कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘ट्र्याक चेन्ज’

व्यक्ति
गोकर्ण गौतम

ठ्याक्कै तीस वर्षअगाडि बलिउडमा पाइला राखेका थिए, अक्षयकुमारले । फिल्म थियो, ‘आज’ । मुख्य भूमिकामा राज बब्बर र स्मिता पाटिल थिए, अक्षय त एकै छिन झुल्किने मात्र ।

‘ट्र्याक चेन्ज’

फिल्म खास चलेन । अपजसचाहिं अक्षयले अधिक भोग्नुपर्‍यो । एक त लिड रोल पाउन अरू तीन वर्ष कुुर्नुपर्‍यो । त्योभन्दा आहत तुल्यायो, निर्देशक महेश भट्टको कटु टिप्पणीले । भट्टले भनेका थिए, ‘एक्सन गराउनु छ भने अक्षयलाई लिनू, एक्टिङ गराउनु छ भने बिल्कुल नलिनू ।’ भइदियो पनि त्यस्तै, लगातार १५ वर्ष अक्षयले एक्सनप्रधानबाहेकका भूमिकै पाएनन् । बल्लतल्ल हेराफेरीबाट कमेडीमा फड्को मारे । तैपनि कसैले उनी र उनको अभियनलाई ‘सिरियस’ लिइएन । बरु समीक्षकहरूले एकै स्वरमा भन्न थाले, ‘अक्षयको फिल्म हेर्न जाँदा दिमाग घरमै छोडेर जानू ।’

तर अहिले भट्ट पछुताउँदै होलान्, समीक्षकको त बोली बदलिन थालिसकेको छ । पछिल्लो तीन वर्षमा अक्षयले पर्दामा साँच्चै जादू देखाइरहेका छन् । त्यो जादू कस्तो भने, २५ वर्षसम्म उनलाई जुन कारणले बिल्ला गरियो, त्यसमै अब्बलता पस्किरहेका छन् । ‘अभिनय गर्न नजान्ने’ भनिएका यी हिरोले रुस्तमबाट उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जिते । त्यसअगाडि ‘एयरलिफ्ट’ बाट चक्मा दिइसकेका थिए । ‘जोली एलएलबी २’ मा उनको कमेडीलाई पहिलोपटक गम्भीर रूपमा लिइयो । अहिले ‘ट्वाइलेट : एक प्रेमकथा’ ले साख अझ माथि उठाएको छ । संयोग नै भन्नुपर्छ, यी फिल्मले यथार्थपरक सामाजिक विषय उठान गरेका छन्, अक्षयको भूमिका पनि वास्तविकतासँग नजिक छ । जबकि यी विशेषता पहिले–पहिले उनका फिल्ममा विरलै हुन्थ्यो । अक्षय भन्न थालेका छन्, ‘मैले चाहेजस्ता फिल्म बल्ल खेल्न पाइरहेको छु ।’ मतलब उनी सुरुबाटै संवेदनशील फिल्म खेल्न चाहन्थे तर अवसर पाएनन्, एक्सनमा सीमित गरियो जबर्जस्ती ।
कसरी ? यसको जवाफ खोतल्नुपहिले यतिबेला भारतभर बहस छेडिरहेको ‘ट्याइलेट : एक प्रेमकथा’ को चर्चा गरौं ।
पतिको घरमा शौचालय नभएकै कारण पत्नी माइत जान्छिन् । सम्बन्ध तलाककै संघारमा पुग्छ । भारतका तीन राज्यमा भएको सत्य घटना हो यो । यसलाई पटकथामा बुनेर सिद्धार्थ सिंह र गरिमा वहल पाँच वर्ष मुम्बईमा भौंतारिए । मसला फिल्ममा मस्त फिल्मकर्मी न परे । ‘ट्वाइलेट : एक प्रेमकथा’ नाम र लगलाइन सुन्नासाथ तर्किन्थे । सिद्धार्थ र गरिमा हार मानिसकेको अवस्थामा बल्ल त्यो पटकथा अक्षयकुमारकहाँ पुगेको थियो । गज्जबै भयो, उनी पहिलो सिटिङमै फिल्म बनाउन हौसिए । किन त ? उनी प्रतिप्रश्न गर्छन्, ‘भारतमा ५४ प्रतिशत घरमा अझ पनि शौचालय छैन । यो सरमको विषय हो । त्यसमाथि सत्य घटनामा आधारित कथा । अनि फिल्म नबन्ने भन्ने हुन्छ र ?’ नभन्दै अघिल्लो शुक्रबार प्रदर्शित यस फिल्मले पैसा र प्रशंसा दुवै बटुल्यो । १८ करोड भारुमा बनेको ‘ट्वाइलेट : एक प्रेमकथा’ ले सुरुवाती दुई दिनमा ३० करोड कलेक्सन गर्‍यो घरेलु बजारमा । जबकि बिग बजेटको शाहरूख–अनुष्का स्टारर ‘जब ह्यारी मेट सेजल’ यही अवधिमा १५ करोडमा सीमित भएको थियो ।
शंकै छैन, यो फिल्मले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत अभियान’ लाई प्रत्यक्ष सघाउ पुर्‍याउँछ । धर्मको नाममा हुने रुढीवादमाथि तिखो प्रश्न पनि उठाउँछ । यत्ति भएपछि के चाहियो, फिल्म ‘प्रायोजित’ भएको आरोप लागिहाल्यो । तर अक्षय ठाडै नकार्छन् ।
त्यसो त ‘रिल’ मात्र होइन, ‘रियल लाइफ’ मा पनि अक्षय सामाजिक सेवामा मरिमेटेर लाग्न थालेका छन् । कहिले आत्महत्या गरेका महाराष्ट्रका किसानको परिवारलाई सहयोग गर्न पुग्छन्, त कहिले चेन्नईका बाढीपीडितलाई । ‘होलिडे’ खेलिसकेपछि सीमा सुरक्षामा खटिएका सैनिक जवान र तिनका परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले ‘भारत के वीर’ नामक एप र वेबसाइट लन्च गरे । इच्छुक व्यक्तिले बैंकिङ माध्यमबाट पैसा जम्मा गर्न सक्ने यो अभियान निकै फलदायी भएको छ । यही वर्ष बलिउडका स्टन्ट आर्टिस्टको बिमा र स्वास्थ्य उपचारका लागि ‘फन्ड’ सुचारु गरेका छन् । सलमान खानको ‘बिइङ ह्युमन’ मा त उनको निरन्तर साथ छ । आफ्नो डेब्यु फिल्मका निर्माता रवि श्रीवास्तवको मृगौला फेल भएपछि उपचारका लागि अक्षय अगाडि सरे । पठानकोट ‘सर्जिकल स्ट्राइक’ को खुलेर समर्थन गरे । मुम्बईमा आफ्नै स्कुल छ, जहाँ केटीहरूलाई नि:शुल्क मार्सल आर्ट सिकाउँछन्, ‘सेल्फ डिफेन्स’ का लागि । अहिलेसम्म १५ हजार युवतीले यो तालिम लिइसकेका छन् । सारी, हिल, वान पिस, जिन्सजस्ता पोसाकमै तालिम दिन्छन् अक्षय, ताकि दुव्यर्वहार हुँदा आफूलाई बचाउन सकून् । वन्यजन्तु बचाउ अभियानमा त्यत्तिकै सक्रिय छन् । र, यो सबै पछिल्लो तीन वर्षमा भइरहेको छ ।
यति मनकारी अक्षय पहिले किन ‘कुवाको भ्यागुता’ मा सीमित भए त ? अर्नब गोस्वामीसँगको हालैको अन्तर्वार्तामा अक्षयले भनेका छन्, ‘फिल्ममा आउनुको एउटै कारण थियो, पैसा कमाउनु । किनभने न मैले पैसा देख्न पाएको थिएँ, न मेरो परिवारले । त्यसैले पैसाकै खातिर एक्सन गर्नु बाध्यता भयो ।’ बलिउड बक्स अफिसमा २० अर्ब ग्रस कलेक्सन गर्ने पहिलो हिरो अक्षय नै हुन् । ४ वर्षअगाडि उनका सबै फिल्मको कमाई त्यति पुगेको थियो । तर बलिउडलाई आर्थिक रूपमा यति माथि उकासेका अक्षय कुनै समय हातमुख जोड्नकै लागि बैंककमा ‘स्ट्रिट फाइट’ गर्थे । त्यसअगाडि उनी गहना बेच्थे । सडक किनारामा पसल राखे । ‘ट्राभल एजेन्ट’ बने तर कहीं पैसा कमाउन सकेनन् । यी सबै संघर्ष गर्दा उनको नाम राजीव हरि ओम भाटिया थियो । जब अक्षयकुमारको नामबाट फिल्ममा फाइट खेल्न थाले, सबथोक बदलियो । त्यसैले पनि एक्सनभन्दा बाहिर जाने ‘रिक्स’ लिनै चाहेनन् । आफैंैले स्विकारेका छन्, ‘त्यतिबेला मलाई फिल्ममा लिनुको एउटै उद्देश्य हुन्थ्यो, फाइट खेलाउनु ।’ खिलाडी सिरिज त्यसको जबर्जस्त उदाहरण हो ।
तर क्यामेराको सामु फाइट खेल्दा–खेल्दा वाक्क भइसकेका थिए । बिस्तारै अभिनयको रस जो पसिसकेको थियो । त्यसैले फिल्मको ओइरो लाग्दा–लाग्दै अक्षयले प्रियदर्शनसँग ‘हेराफेरी’ को भूमिका मागे । त्यसमा न हिरोइन थियो, न एक्सन । थियो त केवल कमेडी, जुन अक्षयकुमारले कहिल्यै गरेका थिएनन् । त्यसपछि फेरि कमेडी फिल्मको भुमरीमा परे, ‘दिवाना हुय पागल’, ‘भागमभाग’, ‘नमस्ते लन्डन’, ‘हे बेबी’, ‘भुलभुलैया’, ‘वेलकम’, ‘हाउसफुल’ कत्ति हो कत्ति । यही बीच ‘सिंह इज किंग’, ‘गब्बर इज ब्याक’, ‘इन्टरटेन्मेन्ट’, ‘तीस मार खान’, ‘राउडी राथोर’, ‘बोस’ जस्ता बकम्फुसे फिल्म पनि खेल्न भ्याए । चलोस्, नचलोस् । राम्रो होस्, नहोस् । अक्षयले कहिल्यै ‘ब्रेक’ लिएनन् । विश्राम त १६ वटा फिल्म लगातार फ्लप हुँदा पनि लिनुपरेको थिएन ।
अक्षयले एक सय ३० फिल्म खेलिसके । बर्सेनि घटीमा ४ फिल्म रिलिज हुन्छन् । अधिकांश फिल्ममा उनकै लगानी हुन्छ । प्राय: ‘मिडियम बजेट’ का हुन्छन् । ‘हार्डकोर फ्यान’ ले हेर्दा मात्र पनि घाटा हुँदैन । अब उनको रिलिज हुने फिल्म हो, ‘प्याडम्यान’ । यसमा उनी तमिलनाडुको ग्रामीण भेगका गरिब महिलालाई स्यानिटरी प्याड बनाएर नाम र दाम कमाएका उद्यमी अरुणाञ्चलम मुरुनान्थमको रूपमा देखिँदै छन् । भन्नै परेन, फिल्म मात्र होइन, सामाजिक सेवामा पनि उनको रफ्तार तेज छ । तैपनि अक्षयको देशप्रेमलाई शंका गरिन्छ, खिल्ली उडाइन्छ । ‘रुस्तम’ बाट राष्ट्रिय अवार्ड पाउँदा पनि एउटा तप्काले बबन्डर मच्चायो । कारण एउटै हो, उनले क्यानडाको नागरिकता लिएका छन् । 

प्रकाशित : भाद्र ३, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?