भेडाको नाइके

फिल्म
लामो समयदेखि तकसरा क्षेत्रका जनताहरू भेडाका बथानसँगै आफ्नो सुख, दु:ख बोकी हिँडिरहेका छन् ।
बिना थिङ

सोच्नुस त– भर्खरै तपाईँको मार्गनिर्देशक कहिल्यै नआउने बाटो भएर गएको छ र तपाई आफ्नो गन्तव्यमा पुग्ने नक्साबारे अनविज्ञ हुनुहुन्छ । अब तपाईंको मनोदशा कस्तो होला ? तपाईंको अन्योल, छटपटी, यसले निम्त्याउने जोखिमहरू र बचाउका लागि गर्नुपर्ने संर्घषको मैदान कति भयानक होला ?

आफूसँग जोडिएका तमाम सम्बन्धहरूमा परिजाने भवितव्यको तपाईं सोझो आकलन गर्न सक्नुहुनेछ र त्यो कतिसम्म पीडादायी ? हो, यस्तै मनोदशा, घटनाक्रमलाई विम्बात्मक रूपमा निर्देशक अनिल बुढामगरले उजागर गर्ने प्रयत्न गरेका छन् चलचित्र ‘लोम्बा’ मा । 

गत असारमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्वस २०७४ सम्पन्न भयो । महोत्सवमा तामाङ, मगर, राई, गुरुङलगायत अठार भाषामा निर्मित चलचित्र प्रदर्शन गरिए । तीमध्ये चर्चा बटुल्न सफल एउटा फिल्म हो ‘लोम्बा’ । अगस्ट २५ मा अमेरिकाको न्युयोर्कमा हुन गइरहेको ‘नेपाली आदिवासी चलचित्र महोत्सव २०१७’ मा समेत छनोटमा परेको छ यो फिल्म । 
तामाङ भाषामा लोम्बाको अर्थ हुन्छ बोल्न नसक्ने । तर त्यसैको प्रयोग मगर भाषामा भने फरक पाइन्छ । मगर भाषामा लोम्बाको अर्थ हुन्छ नाइके अथवा नेतृत्वकर्ता । घर, परिवार, समाज, राज्यलाई नेतृत्व गर्ने एक परिपक्क नेताको अवसान अथवा पलायनले पक्कै संकट ल्याउँछ । संकट त्यतिबेलासम्म रहन्छ जतिबेलासम्म अर्को त्यस्तै परिपक्क नेतृत्वकर्ता तयार हँुदैन । यस्तै नेतृत्व वर्षौंदेखि रुकुम तकसरा क्षेत्रका हजारौं भेडालाई गरिरहेका छन्, लोम्बा भेडाहरूले । जब तिनै लोम्बाको मृत्यु हुन्छ तब हजारौं भेडाहरू छरपस्ट हुने, दिग्भ्रमित हुने, हराउनेलगायतका संकट बाँकी भेडाहरूमा आउँछ । समस्या यतिमै मात्र सीमित रहँदैन । यही कारण त्यहाँका मानिसहरूमा आउने सामाजिक, मानिसिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायतका संकटहरूको एउटा फेहरिस्त देख्न पाइन्छ ‘लोम्बा’ मा । 
लामो समयदेखि तकसरा क्षेत्रका जनताहरू भेडाका बथानसँगै आफ्नो सुख, दु:ख बोकी हिँडिरहेका छन् । जब ती जनता हजारौं भेडाहरूको चरनको निमित्त माथि लेक छिचोलेर नाम्पो (चरण क्षेत्र) मा पुग्न हतारिन्छन् तब सुरु हुन्छ ‘लोम्बा’ फिल्म । 
फिल्मका मुख्य चरित्र मुखिया (मुख्य गोठालो) आफ्नो लोम्बा भेडा हिउँको सागरमा हराएपछि त्यसको खोजीमा निस्कन्छन् । तर छिटै नै उनको त्यो खोजीको समाप्ति हुन्छ जब उनले लोम्बालाई मरणासन्न अवस्थामा हिउँको जंगलमा भेट्छन् । यही लोम्बाको समाप्तिसँगै फिल्म सुरु हुन्छ । लोम्बा भेडा त्यस्तो नायक हो जसले अरू हजारौं भेडालाई आफ्नो पछिपछि लिएर खर्कसम्म पुग्ने ताकत राख्दछ । 
लोम्बाको मृत्युपछि आधा बाटो पुगिसकेका भेडाहरू तितरबितर हुने अवस्थामा पुग्दछन् । बाटो बीचैमा अर्को लोम्बा तयार गर्नु भनेको सम्भव काम होइन । जबसम्म आफ्नो लोम्बा तयार हुँदैन तबसम्म मुखिया भान्जाको भेडी बथानसँगै आफ्ना भेडाहरू मिसाएर लाने निर्णय गर्दछ । समस्या यहाँ निवारण हुनुपर्ने हो परन्तु मुखिया रूखबाट खसेर भाँचिएको खुट्टासँगै अलपत्र पर्छन् । यस्तोमा मैत्या (गोठालो) को सिफारिसमा मुखियाले सहरबाट आफ्नो छोरो कालेलाई झिकाउँछ । 
यो फिल्मको ‘टर्निङ प्वाइन्ट’ हो । कालेले त्यस्तो पात्रको प्रतिनिधित्व गर्दछ जो समकालीन नेपाली समाजका अभिभावकले महत्त्वाकांक्षी सोच राखेर सयौं दु:ख खेपेर सहरमा पढ्न पठाइएको सन्तान हुन्छ । आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउने आसमा भेडी बथानसँगै सूर्योदय र सूर्यास्त हेर्न अभिशप्त ती हजारौं अभिभावकको रहर तुहिएको प्रतीकात्मक पात्र हो काले । 
नाम्पोमा पुगेपछि भने हिउँको जंगलमा न्यानो कपडा उपलब्ध गराउन घरका महिलाहरू गोठमा जाने, ऊन काट्ने, बर्को बुन्ने, रातरातभर जागै रहेर परिवारप्रतिको प्रेमाभाव उजागार गर्ने यो सांस्कृतिक चलनलाई फिल्ममा सजीव ढङ्गबाट प्रस्तुत गरिएको छ । 
काले आइपुगेपछि मुखिया आफ्नो पुख्र्याैली खुकुरी हस्तान्तरण गरेर बेसीं झर्छन् । यहाँ खुकुरी शक्ति र जिम्मेवारीको विम्बात्मक प्रयोग हो । केही दिनलाई कालेकी आमा कालेसँग बस्छिन् तर हलसारा पूजाका लागि आमा पनि बेंसी झर्नुपर्ने हुन्छ । सहरको भीड छिचोल्न अभ्यस्त कालेलाई हिउँको बाटो छिचोल्न कठिन हुन्छ । यसरी अवरोधहरूको सिलसिला उँभो चढिरहन्छ र त्यसको समाधानार्थ गरिने गतिविधिहरूले फिल्मलाई गति दिन्छ । हलसारा पूजाको निम्ति काले पनि आमासँगै बेंसी झर्नु, वीरुमायालाई भगाउनु, वीरुमायाको परिवारले कालेको सगुन नखानु, लेकबाट मैत्या गोठालो भागेको झूटो खबर ल्याइपुर्‍याउनु, काले परिवार छाडेर पुन: लेक उक्लनुले फिल्मको गति बढाएको छ । 
अन्तमा भेडी बथान बेंसी झार्ने समयमा बाटो पहिल्याउन निस्केको काले बाटो बिराएर हिउँको भुमरीमा फस्छ र उसको मृत्यु त्यहीँ हुन्छ । फिल्म वियोगान्त छ यद्यपि निर्देशक तथा स्क्रिप्ट लेखक बुढामगरले फिल्मको अन्त्यमा मुखियाको आँखाबाट लालीगुराँस र सुन्दर फाँटहरूको विम्ब देखाएर अझै जीवन बाँकी छ, आस बाँकी छ, गर्नुपर्ने काम धेरै बाँकी छन् भन्ने सन्देश प्रवाहित गरेका छन् । 
स्थानीय कलाकारहरूले अभिनय गरेको यस फिल्मको परिवेश, दृश्य छायांकनको सवालमा भने निर्देशकले सम्झौता गरेको देखिन्छ । अरू भेडाबाट अर्को लोम्बा निर्माणको संघर्ष अरू जोड्न सकेको भए अझ सशक्त हुन्थ्यो भन्ने लागिरहन्छ । 
नेपाली र अंग्रेजी सबटाइटल राखिएको फिल्मले मगर समुदायको शैक्षिक, सामाजिक, आर्थिक हैसियतप्रति प्रश्नहरूको चाङ थपेर तिनीहरूको सांस्कृतिक पक्षहरूलाई उजागार गरेको छ । जसले मगर पहिचान किनारीकृत हुनुबाट केही हदसम्म जोगाएको छ । यसले मातृभाषा र पहिचानको मर्मविपरीत गएर फिल्म बनाउने होडलाई ‘ब्रेक’ गरेको छ जसले व्यावसायिकभन्दा पनि मानवीय संवेदनाको पक्षमा बढी वकालत गर्दछ । 

