१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मेरो सानु छिमेकी

गाउँघर
माधव सयपत्री

एउटा हिँउद र दुइटा बर्खा टहरामा बिते । बसाइ अव्यस्थित र अत्यन्त कष्टकर भए पनि त्यो जीवनकै लयमा बगेको थियो । रहँदाबस्दा टहरो पनि राम्रो लाग्न थाल्यो । सहज लाग्न थाल्यो । टहरामा पनि बिस्तारै जीवन सल्बलाउन थाल्यो ।

मेरो सानु छिमेकी

सिर्जनाको बीजांकुर हुन थाल्यो । प्रकृतिको गति, यति र लयलाई सहज स्विकारेपछि असमान्य कुरा पनि सामान्य लाग्दा रहेछन् । अब टहरो, टहरो रहेन । टहरोमा जीवन पस्यो । टहरो पनि सुन्दर एउटा घर भयो । खेतको कान्लो पनि घरकै गारोजस्तो लाग्न थाल्यो । ठाउँकुठाउँ टोकेर भाग्ने कमिला पनि आफ्नै परिवारका सदस्यभैँm लाग्न थाले । साँझ नपर्दैको मुसाको म्याराथुन कम रोमाञ्चक भएन !

मानिसहरू जिन्दगीभरको कमाइ लगाएर घर बनाउँछन् । अझ सहरमा घरघडेरी नभए इज्जतमा पहिरो गएको ठान्छन् । टहरोमा पनि जीवन चल्दो रहेछ नि π लाखौँलाख भूकम्पपीडितहरू अझैसम्म टहराको साँघुरोमा पनि रमाइरहेका छन् । घर भन्नु त केवल गौथलीकै गुँड रहेछ । सम्झन्छु, कविशिरोमणि लेखनाथको ‘चिरिबिरी च्यार्र’– 
‘उपर दलिनमा गौँथली बस्दा, 
तलतिर उसको मैला खस्दा.........।’ 
***

भूकम्पकै कारण दाजुभाइ, नातागोता र छरछिमेक छिन्नभिन्न भएर लाखापाखा लागेपछि गाउँमा एक्लै हुने अवस्था आयो । छिमेकीकै खाँचो भयो । मानिस एक्लै बस्न पनि कहाँ सक्छ र π त्यसैले त सामाजिक प्राणी । छरछिमेक शून्य हुन लागेकै कारण मैले हठात् जन्मथलो छाड्ने निर्णय गरेँ । साबिकको बसाइभन्दा डेढ किलोमिटरमाथि आफ्नै जग्गामा पुनर्निर्माण प्राधिकरणले तोकेको नापनक्साअनुसारको ढुङ्गा–माटोको दुईकोठे सामान्य घर बन्यो । २०७३ सालको लक्ष्मीपूजाको दिन नयाँ घरमा झिटीगुन्टा सारियो । आफू पनि सरियो । वर्षौँदेखि जम्मा पारेका पुस्तक र पत्रपत्रिकाले नयाँ घर पाए । अत्यन्त प्रतिकूलतामा पनि अक्षरहरू जोगाउन सकेकामा आफूलाई धन्य सम्झिएँ ।
तर, नयाँ थलोमा बनेको घर, आफ्नो घरजस्तो लागेकै थिएन । कताकता जीवनमा केही छुटजस्तो लागेको थियो । नयाँ घरमा ज्यान पस्न निकै समय लाग्यो । घर भएर मात्र ‘घर’ हुँदो रहेनछ । जन्मथलोसँग जोडिएको सालनाल तोड्न निकै गाह्रो पर्ने रहेछ । घरको कुनै न कुनै कुनामा आफू पनि समाहित भएको भाव आत्मसात् नभएसम्म घर जति नै व्यवस्थित र सुन्दर भए पनि त्यो ओडारतुल्य हुने रहेछ । 
यदाकदा पुरानै थलोको त्यो टहरामा पुग्छु । एक छिन गम्छु । हेरिरहन मन लाग्छ, भूकम्पले पछारेको ढुङ्गा–माटोको थुप्रोलाई । छाती चरक्क चिरिएर आउँछ । टहरामा बाँसका भाटाका करङ अझै झरेका छैनन् । टहराकै छेउमा पुरानो घरको भग्न अवशेष । लगभग पचास वसन्त बिताएको थलो । जीवनमा आइलागेका असङ्ख्य आरोह–अवरोह छिचोल्दै र कुल्चँदै पाइलापाइला गनेको मातृभूमि । भग्न अवशेषको पनि माया लागेर आउँछ । टहराले पनि प्रेमसाथ मलाई बोलाएभैँm लाग्छ । हेर्दाहेर्दै रिँगटा लाग्न थाल्छ । बस्न सक्दिनँ र उठेर हिँड्छु । 
***

