अंग्रेजीको भूत उत्रेपछि

अनुभूति
विश्वास हमाल

सानैदेखि प्रेम परेको ‘अंग्रेजी भाषा मोह’ ले मेरो जीवनमा निकै महत्त्व राख्छ । कक्षा ४ बाट एबीसीडी सुरु हुने सरकारी विद्यालयमा पढ्दादेखि नै मेरो पहिलो प्रेम अंग्रजी भाषासँगै परेको थियो ।

अंग्रेजीको भूत उत्रेपछि

एउटा गहिरो छाप परेको थियो कि गोराहरू हामीभन्दा राम्रा हुन्छन्, हामीभन्दा विकसित हुन्छन्, धेरै जानेका हुन्छन् अनि उनीहरूको भाषा पनि हाम्रोभन्दा निकै सभ्य हुन्छ । त्यो बेलादेखि नै एउटा सपना पालेको थिएँ खरर अंग्रेजी बोल्न पाए त कति ठूलो मान्छे भैन्थ्यो होला । फेरि गाउँतिर ‘मेजर इंगलिस’ लिएर पढ्दै छ रे भन्नेको इज्जत पनि कम्ताको थिएन । अंग्रेजी बोल्ने मान्छे महान् हुन्छन्, अर्कै तरिकाले सोच्छन्, सभ्य र जाने बुझेका हुन्छन् भन्ने सोच्थे ।