Yamaha

प्रकाशित : श्रावण २८, २०७४ १०:१६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किशोरीको बयान

बिना थिङ

एक अपराह्न म विद्यालय हाताभित्र थिएँ । कसैले मेरो हातमा एउटा पत्र पारिदियो । कार्यालय कक्षमा पुगें । पत्र उघारें । पढ्न थालें । पत्रमा गज्याङमज्याङ देखिने अक्षरहरूको शाब्दिक गुजुल्टो थियो । तर तिनै गज्याङमज्याङ शब्दहरूले एउटा समस्या स्पष्ट रूपमा बताएको थियो :

उमेरको लम्बाइ तनक्क तन्किएर तेह्रमा पुग्यो । नाम पूजा (परिवर्तित) तामाङ । किशोरीस्वरूप विकसित छन् शरीरमा । तर हृदयमा कुनै चञ्चलता छैन । मानौं ती रुष्ट छन् । त्यसैले खुसी बेपत्ता छ उनको जीवनबाट । एक्लो–एक्लो, उदास–उदास रहनु उनको नियति बनेको छ । आमा उनी सानै छँदा मरेकी । बाबु ज्यामी काम गर्छन्, त्यसैले अत्यधिक समय कामको सिलसिलामा बाहिरै बित्छ । बाबु, छोरीका लागि खाना बनाउनु, कपडा धुनु, स्कुल जानु, भएका एक–दुई बाख्रा स्याहार्नु पूजाको दैनिकी हो । यसबाहेक खेल्नु, हँसीमजाक गर्नु, साथीसंगीसँग घुलमिल हुनु, पढाइमा ध्यान दिनुजस्ता यावत् कुराहरूमा उनको रुचि पटक्कै छैन र यस्तो हुन थालेको करिब डेढ वर्ष हुन लाग्यो ।
डेढ वर्षदेखि नै छिमेकमा दुर्योधन (परिवर्तित) अंकल बस्न थालेको छ । दुर्योधनको एक श्रीमती र एक छोरा, एक छोरी छन् । उमेर पूजाको बाबुको हाराहारीका होलान् उनी । साथी बनेका छन् पूजाको बाबु र दुर्योधन । त्यसैले दुर्योधनलाई पूजाको घरमा ओहोरदोहोर गर्न कुनै अवरोध छैन । र अवरोध छैन पूजाको बाबुको अनुपस्थितिमा पूजाको शरीर गिजोल्न । मेरो छोरीजस्तै लाग्छे पूजा भन्दै माया जताउने दुर्योधन अंकलको हातहरू संवेदनशील अंगमा सल्बलाउन्जेल पूजा लाज र रिसले रातो–पिरो हुन्छिन् । प्रतिकार गर्न भने सक्दिनन् । चुप लागेर हल्का शरीर दोबारेर सीमित हुनुबाहेक अरू केही गर्न सक्दिनन् । दुर्योधन साँझ–बिहानको मौका पारेर हप्तामा दुई–चारपटक भान्छामै पुग्छन् र मनोमानी गरेर फिर्छन् । पूजालाई दुर्योधन देख्दा घीन लाग्छ । रिस उठ्छ । तर यसबारे न बाबुलाई भन्न सक्छे न साथीभाइलाई न त विद्यालयमा कुनै शिक्षकलाई ।

यो पत्र पाउनुअघि मैले केही विद्यार्थीसँग मनोविमर्श गरेकी थिएँ । समस्या थुप्रैसँग थिए । त्यसमध्ये एउटा ‘केस’ यहाँ उल्लेख गर्नु सान्दर्भिक लाग्यो । उनको नाम सविना (परिवर्तित) हो । उनलाई न्यौपाने दम्पतीले धर्मपुत्रीको रूपमा स्विकारेको चौध वर्ष पुगिसकेको छ । आर्थिक रूपले सम्पन्न ती दम्पतीको तीन जना छोराहरू मात्रै भएको र छोरीको अभाव पूर्तिका लागि सविनालाई अपनाएका हुन् । छोराहरू यतिखेर लक्का जवान भइसके । घरमा सबैले सविनालाई माया गर्छन् । हाई सुख छ सविनालाई त्यहाँ । कुनै अभाव हुन दिएका छैनन् । त्यसरी आफूलाई धर्मपुत्री राखिएको बारे सविना आजपर्यन्त अनविज्ञ छिन् । उनका माइला दाजु अठार वर्षको भइसके । यिनै माइला दाजु गृहकार्य सिकाउनेदेखि लिएर सविनाको अनुशासनबारे चिन्तित छन् । यिनले सविना स्कुलबाट समयमै आए–नआएकोदेखि उनको साथीसर्कलसम्मै हेक्का राख्छन् । प्राय: ऊ सविनाको कोठामै हुन्छे । बहिनी ठूली भइसकेको र उसको खराब संगत रहला भनेर ख्याल राखेकोमा आमाबाबु माइला छोराप्रति ढुक्क छन् । तर वास्तवमा बाहिर जे देखिन्थ्यो त्यो भित्र थिएन । लामो समयदखि आफू यिनै माइला दाजुबाट यौन हिंसामा परिरहेकी छु भन्ने कुरा सविनाले कसैलाई भन्न सकेकी छैनन् । दाजु भित्र कोठा पसेपछि उनको स्तन समाउने, गालामा चुम्बन गर्नेदेखि आज फलानोसँग किन हिँडिस् भनेर ताडना दिने गर्छन् । उनको दाजुले आफूले गरेको हर्कतबारे कसैलाई बताए मारिदिने धम्की पटक–पटक दिन्छन् । त्रसित छिन् सविना । एकपटक यसबारे आमालाई जानकारी गराउन खोज्दा आमाले ‘पाप सोच्छेस् दाजुलाई’ भनेर उल्टै हप्काएपछि उनको ओठ बन्द छ । अचेल उनको पढाइमा ध्यान कम जाने, कक्षामा प्राय: घोप्टो परिरहने, अतिरिक्त क्रियाकलापमा मन नराख्ने, एकदम हतास–हतास देखिने र कमभन्दा कम बोल्नेजस्ता लक्षणहरू देखा परेका छन् । यसले उनको भविष्य अन्योल रहेको स्पष्ट संकेत गरिरहेको छ ।

