्थिन् । यिनको शोषणको चर्चा पनि फिल्म प्रवेशको दिनदेखि कति चल्यो कति ? आजसम्म चलेकै छ । रेखा र फरजाना भन्ने यिनकी सहायिका ‘लिभ इन’ मा छन्— त्यो त स्पष्ट छ । केटीको यस्तो प्राय: सुनिन्न । भन्छन्— ‘लेस्वीयन’ सम्बन्ध छ । फरजाना प्राय: पुरुष भेषमा रेखासँग 
हिँड्छिन्, त्यसमा पनि ठ्याक्क अमिताभजस्तो भएर । यस्ता विवादहरूले रेखालाई आजसम्म पनि पछ्याएका छन् । 
रेखाले विनोद मेहरासँग हुँदा, एकपटक विषसेवन गरेकी थिइन्, पछि होइन भनिन्, त्यो चर्चा छँदैछ । मुकेश अग्रवाल भन्ने एक व्यापारीसँग बिहे गरिन्, जो मानिसक रोगको औषधि खान्थे । सातै महिनामा उसले रेखाकै दुपट्टाको पासो लगाएर आत्महत्या गर्‍यो । रेखा भन्छिन्— त्यो दुपट्टा मेरो होइन । तर उसको आत्महत्या त यथार्थ हो । त्यस बखत दुनियाँले र फिल्मी दुनियाँले जसरी उनलाई ‘राष्ट्रिय खलनायिका’ करार दियो, उनको पोस्टर च्यातियो, उनको हिट हुनुपर्ने फिल्म फ्लप भयो । त्यो अनौठो हुन्छ कुनै पनि व्यक्तिको जीवनमा । रेखाले सब सहिन्, त्यो झन् अद्भुत छ, त्यसैले उनलाई ‘अलग’ बनाउँछ । 
यस्तो हुँदाहुँदै पनि तीन हप्ता पनि नबित्दै, एकपछि अर्को गर्दै चार फिल्ममा ‘साइन’ गर्ने नायिका पनि यिनै बनिन् । सुरुका चार फिल्ममा ‘सावन–भादो’ सन् १९७० मा आएको थियो जसले उनलाई स्थापित गराएको थियो, फिल्म सुपरहिट बन्यो । त्यसमा रेखाले एउटी सरल ग्रामीण बालाको भूमिका खेलेकी छन् । नायक नवीन निश्चलसँगको एक दृश्यमा उनले एउटा शिशु बोकेकी हुन्छिन् । नायक सोध्छ, ‘तेरी सादी हो गई ?’
नायिका भन्छे, ‘अभी बच्चा हुआ है, सादी नहीं ।’ त्यस बखत सारा हल हाँस्छ । त्यहाँबाट हिँडेकी रेखा केही हिट–फ्लमका कुरा छाडिदिऊँ, फेरि पछि फर्केर नहेर्ने भइन् । हिन्दी सिनेमाकी ट्रेन–सेटर नायिका बनिन् । 
यस्तो पनि भनिन्छ— उनको व्यक्तित्व यस्तो बनेकोमा ‘फिक्सेसन’ मनोविज्ञान पनि छ, पिताकै अनुकरणमा उनले आफ्नो व्यक्तित्व ढालिन्, बेस्सरी फिल्म साइन गरिन्, फिल्म र जीवनमा पिता जेनिनी गणेशन बन्न खोजिन् । कहिलेकाहीं ‘हेट’ पनि अनुकरणको आधार बन्छ भन्छन् मनोविज्ञानमा । रेखाले वर्षको १०–१५ फिल्म साइन गर्दा वा त्यसअघि पनि जेमिनी गणेशन वर्षमा १०–१२ फिल्म लिन्थे । 
जेमिनी गणेशनबारे किताब लेख्दा, उनकै एक पत्रकार छोरी नारायणीले किताबको शीर्षक ‘इटर्नल रोमान्टिक : माई फादर’ राखेकी थिइन् । त्यसमा रेखाले पनि आफ्ना आमाबुवाबारे धारणा राखेकी छन् । पछि रेखाले पनि आफ्नो छवि ‘इटर्नल रोमान्टिक’ झैं बनाएको देखिन्छ । 
जीतेन्द्र, विनोद मेहरा, किरण कुमार, सञ्जय दत्त, संजीव कुमार, शैलेन्द्र सिं, अमिताभ बच्चन, मुकेश अग्रवाल धेरै नामहरू रेखासित जोडिएका छन् । एकपटक उनी एउटा समारोहमा सिउँदोमा सिन्दूर हालेर पुगिन् । तत्कालीन राष्ट्रपतिले समेत सोधेछन्, ‘तपाईंले कसको नाउँको सिन्दूर लाउनुभयो ?’
रेखाले जवाफ दिइन्, ‘होइन, हामीतिर यस्तो रिवाज छ ।’ तर मानिस भन्थे, रिवाज भए अघिअघि किन हालिनन् सिन्दूर ? 
अड्कल काट्दा त्यो सिन्दूर कसैले ‘जमिन–आसमान’ भन्ने फिल्ममा साथ खेलेका सञ्जय दत्तको भने, कसैले अमिताभकै नाउँको भने । यस्तो रहस्य पनि रेखाले राख्न सक्थिन् । 
यी सारा सम्बन्धमा अमिताभ बच्चनसँगको यिनको सम्बन्ध आजसम्म चर्चित छ । अमिताभ–रेखा जमानाकी बढी गम्भीर मानिएकी नायिका जया भादुरीका नातिनातिनासमेत भइसके, रेखा अझै अमिताभप्रति समर्पित देखिन्छिन् । उनी सेक्सपियरियन शैलीमा अमिताभलाई संकेत गरेर भन्छिन्, ‘गुलाब जे गरे पनि गुलाबै रहन्छ । अर्थात् ह्वाट इज इन अ नेम... ।’
बलिउडमा हिमांशु राय, देविका रानी, दिलीप कुमार, मधुवाला आदिका प्रेम–प्रसंग चर्चित छन्, फरक यति छ अमिताभ र रेखाको विवाह र अविवाह वा विवाह र पूर्वविवाहबीचको प्रेम हो । अझ अमिताभका बयानहरू हेर्दा त रेखाको एकतर्फी प्रेम देखिन्छ । परिस्थितिले भने त्यस्तो देखिन्न । केही थियो भन्ने नै भान हुन्छ । 
‘नमक हराम’मा पनि रेखा–अमिताभ खेलेका छन् तर त्यसमा उनी शशी कपूरकी नायिका छिन् । त्यहाँसम्म उनीहरूको सम्बन्ध सामान्य नै थियो । 
‘दो अन्जाने’ फिल्म खेल्दा दुवै अत्यन्त नजिक आए भनिन्छ । त्यसै फिल्ममा रेखाको अभिनयलाई पहिलोपटक मिडिया र पब्लिकले पनि गम्भीर रूपमा लिए । यसमा नायिकाको ‘वेम्पिस’ रोल भए पनि आँट गरेर खेलिन् । फिल्मको सुटिङ कलकत्तामा गरिएको थियो, जसका लागि अमिताभ र रेखा एक महिना एउटै होटलमा बसेका थिए । निकटता त्यसै बखत बढ्यो । अमिताभ कलकत्ताका पुराना बासिन्दा, त्यसैले त्यस बेलाका आफ्ना कुरा सुनाउन उत्साही अनि रेखा सुन्न उत्सुक । 
‘दो अन्जाने’कै सेटमा अमिताभको अनुशासन, सद्व्यवहार, सुटिङमा ठीक समयमा पुग्ने आदि गुणले सबै प्रभावित थिए, रेखा झन् बढी प्रभावित भइन् । सुटिङका लागि कहिल्यै टाइममा नपुग्ने, जस्तोसुकै अभिनेतालाई पनि कुराउने रेखा चारै बजे उठेर तयार भएर ६ बजे सेटमा पुग्न थालिन् । त्यस दिनदेखि रेखा बद्लिइन् । जीवनभरि उनमा अमिताभको प्रभाव रह्यो । उनी 
आफ्नो परिवर्तनको सारा श्रेय अमिताभलाई दिन्छिन् आज पनि । पछि त उनी अमित नभनेर पत्नीले पतिलाई परम्परागत रूपमा गर्ने सम्बोधन ‘उहाँ’ भन्न थालिन् । अहिले पनि त्यही गर्छिन् । 