म नयाँ घरमा सरेदेखि नै ऊ मेरो ‘छिमेकी’ भएको थियो । म उसको ‘साथी’ भएको थिएँ । एकान्त ठाउँको मेरो घरको नजिकको छिमेकी भनेकै ऊ थियो । केके केके असङ्गत प्रश्नहरू सोधेर हैरानै पाथ्र्यो । हैरानीमा पनि एक किसिमको मजा थियो । केटाकेटीले कहाँ मिलाएर प्रश्न गर्न सक्छन् र π हामीले सङ्केत बुझ्ने हो । भावना बुझ्ने हो । हाउभाउबाट अड्कल काट्ने हो । सूत्रबाट विस्तृतितिर जाने हो । असङ्गतिमा सङ्गति खोज्ने मात्रै हो । केटाकेटीको जिज्ञासामा सङ्गति खोज्ने म मूर्ख उस्तै π 
उसले घरै उज्यालो बनाइदिएको थियो । केटाकेटी नभएको न्यास्रो मेटाइदिएको थियो । कुनसड्को आँगनमा आइपुग्थ्यो र बुरुकबुरुक उफ्रिन्थ्यो । एक्लै कराउँथ्यो । दिदीलाई बोलाउँथ्यो । भेट्नासाथ र दिदीसँग गनगन गर्न थाल्थ्यो । गनगन मात्रै हो र π चकचक गरेर धुरुक्कै पाथ्र्यो । 
उसको चकचके बानी पचाउन हामी अभ्यस्त भैसकेका थियौँ । दुई–चार घण्टा ऊ आएन भने न्यास्रो लाग्थ्यो । खल्लो लाग्थ्यो । म उसैकोमा पुग्थेँ । लाग्थ्यो— ऊ आइरहोस् र मलाई सोधिरहोस् अड्बाङ्गे प्रश्न । म उसको प्रश्नको उत्तर दिन पाइरहूँ ।
ऊ अर्थात् मेरो सानु छिमेकी । कहिले टीभीको रिमोट देखाउँदै भन्थ्यो, ‘मासर, अल्को लाउनु न ल ।’ अर्कोमा के आउँछ, उसैलाई थाहा थिएन । गाउँमा जन्मे–हुर्केको तीनै वर्षको बच्चालाई थाहा हुने कुरा पनि भएन । किताब हातमा लिन्थ्यो र सोध्थ्यो, ‘मासर, यो के हो ?’ म भन्थेँ, ‘यो बुक हो भाइ । ठूलो भएपछि पढ्नु ल । भाइलाई क ख पढ्न म सानु बुक दिन्छु नि π’ 
ऊ कचकच गर्न थालिहाल्थ्यो, ‘सानो बुक, सानो बुक’ भनेर । म उसलाई कापीका पाना र पेन्सिल दिएर लेख्न भन्थेँ । ऊ कापीमा केर्न थालिहाल्थ्यो । उसले कोरेका किरिङमिरिङ र बाङ्गाटिङ्गा धर्कामा अब्बल चित्रकारका अमूर्त कोलाज देख्थेँ म ।
कथाकार भवानी भिक्षुलाई ‘मेरो सानु साथी’ ले बस यात्रामा मोहनी लगाएभैँm उसको अबोध क्रियाकलापले मलाई पनि तानिरह्यो । हजारौँ कथा पढिए, बिर्सइए । तर ‘मेरो सानु साथी’ को कथाप्लट कहाँ बिर्सनु π साधारण भइकन पनि कति शक्तिशाली कथा π 
श्याम वर्णको मोटेमोटे मेरो सानु छिमेकी मलाई कृष्णकथाको ‘काले’ भैँm लाग्थ्यो । उसलाई मैले लालमोहन त ख्याउन त सकिनँ तर छोराछोरीले पठाइदिएको गुलियो सनपापडी भने खान दिन्थेँ बेलाबेलामा । खाजा खाने बेलामा आउँथ्यो र भन्थ्यो, ‘दिदी, चटपटे बनाउनू न ल ।’ सुशीलालाई ऊ दिदी भन्थ्यो । सुशीला चटपटे बनाएर दिन्थिन् । उसलाई चटपटे असाध्यै मन पथ्र्यो । ऊ रमाउँदै चटपटे खान्थ्यो । घर गएर भनिहाल्थ्यो, ‘चटपटे खाको मुइँले ।’ सुशीलालाई गफ गर्न साथी भएको थियो मेरो सानु छिमेकी ।
तोते बोलीमा नानाथरिका कुरा गथ्र्यो । एउटै बुझिने होइन । कताबाट कुरा गर्न सुरु गरेको अन्तै कता पुर्‍याएर सक्थ्यो । जे होस्, उसको बाल बोलीमा मोहनी थियो । लय थियो । जादू थियो । कुरै नबुझे पनि सुनूँसुनूँ लाग्ने लवज थियो । आफ्ना छोराछोरीले गुँड छाडेर हिँडे पनि उसले पुराना दिनको सम्झना ताजा गराइदिएको थियो ।
म ल्यापटपमा टाइप गरिरहेको हुन्थेँ । ऊ मनिजक आउँथ्यो । नजानिँदो गरी हात लम्काउँथ्यो । सोधिरहन्थ्यो मलाई घरीघरी । ‘मासर, यो तलाउनु हुन्च ?’ म भन्थेँ ‘हुँदैन भाइ, बिग्रिन्छ ।’ सोधे पनि किबोर्ड, माउस वा स्क्रिनमध्ये कुनै चीजमा हात पुर्‍याएरै छाड्थ्यो । कहिले किबोर्डको कुन ठाउँमा छोइदिन्थ्यो । कम्प्युटरै ह्याङ । आहा π बडो मज्जाको उपद्रो π
कहिले ऊ हजुरबासँग आउँथ्यो । कहिले उसैकी ममीसँग आउँथ्यो । ‘मासरको घल जानी’ भनेपछि भन्यो भन्यो । उसलाई मैले स्कुल जान निकै कर गरेँ । मैले ‘भाइलाई डोर्‍याएर लैजान्छु’ पनि भनेँ । तर ऊ स्कुल गएन । जाँदै गएन । मैले नै स्कुलबाट नेपाली र अङ्ग्रेजी अक्षरपंक्ति ल्याएर दिएँ । कापीमा लेखेर पढ्न दिएको भन्दा अक्षरपंक्तिमा ऊ रमायो । लगभग साँवा अक्षर पनि चिन्यो । तर ऊ मेरो स्कुल गएन । मैले उसलाई स्कुलमा स्वागत गर्न पाइनँ ।
***