अर्को एउटा घटना
काठमाडौंकै एक विद्यालयमा पढिरहेका एकाघरका ३ बालिका जो क्रमश: ५, ७ र ९ वर्षका छन्, ती केही समयदेखि गन्हाउन थाले । किन गन्हाए भनेर शिक्षकहरूले खोजी गर्दा जुन रहोस्यद्घाटन भयो, त्यो हृदयविदारक थियो । ती तीनै जना आफ्नै बाबुबाट बलात्कार हुँदै आएका रहेछन् । अन्तत: लगातार तीनवटी छोरी जन्माएपछि आमामा आङ खस्ने समस्या देखिएकाले त्यो नरपिपासुले आफ्नै रगतसँग शारीरिक सम्पर्क राखेर यौन सन्तुष्टि लिने गरेको बयान सामुन्ने आयो । योभन्दा घृणित कार्य अरू के हुन सक्ला ? कसमाथि विश्वास गर्ने ?
उल्लिखित प्रतिनिधि घटना राजधानी काठमाडौंको हो । जहाँका जनता गाउँका भन्दा सचेत र सुविधासम्पन्न छन् । अधिकांशले हात–हातमा मोबाइल बोकेका छन् । सूचना र पहुँचको हकमा अन्यत्रका भन्दा यहाँका जनता अगाडि छन् । देशमा सरकार छ, कानुुन छ । चोक–चोकमा प्रहरी बिट छन् । बालबालिकाको अधिकारका लागि विभिन्न संघसंस्था खुलेका छन् । तर किशोरीहरू यौन हिंसाको सिकार भइरहेका छन् र अधिकांश सिकारी टाढाका नभई चिनेजानेका, नजिकका आफन्तहरू हुन्छन् । जसलाई अभिभावकहरूले आँखा चिम्लेर विश्वास गरिराखेका हुन्छन् । उनीहरूको भित्री हर्कतबारे कुनै कोणबाट पनि शंका गर्न सक्दैनन् । यसले गर्दा ती अपराधीहरूको मनोबल अझ बढेर गएको छ ।

तिनीहरूको मनोबल बढ्नुको अर्को महत्त्वपूर्ण कारण भनेको पीडित किशोरीहरू आफूलाई परेको मर्काको बारेमा कसैलाई भन्नै सक्दैनन् । उनीहरूमा एक किसिमको लज्जाबोध हुनुको साथै ग्लानि अनुभव हुन्छ । आफ्नै कारण यस्तो भइरहेको भन्ठान्छन् । आफैंलाई दोषी करार गरिराखेका हुन्छन् । गोपनीयता भंग हुने त्रासले यसबारे बोल्न सक्दैनन् । काठमाडौंमा हुनेको त यो हाल छ भने ग्रामीण भेगमा कति किशोरीहरू पीडित होलान् जो सम्पूर्ण गल्ती आफैंलाई थोपरेर मौन–मौन बाँचिरहेका ।
मनोविद् किशोरकुमार थापाका अनुसार नेपालमा १८ वर्षभन्दा कम उमेरका ६ मध्ये १ केटा र ४ मध्ये १ केटी कुनै न कुनै तबरबाट यौनजन्य हिंसामा परिरहेका हुन्छन् । तर यसबारे प्राय:लाई खबर हुँदैन । कतिपय अवस्थामा आफू हिंसामा परेको थाहै पाउँदैनन् केटाकेटीहरू । बिस्तारै ती केटाकेटीहरू साथीहरूको झुन्डबाट अलग्गै रहने, पढाइमा ध्यान नदिने, कम बोल्ने, चिढिने, रिसाउने, आत्महत्याको प्रयास गर्ने गर्छन् । यसरी किशोरीहरूको यौन शोषण गर्नेहरूमा सयमा नब्बे प्रतिशत आफन्त, नातेदार, नजिकका चिने–जानेकाहरू हुने गर्छन् । तिनीहरू किशोरीहरूको घर, कोठासम्म निर्बाध आउन–जान सक्छन् । यसमा कसैले शंकै गर्न सक्दैनन् । जसले गर्दा किशोरीहरू आफ्नाहरूविरुद्ध आवाज उठाउनै सक्दैनन् । अधिकांश किशोरीहरूमा नाइँ भन्न सक्ने चेतना छैन । वास्तवमा यस्तो हिंसाबाट बच्न स्वयं किशोरीहरू नै सचेत हुनु जरुरी छ । उनीहरूले कसैले गलत गर्दै छ भन्ने लाग्नासाथ प्रतिकारस्वरूप नाइँ भन्न सक्नुपर्छ । सुरुआतमै प्रतिकार गरेमा त्यस्ता अपराधीहरू हच्किन्छन् र दोस्रोपटक त्यस्तो हर्कत नदेखाउन सक्छन् । त्यस्तै यो प्रक्रिया लगातार दोहोरिन थालेमा आफ्नो आमाबाबु, साथी, शिक्षक अथवा मनले जितेको कसैसँग सेयर गर्ने, सहयोग लिने गर्नुपर्छ र साथसाथै नजिकको प्रहरी प्रशासनमा उजुरी गर्नुपर्छ ।

