कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कृष्णचरित्रको लौकिक आख्यान

समीक्षा
राम लोहनी

कृष्णको जीवनचरित्रमाथि पछिल्लो समय अनेकौं साहित्यिक कृति जन्मिएका छन् । पौराणिक कच्चा पदार्थलाई संयोजन गर्न अपनाइएका ढाँचा र कल्पना गरिएका अतिरिक्त कथा यस्ता कृतिका पहिलो आकर्षण हुन् ।

कृष्णचरित्रको लौकिक आख्यान

साङ्केतिक र मिथकको रूपमा प्रस्तुत घटनालाई समसामयिक दृष्टिकोणबाट तर्कसङ्गत तुल्याउन गरिएको प्रयास यिनको अर्को रोचक पाटो हो ।

मनु शर्माद्वारा लिखित ‘कृष्ण की आत्मकथा’ कृष्णको जीवनीमाथि रचित अहिलेसम्मकै बृहत् ग्रन्थ मानिन्छ । आठ खण्डमा विभाजित यो कृति लगभग तीन हजार पृष्ठमा फैलिएको छ । कृष्णको तर्फबाट आत्मपरक शैलीमा लेखिएको छ यो कथा । कृष्ण आफ्ना जीवनका महत्त्वपूर्ण घटनाहरू क्रमबद्ध रूपमा सम्झिन्छन् । ठाउँठाउँमा त्यसप्रति आफ्ना टिप्पणी पनि प्रस्तुत गर्छन् । कृष्ण आफूलाई भगवान् ठान्दैनथे, एक सामान्य मनुष्य मात्र ठान्थे । कृष्णका अनुसार उनको भगवद् स्वरूप अरूले चढाइदिएको जलप हो, जसलाई कृष्णले परिस्थितिअनुसार उपयोग गर्न चुकेनन् ।

कथा सारसंक्षेप
पहिलो खण्ड ‘नारद की भविष्यवाणी’ मा कृष्णको जन्म र बाल्य जीवनका घटनाहरू वर्णित छन् । भागवत पुराणअनुसार वसुदेव–देवकीको विवाहको अवसरमा कृष्णको जन्मबारे आकाशवाणी भएको थियो । तर हरिवंश पुराणमा यो भविष्यवाणी नारदले गरेको बताइएको छ । भागवत पुराण भन्छ, भविष्यवाणीपछि वसुदेव र देवकी कारागारमा थुनिए । तर हरिवंश पुराणले उनीहरू कैदमा नभएर सामान्य रेखदेखमा रहेको बताउँछ । लेखकले प्रस्तुत उपन्यासमा नारदको भविष्यवाणीबाट अत्तालिएको कंसले वासुदेव–देवकीलाई कारागारमा राखेको प्रसङ्गबाट कथा आरम्भ गरेका छन् । कंस देवकीबाट जन्मेको हरेक शिशु मार्दै जान थाल्यो । कंसको क्रूरता र अन्यायबाट प्रताडित एउटा समूह गोप्य रूपमा वसुदेवलाई सघाउन तयार थियो । उनीहरू देवकीको आठौं गर्भलाई जसरी पनि बचाउन तत्पर थिए । यही क्रममा नवजात कृष्णलाई व्रज पुर्‍याइयो । 
दोस्रो खण्ड ‘दुरभिसन्धि’ मा कंसको हत्यापछि जरासन्धले बदला लिन गरेको प्रयासलाई कृष्णले कसरी सामना गरे भन्ने कथा चर्चा गरिएको छ । कृष्णले द्वारकामा खडा गरेको राज्यको प्रसङ्ग तेस्रो खण्ड ‘द्वारका की स्थापना’ को विषय हो । कुशस्थली नरेश ककुद्मिन राज्यभ्रष्ट भएर अज्ञातवासमा थिए । बलरामको नेतृत्वमा ककुद्मिन पुत्री रेवतीसहित भएर कुशस्थलीलाई शत्रुको हातबाट मुक्त तुल्याए । कृष्णले कुशस्थलीलाई नै आधार मानेर द्वारकाको स्थापना गरे । कालयवन भष्म, शृंगलव वध, गोमांतक पर्वतमा जरासन्धको पराजय र रुक्मिणी हरण यस खण्डका अन्य प्रसङ्गहरू हुन् ।