यो फेरि बेग्लै कुरो हो, पछि फेरि उनी निर्माता आदिलाई आफ्ना ‘हरकत’ ले दु:ख दिने आदि यथावत् गर्न थालिन्, अमिताभको फिल्मबाहेक । अमिताभको फिल्ममा उनी सधैं पूर्ण अनुशासित रहिन्, ‘उहाँ’ को फिल्म हो नि त ? अफबाह भाइरल हुन्थ्यो । अमिताभ र रेखा सँगै बस्न थाले, यो दिन यस्तो भयो, त्यो सेटमा यस्तो भयो । यस्ता चर्चा ‘दो अन्जाने’ देखि थालिएको, आजसम्म रोकिएको छैन । यद्यपि ‘दो अन्जाने’को समयभन्दा कति वर्षअघि नै अमिताभले जयासँग बिहे गरिसकेका थिए । अनि यिनै चर्चाका कारणले होला, पहिले राम्रो भएको जया र रेखाको सम्बन्ध पछि कहिल्यै राम्रो भएन । कहाँसम्म भने, ‘मुकद्दर का सिकन्दर’ भन्ने अत्यन्त हिट र रेखाको सानै भए पनि प्रभावशाली अभिनय भएको फिल्म हेरेपछि जयाले रेखासँग फिल्म नखेल्न भनिन् अमिताभलाई, त्यसमा तिनको ‘इन्टिमेसी’ देखेर । जया जान्दथिन् यो फिल्म हो, तैपनि उनलाई पचेन । ‘मुकद्दर का सिकन्दर’ मा एउटा दृश्यमा कुनै पात्रले भन्छ— ‘अमिताभलाई छाडिदे म पचास हजार दिन्छु ।’ रेखाको जवाफ हुन्छ, ‘इतने में तो मैं उनकी तस्बिर भी ना बेचुँ ।’ दर्शक हलमा ताली बजाउँदै आह्लादित हुन्छन् । 
त्यस्ता रेखा, अमिताभ र जयालाई एकै फिल्ममा देख्ने कल्पना कसैले गर्दै गरेको थिएन । यश चोपडाले ‘सिलसिला’ फिल्ममा यो असम्भवलाई सम्भव गरेर देखाइदिए । हिन्दी सिनेमामा धेरै प्रेमी–प्रेमिका नायक–नायिका बनाएर प्रेम–कथामा खेलाइएको छ, तर यो कहिल्यै भएको थिएन, आफ्नै कथामा प्रेमी–प्रेमिका–पत्नीको त्रिकोण बनेको होस् र ती आफ्नो जीवन–कथालाई आफैंले पर्दामा उतारिरहेका हुन् । ‘सिलसिला’ यसैका लागि चर्चित छ । फिल्ममा केही परिवर्तन अवश्य छ, तर त्यो चाँजोपाँजो मिलाउनेलाई हो । त्यसको एउटा गीत ‘ये कहाँ आ गए हम’ रेखालाई मन पर्ने गीत हो । चर्चा र हल्यान्डको सुरम्य फूलबारी आदि हुँदाहुँदै पनि फिल्मले अपेक्षित आर्थिक सफलता भने प्राप्त गर्न सकेन । मलाई व्यक्तिगत रूपमा भने संजीव कुमारको भूमिका र अभिनय पनि मन परेको हो ‘सिलसिला’मा, जसले त्यति चर्चा पाएन । यसरी पुरानो ‘किस’ घटनापछि विवादले घेरिएकी रेखा आज पनि विवादबाहिर छैनन् । उहिल्यै प्रसिद्ध पत्रिका ‘लाइफ’ ले उनीबारे लेख्दा, उसै बखत पनि उनले पुन: विश्वजितसँग चुम्बनको स्टिल चित्र कसरी खिचाइन् भन्ने प्रश्न उठेको थियो । उनी अत्यन्त ‘बोल्ड’ बयान दिन्थिन्, जुन कुनै नायिकाले आजसम्म दिएनन् (अबकाले देलान्, अर्को कुरा हो) । ‘म आजसम्म गर्भवती नहुनु संयोग नै हो, विवाहपूर्व वा पछि यौन वा प्रेम खराब होइन...’ आदि । 
त्यस्तै बयान थिए, जसले रेखालाई नाफा–नोक्सान दुवै गराए । रेखामा ‘बोल्डनेस’ का साथै हास्यचेत पनि छ भन्ने देखिन्छ । उही ‘लाइफ’ पत्रिकाको पत्रकारसित त्यतिखेर भएको प्रश्नोत्तर यस्तो छ :
— के तपाईं किसिङको फेभरमा हुनुहुन्छ ?
— यस ।
— कुन अवस्थामा ?
— जब हिरोइनले स्ल्याक्स पहिरेकी होस् ।
यस्तै–यस्तै । तर यस्तो गर्दागर्दै, ‘नाजायज’ सन्तान भनिएकी, ‘काली’ र ‘थसुल्ली’ मानिएकी, गैरजिम्मेवार र अनुशासनहीन मानिएकी, कामुक भनिएकी रेखालाई निर्माता–निर्देशकले कसरी सहन गरे र, उनलाई फिल्ममाथि फिल्म अफर हुँदै गए भन्ने प्रश्न अवश्य उठ्छ, आश्चर्य पनि अवश्य लाग्छ । तर त्यसको उत्तर पाउन धेरै भौंतारिनु पर्दैन । त्यसको एउटै उत्तर छ— प्रतिभा । सुन्दर र प्रतिभाशाली नायिका अरू पनि भए बलिउडमा, तर ‘लेडी अमिताभ’ रेखाका केही विशेषता अलग छन् । 
रेखा धेरै पढे–लेखेकी होइनन्, तर अंग्रेजी माध्यममा स्कुल पढ्ने हुनाले, हिन्दी पटक्कै नजान्दा पनि अंग्रेजी लेटरमा संवाद लेख्थिन् र तुरुन्तै यसरी बोलेर सुनाइदिन्थिन् । मान्छेलाई विश्वासै हुँदैनथियो, यिनी हिन्दी जान्दिनन् । ‘डबिङ’ पनि अरू कलाकारभन्दा आधा समयमा सक्थिन्, त्यो पनि बेजोड किसिमले । रेखाको ‘डाइलग डेलिभरी’ र आवाजको भावात्मकता मीना कुमारीपछिका केही उम्दा कलाकारजस्ता लाग्दछन् । उनले केही अन्यका लागि पनि ‘डब’ गरिदिएकी छन्, जस्तो ‘सूर्यवंशम्’मा नायक अमिताभकी आमाको संवादमा उनैले आवाज दिएकी छन् । 
रेखाका धेरै साथी बने र छुट्टिए पनि । हेमा मालिनीजस्ता साथी भने यथावत् रहे । रेखालाई आरोपहरू लागे, आलोचना गर्नेहरू बढे, उनको बहिष्कार पनि भयो । तर सबलाई जितिन्, लेडी अमिताभ रेखाले । 
एकपटक ‘धर्मयुग’ भन्ने एक समयको अत्यन्त प्रतिष्ठित र लोकप्रिय पत्रिकामा एउटा लेख छापिएको थियो । लेखकको नाउँ सम्झना छैन, भाव सम्झन्छु । त्यसमा लेखकले तुलना गर्दै भनेका थिए, हेमा मालिनी सुन्दर छिन्, प्रतिभा कम छ । शबाना, जया र स्मिता प्रतिभाशाली छन् तर सौन्दर्य कम छ । रेखा मात्र एउटी यस्ती नायिका हुन्, जसमा सौन्दर्य र प्रतिभा दुवै मौजुद छ ।
सम्भवत: यसैले रेखालाई जिताएको हो र हिन्दी फिल्म–जगत्की एक ‘लिजेन्ड’ बनाएको हो । बलिउडमा यति लामो उमेरसम्म ‘ग्लामरस’ देखिइरहने नायिका अरू देखिन्न । उनको जितलाई यसले पनि कायम राखेको छ । पुनामा हामी केही साथीभाइ, बलिउडमा कसै–कसैले रेखाका लागि प्रयोग गर्ने गरिएको वाक्यांश, केही जिस्केर पनि प्रयोग गर्दथ्यौं, ‘रेखा, कभी नहीं देखा ।’
रेखाका आधा दर्जनभन्दा बढी फिल्म यस्ता छन्, जसमा उनले अभिनयको उचाइ छोएकी छन्, उत्कृष्ट छन् । मिडियाकै अनुसार ती फिल्ममा रेखाबाहेक अरूले न्याय गर्न सक्दैन थिए । ‘उमराव जान’, ‘उत्सव’, ‘कलियुग’, ‘खूब सुरत’, ‘दो अन्जाने’, ‘घर’ आदि । योभन्दा बढी एक कलाकार के चाहन्छ ? सबैले खोजेकै यही हुन्छ । रेखाले त्यो प्राप्त गरिन्, यस्ता कलाकार धेरै हुँदैनन्, कहीँ पनि ।

प्रकाशित : श्रावण २१, २०७४ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?