म सम्झन्छु— हाम्रो विद्यालयको त्यो दिन । प्रांगणमा राष्ट्रिय गीत बज्दै थियो, अगाडि शिक्षकहरू उभिने लाइनमा एउटा नयाँ व्यक्ति खैरो सर्ट र रातो टाईमा सजिएका थिए । त्यो बेला हाम्रो विद्यालयमा कुनै शिक्षकले पनि टाई लगाउँदैनथे, त्यसैले ती नयाँ व्यक्ति सबैको खुल्दुलीको विषय बनेका थिए । राष्ट्रिय गीत सकेर कक्षामा छिर्ने बेलामा प्रधानाध्यापकले उनको परिचय गराए, ‘हाम्रो नयाँ अंग्रेजी शिक्षकलाई विद्यार्थी भाइबैनीको अगाडि परिचय गराउँदै छु ।’ 
रातो टाई कसेर उनी जोसिँदै अगाडि आए, तनक्क तन्किएर ठूलो आवाजमा अंग्रेजीमै भने— गुड मार्निङ स्टुडेन्ट्स ! सबैले कान ठाडो ठाडो पारेर सुने । त्यसपछि १० मिनेटसम्म अंग्रेजीमा के–के भने, के–के कसैले बुझेन । तर जब उनको मन्तव्य सकियो, कक्षा १ देखि १० सम्मका विद्यार्थीले लामो समयसम्म ताली बजाए । मैले पनि हात नदुखुन्जेल ताली बजाइरहें । वास्तवमा म निकै प्रभावित भैसकेको थिएँ । विद्यालयमा हिरोको जस्तै ‘इन्ट्री’ भयो उनको । हामी सबैले ‘वाह क्या खतरा इंगलिस बोल्यो यार’ भन्दै निकै तारिफ गर्‍यौं । उनको त्यो इज्जत, त्यो शान, लाग्थ्यो कि महान् भनेको नै अंग्रेजी बोल्नु हो, अंग्रेजी पढ्नु हो । ‘नाथे’ नेपाली त जसले पनि बोल्छ, कहिल्यै नपढेकी हाम्री हजुरआमा पनि बोल्नुहुन्छ ।
यस्तो खतरा अंग्रेजी शिक्षक आफ्नै विद्यालयमा पाउँदा कम्ता हर्षित भइएन । टोलका बोर्डिङ पढ्ने साथीहरू टाई लगाएर सुकिला–मुकिला भएर स्कुल जान्थे । हामी टाई लाउन त पाउँदैनथ्यौं । तर कम से कम टाई लाउने अनि फरर अंग्रजी बोल्ने शिक्षक आएकाले हाम्रो इज्जत बढेको थियो ।
अंग्रजी मोहले यतिसम्म गाँजेको थियो कि नबुझी–नबुझी बिहान होस् या साँझ ८ बज्यो कि थोत्रो रेडियो अगाडि कान ठाडो पारेर सुन्थें । ‘दिस इज रेडियो नेपाल’ बाहेक अरू केही नबुझे पनि पूरै समाचार नसकिएसम्म सुनिरहन्थें । परीक्षाको नतिजा आएर अर्को कक्षामा छिर्नेबित्तिकै भएको त्यही एउटा अंग्रेजी पुस्तकका सबै पाठहरू कण्ठ पार्थें । नेपालमा निस्कने ‘वेभ’ पत्रिका र भारतबाट आउने सानो आकारको ‘विज्डम’ का लाइन–लाइन घोत्लिएर हेर्थें । अझ त्योभन्दा रमाइलो त ‘विज्डम’ को पुछारमा लेखिएका अंग्रेजी भनाइहरूलाई ठूलो अक्षरमा कापीमा सारेर आफ्नो कोठामा भातको माडले टाँसेर राखेको थिएँ । त्यसमध्ये यो अझै पनि याद छ, ‘काइन्ड्नेस्स इज द ग्रेटेस्ट विज्डम ।’
नयाँ शिक्षकको आगमनसँगै जिल्लाका धेरै ठाउँमा हिज्जे प्रतियोगितामा भाग लिन गइयो । कक्षाको पाठ्यपुस्तकबाहेक अरू कुनै अंग्रेजी सामग्री देख्दा निकै रमाइलो लागेर आउँथ्यो । त्यो बेला अंग्रेजी पुस्तक पढ्न नपाउनुको पीडाले मलाई निकै लामो समयसम्म सतायो । बिस्तारै विज्ञान, सामाजिक शिक्षा आदि विषयलाई आफैंले अंग्रेजी उल्था गरेर लेख्न थालें । एक दिन सामाजिक पढाउने शिक्षकले ‘बढ्ता जान्ने भएर धेरै अंग्रेजी घुसाउने होइन भनेर सबैको अगाडि झेंको झारेपछि’ त्यो बानी छोडेको थिएँ ।
फिल्म हेर्न पनि निकै मन लाग्थ्यो त्यो बेला । अलि ठूलो घरानाका पात्रहरूले अंग्रेजीमै गाली गर्थे, अंग्रेजीमै रिसाउँथे । नेपाली होस् या हिन्दी सबै फिल्ममा अंग्रेजी एउटा सम्भ्रान्त परिवारको परिचयको रूपमा देखाइन्थ्यो । असर त पक्कै परेको थियो ।
एसएलसीपछि दक्षिण भारतमा ११ र १२ पढ्ने अवसर मिल्यो । भर्खरै विश्वविद्यालय सकेर नोकरी गर्न थाल्नुभएको दाजीसँग बसेर ं२ वर्ष पढ्दा झन् अंग्रेजीको मोहमा चुर्लुम्मै भएर डुबेका थिए । दाजी आफैं पनि कार्यालयबाट फर्कंदा आन्ध्रप्रदेशकै नम्बर एक अंग्रेजी दैनिक ‘डेक्कन क्रोनिकल’ लिएर आउनुहुन्थ्यो । बिहानको पत्रिका रातभरि डिक्सेनरी हेर्दै पढ्थे । कलेजमा सबै विषय अंग्रजीमै पढ्न पाउँदा अनि २४ सै घण्टा अंग्रेजी बोल्न, लेख्न अनि पढ्न पाउँदा म पनि छिट्टै ठूलो मान्छे बन्दै छु भन्ने भान हुन्थ्यो । पछि कलेज पढ्दा पाँचतारे होटलमा ‘वेटर’ काम गर्न थालें । त्यो मेरो लागि पैसा कमाउने बाटो मात्र नभएर अंग्रेजी सुधार्ने निकै राम्रो पाठशालाजस्तो भयो । सुकिला कपडा, टाई र पलिस गरेको चम्किलो जुत्ता लगाएर ‘गेस्ट’ सँग अंग्रेजीमा कुरा गर्दा त संसारै जितेजस्तो हुन्थ्यो ।
त्यसको एक वर्षपछि सुरु भयो मेरो काठमान्डूको यात्रा । क्याम्पस भर्ना भएपछि सबैतिर जागिरको लागि प्रयास गरें । अन्तर्वार्ताहरू प्राय: सबै अंग्रेजी भाषामै हुन्थे । मानिसको काम गर्न सक्ने क्षमता, योग्यता, यस्ता कुराहरू सायद अंग्रेजी भाषाको अगाडि त्यति महत्त्व राख्दैनथे कि ? जे होस् मलाई राम्रै भयो ।
दक्षिण भारतमा अंग्रेजी वातावरण अलि धेरै नै भए पनि काठमान्डूको अंग्रजी लवज, मिठासले मलाई तान्यो । नेपालीहरूको बोल्ने तरिका र शब्द उच्चारण झन् राम्रो लाग्यो । त्यसपछिको काठमाडौंको जिन्दगीमा अंग्रेजीको मोह घटेन झन् बढ्यो । मौका पायो कि बोल्दा होस् या लेख्दा २–४ शब्द घुसाइहाल्थें, अनि लाग्थ्यो— म अरूभन्दा फरक छु, सभ्य छु, जान्ने छु । 
त्यही सभ्य र आधुनिक वर्गमा पर्नका लागि मैले काठमाडौंको हावामा मन्द रूपमा बग्दै बब मार्लेको ‘बफेलो सोल्जर’, ब्रायन आडाम्सको ‘एभ्रिथिङ आई डु’ गीतका शब्द–शब्द कण्ठ पारेको थिएँ । पुस्तकालयहरूबाट अंग्रेजी पुस्तक लिएर आउँथें । नेपाली पुस्तक पढेर कोही ठूलो हुँदैन भन्ने एउटा भ्रम थियो मनमा ।
नाम चलेका कलाकार, खेलाडी, गायक गायिका, व्यवसासी आदि सबैले सञ्चार माध्यमका अन्तर्वार्तामा जति सक्यो अंग्रेजी शब्द घुसाएको पाउँथें । अझ कतिले त नेपालीमा सोधेको प्रश्नको जवाफ अंग्रेजीमै दिन्थे । कुनै बुद्धिजीवी र निकै पढेको बुझेको मान्छेले अंग्रेजी बोल्दा एक दुई शब्द बिरायो भने पनि ऊप्रतिको सबै सम्मान गिरेरे जान्थ्यो । यत्रो पढेको मान्छे भनेको त खत्तम रैछ, अंग्रेजी पनि बोल्न आउँदो रहेनछ भन्ने लाग्थ्यो । 
बेला–बेलामा डायरीमा लेख्थें आफ्ना भावनाहरू । विद्यालयमा व्याकरणदेखि सिकेको भाषा ज्ञान लगाएर सकीनसकी अंग्रेजीमा लेखहरू लेख्न थालें । जब मैले पठाएका लेखहरू ‘काठमान्डू पोस्ट’, ‘हिमालयन टाइम्स’ देखि ‘राइजिङ नेपाल’ जस्ता प्रमुख अंग्रेजी दैनिकमा छापिन थाले मनमा एउटा उत्साह भरिएर आयो । अहिले आएर हेर्दा लाग्छ मैले अंग्रेजीमा लेखेका जस्ता लेखहरू नेपालीमा हजारौं निस्कन्थे । तर मात्र अंग्रेजीमा लेख लेखेकै कारण साथीभाइबीच मेरो इज्जत बढेको थियो । 
गाउँ छोडेर हिर छिर्दा जति उत्साह थियो, ठीक त्यही उत्साह र उमंग बोकेर पढ्न फिनल्यान्ड छिरें । मलाई लाग्थ्यो सबै विकसित देशमा अंग्रेजी बोल्छन्, आफ्नो राष्ट्रभाषा अरू भए पनि अंग्रेजीले काम चलाउन सकिन्छ । तर यहाँका जनताको 
