कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

भोजपुरे खुकुरीको सान

देश
सामान्य खुकुरीको ४ सय रुपैयाँ पर्छ । बुट्टादार, धातु प्रयोग गरिएका, डिजाइन मिलेका खुकुरी २५ हजारसम्म बिक्री हुने गरेको उर्मिला खकुरी उद्योगका सञ्चालक हीरालाल श्रेष्ठ बताउँछन् ।
विद्या राई

भोजपुर खुकुरीले प्रसिद्ध छ । पछिल्लो समय भोजपुरे खुकुरीले महत्त्व पाउँदै गएको छ । दिनदिनै लोप हुँदै पनि गइरहेको छ । प्रयोग गर्ने चलन र उद्देश्य परिवर्तन भएको छ । उहिले यहाँका खुकुरी घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुन्थे ।

भोजपुरे खुकुरीको सान

अहिले उपहार र सजावटका लागि प्रयोग गर्ने चलन बढेको छ । ४ दशकयता भोजपुरे चिनोका रूपमा खुकुरीको महत्त्व बढेको छ ।  यहाँ उत्पादित ८० प्रतिशत खुकुरी सजावट र उपहारका लागि प्रयोग हुन्छ । बाँकी २० प्रतिशत मात्रै घरायसी औजारका रूपमा प्रयोग हुने गरेको उद्यमीहरू बताउँछन् । विशेषगरेर जिल्लाबाहिरबाट सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाका लागि आएका कर्मचारीले गृहजिल्ला फर्कंदा चिनारीस्वरूप लैजान्छन् खुकुरी । उच्च ओहदाका व्यक्तिलाई जिल्ला आउँदा या बिदाइ गर्दा पनि भोजपुरे चिनोका रूपमा यही चीज उपहार दिइन्छ । 

खुकरीको माग र महत्त्व बढ्दो छ । उत्पादन भने घट्दो छ । सदरमुकामस्थित एक पसलमा खुकुरी किन्न खेजिरहेका बेला भेटिएका २७ वर्षीय सञ्जीव कार्की भन्छन्, ‘भोजपुरे खुकुरी दिनदिनै लोप हुँदै छ, आउने पुस्ताका लागि इतिहासमा मात्रै सीमित हुने हो कि भन्ने अवस्था छ, पुस्तौंसम्म स्मरणका लागि खुकुरी किन्न लागेको छु ।’ भोजपुर, पालुवा पुख्र्यौली घर भएका उनी परिवारसहित सुनसरीको कालाबन्जर बसाइ सरेका छन् । जहाँ पुगे पनि भोजपुरको सम्पत्ति भनेकै खुकुरी रहेको उनको तर्क छ ।
७५ जिल्लाबाहेक यहाँको खुकुरीको व्यापार भारतका दार्जिलिङ, आसाम, सिक्किम, चीन, बंगलादेश पाकिस्तान, ब्रुनाई, सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायत तथा अन्य राष्ट्रमा पनि हुन्छ । अनलाइन प्रवद्र्धनले गर्दा स्वदेशमा भन्दा विदेशमा माग बढेको न्यू भोजपुरे खुकुरी उद्योगका सञ्चालक सफल सेन्चौरी बताउँछन् । ‘विदेशमा खालखाले डिजाइन माग हुन्छ, उनीहरू विलासिताका लागि घरमा सजाउन मगाउँछन्,’ उनी भन्छन्, ‘अहिले भोजपुरे खुकुरी घाँस, दाउराका लागि होइन, सजाएर राख्न, उपहार दिन पो किन्छन् ।’ 


अन्यत्रको तुलनामा भोजपुरे खुकुरी आकर्षक, डिजाइन मिलेको, बुट्टादार र कलात्मक शैलीका हुने भएकाले ‘लो प्रोफाइल’ देखि ‘हाई प्रोफाइल’ सम्मका मानिसको रोजाइमा पर्छन् । ‘छँुदा पनि धूलो लाग्दा कि जस्ता टलक्क, चमकदार हुन्छन्, नसजाए त पापै लाग्छ नि π’ स्थानीयवासी अस्मिता बस्नेत भन्छिन् । उनले पनि गएको महिना ८ हजारको खुकुरी किनेर सिटिङ रुममा सजाएर राखेकी छन् । 
यहाँ मुख्य गरेर ३ प्रकारका बुदुना, सिरुपाते र बासपाँते खुकुरी अत्यधिक किनबेच हुन्छ । बुदुना मोटो र फराकिलो हुन्छ । सिरुपाते सिरुको पात आकारको पातलो हुन्छ । बाँसपाते बाँसको पातजस्तै, सिरुपातेभन्दा केही मात्रामा बाक्लो हुन्छ । सिरुपाते र बाँसपाते सजाउन, उपहारका रूपमा आदानप्रदानका लागि प्रयोग हुन्छ । ४ इन्चदेखि दुई फिटसम्मका खुकुरी उत्पादन हुन्छ । 
सामान्य खुकुरीको ४ सय रुपैयाँ पर्छ । बुट्टादार, धातु प्रयोग गरिएका, डिजाइन मिलेका खुकुरी २५ हजारसम्म बिक्री हुने गरेको उर्मिला खकुरी उद्योगका सञ्चालक हीरालाल श्रेष्ठ बताउँछन् । खुकरीमा ग्राहकका इच्छा र मागअनुसार राष्ट्रिय तथा दुर्लभ पशुपक्षी, राष्ट्रिय झन्डा, ड्राइगन हानेर, सिक्का टाँसेर बुट्टा हानिन्छ । विशेषत: दाप (खोल) मा पित्तल, चाँदी र सुनको लेपन लगाएर बुट्टा निकालिन्छ । काठका दापमा विभिन्न आकृति खोपेर सजावट भरिन्छ । खुकुरी बनाउन मुख्य त स्प्रिङ (गाडीको कवाडी पत्ती), पत्थरकोइला, कोइला, काठ, धातुजन्य पदार्थ, पाइन आवश्यक पर्छ । कतिपय देशमा औजार, हतियार लैजान रोक लगाइएको हुँदा भोजपुरे खुकुरीकै आकृति भएको काठको खुकुरीसमेत उत्पादन र बिक्री हुन्छ ।
२०२७ सालमा तत्कालीन राजा महेन्द्र भ्रमणका क्रममा भोजपुर आएका थिए । सदरमुकाम नजिकैको बोखिममा हेलिकप्टरबाट अवतरण गरे । भ्रमण सकाएर फर्कने क्रममा स्थानीयवासीले राजालाई उपहारस्वरूप आफूले उत्पादन गरेको खुकुरी हातमा टक्राए । महेन्द्रले जति पनि खुकुरी देखेका थिए । तिनको तुलनामा त्यो कलात्मक आकर्षक डिजाइनको र उत्कृष्ट पाएपछि ‘भोजपुरे खुकुरी’ नामकरण गरिदिएका थिए । यसरी मौलिक पहिचान बोकेको खुकुरी बिस्तारै पेसाका रूपमा आयआर्जनको मुख्य स्रोत बन्दै गयो । जिल्ला खुकुरीका लागि प्रख्यात बन्यो ।
१९६५ सालदेखि विभिन्न डिजाइनका खुकुरी बनाउने प्रचलन सुरु भएको ५० वर्षीय उद्यमी गणेश गजमेर बताउँछन् । यसले भोजपुरे खुकुरीका रूपमा प्रसिद्धि पाउन करिब ७ दशक कुर्नुपर्‍यो । 
दशक लामो माओवादी द्वन्द्व, कच्चापदार्थ, जनशक्ति अभाव, युवा पुस्ताको बेवास्ताले गर्दा यसको उत्पादन घटेको हो । साल, सिसौ र ओखरका बोट काट्न नपाउने वन ऐन लाग्र भएपछि टिकाउ बिँडका लागि काठ र फलाम गाल्ने कोइलाको अभाव खड्केको हो । घरेलु तथा साना उद्योग विकास समितिले संरक्षण र प्रवद्र्धनका लागि बर्सेनि सहुलियत मेसिन र तालिम दिए पनि उद्यमीले चासो दिएका छैनन् । भोजपुर सदरमुकाम, टक्सार, रानीबास, खैराङ, कोट, गोगने, हेलौछा, जरायोटार, खावालगायत गाउँका ६ दर्जन खुकुरी कारखाना यिनै कारणले बन्द भए । विश्वकर्मा समुदायले घरैपिच्छे आरन राख्थे । घरायसी प्रयोजनका फलामजन्य सामग्रीसँगै खुकुरी उत्पादन हुन्थ्यो । अचेल ९९ प्रतिशतले उत्पादन गर्न छाडेका छन् । सदरमुकामको उत्पादित ५० प्रतिशत खुकुरी त जिल्लाभित्रकै गाउँबस्तीमा खपत हुन्छ । 
सदुमुकाममा उर्मिला, रञ्जिता र न्यू भोजपुरे खुकुरी उद्योग मात्र सञ्चालनमा छन् । ३ वटा उद्योगलाई माग धान्न हम्मे पर्छ । एक महिनामा एउटा उद्योगमा ५ सयदेखि एक हजार थान खुकुरीको माग आउने गर्छ । मागअनुसार बनाउन सके मासिक ५ देखि ७ लाख रुपैयाँ आम्दानी लिन सकिने भए पनि दक्ष जनशक्तिको अभाव रहेको रञ्जिता खुकुरी उद्योगका सुनील गजमेरको भनाइ छ । 

प्रकाशित : श्रावण २१, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?