एनजीओ फेडरेसन काठमाडौ‌ शाखाका उपाध्यक्ष प्रदीप डंगोल भन्छन्, ‘बालबालिकाको यौन शोषण गर्नेहरूमा पावरफुल वर्ग बढी हावी छन् । ती पैसा, पहुँच अथवा पदीय हिसाबले शक्तिमा हुन्छन् । यस्ता पुरुष उमेरगत हिसाबले ३५ वर्षदेखि ५५ वर्ष समूहबीचका बढी रहेको पाइएको छ । बढीजसो पारिवारिक विखण्डनमा परेका बालिकाहरू जोखिममा हुन्छन् । त्यस्तै एकल परिवारका, बसाइसराइ भएका परिवारका, दोस्रो विवाह गरेर गएका महिलासँगै लगिएका छोरीहरू उच्च जोखिममा रहन्छन् ।

राज्यले कसैले बालबालिकामाथि यौन हिंसा गरेको प्रमाणित भएमा अपराधीलाई २ देखि १३ वर्ष जेल सजाय वा जरिवानाको व्यवस्था गरेको छ । तर अधिकांश किशोरीहरू यसरी कानुनी प्रक्रियामा जान अप्ठयारो मान्ने, डराउने गर्छन् । फेरि जति पीडितहरू कानुनी प्रक्रियामा जान्छन्, तिनीहरूका लागि न प्रहरी कार्यालयमा बालमैत्री वातावरण छ न फरेन्सिक ल्याबसम्म पुग्ने सहज छ । यहाँ विदेशमा जस्तो वान डोर एप्रोच पनि छैन, जहाँ पीडितले एकै ठाउँमा डक्टर, प्रहरी र वकिलको सामु बकपत्र दिन सकोस् । पटक–पटकको बयानले पीडितले अपमानित बोध गर्छ । यो लम्बेतान प्रक्रियाले पनि पीडितहरूलाई हतोत्साही गरिरहेको हुन्छ । यो त भयो बोझिल कानुनी प्रक्रियाको कुरा, अर्को छ मानसिक ‘टर्चर’ ।

यसमा भोलिका दिनहरूमा ससम्मान बाँच्न नपाउने आशंकामा किशोरीहरू आफ्नो वर्तमान जिन्दगी जोखिममा राख्ने गर्छन् । गोपनीयता भंग नहुने कुरामा विश्वस्त भएपश्चात् मात्र यसबारे उनीहरू खुल्छन् । जुन कुरा विश्वस्त दिलाउन जो कोहीले सक्दैनन् । उनीहरू प्राय: मनोविर्मशकर्तासँग खुल्न सक्छन् । यसको लागि प्रत्येक विद्यालयमा कम्तीमा एक जना मनोविमर्शकर्ता हुनैपर्छ । कम्तीमा हप्तामा एउटा वैयक्तिक विमर्श गरिनुपर्छ ।

प्रकाशित : जेष्ठ २७, २०७४ १६:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT