कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

किन आयो जासुसी विमान ?

उड्डयन
यो विमानले ६० हजार फिटभन्दा माथि पुगेर बंगलादेश, नेपाल, भारत, पाकिस्तान र बर्माको आकाशमा थुप्रै ग्यास, कणलगायत मनसुनको अध्ययन गरेको थियो ।
सुरज कुँवर

साउन ५ गते बिहान । एउटा दुर्लभ स्पाई (जासुसी) सोभियत जहाज काठमाडौंको आकाशमा देखियो । नेपाललाई बाँकी विश्वसँग हवाईमार्ग मार्फत जोड्ने एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस बिहान ६ नबज्दै यो अवतरण हुन खोज्दै थियो, तर सकेन ।

किन आयो जासुसी विमान ?

दोस्रो प्रयासपछि मात्रै यसले काठमाडौंको धावनमार्गमा टेक्यो ।

कमर्सियल विमानको दाँजोमा आकार, आवाज, उडान शैली फरक भएको त्यो विमानलाई देखेर त्यस बिहान विमानस्थलमा दंग नहुने कोही भएनन् । क्यामरा सुविधा भएको मोबाइल बोक्ने प्राय: ले तस्बिर/भिडियो पनि लिन चुकेनन् । किनकि यो यात्रुको सेवाका लागि भन्दा बमबारुद बोकेर उड्ने लडाकु विमान भएकाले पनि यसमा धेरैको रुचि देखियो । यो रुचि यो विमान काठमाडौंमा रहुन्जेल साउन ३० गतेसम्म रहिरह्यो । एटीसी (एयर ट्राफिक कन्ट्रोलर) हरूले यसपटकको यो मौकालाई ऐतिहासिक अवसर भनेका छन् । किनकि यस्तो विमान व्यवस्थापन नेपालजस्तो मुलुकमा बिरलै आइपर्छ ।
जस्तो २०४४ साल असोज २५ मा ब्रिटिस एयरक्राफ्ट करपोरेसनको कनकर्ड जहाज काठमाडौंमा आएको थियो । नागरिक उड्डयनबाट अवकाश लिइसकेका विज्ञ ललितविक्रिम शाहका अनुसार, त्यसताका कनकर्ड हेर्न राजा वीरेन्द्र रानीका साथ गौचरन पुगेका थिए । त्यो विमान किन पनि चासोको विषय थियो भने, त्यो सुपरसोनिक जहाज आवाजको गतिभन्दा चाँडो उड्ने क्षमताको थियो । त्यसबेला ज–जसले कनकर्ड देखेका थिए, अहिले पनि आफूहरूलाई बडो भाग्यमानी ठान्दै भनिरहेका हुन्छन्, ‘अहिलेको पुस्ताले कनकर्ड हेर्न अब बेलायती संग्रहालय जानुपर्छ ।’
यसपटक काठमाडौंमा आइपुगेको विमानको कमर्सियल नाम ‘मायासिससेफ एम–५५ जियोफिजिका’ हो तर यसलाई उत्तरी एटलान्टिक सन्धि संगठन (नाटो) ले रिपोर्टिङ गर्ने नाम अहिले पनि ‘मिस्टिक’ हो । यो रहस्यमयी विमानलाई सोभियत संघले दोस्रो विश्व युद्धपछिको शीतयुद्धताका ‘हाई अल्टिच्युट’ जासुसी, लडाइँ आदि प्रयोजनका लागि उडाउँथ्यो । तर, यसपटक काठमाडौंमा यो जासुसी गर्नलाई ‘नभई’ दक्षिण एसियाको मनसुन र हिमालय क्षेत्रको बदलिँदो जलवायुबारे अध्ययन गर्न आएको भनिएको छ ।
एक जना पाइलटमात्रै बस्न मिल्ने सिट भएको यो सैनिक वायुयानमा एक दर्जनभन्दा धेरै कार्गो राख्न मिल्ने पोर्ट थिए । जसमा कुनै बेला हतियार र बम राखेर यो लडाइँमा जान्थ्यो । तर, यसपटक ती कार्गो पोर्टभित्र वैज्ञानिकहरूले दुई दर्जन अनुसन्धानमूलक उपकरण राखेर यो जहाजलाई काठमाडौंबाट उडाएका थिए ।
अरू ठूला कमर्सियल जेट विमान ४२ हजार फिटसम्म उड्ने क्षमताका हुन्छन् । तर, यात्रुको सहजताका लागि ३०/३२ हजार फिट हाराहारी उड्छन् । यी विमान उड्ने तहलाई ‘ट्रोपोस्फेयर’ भनिन्छ । यसको सीमा पृथ्वीको सतहदेखि १० किलोमिटर (३२ हजार फिट) सम्म हो । यो तहभन्दामाथि ‘स्ट्रेटोस्फेयर’ तह सुरु हुन्छ जो १० देखि माथि ५० किलोमिटर (१ लाख ६४ हजार फिट) सम्म हुन्छ । त्यो तहमा ‘वेदरबेलुन’ र स्पाई जहाज मात्रै उड्छन् । यसपटक काठमाडौंमा आएको यो जियोफिजिका जहाज ७० हजार फिट (२० किलोमिटर) सम्म उड्यो ।
स्ट्रेटोस्फेयरभन्दा माथि ८५ किलोमिटरसम्म मेसोस्फेयर अनि ६९० किलोमिटरसम्म थम्रोस्पेयर तह हुन्छ । जुन स्याटलाइट, रकेटको स्थान हो ।
यसपटक काठमाडौंमा रहँदा वायुमण्डलमा नौपटकसम्म उड्ने तालिका बनाएको यो रूसी विमानले ८ पटकसम्म काठमाडौंबाट उडान गर्‍यो । त्रिभुवन विमानस्थलका फ्लाइट अपरेसन डाइरेक्टर सुधीरकुमार चौधरीका अनुसार, यो रूसी विमानलाई नेपाली एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले व्यवस्थापन गरेका थिए । ‘पाइलट र हाम्रा एटीसीबीच हुने संवादमा चुनौती देखियो,’ एक जना एटीसीले भने, ‘हामीले भनेको पाइलटले राम्रो/छिट्टै नबुझ्ने उसले भनेको पनि हामीले नबुझ्नेजस्तो अवस्था देखियो ।’ जस्तो एकपटक उसले पश्चिमी आकाशमा छु भनेको थियो तर रडारमा विमान पूर्वी आकाशतर्फ उडिरहेको देखियो । त्यसो त काठमाडौंमा अवतरण हुने दिन पनि रूसी पाइलटले नेपालको एटीसी नियम नबुझेकै प्रमाणित गरे । चौधरीका अनुसार, जहाजले अवतरण गर्न नसकेपछि निश्चित नियम बनाइएको छ । दायाँतर्फ उडेर धार्केसम्म पुगेर फर्किनुपर्ने बाटो छ । तर, यो विमानका पाइलटले त्यस दिन उडान प्रक्रिया भंग गर्दैै दोस्रो अवतरणको प्रयास काठमाडौंभित्रकै आकाशमा गरेको थियो । जुन गलत थियो ।
अध्ययनका लागि नेपाल आउँदा यो सैनिक विमान मस्कोबाट, अजरबैजान, उज्वेकिस्थान, अफगानिस्थान, भारतको हवाई मार्ग हुँदै आएको थियो । यो अध्ययनको संयोजन गर्नेमध्येका जर्मन प्राध्यापक मार्कस रेक्सका अनुसार, यसले अध्ययनका लागि उड्दा ४ घण्टासम्म आकासमा बितायो । काठमाडौंबाट उडेर काठमाडौंमै फर्किने अनुमति पाएको यसले ६० हजार फिटभन्दा माथि पुगेर बंगलादेश, नेपाल, भारत, पाकिस्तान र बर्मासम्मको आकाशमा थुप्रै ग्यास, कणलगायत मनसुनको अध्ययन गरेको थियो ।
यो विमानको स्टेसन त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा रहेको बुद्ध एयरको ह्यांगर थियो । अमेरिका, जर्मन, फ्रान्स, इटालीलगायत १२ मुलुकका ४५ वैज्ञानिकको काम गर्ने हबस्टेसन खडा गरिएको थियो । विमानले ल्याएका डाटा उनीहरू त्यहाँ डाउनलोड गर्थे । फेरि मेसिन, उपकरण जोड्थे अनी काठमाडौंबाट उडाइन्थ्यो । यसलाई उडाउने दुई रूसी सैनिक पाइलट आएका थिए । ती पालैपालो उड्थे । यो विमानमा पाइलटलाई अन्तरिक्ष यानमा जस्तै सुट लगाएर उचालेर सिटमा राख्नुपथ्र्यो । ‘स्पेसमा जाने यानमा जस्तै पाइलटले सुट लगाउँथ्यो । त्यसलाई गाडीमा राखेर अरूले सिटमा बसाइदिनुपथ्र्यो,’ बुद्धका अपरेसन म्यानेजर सुवर्ण खरेलले भने, ‘यो हामी नेपाली एभिएसनमा काम गर्नेका लागि अनौठो दृश्य थियो । ती पाइलट अक्सिजन पनि अभाव हुने उचाइमा जाने भएकाले सँगै चार घण्टाका लागि अक्सिजन सिलिन्डर पनि ककपिटमै राखेर लैजान्थे ।