वारणावतस्थित लाक्षागृहमा पाण्डवहरूलाई जलाएर मार्ने दुर्योधनको योजना विदुरको कारण सफल हुन सकेन । जङ्गलमा गुप्तवास बसेका पाण्डवसँग व्यास र कृष्णको नियमित सम्पर्क थियो । यो पृष्ठभूमिमा पाण्डवहरूलाई द्रौपदी विवाह गराइदिने कृष्णको गुप्त योजना चौथो खण्ड ‘लाक्षागृह’ को विषय वस्तु हो । पाँचौं खण्ड ‘खाण्डवदाह’ मा द्रौपदी विवाह र खाण्डवप्रस्थमा पाण्डवले इन्द्रप्रस्थ खडा गरेको कथा छ । यसको लागि ‘अग्नि’ को सहयोगमा खाण्डव वनमा आगो लगाइयो । छैटौं खण्डको मुख्य विषय ‘राजसूय यज्ञ’ लाई बनाइएको छ । राजसूय यज्ञअघि कृष्णको सत्यभामा र जाम्बवतीसँग विवाह गर्नुपर्ने कारणको वर्णन पनि यो खण्डमा परेको छ । बलराम–कृष्णकी बहिनी सुभद्राको पनि अर्जुनसँग बिहे भयो । बलराम सुभद्राको विवाह दुर्योधनसँग गरिदिन चाहन्थे । राजसूय यज्ञका लागि प्रस्थान गर्नुपूर्व कृष्णले प्रागज्योतिष पुगेर त्यहाँका नरेश नरकासुरको वध गरेका थिए । नरकासुरले कैदमा राखेका सोह्र हजार युवती पनि मुक्त भए । जरासन्ध वधको वर्णन यो खण्डको अर्को आकर्षण हो ।
कृष्णको शाल्वसँगको द्वन्द्व, प्रद्युम्नको मायावतीसँग विवाह र पाण्डवको बाह्र वर्षको वनबास तथा एक वर्षको गुप्तवासको कथा सातौं खण्ड ‘संघर्ष’ को विषय हो । आठौं खण्डको शीर्षक छ ‘प्रलय’ । सन्धि प्रयास असफल भयो र महाभारत युद्ध भयो । ठूलो नरसंहारपछि पाण्डवको विजय भयो । युधिष्ठिर सिंहासनारूढ भए । उता यादवहरूबीच प्रभास क्षेत्रमा द्वन्द्व चर्किएको थियो । आपसी युद्धमा यादवहरूको पनि नास भयो ।

विश्लेषण
भागवत पुराण र महाभारतको ज्ञान राख्ने व्यक्तिको लागि कृष्णको कथा नयाँ होइन । नवीनता छ प्रस्तुतिमा । अलौकिक प्रतीत हुने कैयौं प्रसङ्गलाई लौकिक तुल्याउने प्रयास गरिएको छ यहाँ । कृष्णलाई लेखकले एक सिद्ध योगीको रूपमा प्रस्तुत गरेका छन् । कौरवसभामा द्रौपदीले गरेको पुकारा कृष्णले द्वारकामै सुने र सूक्ष्म शरीरमार्फत हस्तिनापुर आइपुगे । स्थूल शरीरबाट सूक्ष्म शरीर छुटाउन सक्ने, शरीरलाई विराट स्वरूपमा प्रस्तुत गर्न सक्ने आदि क्षमतालाई योगको असाधारण उपलब्धिको रूपमा मानिन्छ । तर कृष्णले योगाभ्यास कहिले गरे, कसको सान्निध्यमा गरे भन्नेचाहिँ लेखकले चर्चा गरेका छैनन् । सङ्गीतको अभ्यास गुरु थापेरै गरेको चर्चाचाहिँ छ । अपाङ्गता भएर थलिएका मथुराकी युवती त्रिवक्रा (कुब्जा) र गोमांतक पर्वतका गरुडराजका पुत्रलाई हठयोगको अभ्यास विधिबाट उपचार गरिदिएका हुन् कृष्णले । यी सबै घटना र पात्र विशिष्ट परिस्थितिमा पृथ्वीमै सम्भव छ र यस्तो भैरहन्छ भन्ने देखाउन लेखक धेरै हदसम्म सफल पनि छन् । घटनाहरूलाई सहज बनाउन भवितव्यलाई पनि उत्तिकै प्रयोग गरेका छन् लेखकले । कालयवनको मृत्यु मुचुकुन्दबाट भएको घटना केवल भवितव्यको परिणाम नै देखिन्छ ।
कृष्णकै हातबाट मृत्यु प्राप्त गर्ने थोरै व्यक्ति छन् । यिनमा कंस र नरकासुरबाहेक करविरपुरका शृंगलव र चेदी राजकुमार शिशुपाल पर्छन् । शृंगलव आफूलाई भगवान् दाबी गरेर आफ्नो भक्ति नगर्नेहरूलाई सजाय दिने गथ्र्यो । शिशुपाल वध युधिष्ठिरको राजसूय यज्ञ कार्यक्रममै भएको थियो । लेखकले पौण्ड्रक वधको चर्चाचाहिँ गरेका छैनन् ।
कथालाई आधुनिक र समसामयिक देखाउन थप पात्रहरू सिर्जना पनि गरिएको छ । छन्दक नामको एक अद्भुत पात्र यो महाआख्यानको उपलब्धि हो । यादव वंशकै तर कंसबाट पीडित व्यक्ति हो छन्दक । कृष्णलाई ‘कृष्ण’ बन्नमा छन्दकको भूमिकालाई महत्त्व दिन लेखकले छन्दकलाई कृष्णकै छायासमेत भनिदिएका छन् । सूचनाहरू सङ्कलन गर्ने र परिस्थितिलाई सम्यक् विश्लेषण गर्ने असाधारण क्षमता छ छन्दकमा ।
नरकासुरको कैदबाट मुक्त युवतीहरूलाई कृष्णका भाव–पत्नीको संज्ञा दिएका छन् लेखकले । यीमध्ये केही मात्र द्वारका पुगे । कृष्णलाई मुक्तिदाता र भगवान्को रूपमा प्रचार–प्रसार गर्नमा यिनको ठूलो योगदान छ । यिनीहरूले भारत वर्षमा जताततै पुगेर कृष्णको यशोगान र भक्तिलाई अभिवृद्धि गरेका छन् । कृष्णकी रानीको रूपमा रुक्मिणी, जाम्बवती, सत्यभामा र मित्रवन्दा चार जनालाई मात्र प्रस्तुत गरिएको छ । यीमध्ये मित्रवन्दासँगको विवाहलाई भने पुस्तकमा चर्चा गरिएको छैन । अन्यत्र पत्नीकै रूपमा प्रस्तुत गरिएका त्रिवक्रा र शैव्यालाई यहाँ त्यो स्थान दिइएको छैन । त्रिवक्रालाई राधाजस्तै एक असामान्य प्रेमिकाको रूपमा प्रस्तुत गरिएको छ । शृंगलवकी बहिनी (अन्यत्र भतिजी पनि मानिएको) शैव्यालाई कृष्णले बहिनीकै दर्जा दिएका छन् । त्यस्तै आफ्ना अन्य भाइहरूसँग विमति राख्ने धृतराष्ट्र पुत्र विकर्णलाई विभिन्न प्रसङ्गमा सूचनाको स्रोतको रूपमा उपयोग गरिएको छ ।
बलरामको मदिरा प्रेम र लम्पट चरित्रको किस्सा रमाइलो ढङ्गबाट प्रस्तुत गरिएका छन् । यद्यपि बलरामले विवाहचाहिँ रेवतीसँग मात्र गरे । कृष्ण र बलरामको चारित्रिक भिन्नता प्रस्तुत कृतिमा सर्वत्र देखिन्छ । बलरामलाई राजनीतिसँग लगाव छैन । कृष्णको निर्णयमा असहमति भए पनि बलराम कहिल्यै मत बझाउँदैनन् । हस्तिनापुरको उत्तराधिकारी विवादमा कृष्णको संलग्नता बलरामलाई चित्त बुझेको छैन । बलरामको सहानुभूतिचाहिँ दुर्योधनप्रति छ ।
प्रस्तुत कृतिको अनुपम उपलब्धि भनेको संवाद हो । महाभारत, पुराणका घटनासँग परिचित पाठकलाई पनि संवादको नवीनताले प्रभावित पार्दछ । कुनै घटनालाई लेखकले कसरी प्रस्तुत गरेका होलान् भन्ने जिज्ञासाले पाठकलाई लखेटिरहन्छ । यदाकदा संवादहरूमा शृङ्गारिक झलक पनि देखा पर्दछ । खास गरी कृष्ण र अर्जुनको संवाद तथा कृष्ण र सात्यकी संवादमा शृंगारिक भाव फेला पर्छ । कृष्ण र राधाको सम्बन्धलाई समागमसम्मको उत्कर्षमा पुर्‍याएका छन् लेखकले । राधा विवाहिता स्त्री भएकै कारण कृष्ण राधाबाट पर हट्न विवश भएको अनुमान गर्न पाठक बाध्य हुन्छ । 
कृष्णको चरित्र दुस्साहसी प्रकृतिको देखिन्छ । सानै उमेरमा कालीय नागलाई नियन्त्रण गर्न यमुनामा हाम फाल्छन् कृष्ण । द्रौपदी स्वयंवरको समयमा जरासन्धको क्याम्पमा एक्लै प्रवेश गर्छन् कृष्ण । कालयवन सेना लिएर आउँदै छ भन्ने थाहा पाएपछि एक्लै उसलाई भेट्न पुग्छन् कृष्ण । द्वारकामा आक्रमण गरेर हायलकायल पार्ने शाल्वको राजधानीमा केही मित्रहरूको साथबिना सेना प्रवेश गर्छन् कृष्ण । सत्राजितसँग चरम द्वन्द्व भएको अवस्थामा पनि सत्राजितको राज्यमा बास बस्न मात्र पुग्दैनन्, उसको शयनकक्षमै पुग्छन् कृष्ण । प्रौढ उमेरकी मायावतीको प्रेममा डुबेको छोरा प्रद्युम्नलाई समर्थन गर्छन् कृष्ण । बहिनी सुभद्रालाई अर्जुनद्वारा भगाउने चाँजोपाँजो मिलाउँछन् कृष्ण । दुर्योधनका समर्थक कर्णप्रति असाधारण सहानुभूति र सम्मान छ कृष्णको । यस्ता धेरै प्रसङ्गहरू छन् जसले कृष्णको लौकिक व्यक्तित्वलाई असाधारणीकृत बनाउन मदत गरेका छन् ।

विवेचना
आत्मपरक शैलीमा लेखिएकाले प्रस्तुत कृतिमा कृष्णले प्रत्यक्ष देखे भोगेका घटनाहरू मात्र प्रस्तुत हुनु स्वाभाविक हो । जुन घटनामा कृष्ण आफैं उपस्थित थिएनन्, सुनेका भरमा उनको भूमिकालाई आवश्यक पर्ने ठहरिएको अंश मात्र उल्लेख गरिएको बुझिन्छ । कृष्णले आफ्नो शैशवास्थाको वर्णन ऋषि गर्गबाट सुनेको आधारमा गरेका छन् । त्यसो हुँदा बलरामको जन्मबारे उल्लेख नहुनुलाई स्वाभाविक मान्न सकिन्छ । तर पछिल्लो कालसम्म पनि बलरामकी माता रोहिणीको खासै उल्लेख नहुनु अनौठो लाग्छ । रोहिणीलाई किन द्वारकामा उपस्थित गराइएन भन्ने प्रश्न अनुत्तरित छ ।
प्रद्युम्न जन्मबारे कृष्णलाई सात्यकीले हस्तिनापुरमै बताएको थियो । द्रौपदी स्वयंवरभन्दा अगाडिको कुरा हो यो (भाग ४, पृ. ४६) । तर खाण्डववन दाहपछि द्वारका पुगेका कृष्ण प्रद्युम्नलाई देखेर आश्चर्य मान्छन् र सोध्छन्, यो कसको बच्चा भनेर (भाग ६, पृ. ३४) । कौमोदकी गदाको प्रसङ्ग पनि दुई ठाउँमा आएको छ । कृष्णले द्वारका छोड्ने बेलामा आफ्नो कौमोदकी गदा रथमा राखिदिन रुक्मिणीलाई भनेका थिए (भाग ४, पृ. २६४) । खाण्डववन दाहको अवसरमा पनि अग्निले अपराजेय कौमोदकी गदा कृष्णलाई दिएको प्रसङ्ग आएको छ, जुन बलरामले लिए (भाग ५, पृ. २९२) । कौमोदकी गदा पनि दुइटा थिए, जसरी दुइटा सुदर्शन चक्रको अस्तित्व बताइएको छ ?
द्वारकाको निर्माण गर्न कृष्णले दैत्य भएकाले मयलाई नदिएर विश्वकर्मालाई दिएका थिए । तर इन्द्रप्रस्थको निर्माण गर्ने जिम्मा मयलाई दिए । मयका अनुसार द्वारकाको निर्माण उसकै बन्धु बान्धवहरूले नै गरेका हुन् (भाग ५, पृ. ३०६) । मय र विश्वकर्माबीच कस्तो सम्बन्ध हो, पाठक अलमल पर्छ । पात्रहरूको उमेरलाई उचित हिसाब मिलान नगरेको देखिन्छ । लाक्षागृह काण्डको समयमा प्रपितामही सत्यवतीलाई सत्तरी वर्षको आसपासको अनुमान गरिएको छ (भाग ४, पृ. ७२) । जबकि कौरव र पाण्डव सत्यवतीका पनाति हुन् । उनीहरूलाई बीस वर्षभन्दा कम उमेरको मान्न गाह्रो छ । प्रद्युम्न मायावतीको प्रेममा पर्दा बीस वर्षको बताइएको छ (खण्ड ७, पृ. ९३) । जबकि राजसूय यज्ञको समयमा प्रद्युम्न (पुत्र अनिरुद्ध विभिन्न काममा सक्रिय भइसकेको देखिन्छ (खण्ड ६, पृ. २९३) ।
यो आख्यान हो । पात्र र घटनाहरू क्रमश: खुल्दै जानु यसको कलात्मक धर्म हो । तर लेखक यो पाटोमा पटक–पटक चुकेका छन् । पाठक कथासँग पूर्वजानकार रहेको अपेक्षा गर्छन् लेखक । उदाहरणको लागि सत्राजितको नाम पहिलोपटक आउँदा यिनलाई ‘सत्यभामाको पिता’ भनेर चिनाइएको छ (भाग ३, पृ. १८०) । जबकि सत्यभामाको प्रसङ्ग धेरै पछि आउँछ । त्यस्तै, द्रौपदी स्वयंवरपछि द्रौपदीलाई अर्जुनको साथ पठाउन लाग्दा कृष्णले औपचारिक बिदाइ पछि हुन्छ, अहिले ‘सासू’ सँग आशीर्वाद लिन मात्र जान लागेको बताएका थिए । ब्राह्मण भेषधारी अर्जुनको बारेमा पूर्ण जानकार रहेको कुरा कसरी कृष्णको मुखबाट फुत्क्यो ? चेदी नरेश दमघोषकहाँ वसुदेवसँग जाँदा कृष्णलाई वसुदेवकै पुत्रको रूपमा चिनिएको थियो । जबकि त्यो बखत कृष्णको गोप्यता कायम रहेको तर्फ ध्यान दिनुपथ्र्यो । 
लेखकले परम्परागत कथामा पनि ठाउँ ठाउँमा फेरबदल गरेका छन् । पाण्डवहरूको जन्म पाण्डु वनवास जानुअघि हस्तिनापुरमै भएको सङ्केत पाइन्छ । युद्ध समाप्तिपछि युधिष्ठिरले पिता पाण्डुले वन जानुअघि आफूहरूलाई धृतराष्ट्रको जिम्मामा छोडेको कुरा सम्झेका छन् (भाग ८, पृ. २२६) । भागवत पुराणमा कंस वधको समय कृष्णको उमेर एघार वर्ष बताइएको छ । प्रस्तुत ग्रन्थमा कृष्णको उमेर पन्ध्र वर्षको वरिपरिको बताइएको छ । यस्ता फेरबदलहरू अरू पनि छन् ।
आत्मकथा भएकाले कृष्णको तर्फबाट केही स्पष्टीकरणको अपेक्षा हुन्छ । जस्तो कि आफ्नो बदला नन्द–यसोदाका पुत्रीलाई कंसकहाँ बुझाउँदाको घटनालाई स्पष्टीकरण हुनु पथ्र्यो । कृतिमा श्रीमद्भागवद् गीताका प्रसङ्गहरू छन् । गीतामा अभिव्यक्त धारणाहरूलाई अव्यक्त रूपमा घुलाइएको बोध हुन्छ कथा वर्णनमा । कृष्णको विचारलाई थप मूर्तरूप दिने ठानिएको अनुगीता र उद्धवगीताको पनि उल्लेख अपेक्षित थियो । मिथहरूलाई विमिथकीकरण गर्न र तर्कपूर्ण ढङ्गबाट निकास दिन खोज्दाखोज्दै पनि कतिपय प्रसङ्गहरूलाई जस्ताको तस्तै स्विकारिएको छ । उदाहरणका लागि शिखण्डीलाई स्थाणुकर्ण नामको गन्धर्वले शल्यक्रिया गरेर पुरुष बनाइदिएको प्रसङ्ग एकातिर छ भने, द्रौपदी र धृष्टद्युम्नलाई यज्ञकुण्डबाट जन्मेको मिथकलाई जस्ताको तस्तै अपनाइएको छ ।

निष्कर्ष
प्रस्तुत महाआख्यान हिन्दी साहित्यको असाधारण उपलब्धि हो । पौराणिक साहित्यलाई समकालीन दृष्टिबाट पुनर्लेखन गर्दाका समस्या र समाधानका लागि यो ग्रन्थ सहयोगी हुने निश्चित छ । पौराणिक विषयवस्तुमा कलम चलाउन चाहनेले यो संग्रहबाट राम्रो शिक्षा लिन सक्छ । कृष्णको जीवनीलाई रोमाञ्चक शैलीमा पढ्न चाहनेका लागि पनि सुहाउँदो पाठ्यसामग्री हो यो । उपर्युल्लेखित र अन्य केही कमीकमजोरीले पुस्तकको पर्याप्त सम्पादन नभएको तर्फ सङ्केत गर्छन् । यद्यपि यति बृहत् ग्रन्थमा केही समस्या देखिनुलाई असामान्य मान्नचाहिँ मिल्दैन ।

प्रकाशित : श्रावण २८, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?