कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पुस्तकलाई पुरस्कार : पुँजीवादी पासो

हामीले अहिले पढ्ने कुरा बजारले निर्धारण गरेको छ । बुकर पुरस्कारका निर्णायकले पुस्तकको सिर्जनशीलता र नौलो लेखाइलाई ध्यान दिँदैनन् । बजारीया शैली मात्रै हेर्छन् ।

पुस्तकलाई पुरस्कार : पुँजीवादी पासो

प्रत्येक आङ्लभाषी उपन्यासकार बुकर पुरस्कारको आस गर्न बाध्य हुनुका पछाडि कम्तीमा दुई कारण छन् । पहिलो : पुरस्कार पाए वा सूचीमा परे उनीहरूलाई सबैले पछ्याउँछन् । प्रसिद्ध कथाकार मपासाँले पनि भन्छन् नि, पेरिसमा हुन्जेल तपाईंलाई आइफल टावरको छायाले जतिखेरै पछ्याइरहन्छ । मपासाँ थप्छन् पनि, ‘आइफल टावरलाई छल्न तपाईं त्यही टावरभित्र गए मात्रै सम्भव छ ।’ बुकर पुरस्कार पाएपछि अझ राम्रो लेख्नुपर्छ र लेखनकै चिन्तन गर्नुपर्छ भन्ने ऊर्जा लेखकलाई मिल्नै छाड्यो ।
बुकरप्रति आसक्तिको अर्को कारण साहित्यिक पुस्तक प्रकाशन गर्ने धेरै प्रकाशकका लागि सो पुरस्कार पुस्तक बिक्रीको सशक्त हतियार भइदिनु हो । भीएस नयपालकी सम्पादक डायना अटिल्स र विलियम गोल्डिङका सम्पादक चाल्र्स मोन्टेइथ्सहरू अहिलेको समयमा निकै थोरै छन् । पहिला उनीहरूसामु प्रकाशक बफादार हुन्थे । साहित्यिक प्रतिभाका कारण उपन्यासकारलाई प्रकाशकले पनि राम्ररी चिन्थे । कुनै बेला प्रकाशन गृह लेखकहरूको प्रिय घर हुने गथ्र्यो । लेखकलाई लेख्ने वातावरण राम्ररी मिलाइदिन्थे प्रकाशक आफैँले । तर, अहिले लेखकमाथि निकै कम मात्रै बौद्धिक वा भौतिक लगानी गरिन्छ । साहित्यिक पुरस्कार दिइनु र किताबलाई पुरस्कारको सर्टलिस्टमा पारिनु भनेको किताब बिकाउने खेलो भएको छ । थुप्रै–थुप्रै पुरस्कारहरू दिने गरिए पनि बुकर पुरस्कार मात्रै यस्तो पुरस्कार हो जसले पुस्तक बिक्रीमा साँच्चै नै व्यावसायिक असर पुर्‍याउने गर्छ ।
दुई–चार जना व्यक्तिको जाँचकी समूहले ‘वर्ष पुस्तक’ छान्न दिनमा एउटा सिंगै किताब पढ्नुपर्छ । यो पत्याउन सकिन्छ र ? लेखकलाई सम्मान दिने कुराजस्तै उटपट्याङ होइन त हो ? लेखकलाई समयले मूल्यांकन गर्नेछ, उसको आफ्नै सिर्जनाले पनि मूल्यांकन गर्नेछ, पाठकले मूल्यांकन गर्नेछन् र उसको लेखनमा केही अर्थ भेट्टाइरहने अन्य लेखकले पनि मूल्यांकन गर्नेछन् । आख्यानका निश्चित प्रकारलाई (सर्ट स्टोरी, नोभेला आदिलाई त मान्यतै दिँदैनन्) समावेश नगरेकोले मात्रै बुकरलाई झेली मानिने होइन । उसले त त्यो वर्षभरि प्रकाशित सबै पुस्तकलाई पनि गन्दैन, केही उपन्यास मात्र छान भनेर प्रकाशकलाई अह्राउँछ पनि । त्यसैले पुरस्कार झेली छ । पुरस्कारले हल्लाखल्ला मात्रै गराउँछ, अरू केही होइन । मार्केटिङको पहिलो खुड्किलो त १३ उपन्यासको लङलिस्ट तयार भएपछि हुन्छ । लङलिस्टमा नपर्नेले त आफू एक्कासि झुर लेखकमा परिणत भएको ठान्छ ।
सर्टलिस्टको घोषणापछि उत्साह झन् बढ्छ । विजेताको नामले सर्टलिस्टमा परेका अरूलाई छायामा पार्छ, अनि यस्तो लाग्छ केही जादू चलाइएयो । परिणाम थाहा भएजस्तै गरेर सबै जना एकत्रित हुन्छ, प्रकाशकको बफादारी पनि देखिन्छ । र, खुला बजारले यो घोषणाको घटनालाई जादूयी हल्लाखल्ला गर्छ । इतिहास लेखनको प्रक्रियाबारे कार्ल पपरले पनि भनेका छन् नि, इतिहासमा कुनै माध्यमले घटना भइसकेपछि त्यसले ल्याउने परिणाम अकल्पनीय हुन्छ भनेर ।
मैले भर्खरै व्याख्या गरेको मूल्य मान्यताप्रति थुप्रै लेखकले सहमति जनाउँदा पो आश्चर्य लाग्छ । आफ्नो लेखकत्वप्रति पुरस्कारले केही नबोल्ने कुरा धेरैले अनुभव गर्छन्, यही कुरालाई खुला छलफल भने थोरैले गर्छन् । आश्चर्यचकित स्वीकार्यताको कुरा पुँजीवादको राजनीतिक परिणाम हो । त्यसले लेखक र प्रकाशकहरू कसरी काम गर्छन् भन्ने बताउँछ पनि । ब्रिटेनमा मानिसहरूले कसरी सोच्छन्, पढ्छन् र पुस्तकलाई मान्यता दिन्छन् भन्ने कुराको बाध्यकारी मापक पनि भएको छ बुकर पुरस्कार । त्यसका गम्भीर समालोचक छैनन् । पुरस्कार पाउने निश्चित व्यक्तिप्रति कडा भाव राख्ने (सन् १९९४ मा जेम्स केलम्यानले पाएको पुरस्कारलाई एक निर्णायकले ‘सीधै भन्दा, त्यो झुर किताब हो’ भनेका थिए) पनि त्यसको शोभा बन्छन् । समाजवादले भन्छ, सबै जना बरोबर हैसियतको हुनुपर्छ । पुँजीवादले भन्छ, जो कोही पनि धनी बन्न सक्छ । खुला बजारको आकर्षणले पुरस्कारको झुर चाँजोपाँजो मिलाउँछ ।
बुकर पुरस्कारले बजारको रूपान्तरणमुखी शक्तिको निक्र्योल गरेर थाहै नपाई कोही एक्कासि सफल हुन सक्ने बताउँछ । साहित्यमा त यो पुरस्कारले, ‘मास्टरपिस’ र ‘क्लासिक’ जस्ता शब्दका परिभाषा नै परिवर्तन गरिदिएको छ ।
थोरै लेखकहरूले मात्रै कुनै खालको अस्वीकृति देखाउँछन् । तर पनि, पुँजीवादको गुण स्वीकार गरेर हामीले यी अध्याय सक्काउँछौँ । जुन, राजनीतिको कुरा गर्दा अहिले डोनाल्ड ट्रम्पजस्तो राक्षसको रोजाइमा गएर टुंगिएको छ । कुनै बेला बुकर पुरस्कारको तीव्र विरोध गर्ने एक लेखकले त्यही पुरस्कार पाएपछिको उनको मौनता देखेर म तीनछक परेको थिएँ । यस्तो लाग्थ्यो, उनको व्यक्तित्व नै सफाचट भइसक्यो । उनी बडो नम्र भएर किताबको प्रमोसनमा लागिरहेका देख्दा लाग्थ्यो उनलाई नशा दिएर त्यो काम गर्न लगाइएको छ । उनलाई बुकरको विरोध गर्ने क्षमता दिने स्वर घाँटीबाट एकाएक गायब भइदिन्छ । अहिले पुँजीवादले मान्छेको स्मरणशक्ति कसरी खोस्छ भन्ने कुराको केस स्टडी गर्न उनैलाई सम्झन सकिन्छ ।
यति कुरा गरिरहँदा, बुकर पुरस्कारको अस्तित्व नै सखाप हुनुपर्छ भन्ने तर्क पनि मेरो होइन । मेरो जोड त त्यसको विकल्प हुनुपर्छ भन्नेमा हो । र, विकल्प फेरि त्यस्तै कुनै अर्को पुरस्कार खडा गर्नुपर्छ भन्ने पनि होइन । लेखकको आत्मालाई त्यसले बुझ्नुपर्छ । लेखकको कामको मूल्य बुझ्नुपर्छ । त्यसबारे लेखक आफैँले तर्क गर्नुपर्छ कसैले राम्रो भनिदिएपछि होइन । सक्कली कामलाई सबैले खुला दिलले स्वागत गर्छन् नै भन्ने छैन । तर्कवितर्क, लगाव र बहसमार्फत लेखकले काम नगर्ने हो भने उसको कामको महत्त्व कमै हुन्छ ।
‘‘मिसेस डलवे’ बुकरको लङलिस्टमा पर्छ कि पर्दैन होला ?’ भन्दै भर्जिनिया वुल्फ सबेरै उठेर सोचमग्न भएकी पक्कै थिइनन् । त्यसको साटो उनले ‘मिस्टर बेनेट र मिस्टर ब्राउन लेखिन्’ र तर्कवितर्क गरिन् । उपन्यास कस्तो हुनुपर्छ, त्यसले पाठकलाई कस्तो असर गर्नुपर्छ वा हामीले त्यसको सम्भावनालाई सकार्ने वा नकार्ने के गर्छौं भन्ने उनको पुन:मूल्यांकन काइदाको हुन्थ्यो ।
डीएच लरेन्स, टीएस इलियट र हेनरी जेम्सले पनि आफ्ना रचनात्मक कृतिभित्र वा बाहिरै भए पनि छलफल गर्थे किनभने साहित्य किन महत्त्वपूर्ण छ भन्ने प्रश्नको उत्तर त्यति बेला आइसकेको थिएन । आएको त अहिले पनि छैन ।
पुँजीवादको छातामुनिका अन्य फाँटमा जस्तै यसमा पनि क्षति भएको छ । लिटरेचर फेस्टिभलमा सधैँ व्यस्त भइरहने लेखक आफ्नो कृति किन महत्त्वपूर्ण छ भन्ने कुरा छलफल, बहस गरेर कारण पत्ता लगाउने कामको अगुवाचाहिँ किन हुँदैन ?
साहित्यको परिभाषा दिने खालका गम्भीर बहस हुँदैनन् । खासगरी मानविकी अध्ययनको ब्रिटिस एकेडेमियामा मूल्य मान्यताका कुरामा आएको ह्रास नियन्त्रण गर्न नसक्नुको कारणलाई बेलायती सरकारले केही कुराको ‘असर’ भन्छ । र त्यो ‘असर’ लाई नयाँ प्राज्ञिक कामको महत्त्वको आधारमा मापन गरिँदैन । गरिन्छ त केवल बजारको आधारमा । सरकारले नरम भाषामा भन्दा त्यो असरलाई यसरी व्याख्या गरेको छ, ‘अर्थतन्त्र, समाज, संस्कृति, सार्वजनिक नीति तथा सेवा, स्वास्थ्य, वातावरण जीवनस्तर वा प्राज्ञिक कामभन्दा बाहिरको क्षेत्रलाई गरेको परिवर्तन वा फाइदाले उब्जाएको कुरा नै असर हो ।’ प्राज्ञहरूले पत्ता लगाएका पनि छन्, ‘प्राज्ञिक कामभन्दा बाहिरको’ भन्ने शब्दको अर्थ बजार नै हो । अर्को शब्दमा भन्दा, प्राज्ञिक कामको महत्त्व त्यसले त्यही क्षेत्रलाई पारेको प्रभावबाट पत्ता लगाउन सकिँदैन । त्यसभन्दा बाहिरबाट सकिन्छ । बुकरमाथि धेरैले प्रश्न गर्ने कारण उही हो, ‘अंगुर अमिलो छ ।’ प्रचलित मान्यताभन्दा फरक धारमा भर्जिनिया वुल्फले लेख्दा उनको जेन्डर र कौशलसँगै ‘अंगुर अमिलो छ’ भन्ने आरोपबाट उनी पनि गुज्रनुपरेकै हो । उनले गरेका प्रश्न उठाइनुपर्छ, महत्त्वका साथ उत्तर खोजिनुपर्छ । कडा प्रहारको एउटा स्वरूप मौन रहनु त बिरलै होला ।
अनुवाद : सिपी अर्याल

प्रकाशित : भाद्र ३, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?