दैनिक बुद्ध एयरको ह्यांगर प्रयोग गरेको मात्रै ५० हजार भाडा तिरेको विमानका लागि १५ इन्जिनियर अन्य जहाज चढेर काठमाडौं आइपुगेका थिए । उनीहरू जहाजको खाली कार्गोपोर्टमा उपकरण राख्ने/झिक्ने गर्थे । जसमा २ टनसम्मका २५ वटा फरक–फरक उपकरण जहाजभित्र राखेर उड्थ्यो । वैज्ञानिकहरूले त्यसलाई उड्नुअघि लोकेसन दिएका हुन्थे । उनीहरूकै निर्देशनअनुसार, त्यो आकाशमा फन्को लगाउँथ्यो ।
अरू कमर्सियल जहाजमा ढोका, कार्गो कम्पार्टमेन्टको ढोका खोल्ने/बन्द गर्ने कार्य ककपिटमा हुन्छ । तर, यो विमानमा भने यस्तो देखिएन । जब एक्ला पाइलटले विमान काठमाडौंमा अवतरण गर्थे । अनि इन्जिनियरले पाइलटको ढोका खोलिदिनुपथ्र्यो । अनि मात्रै उनी निस्किन्थे । त्यो पनि उनलाई बिरामीलाई डोर्‍याएजस्तो सिटबाट निकाल्नुपथ्र्यो, सिँढी राखेर । अनि उसले आकाशमा अध्ययन गरेका उपकरण बाहिरबाट स्क्रुले खोल्नुपथ्र्यो ।
भारत र चीनको आकाशको अध्ययन गर्न खोजिरहेका तर वर्षौंदेखि अनुमति नपाएका वैज्ञानिकहरू नेपालको आकाशमाथि जहाज उडाएर अध्ययन गर्न तीन वर्षयता लागिपरेका थिए । ‘धेरै ६/६ महिनामा नेपाल आउँदै फर्किंदै गरिरहन्थे,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी भन्छन्, ‘एक जना नेपाली सैनिक अधिकारीको सहयोगमा यसपटक भने यो समूहले अध्ययनको अनुमति पाउन सफल भयो ।’ हवाई क्षेत्रमा दख्खल राख्ने ती उच्च तहका ‘अवकाशप्राप्त’ प्राविधिक सैनिक नभएको भए सायदै यो विमानले यसपटक अध्ययन गर्ने अनुमति नेपाल सरकारबाट पाउँदैनथ्यो ।
ती अधिकारी हालै एक कार्यक्रममा सुनाउँदै थिए, ‘तर यसले के–के अध्ययन गर्‍यो ? किन गर्‍यो ? कुनै गोप्य उद्देश्य पो थियो कि त्यसबारे नेपालको कुनै पनि निकायले बिस्तृत बुझ्ने क्षमता राख्न सकेकै छैन । जर्मनी फर्किनुअघि विमानस्थलमा भेटिएका जर्मन प्राध्यापक रेक्स आफूहरूको मिसन उपलब्धिमूलक रहेकोमा खुसी हुँदै भन्दै थिए, ‘हामीलाई लक्ष्य प्राप्त गर्न नसकिने हो कि जस्तो लागेको थियो तर, मिसन सफल भएको छ । यसको विस्तृत प्रतिवेदन बाहिर आउन एक वर्ष लाग्नेछ ।’
उनले भनेअनुसार, ५२ महिनाको फ्रेमवर्क सेभेन भनिएको परियोजनाका लागि मात्रै युरोपियन युनियनले १ अर्ब ४० करोड (१२ मिलियन युरो) विनियोजन गरेको छ । कुल बजेटमध्ये आधा त जहाजको भाडा नै हो । यसपटक यो कार्यका लागि वैज्ञानिकसहित २ सय ५० हाराहारी काठमाडौं आएका थिए । यिनले विमानस्थल नजिकैको एयरपोर्ट होटललाई एक महिनाभन्दा बढी डेरा बनाए । जहाज फर्किए पनि केही विदेशी सातासम्म यहीँ बसेका थिए ।
उच्च भागको मौसमी गतिविधि, बादल, वायु, कण, ग्यासहरूको अध्ययनले नेपालको कृषि प्रणाली र उड्डयनलाई कति फाइदा हुने हो सरोकारबालाहरूको सक्रियता देखाए अबको मनसुनमा प्रभाव देखिएला । तर, नेपालमा आएको यो विमान भने धेरैले फेरि हेर्न पाइने हो/होइन भन्दै फोटो खिच्न मात्रै होइन आफ्ना स्कुले नानीबाबुलाई देखाउन पनि चुकेनन् ।

प्रकाशित : भाद्र ३, २०७४ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?