भेडाको नाइके

फिल्म
लामो समयदेखि तकसरा क्षेत्रका जनताहरू भेडाका बथानसँगै आफ्नो सुख, दु:ख बोकी हिँडिरहेका छन् ।
बिना थिङ

सोच्नुस त– भर्खरै तपाईँको मार्गनिर्देशक कहिल्यै नआउने बाटो भएर गएको छ र तपाई आफ्नो गन्तव्यमा पुग्ने नक्साबारे अनविज्ञ हुनुहुन्छ । अब तपाईंको मनोदशा कस्तो होला ? तपाईंको अन्योल, छटपटी, यसले निम्त्याउने जोखिमहरू र बचाउका लागि गर्नुपर्ने संर्घषको मैदान कति भयानक होला ?

आफूसँग जोडिएका तमाम सम्बन्धहरूमा परिजाने भवितव्यको तपाईं सोझो आकलन गर्न सक्नुहुनेछ र त्यो कतिसम्म पीडादायी ? हो, यस्तै मनोदशा, घटनाक्रमलाई विम्बात्मक रूपमा निर्देशक अनिल बुढामगरले उजागर गर्ने प्रयत्न गरेका छन् चलचित्र ‘लोम्बा’ मा । 

गत असारमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्वस २०७४ सम्पन्न भयो । महोत्सवमा तामाङ, मगर, राई, गुरुङलगायत अठार भाषामा निर्मित चलचित्र प्रदर्शन गरिए । तीमध्ये चर्चा बटुल्न सफल एउटा फिल्म हो ‘लोम्बा’ । अगस्ट २५ मा अमेरिकाको न्युयोर्कमा हुन गइरहेको ‘नेपाली आदिवासी चलचित्र महोत्सव २०१७’ मा समेत छनोटमा परेको छ यो फिल्म । 
तामाङ भाषामा लोम्बाको अर्थ हुन्छ बोल्न नसक्ने । तर त्यसैको प्रयोग मगर भाषामा भने फरक पाइन्छ । मगर भाषामा लोम्बाको अर्थ हुन्छ नाइके अथवा नेतृत्वकर्ता । घर, परिवार, समाज, राज्यलाई नेतृत्व गर्ने एक परिपक्क नेताको अवसान अथवा पलायनले पक्कै संकट ल्याउँछ । संकट त्यतिबेलासम्म रहन्छ जतिबेलासम्म अर्को त्यस्तै परिपक्क नेतृत्वकर्ता तयार हँुदैन । यस्तै नेतृत्व वर्षौंदेखि रुकुम तकसरा क्षेत्रका हजारौं भेडालाई गरिरहेका छन्, लोम्बा भेडाहरूले । जब तिनै लोम्बाको मृत्यु हुन्छ तब हजारौं भेडाहरू छरपस्ट हुने, दिग्भ्रमित हुने, हराउनेलगायतका संकट बाँकी भेडाहरूमा आउँछ । समस्या यतिमै मात्र सीमित रहँदैन । यही कारण त्यहाँका मानिसहरूमा आउने सामाजिक, मानिसिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायतका संकटहरूको एउटा फेहरिस्त देख्न पाइन्छ ‘लोम्बा’ मा । 
लामो समयदेखि तकसरा क्षेत्रका जनताहरू भेडाका बथानसँगै आफ्नो सुख, दु:ख बोकी हिँडिरहेका छन् । जब ती जनता हजारौं भेडाहरूको चरनको निमित्त माथि लेक छिचोलेर नाम्पो (चरण क्षेत्र) मा पुग्न हतारिन्छन् तब सुरु हुन्छ ‘लोम्बा’ फिल्म । 
फिल्मका मुख्य चरित्र मुखिया (मुख्य गोठालो) आफ्नो लोम्बा भेडा हिउँको सागरमा हराएपछि त्यसको खोजीमा निस्कन्छन् । तर छिटै नै उनको त्यो खोजीको समाप्ति हुन्छ जब उनले लोम्बालाई मरणासन्न अवस्थामा हिउँको जंगलमा भेट्छन् । यही लोम्बाको समाप्तिसँगै फिल्म सुरु हुन्छ । लोम्बा भेडा त्यस्तो नायक हो जसले अरू हजारौं भेडालाई आफ्नो पछिपछि लिएर खर्कसम्म पुग्ने ताकत राख्दछ । 
लोम्बाको मृत्युपछि आधा बाटो पुगिसकेका भेडाहरू तितरबितर हुने अवस्थामा पुग्दछन् । बाटो बीचैमा अर्को लोम्बा तयार गर्नु भनेको सम्भव काम होइन । जबसम्म आफ्नो लोम्बा तयार हुँदैन तबसम्म मुखिया भान्जाको भेडी बथानसँगै आफ्ना भेडाहरू मिसाएर लाने निर्णय गर्दछ । समस्या यहाँ निवारण हुनुपर्ने हो परन्तु मुखिया रूखबाट खसेर भाँचिएको खुट्टासँगै अलपत्र पर्छन् । यस्तोमा मैत्या (गोठालो) को सिफारिसमा मुखियाले सहरबाट आफ्नो छोरो कालेलाई झिकाउँछ । 
यो फिल्मको ‘टर्निङ प्वाइन्ट’ हो । कालेले त्यस्तो पात्रको प्रतिनिधित्व गर्दछ जो समकालीन नेपाली समाजका अभिभावकले महत्त्वाकांक्षी सोच राखेर सयौं दु:ख खेपेर सहरमा पढ्न पठाइएको सन्तान हुन्छ । आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउने आसमा भेडी बथानसँगै सूर्योदय र सूर्यास्त हेर्न अभिशप्त ती हजारौं अभिभावकको रहर तुहिएको प्रतीकात्मक पात्र हो काले । 
नाम्पोमा पुगेपछि भने हिउँको जंगलमा न्यानो कपडा उपलब्ध गराउन घरका महिलाहरू गोठमा जाने, ऊन काट्ने, बर्को बुन्ने, रातरातभर जागै रहेर परिवारप्रतिको प्रेमाभाव उजागार गर्ने यो सांस्कृतिक चलनलाई फिल्ममा सजीव ढङ्गबाट प्रस्तुत गरिएको छ । 
काले आइपुगेपछि मुखिया आफ्नो पुख्र्याैली खुकुरी हस्तान्तरण गरेर बेसीं झर्छन् । यहाँ खुकुरी शक्ति र जिम्मेवारीको विम्बात्मक प्रयोग हो । केही दिनलाई कालेकी आमा कालेसँग बस्छिन् तर हलसारा पूजाका लागि आमा पनि बेंसी झर्नुपर्ने हुन्छ । सहरको भीड छिचोल्न अभ्यस्त कालेलाई हिउँको बाटो छिचोल्न कठिन हुन्छ । यसरी अवरोधहरूको सिलसिला उँभो चढिरहन्छ र त्यसको समाधानार्थ गरिने गतिविधिहरूले फिल्मलाई गति दिन्छ । हलसारा पूजाको निम्ति काले पनि आमासँगै बेंसी झर्नु, वीरुमायालाई भगाउनु, वीरुमायाको परिवारले कालेको सगुन नखानु, लेकबाट मैत्या गोठालो भागेको झूटो खबर ल्याइपुर्‍याउनु, काले परिवार छाडेर पुन: लेक उक्लनुले फिल्मको गति बढाएको छ । 
अन्तमा भेडी बथान बेंसी झार्ने समयमा बाटो पहिल्याउन निस्केको काले बाटो बिराएर हिउँको भुमरीमा फस्छ र उसको मृत्यु त्यहीँ हुन्छ । फिल्म वियोगान्त छ यद्यपि निर्देशक तथा स्क्रिप्ट लेखक बुढामगरले फिल्मको अन्त्यमा मुखियाको आँखाबाट लालीगुराँस र सुन्दर फाँटहरूको विम्ब देखाएर अझै जीवन बाँकी छ, आस बाँकी छ, गर्नुपर्ने काम धेरै बाँकी छन् भन्ने सन्देश प्रवाहित गरेका छन् । 
स्थानीय कलाकारहरूले अभिनय गरेको यस फिल्मको परिवेश, दृश्य छायांकनको सवालमा भने निर्देशकले सम्झौता गरेको देखिन्छ । अरू भेडाबाट अर्को लोम्बा निर्माणको संघर्ष अरू जोड्न सकेको भए अझ सशक्त हुन्थ्यो भन्ने लागिरहन्छ । 
नेपाली र अंग्रेजी सबटाइटल राखिएको फिल्मले मगर समुदायको शैक्षिक, सामाजिक, आर्थिक हैसियतप्रति प्रश्नहरूको चाङ थपेर तिनीहरूको सांस्कृतिक पक्षहरूलाई उजागार गरेको छ । जसले मगर पहिचान किनारीकृत हुनुबाट केही हदसम्म जोगाएको छ । यसले मातृभाषा र पहिचानको मर्मविपरीत गएर फिल्म बनाउने होडलाई ‘ब्रेक’ गरेको छ जसले व्यावसायिकभन्दा पनि मानवीय संवेदनाको पक्षमा बढी वकालत गर्दछ । 

Yamaha

प्रकाशित : श्रावण २८, २०७४ १०:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT