कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मृत्युको नाच

विदेश
अचानक मैले ती सबै खप्परहरूमा मान्छे देख्न थालेँ । ती सेता खप्परहरू एकै छिनमा काला अनुहारहरूमा अनुवाद भए र रुँदै–रुँदै मसँग जीवनरक्षाको भीख माग्न थाले । म अत्तालिएँ । टाउको भारी भएर आयो ।
राजुबाबु श्रेष्ठ

रुवान्डाको दुई दिन बसाइमा डुलेका सबै ठाउँहरूमा छ्यापछ्याप्ती भेटिन्थ्यो युद्धका घाउहरू । प्रस्ट देखिन्थ्यो आँसुको नदी । आँखैअगाडि उभिन्थ्यो पीडाको पहाड । गृहयुद्धले कहिल्यै निको नहुने गरी बनाएको यिनै घाउको खाटा देखाएर संसारभरका टुरिस्ट बोलाइरहेको थियो रुवान्डा ।

मृत्युको नाच

युद्धले छाडेर गएका ती दर्दनाक मृत्युहरू भुलाउँदै, बमले ध्वस्त ती चर्च र विद्यालयहरू स्याहार्दै, आस्था र विश्वास भत्किएर फाटेका मनहरू प्रेम र सद्भावको धागोले सिउँदै मुस्कुराइरहेको थियो रुवान्डा । यस्तो लाग्थ्यो त्यहाँ कुनै युद्ध नै भएको थिएन । उनीहरूले बुझिसकेका रहेछन् उनीहरूको बाटो युद्ध होइन, उनीहरूको भविष्य विध्वंस होइन । गृहयुद्धको दुन्दुभीमा फसेर लाखौं मानिसहरूले ज्यान गुमाएपछि मात्र पहिल्याए उनीहरूले शान्ति र विकासको मार्ग । त्यही मार्गले बनायो रुवान्डालाई शान्त, सुन्दर र समृद्ध ।

मान्छेहरूको रंग परिवर्तन गरिदिने हो भने युरोपको कुनै मुलुकजस्तै देखिनेछ रुवान्डा । हावापानीको दृष्टिले त युरोप र अमेरिकी देशहरूभन्दा पनि उत्तम । न त युरोपमा जस्तो मुटु कमाउने जाडो, न त अफ्रिकाजस्तो तालु खुइलिने गर्मी । एकनासको रहेछ मौसम । युगान्डाबाट दिनभरको बसयात्रा गरी रुवान्डा पुगेका हामी दुई भाइ प्रेम मल्ल र म, त्यहाँको मौसम र प्रकृति देखेर आफ्नै देशको सम्झनामा हरायौं निकै बेर । राजेश न्यौपाने सर रुवान्डामा भएका कारणले नै हाम्रो रुवान्डा भ्रमण तय भएको थियो । रुवान्डामा कहाँ–कहाँ डुल्ने र कसरी डुल्ने भन्ने विषयमा हामीसँग कुनै योजना थिएन । 
कुनै जमानामा संसारभर युद्धका कारण नाम चलेको देश एकपटक घुम्ने चौ–चौले गर्दा निस्किएका थियौं, सुडानको डार्फरदेखि किगालीसम्मको यात्रामा ।
किगालीका लगभग सबैजसो ठाउँहरू घुमेपछि अन्तिममा नाटारामा जेनोसाइड मेमोरियल आफंैले घुमाइदिन तयार भए राजेश सर । उनकै गाडीमा उनकै साथ यात्रा गर्न पाउँदा नाइँ कसले भन्ने । हामी दुवै भाइले सहमतिमा टाउको हल्लायौं । अघिल्लै दिन बेलुकीको सल्लाहअनुसार बिहान सातै बजे ब्रेक फास्ट गरी लाग्यौं नाटारामातर्फ । 
किगालीदेखि ३० किमि दूरीमा पर्दोरहेछ नाटारामा । बुगेसेरा क्षेत्रको एउटा बाक्लो बस्ती भएको गाउँ रहेछ नाटारामा । हरियाली घाँसे गह्राहरू छिचोल्दै एक घण्टाको यात्रापछि पुग्यौं नाटारामा चर्च । ढोकामा रजिस्टर लिएर बसेकी थिइन् एउटी काली युवती । उनले हामी सबैको नाम र ठेगाना रजिस्टरमा चढाएपछि मात्र भित्र पस्ने अनुमति पाइयो ।
गेटबाट छिरेपछि सीधाअगाडि एउटा रातो इँटाको लामो टहरो थियो । भित्ताभरि गोलीका दागहरू र ठाउँ–ठाउँमा ठूला–ठूला भ्वाङहरू थिए । टहराको स्वरूपले नै युद्धको बीभत्सता बोलिरहेको थियो । त्यो टहरा विगतको गृहयुद्धको ताजा तस्बिर बनेर उभिएको थियो । रुवान्डेली गृहयुद्धमा हजारौं निर्दोषहरूको आमहत्या भएको नाटारामा चर्च भनेको यही टहरो रहेछ । जुन घटना देख्नेको त कुरै छाडौ सुन्नेको पनि कानका रौंहरू ठाडाठाडा हुन्छन् । हृदयको चाप बढेर थाम्नै हम्मे–हम्मे पर्छ ।
बाहिरबाट सर्सर्ती हेरिसकेपछि तीनै काली केटीसँगै हामी तीनै जना चर्चभित्र पस्यौं । युद्धको यथार्थ अवस्था देखाउने उद्देश्यले यस चर्चलाई युद्धकालमा जस्तो थियो त्यस्तै राखिएको रहेछ । चर्चभित्र भुइँमा मानिसहरूका लागि लामो–लामो सिमेन्टका बस्ने ठाउँहरू विद्यालयमा बेन्ची राखेजस्तै लहरै बनाइएको थियो । हलको भित्ताभरि मृतकका रगत र माटो लागेका मैला लुगाहरू झुन्ड्याइएको थियो । छानाको मुनि पनि प्रशस्त पुराना लुगाहरू झुन्ड्याएको थियो । हलको एकातर्फको पाटोमा निकै ठूलो मात्रामा मृतकका च्यातिएका फाटेका कपडाहरूको खातैखात थियो । हलको पूर्वतर्फको भागको भित्तामा धातुको र्‍याक थियो । जुन र्‍याकको माथिल्लो खानामा सयौं मान्छेका खप्परहरू र तल्लो खानामा खुट्टा र हातका लामा लामा हड्डीहरू थिए । त्यही हड्डी भएको र्‍याकको सीधा अगाडि भित्ताको कुनामा भाँडाकुँडाहरू, चप्पल, जुत्ता, सिसाहरू, ग्लास, प्लेट, कलम, किताबलगायतका सामानहरूको थुप्रो थियो । कुनै पनि सामान एकअर्कोसँग मिल्ने अवस्थाको थिएन । हलभित्रका ती सामान र कपडाहरूले विगतको गृहयुद्धको कुरूपतालाई उदांगो पारेको थियो । 

र्‍याकमा रहेको नलीहाड र खप्परहरूसँगै एकै छिन हराएँ म । अनगिन्ती खप्परहरूसँग मजस्तै मान्छेहरूको कहानी लुकेको थियो । पीडा, रोदन, चिच्चाहट लुकेको थियो । कठै कति भयावह थियो होला युद्धका ती दिनहरू । कतिपय खप्परहरूमा गोलीले पारेका प्वालहरू प्रस्ट देखिन्थे । खप्परहरूसँगै भावनामा बगें म पनि । अचानक मैले ती सबै खप्परहरूमा मान्छे देख्न थालेँ । ती सेता खप्परहरू एकै छिनमा काला अनुहारहरूमा अनुवाद भए र रुँदै–रुँदै मसँग जीवनरक्षाको भीख माग्न थाले । म अत्तालिएँ । टाउको भारी भएर आयो । कानमा एकोहोरो कोलाहल आवाज आइरह्यो । म केही नबोली प्रेम दाइ र राजेश सरलाई भित्रै छाडेर त्यो हड्डीहरूको हल्लाबाट बाहिर निस्किएँ । केही बेरमा उनीहरू पनि बाहिर निस्किए । बाहिर गेटमा नाटारामा घुम्न आएका केही मानिसहरू गाडीबाट ओर्लिंदै थिए । बिस्तारै मानिसको चहलपहल बढ्दो थियो । बाहिरपट्टि चउरमा दुई/तीन जना बूढा बसेर गफ गरिरहेका थिए । मलाई सामान्य अवस्थामा आउन केही बेर लाग्यो ।
चर्चको अवलोकनपछि हामी चर्चसँगैको भूमिगत संग्रहालयमा छिर्‍यौं । एउटा चारकुने प्वालबाट छिरेर सिँढी झर्दै पुग्यौं जमिनमुनिको तलामा । जमिनमुनि बनाइएको ती भूमिगत कोठाको र्‍याकहरूमा मान्छेको हड्डी नै हड्डी संग्रहित थिए । कुनै र्‍याकमा टाउकै टाउका, कुनै र्‍याकमा नलीहाडै नलीहाड र कुनै र्‍याकमा साना टुक्राटुक्री हड्डीहरू राखिएको थियो । र्‍याकको मुनिपट्टिको भागमा केही कफिनहरू पनि थिए । अत्यन्तै जतनका साथ राखिएका तिनै हड्डीहरू थिए रुवान्डाली गृहयुद्धको क्रूरताको इतिहास । त्यही इतिहासले पढाएको थियो रुवान्डेलीहरूलाई शान्तिको पाठ । जसले जे भने पनि रुवान्डाको वास्तविकता यिनै हड्डीहरूसँग जोडिएको थियो । यतिखेर रुवान्डामा हेर्ने भनेको नै मानव हड्डीहरूको संग्रहालय रहेछ । मानवीय चीत्कारहरूको इतिहास रहेछ । मानवीयता मरेको अराजक विगत नै रहेछ ।
एकाएक सल्केको जातीयताको आगोले करिब तीन महिनामा दस लाखभन्दा बढी मानिस मारिएको रुवान्डाको इतिहासमा नाटारामा हत्याकाण्डको एउटा छुट्टै इतिहास रहेछ । घटनाको कुरो सुन्दा पत्याउनै नसकिने थियो । यति निर्मम र पाशविक हत्या पनि हुन सक्छ र भन्ने लाग्थ्यो । तर वास्तविकता त्यही थियो । घटनाअनुसार गृहयुद्धको आगो देशभर सल्किरहेको अवस्थामा ११ अप्रिल १९९४ का दिन एक्कासि नाटारामा गाउँमा कट्टरपन्थी हुतुहरूले जथाभाबी गोली चलाउने, पसल लुट्ने र पसलका मान्छेहरू मार्न थालेपछि एकाएक गाउँमा रक्तपात मच्चिन थाल्यो । हुतुहरूको बाहुल्य रहेको क्षेत्र भएकाले उनीहरूको प्रतिकार गर्न सक्ने क्षमता तुत्सीहरूसँग थिएन । अधिकांश तुत्सीहरू भागाभाग गरी टाउन हलतर्फ दौडिए । आक्रमणको डरले केही बूढाबूढी र महिलाहरू अघिल्लो दिन नै टाउनहलमा पुगिसकेका थिए । गाउँको चारैतर्फ असिना बर्सेजस्तै गोली बर्सन थाल्यो । गाउँभरि हाहाकार मच्चियो । सबै आफ्नो ज्यान बचाउन टाउन हलतर्फ भागे । प्राण रक्षाका लागि टाउन हलमा शरण लिन पुगेका अल्पसंख्यक तुत्सीहरू त्यति बेला आत्तिए जति बेला टाउनका मेयरले आफूले सुरक्षा गर्न नसक्ने लाचारी व्यक्त गर्दै टाउन हल क्षेत्र खाली गर्न आदेश दिए । स्थानीय सरकारले सुरक्षा दिन नसक्ने भनेपछि उनीहरूको अगाडि मृत्युको विकल्प रहेन । जब मेयरले अवस्था असामान्य देखे तब टाउन हलबाहिर आई त्यो त्रसित भीडलाई सम्बोधन गर्दै भने, ‘यतिखेर तिमीहरू घर गए पनि मारिनेछौ, भागेर जंगल पसे पनि मारिनेछौ र यहीं बसे पनि मारिनेछौ, मारिनुको विकल्प नभएकाले तिमीहरू जतिसक्दो चाँडो यो ठाउँ खाली गर, म टाउन हलअगाडि रगतको खोलो बगेको हेर्न चाहन्नँ ।’
मेयरको यो भनाइपछि सबैको अनुहारमा मृत्युको छाया नाच्न थाल्यो । महिला केटाकेटीहरू रुँदै कराउँदै चर्चतर्फ लागे । उनीहरूको बाँच्ने भरोसा भनेको भगवान्बाहेक कोही रहेन । लगभग पाँच हजार तुत्सीहरू नाटारामा चर्चवरपर जम्मा भए । उनीहरूमा केवल भगवान्को घरमा चाहिँ पक्कै आक्रमण गर्नेछैन भन्ने अन्तिम विश्वास मात्र बाँकी थियो । तर हेर्दाहेर्दै हुतु कट्टरपन्थी मिलिसियाहरूले गाउँका सबै घर लुट्दै, जलाउँदै, भेटेको मान्छे मार्दै चर्चमा आइपुगे । चर्चमा प्रार्थना गरेर बसेका निहत्था मान्छेमाथि अन्धाधुन्ध गोली बर्साउन थाले । हजारौंहजार गोली चलेपछि चर्चबाहिर मान्छेको लासको थुप्रो लाग्यो । रगतको खोलो बग्यो । अब चर्चभित्र करिब एक हजार जना मात्र बाँकी रहे । मृत्युमा विजय देख्ने उन्मत्त मिलिसियाहरूले लासमाथि टेक्दै आई मान्छेले भरिएको चर्चमा ग्रेनेड पड्काएर प्वाल पारे अनि चर्चभित्र गोली बर्साउन थाले । चर्चभित्र रहेका कोही पनि बाँच्न सकेनन् । मर्नेहरूमा अधिकांश महिला र बालबालिका परे । नाटारामाको यो हत्याकाण्ड रुवान्डाको गृहयुद्धको इतिहासकै सबैभन्दा बीभत्स र मानवीयताविरुद्वको परकाष्टाको रूपमा अंकित हुन पुग्यो । जतिपटक माफी मागे पनि क्षम्य नहुने घटनाको रूपमा रुवान्डाको इतिहास बनेर अझैसम्म रहिरहेको छ नाटारामा चर्चको हत्याकाण्ड ।
एकै ठाउँमा लगभग ५ हजार जनाको हत्या गरिएको यस घटनामा तुत्सीहरू मात्र नभएर केही नरमपन्थी हुतुहरूले पनि ज्यान गुमाए । कट्टरपन्थी हुतु मिलिसियाहरूमा हत्याको मात चढिरहेको थियो । उनीहरूले बाटोमा भेटिएका बूढाबूढीसम्मलाई छाडेनन् । यसले रुवान्डाको सामाजिक सद्भावमा कहिल्यै पुर्न नसकिने खाल्डो बनायो । नाटारामा चर्च हत्याकाण्ड भएको दिनलाई रुवान्डालीहरू सबैभन्दा कालो दिन र मानव इतिहासकै खराब घटनाको रूपमा लिने गर्दछन् । तर विगतमा जे भए पनि यी र यस्तै घटनाहरूकै कारण बनेको हो आजको रुवान्डा । यतिखेर आफ्ना सबै अँध्यारा र क्रूर विगत बिर्सेर विकास र शान्तिको पथमा लम्केको छ रुवान्डा । जातविहीन र वर्गविहीन रूपमा अघि बढ्ने लक्ष्य बोकेर हिँडेको छ रुवान्डा । हामी जात, भाषा र क्षेत्रको नाममा राज्य बनाउने कसरत गरिरहँदा रुवान्डा भने एउटै राष्ट्रिय जात र धर्म बोकेर हिँडेको छ । त्यहाँ कसैले पनि आफूलाई हुतु र तुत्सीको परिचय दिन रोक लगाइएको छ । उनीहरूको जात, धर्म सबै रुवान्डियन भएको छ । त्यति धेरै लासहरूको पहाड चढेपछि र त्यति ठूलो रगतको खोलो तरेपछि मात्र चेत खुलेको रहेछ रुवान्डियनहरूको । थाहा छैन हाम्रो चेत खुल्न कति समय लाग्ने हो र कस्तो परीक्षा पार गर्नुपर्ने हो ।
नाटारामाको त्यो मृत्युको खेलमा कति महिला बलात्कृत भए हिसाब रहेन । बलात्कारपछि हत्याका शृंखला अनगिन्ती रहे । चर्च नजिकै भेटिएका बूढा र बाँचेका केहि गाउँलेहरू घटनाका दिन कम्पाला गएका रहेछन् । उनीहरू कम्पालामा हुँदै गाउँको समाचार सुनेछन् । उनीहरूको गाउँमा रहेका श्रीमती, छोरा, बुहारी, छोरी, नाति–नातीना र गाउँलेहरू कोही पनि बाँकी रहेनन् । सायद उनीहरू त्यस दिन गाउँमै भएको भए आज रहने थिएनन् । घटनाको केही दिनपछि गाउँ फर्केर आउँदा आफ्नो परिवारको लास पहिल्याउनै सकेनन् । गाउँ मुर्दाहरूको बस्ती भइसकेको थियो । बस्ने खाने ठाउँ केही थिएन । लास कुहिएर हाडखोर मात्र बाँकी रहेकाले हड्डी हेरेर मान्छे चिन्न सक्ने अवस्था रहेन । मरेपछि त जुनसुकै जात भए पनि उस्तै पो हुँदो रहेछ । बाँचुन्जेल मात्र रहेछ मान्छेले म त्यो जात र यो जात भनेर छुट्याउने । त्यस दिनदेखि आफन्त हराएका मान्छेहरू अक्सर यहाँ आउँदै यिनै हाडखोर हेर्दै फर्कंदा रहेछन् । उनीहरूलाई लाग्छ रे यिनै हाडखोरमध्ये एउटा उसकी प्यारी श्रीमतीको पनि हो र यिनैमध्ये कुनै एक उनीहरूका छोरा, बुहारी र नाति–नातिनाका हुन् । यहाँ आउँदा उनीहरूलाई आफ्नो परिवार भेटेजस्तै हुन्छ रे । तिनै काली केटीले बताएपछि थाहा भयो, बाँचेका गाउँलेहरूको दारुण कहानी ।
उसको कुराले मेरो आँखाको डिलमा पनि थोरै पानी टिल्पिलायो । मान्छेले जति पीडा सहेर पनि त बाँच्नैपर्ने रहेछ । मर्नेहरूका लागि मरिदिन सजिलो रहेछ । बिचरा बाँच्नेहरू अझै जीवनमा कति वर्षसम्म खोजिरहने हुन् आफ्ना परिवार । आफ्ना परिवारका हाडखोरहरू । उनीहरूको पीडाले मलाई पनि कता–कता नराम्ररी घोच्यो । आखिर जहाँको भए पनि मान्छे त मान्छे नै हुँदोरहेछ । आँसु त आँसु नै हुँदो रहेछ । पीडा त पीडा नै हुँदोरहेछ । 
चर्च हत्याकाण्डको एक वर्षपछि मात्र १४ अप्रिल १९९५ मा नाटारामा चर्चलाई जेनोसाइड मेमोरियल बनाएर सबैका लागि खुल्ला गरिएको रहेछ । नाटारामाको कथा जति सुन्यो त्यति नै दुर्दान्त, जति बुझ्यो त्यति नै पीडादायी थियो । यो धर्म र जातको नाममा मान्छेले मान्छेमाथि गरेको अत्याचारको कथा थियो । सत्ता र शक्ति प्राप्तिका लागि मान्छेले मानवता बिर्सेर गरेको अमानवीय र क्रूर आक्रमण थियो । जसले जसरी बुझे पनि संसारमा यो घटना सर्वत्र निन्दनीय थियो ।
जाँदाखेरी हाँस्दै रमाउँदै गएको म फर्केर आउँदा बाटाभरि तिनै हड्डी र खप्परहरूको कहानीमा हराइरहें । डरले मुटु काँपिरह्यो । कताकता आफ्नो देशको अवस्थाले कोपरिरह्यो । आफूले गर्न सक्ने केही थिएन, केवल आफ्नो मन पर्ने भगवान्सँग मनैमनले प्रार्थना गरिरहें, ‘प्रभु  ! कम से कम मेरो देशका अगुवाहरूलाई चाहिं यति क्रूर र संवेदनाहीन नबनाइदेऊ है ।’

प्रकाशित : श्रावण २१, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?