वैशाखको सुरुतिरकै एक बिहान सुटेडबुटेड भएर मेरो सानु छिमेकी घरबाट निस्कियो । मेरो घरतिर आएन । घरमाथिको बाटोमै उभियो । सायद उसले सुशीला दिदीलाई खोजेको थियो । उसका आँखा आफ्नै नयाँ लुगामा थिए । ऊ दङ्ग थियो । लुगा मिलाउँदै पनि थियो । एकदमै रमाएको थियो ऊ । मलाई हेरेर मुसुक्क हाँस्यो । बोलेन । ऊ एक्लै आएको थियो । मैले सोधेँ, ‘भाइ, टाढै हिँडेको ?’ उसले सहजै भन्यो, ‘काठमान्डू’ । ‘कहिले आउँछौ त भाइ ?’ मैले सोधेँ । ऊ बोलेन । एउटा खुट्टा हावामा हल्लाई मात्र रह्यो ।
सहरमा बोर्डिङ स्कुलमा पढाउन पठाउने कुरा उसकी ममी गरिरहन्थिन् । हजुरबा पनि ‘नाति बिग्रियो । नाति बिग्रियो ।’ भनिरहन्थे । उनको मनसाय पनि नातिलाई सहरतिरै बोर्डिङ स्कुल पढाउने थियो । म भन्थेँ, ‘तपैंको नाति कसरी बिग्रियो ? गाउँका सरकारी स्कुलमा चैँ भेडाबाख्रा जम्मा गर्ने हो र ?’ 
उसको बाबा सहरमै काम गर्छ । आमासँगै जाँदै छ । अनि मलाई किन खल्लो लागेको होला π सायद छिमेकीले छाडिजाँदा सबैलाई यस्तै हुन्छ । छिमेकीले छाडेर जाँदा कसको मन नकाटिएला π 
मेरो सानु छिमेकी यति छिट्टै गइहाल्लाजस्तो लागेको थिएन । तर गयो । ऊ ममीका अगि लागेर फुर्तीसाथ उकालो लाग्यो । म उसलाई हेरिरहेँ । उसले डाँडो काट्यो । जम्माजम्मी सात महिना मेरो छिमेकी बनेको ऊ ‘छिमेकी’ छाडेर गयो । मेरो मन बाँउडिएर आयो । बडो नमज्जा लाग्यो । घरबाट के हराएको, के छुटेको जस्तो लाग्यो । सुशीलाका आँखा रसाएका देखेँ । उनी बोल्न नसकेर भित्र पसिन् । बर्खेखेती लगाउन उसका बाबाममी घर आउलान् । त्यै बेला ऊ पनि घर आउला । त्यो बेला नआए पनि मेरो सानु छिमेकी दसैँमा त कसो नआउला π
 नातिलाई पर पुर्‍याएर उसका हजुरबा आए । उनको अनुहार पानी खस्न लागेको बादलभैँm भएको थियो । बोल्नै नसक्ने भएका थिए । हजुरआमाले नाति बाटो लागेको हेर्नै सकिनन् रे । भक्कानिँदै उनले भने, ‘छोराले लान्छु र बुहारीले जान्छु भनेपछि मैले किन रोक्नु ? उता गए नातिको बानी त सुध्रिन्छ । बेलैमा पढ्ने बानी लाग्छ ।’ 
***

