कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली भाषाको अन्तर्राष्ट्रियकरण

भाषा
लीला लुइटेल

काठमाडौं — नेपाली भाषाका वक्ताहरू नेपालबाहेक भारत, भुटान, बर्मा, हङकङका अतिरिक्त विश्वका ४० मुलुकमा छरिएर रहेका छन् ।

नेपाली भाषाको अन्तर्राष्ट्रियकरण

अहिले अमेरिका, युरोप, अस्ट्रेलियाका कतिपय क्षेत्रमा सरकारी तवरमै नेपाली भाषाको अध्ययन, अध्यापन गर्ने व्यवस्था मिलाइएको पाइन्छ भने कतिपय क्षेत्रमा नेपाली भाषा पठनपाठनको लागि पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया पनि अगि बढिरहेको छ । संयुक्त राज्य अमेरिकाको केही राज्यमा सवारी चालक अनुमति पत्रको परीक्षा नेपाली भाषामै दिन सकिने व्यवस्था पनि छ भने कतिपय राज्यमा नेपाली भाषा पठनपाठनका लागि पाठ्यक्रम निर्माण भइरहेका छन् । हङकङमा सरकारी स्तरमै नेपाली भाषाको पठनपाठन भइरहेको पाइन्छ । डेनमार्कको कोपेनहेगनमा स्थानीय सरकारले नेपाली भाषीका सन्तानलाई नेपाली भाषा पढाउन व्यवस्था मिलाइदिएको पाइन्छ । बर्माका विभिन्न क्षेत्रमा विभिन्न सङ्घसंस्थामार्फत नेपाली भाषा पठनपाठन हुनुका साथै विभिन्न विधाका साहित्यिक कृतिहरू प्रकाशन भइरहेका छन् । गुगलले पनि नेपाली भाषालाई ठूलो सङ्ख्याले बोल्ने भाषा मानेर ७९ प्रकारका विभिन्न भाषालाई नेपालीमा र नेपाली भाषालाई तिनै ७९ भाषामा अनुवाद गर्न सकिने व्यवस्था गरेको छ । अझ अहिले त नेपाली भाषामा बोलेको आवाज सुनेर त्यसलाई लिपिमा रूपान्तरण गरिदिने संयन्त्रको समेत विकास गरिएको छ । 

शान्ति सेनामा जाने सैनिक जवानहरूले अफ्रिकाका विभिन्न जातिलाई नेपाली भाषा तथा नेपाली गीतहरू सिकाएर पनि नेपाली भाषाको विस्तार गरिरहेका छन् । यी विविध सन्दर्भबाट हेर्दा नेपाली जाति महाजाति बनेझैं अहिले नेपाली भाषा पनि महाभाषा एवं अन्तर्राष्ट्रिय भाषा बनिसकेको छ । 
औपचारिक रूपमा नेपाली भाषाको अन्तर्राष्ट्रियकरणको प्रारम्भ भुटानबाट भएको हो । भुटानमा नेपाली भाषी बसोबास गर्न थालेदेखि नै सरकारी कामकाजको रूपमा नेपाली भाषा पनि प्रयोग गरिन्थ्यो । त्यसबेलादेखि नै सरकारबाट जारी गरिने सूचना, परिपत्र, जग्गाको धनीपुर्जा तथा नागरिकताको प्रमाणपत्रजस्ता अनेक सामग्रीमा नेपाली भाषा प्रयोग गरिएको हुन्थ्यो । सन् १९५३ मा राष्ट्रिय संसद्को स्थापना भएपछि नेपाली मूलका सांसद्हरूले नेपाली भाषामा प्रस्तुत गरेका विचारहरूलाई जोङ्खा भाषामा अनुवाद गरी प्रसारण गर्नुका साथै संसद्बाट पारित नियम, राष्ट्रिय योजना आयोगका तथ्याङ्क तथा नियम कानुनहरू पनि नेपाली भाषामा अनुवाद गरी प्रसारण पनि गर्ने चलन पनि रहेको थियो । 
सन् १९८९ सम्म दक्षिण भुटानका सरकारी विद्यालयहरूमा आठ कक्षासम्म अनिवार्य रूपमा नेपाली भाषाको पढाइ हुन्थ्यो । त्यसबेला सरकारी स्तरमै नेपाली भाषाका पाठ्यपुस्तकहरू तयार गरिएका थिए । यस्ता पाठ्यसामग्री निर्माण गर्न दार्जिलिङका पारसमणि प्रधानको योगदान पनि महत्त्वपूर्ण थियो । त्यहाँबाट प्रकाशित ‘क्युन्सेल’ तथा ‘डुकलोसेल’ जस्ता पत्रिकाका माध्यमबाट थुप्रै भुटानी नेपालीहरू साहित्य लेखनतर्फ प्रवृत्त भएका हुन् । सन् १९८९ पछि जोङ्खा, अङ्ग्रेजी तथा नेपाली गरी तीन भाषा पढ्दा विद्यार्थीलाई बोझ बढी भयो भन्ने निहुँ पारी सरकारी स्तरबाट नेपाली भाषाको पठनपाठन गर्न छोडियो । सरकारी स्तरबाट नेपाली भाषाको पाठ्यक्रम हटाइए पनि दक्षिणी क्षेत्रमा आफ्नै प्रयासमा नेपाली पढ्ने र लेख्ने चलन अहिले पनि छँदैछ । यसरी प्रशासनिक रूपमा हटाइएको स्थितिमा अहिले पनि अनौपचारिक रूपमा भुटानका विभिन्न जातिका बीचमा नेपाली भाषाले सम्पर्कको काम गरेको पाइन्छ । 
भारतका विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली भाषीहरूको बसोबास रहेको हुँदा १९९२ अगस्ट २० का दिन भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई समावेश गरी संवैधानिक मान्यता प्रदान गरिएको छ । भारतको साहित्य अकादमीले १९७५ फेब्रुअरी ५ को कार्यकारी सभाबाट नेपाली साहित्यलाई भारतीय साहित्यको रूपमा स्वीकार गरेको हो । साहित्य अकादमी दिल्लीले नेपाली भाषालाई मुख्य भाषाका रूपमा मान्यता दिई पुस्तक प्रकाशन गर्ने, नेपाली भाषाका साहित्यकारहरूलाई पुरस्कार प्रदान गर्ने तथा नेपाली भाषाबाट अन्य भाषामा तथा अन्य भाषाबाट नेपाली भाषामा साहित्यिक कृतिको अनुवाद गर्ने, साहित्यिक भ्रमण भत्ता प्रदान गर्नेजस्ता विभिन्न प्रकारका साहित्यिक क्रियाकलापहरू सञ्चालन गर्ने गरेको पाइन्छ । अकादमीकै परियोजनामा नेपाली भाषाबाट अन्य विभिन्न भाषामा तथा अन्य विभिन्न भाषाबाट नेपाली भाषामा विविध प्रकारका साहित्यिक कृतिहरूको अनुवाद आदानप्रदान कार्यक्रमले पनि निरन्तरता पाइरहेको देखिन्छ । 
अहिले भारतमा नेपाली भाषा बोल्नसक्ने, बुझ्नसक्नेहरू नेपाली जातिको सङ्ख्याभन्दा धेरै छन् । भारतका कतिपय क्षेत्रमा यस भाषाले सम्पर्कको माध्यमका रूपमा समेत काम गरेको छ । डुवर्स तथा राँचीको सेरोफेरोमा बसोबास गर्ने चिया बगानका श्रमिकहरूका साथै लेप्चा, भुटिया, मेचे, कोचे, बङ्गाली, बिहारी, राजस्थानीलगायत विभिन्न जातिका स्थानीय आदिवासीहरू प्राय: सबैले नेपाली भाषामा सहज ढङ्गले दोहोरो कुराकानी गर्न सक्छन् । डुवर्सका कतिपय आदिवासीलाई यसै भाषामा शिक्षा दिइने काम गरिएको छ । भुटानको सिमानामा पर्ने पश्चिम डुवर्सको टोटोपारा नामक स्थानमा बसोबास गर्ने टोटो जातिलाई बङ्गला भाषाको माध्यमबाट पढाइन्छ र त्यसको नेपाली अनुवाद गरी बुझाउने गरिएको पाइन्छ । 
जातीय आरक्षणको व्यवस्थाअन्तर्गत १९७२ मा असमबाट अलग्गिएर भारतको बाईसौँ राज्यका रूपमा स्थापित मेघालयमा खासी, गारो एवं जयन्तिया भाषामा शिक्षा प्रदान गरिन्छ । बेग्लाबेग्लै भाषा र संस्कृति भएका यस राज्यमा प्रशासनिक भाषाको रूपमा अङ्ग्रेजीको प्रयोग हुने भए पनि अनौपचारिक रूपमा यी जातिका बीच दैनिक व्यवहारमा सम्पर्क भाषाका रूपमा नेपालीको प्रयोग पनि प्रशस्तै हुन्छ । यस राज्यको प्रमुख एवं संरक्षित जातिका रूपमा रहेको खासी जातिमा ‘खसियाहरूलाई भात खान नेपालीहरूले नै सिकाएको हो’ तथा ‘नेपाली र खासी त मामाभानिज पो हो त’ भन्ने भनाइ प्रचलनमा छ । राजधानी शिलाङमा मात्र नभई जोवाई, नस्टयाङ र अरू भित्री भागतिरका खसियाहरू नेपाली भाषा सहजतापूर्वक बोल्छन् र पढ्न पनि सक्छन् । 
मनखोमेर भाषा परिवारअन्तर्गत पर्ने खसिया भाषामा नेपाली भाषाको प्रभाव परेको स्पष्टै देखिन्छ । अन्नक्षेत्र, आलुगोदाम, गाडीखाना, गोरालाइन, ग्वालापट्टि, चिहानडाँडा, नयाँबङ्गला, पुलिसबजार, बडाबजार, बत्तीबजार, नयाँबङ्गला, पल्टनबजार, बडाबजार, बत्तीबजार, बाघमारा, बारपत्थर, महादेवखोला, लछिमीनाला, सुनाकुरुङ, हल्लनेपुलजस्ता महादेवखोलाजस्ता नेपाली नामकरण गरिएका मेघालयका विभिन्न स्थानीय ठाउँहरूलाई खसिया तथा अन्य जातिहरूले त्यही नामले उल्लेख गर्ने गरेको पाइन्छ । खसिया भाषाको शब्दभण्डारमा पनि नेपाली भाषाको रामै्र प्रभाव परेको छ । ‘अचार, चिनी, छुरी, दर्बार, दस्तुर, नियम, बक्सिस, मामा, रीति, हुकुम, महाजन, मुलुक, काम, साबन, बरोबर’ लगायतका थुप्रै नेपाली शब्दहरूलाई खसिया जातिले जस्ताको तस्तै रूपमा प्रयोग गर्छन् । यसैगरी इजत (इज्जत), कराई (कराही), खुलम (कलम), बन्दाकुबी (बन्दाकोबी), खुबर (खबर), स्या (चिया), जुबरजस्ती (जबरजस्ती), जुत्ती (जुत्ता), टोपिया (टोपी), तिली (तेल), डुट (दूध), पका (पक्का), पिसा (पैसा), फासी (फाँसी), मदान (मैदान), मोइदा (मैदा), मुसला (मसला), मुजा (मोजा), रुकम (रकम), रजा (राजा), हिमत (हिम्मत), हाती (हात्ती), रुटी (रोटी), सरक (सडक) लगायतका नेपाली भाषाका अनेक शब्दहरू खसिया भाषाको शब्दभण्डारमा छन् ।
मेघालयको गारो पहाडअन्तर्गत रहेको तुरा सहरमा बसोबास गर्ने गारो जातिका मानिसहरूले पनि नेपाली बुझ्ने र सहज रूपमा बोल्ने गर्छन् । यस जातिले ‘म खाको छैन’, ‘मैले जान्दैन’, ‘कोले दिन्छ’ भन्नेजस्ता नेपाली वाक्यहरूको प्रयोग गरेको पाइन्छ । मिजोरम राज्यको आइजोलमा पनि मिजोभाषीले नेपाली भाषा राम्ररी बोल्ने र नेपालीहरूको चाडबाडमा सहभागी हुने गरेको पाइन्छ । मिजोरममा नेपाली जातिबाहेक स्थानीय मिजो जातिका व्यक्तिहरूले पनि नेपाली भाषामा कलम चलाएका छन् । तीमध्ये सी. कामलौवाको ‘अनुभवका दुई फाँटहरू’ नामक पुस्तकाकार कृति नेपाली भाषामा प्रकाशित छ । मिजोरममा ‘अगोर्खाको गोर्खे चिन्तन’ नामले परिचित यस कृतिमा कविता र निबन्ध सङ्गृहीत छन् । ‘नेपाली भाषा विश्वकै उत्कृष्ट भाषाहरूमध्ये एक हो’ भन्ने दृष्टिकोण राख्ने कामलौवाको यस कृतिलाई केन्द्रीय भारतीय भाषा संस्थान मैसुरले भाषा–भारती पुरस्कार पनि प्रदान गरेको छ । मिजोरमका नेपाली जातिले लेखेका कतिपय साहित्यिक कृतिका तुलनामा कामलौवाको गद्य एवं पद्यमा प्रयुक्त भाषा परिष्कृत एवं परिमार्जित हुनाका साथै ठेट नेपालीको प्रयुक्तिका दृष्टिले पनि उल्लेखनीय छ । उता मणिपुरका इरांग, पुखौ, पस्पति, कौब्रुलेखाजस्ता नेपाली बहुल क्षेत्रमा स्थानीय जनजातिले नेपाली भाषालाई माध्यम भाषाका रूपमा प्रयोग गरेको पाइन्छ ।
सिक्किममा नेपाली भाषाको वर्चस्व पुरानो समयदेखि नै थियो भन्ने कुराको प्रमाण भोटे राजतन्त्रको छत्रछायामा बसोबास गरे पनि उनीहरूले नेपाली भाषा सिकेको तथ्यलाई लिन सकिन्छ । अझ भारतमा विलय हुनुअगि स्वतन्त्र देशका रूपमा रहेको सिक्किमको राष्ट्रियगानसमेत नेपाली भाषामै रहेको र यसका रचनाकार पद्मश्री साहित्यकार सानु लामा रहेको जानकारी पाइन्छ । यहाँ अहिले अन्य थुप्रै जातिले मातृभाषाका रूपमा नेपाली नै बोल्ने गरेको पनि देखिन्छ । यसले सिक्किममा नेपाली भाषाका प्रयोग क्षेत्रको व्यापकता पुष्टि हुन्छ । सन् १९७५ मा भारतमा विलय भएपछि यहाँका सम्पूर्ण सरकारी स्कुलहरूको पाठ्यक्रम केन्द्रीय माध्यमिक शिक्षा बोर्डअन्तर्गत सञ्चालन हुन थाल्यो । यसले आठौं श्रेणीसम्म नेपाली विषयलाई अनिवार्य विषयका रूपमा व्यवस्था गरेको छ । विद्यालयहरूमा अध्ययन–अध्यापनको माध्यम अङग्रेजीलाई मानिएको भए पनि विद्यार्थीहरूलाई पाठ बुझाउन अनौपचारिक रूपमा नेपाली भाषाकै प्रयोग गरिन्छ । 
सिक्किमको साझा सञ्चारको माध्यम भाषा नेपाली रहेको छ । प्राय: शत प्रतिशत मानिसहरूले नेपाली भाषाको प्रयोग विभिन्न क्षेत्रमा गर्ने गर्छन् । अन्य राज्यबाट बसाइँ सरी आएका मारवाडी, बिहारी, 
बङ्गाली, पन्जाबी आदि समुदायका मानिसहरू समेतले उनीहरूका घरपरिवारबाहेक अन्य प्रत्येक क्षेत्रमा नेपाली भाषाको प्रयोग गर्छन् ।
अहिले भारतका विभिन्न क्षेत्रमा नेपाली भाषाका माध्यमबाट पठनपाठन हुन्छ । बनारस हिन्दु विश्वविद्यालय, नर्थ बङ्गाल विश्वविद्यालय, गौहाटी विश्वविद्यालय, सिक्किम विश्वविद्यालयजस्ता विभिन्न विश्वविद्यालयमा नेपाली भाषा र साहित्यको एम.ए. स्तरीय अध्ययन–अध्यापन हुन्छ भने कतिपय विश्वविद्यालयले विद्यावारिधिस्तरीय अनुसन्धानात्मक क्रियाकलाप पनि सञ्चालन गरिरहेका छन् । भारतका विभिन्न आकाशवाणी केन्द्रहरूले नेपाली भाषामा कार्यक्रमहरू सञ्चालन पनि गरेका छन् । 
भारतीय भाषा संस्थान, मैसुरले पनि नेपाली भाषा र साहित्यलाई आफ्ना परियोजनामा समावेश गरी अनेक खाले कार्यक्रम सञ्चालन गरिरहेको छ । यस संस्थाको प्रायोजनमा उत्तर–पूर्वी राज्यका अनेपाली भाषी शिक्षित युवावर्गलाई नेपाली भाषा सिकाउने कार्यक्रम चलिरहेका छन् । प्रत्येक वर्ष १५ देखि २० जना सम्मले यस कार्यक्रममा उत्सुकताका साथ सहभागी भइरहेको जानकारी पाइन्छ । यस संस्थाबाट नेपाली भाषा सिकेका कतिपय विद्यार्थीहरूले अन्य भाषाबाट नेपाली भाषामा र नेपाली भाषाबाट अन्य भाषामा विभिन्न साहित्यिक कृतिको अनुवाद गरेको जानकारी पनि पाइन्छ । यसले १ करोडभन्दा धेरै असमेली भाषीका बीचमा नेपाली साहित्यको प्रचारप्रसार हुने सम्भावना छ । यस संस्थाबाट नेपाली भाषा सिकेका विद्यार्थीले कृष्ण धरावासीको ‘शरणार्थी’ शीर्षक उपन्यास असमेली भाषामा अनुवाद गरेका छन् । 

प्रकाशित : भाद्र ३, २०७४ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?