आफ्नो भाषाप्रेम देख्दा म तीनछक खाएँ । यहाँ त अंग्रेजीको नाममा केही छैन, न त कुनै रेडियो, न कुनै पत्रपत्रिका, न टेलिभिजन । युरोप बसाइमा धेरै देश भ्रमण गर्ने मौका पाइयो । अंग्रेजी राष्ट्रभाषा भएको देशबाहेक अन्यत्र कतै पनि अरूको भाषा बोलेर मान्छे ठूलो भएको देखिएन । खेलाडीले राम्रोसँग अंग्रेजीमा बोल्न जानेन भनेर गिज्याउने हाम्रो र छिमेकी देशमा हुर्किएको मैले यता मेस्सी र जिदानेले एक शब्द अंग्रेजी नबोल्दा पनि कसैले अज्ञानी र असभ्य भनेको सुनिनँ ।
एक दिन पुस्तकालयमा बसेर दाइलाई इमेल लेख्दै थिएँ, विदेशी साथी मलाई कुर्दै थियो । इमेल लेखिसकेपछि हामी सँगै बाहिर निस्कियौं, उसले सोध्यो, ‘के तेरो दाइ नेपाली हो ?’ मैले भनें, ‘म नेपाली भएपछि दाइ पनि नेपाली भैहाल्यो नि ।’ अनि उसले अचम्म मान्दै भन्यो, ‘नेपाली नै हो भने किन तैंले अंग्रेजीमा इमेल लेखेको ?’ त्यो कुराले मलाई धेरै बेर सोच्न बाध्य बनायो । खै हामीहरू किन अंग्रेजीमै इमेल लेख्छौं ? दाइ मात्र होइन म अरू नेपाली साथीहरूसँग पनि अंग्रेजीमै लेखेको हुन्छु । 
आजकाल मलाई लाग्छ म जुन समाजमा हुर्कें, पढें र बढें त्यसले आफ्नै भाषा सिक्न हत्तोसाहित गरेको छ । सायद हामीहरू यस्तो समाजमा छौं जहाँ आफ्नो जन्म दिने आमालाई ‘आमा’ र बा लाई ‘बा’ भन्दा अपमानित भएको महसुस गर्छौं । आधुनिक र सभ्य हुने नाममा ‘मम्मी ड्याडी’ भन्छौं, यो त एउटा सानो उदाहरण मात्र हो । आधुनिकताको नाममा समाज यसरी गाँजिएको छ कि ‘मलाई त राम्रोसँग नेपाली नै आउँदैन’ भन्नुमा पनि युवाहरू गर्व गर्छन् । नेपालमा महान् हुनका लागि आफ्नोपनालाई जति सक्यो हेला गर्नुपर्छ, नीच देखाउनुपर्छ, भाषा होस् या चलचित्र, वेशभूषा होस् या संगीत ।
नेपाल संसारमै एउटा यस्तो मात्र देश होला जहाँका हजारौं निजी विद्यालयमा आफ्नै भाषा बोल्दा सजाय पाइन्छ । पहिलोपल्ट विद्यालयमा पाइला टेकेको शिशु विद्यार्थीको पढाइ सुरु हुन्छ ‘गुड मर्निङ’ बाट । ‘नमस्ते’ भन्न सिकाइनु त कता हो कता, झुक्किएर कहीँ कतै भने पनि ठूलै अपमानित गरिन्छ । ठीक त्यस्तै छ समाजको हेर्ने तरिका पनि । आजकालका युवाहरू हेर्छु, अनि पाउँछु मजस्तै अंग्रेजीको भ्रममा बाँचिरहेका । अलि अघि एसईईको नतिजाले पनि त्यही देखाउँछ. नेपाली भाषा यति अपहेलित भएको छ कि न त यसलाई विद्यालयले न शिक्षक, न विद्यार्थी र न समाजले नै प्राथमिकतामा राख्छन् । सायद यसबारेमा केही सोच्ने बेला आयो कि ?
विदेशमा अंग्रेजीमा दख्खल हुनेहरू केवल अनुवादकको रूपमा मात्र काम गर्छन् तर दु:ख लाग्छ हाम्रो देशमा केवल भाषा जानेकै भरमा बुद्धिजीवी वर्ग कहलाउँछन् । विश्व चिन्न, अगाडि बढ्न अंग्रेजीले धेरै सहयोग त अवश्य गर्छ, अन्तर्राष्ट्रिय भाषा जान्नु र बुझ्नु धेरै राम्रो हो तर त्यो भन्दैमा के आफ्नो भाषालाई अपहेलना नै गर्नुपर्छ त ? के हामीले अंग्रेजी सिक्दै आफ्नो भाषालाई माया गर्न सक्दैनांै ? 
अहिले लाग्छ— अंग्रेजी त फगत एउटा भाषा मात्र रहेछ । नेपाली भाषाजस्तै मात्र एउटा माध्यम । जीवनमा एउटा ठूलो भ्रम पालेर धेरै लामो समयसम्म बसिएछ । 

Twitter : @gundrukPost

प्रकाशित : भाद्र ३, २०७४ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?