म सरकारी स्कुलको मास्टर । ‘सबै मिलेर सरकारी स्कुल सुधार्नुपर्छ । बालबालिकालाई सरकारीमै पढाउनुपर्छ ।’ म यसै भनिरहन्छु । मेरो एकोहोरो रटानले काम गर्दै गरेन । सबैमा बोर्डिङको भूत सवार भएको छ । मानौँ बोर्डिङ स्कुल त्यस्तो मनचिन्ते भाँडो हो, जसमा जतिबेला जे चितायो त्यै पाक्छ । २८ वर्षदेखि अध्यापन गर्दै आएको आफ्नै स्कुल यसैपालिबाट बन्द भयो । गाउँमा भएका साना दुई–चार बालबालिका जम्मा पारेर भए पनि एक–दुई वर्ष स्कुल जोगाउने मेरो प्रयास निस्फल भयो । बोर्डिङ हाल्ने बहानामा तीन वर्ष नै नपुगेका नानीहरू लिएर गाउँका बुहारीहरू सदरमुकाम र राजधानीतिर लागे । त्यसै मेसोमा हिँड्यो मेरो सानु छिमेकी पनि । मैले मेरो छिमेकीलाई रोक्न सकिनँ । 
[email protected]

प्रकाशित : श्रावण २८, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?