कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छक्याउने अनुहार

संस्मरण
‘यो विदेशी कसरी, कुन बेला हाम्रो अगाडि पुग्छ र कुन बेला पछाडि पर्छ ख्याल गर्नुपर्ने भयो । नत्र यसले हामीलाई छक्याएको छक्यायै गर्ने भयो,’ गोविन्दले भने । हामी पनि उनको कुरामा सहमत भयौँ ।
शार्दूल भट्टराई

एकै छिनअघिसम्म उनी हामीभन्दा पछाडि थिए । उनले हामीलाई उछिनेको हामीलाई नै थाहा थिएन । उनले उछिनेकै भए त्यति सानो गोरेटोमा हामीलाई थाहा नहुने कुरा पनि थिएन ।

छक्याउने अनुहार

तैपनि उनी हाम्रो अगाडि पुगिसकेका थिए । उनी अचानक कसरी अगाडि पुगे ? हामी छक्क पर्‍यौँ ।

छक्क पर्दापर्दै पनि हामी आफ्नै पारामा अगाडि बढिरह्यौँ । हामी होसियारीपूर्वक ओरालो झर्दै थियौँ । तलतलसम्म पनि हिउँ जमिरहेकै थियो । कतै चिप्लिन खोज्दै र कतै अलिअलि चप्लिँदै हामी अगाडि बढिरहेका थियौँ ।
केही बेर अगाडिसम्म उनी हामीभन्दा अघि–अघि थिए । उनलाई हामीले उछिनेकै थिएनौं । उनी कुन बेला हामीलाई अगाडि पारेर पछाडि बसे भन्ने पनि हामीलाई थाहा छैन । तैपनि उनी कसरी पछाडि परे ? हामी फेरि पनि छक्क पर्‍यौँ । 
उनी र हामी सँगसँगैजस्तो हुन्थ्यौं । कहिले उनी अघि, कहिले हामी अघि तर उनी कुन बेला अगाडि पर्थे र कुन बेला पछाडि पर्थे भन्ने कुरा हामीलाई पत्तै हुँदैनथ्यो । लुकेर, झुक्याएर–छक्याएर बडो रहस्यमय तरिकाले उनी कहिले अगाडि र कहिले पछाडि पर्ने गरेको महसुस हामीलाई भइरहेको थियो । यसमा सबैभन्दा बढी आश्चर्य गोविन्द वर्तमानले मानिरहेका थिए । त्यसैले उनी विशेष चासोका साथ ती व्यक्तिलाई नियाल्न थालेका थिए । 
‘यो विदेशी कसरी, कुन बेला हाम्रो अगाडि पुग्छ र कुन बेला पछाडि पर्छ ख्याल गर्नुपर्ने भयो । नत्र यसले हामीलाई छक्याएको छक्यायै गर्ने भयो ।’ गोविन्दले भने । हामी पनि उनको कुरामा सहमत भयौँ । 
जब हामीले उनको हिँडाइका बारेमा चासो राख्ने विचार गर्‍यौँ, त्यसपछि निकै बेरसम्म उनलाई देख्दै देखेनौं । हामीले सोच्यौँ, ‘ती विदेशी कि त एकदमै अगाडि हुनुपर्छ कि त एकदमै पछाडि । अबचाहिँ तिनले हामीलाई झुक्याउन–छक्याउन सक्दैनन् ।’ 
***

हाम्रो उद्देश्य क्याञ्जेन गुम्बा पुग्ने थियो तर गोविन्द वर्तमानमा अघिल्लो दिन साँझदेखि देखिएको ज्वरांशका कारण हामी लाङटाङ भ्यालीबाटै फर्किएका थियौँ । थाङस्यापबाट अगाडि बढेपछि घोडातबेला आइपुग्नुभन्दा अलि अगाडि तीन जना विदेशी भेटिएका थिए । तिनमा एक पुरुष र दुई महिला थिए । उनीहरू अघिल्लो दिन क्याञ्जेन गुम्बाबाट फर्किएका रहेछन् । उनीहरूको चार जनाको टोली रहेको र एक जनाचाहिँ अगाडि गइसकेको विदेशी पुरुषले बताएका थिए । तिनले घाँटीमा क्यामेरा झुन्ड्याएका थिए र हिँड्दाहिँड्दै विभिन्न दृश्यलाई क्यामरामा कैद गर्ने काम पनि गरिरहेका थिए । 
एउटा छोटो ओरालो झर्दाझर्दै सेता र राता गुराँसहरू देखिए । अलिपर अझै रङ्गीचङ्गी गुराँसको एउटा कलात्मक बगैँचा नै देखियो । त्यसलाई क्यामेरामा कैद गर्ने कुरा प्राणेशले गरे । त्यही रङ्गीचङ्गी गुराँसको दृश्य ती विदेशीले पनि लिइरहेका थिए । गुराँसका बोटहरूसँगै उभिएर हामीले पालैपालो चारै जनाको फोटो पनि लियौँ । ती विदेशी पुरुष भने निकै रोमाञ्चक हाउभाउका साथ रङ्गीचङ्गी लालीगुराँसको फोटो लिनमै व्यस्त थिए । गोविन्दले ती विदेशीलाई विशेष जानकारी दिने मनसायका साथ भने, ‘यो लालीगुराँस हाम्रो राष्ट्रिय फूल हो ।’
ती विदेशीले मुसुक्क हाँस्दै जवाफ दिए, ‘धन्यवाद । यो कुरा मलाई पहिले नै थाहा थियो । त्यसैले त म यसको फोटो खिचिरहेको छु ।’
कसैसँग नयाँ कुरा गर्दा र कसैलाई नयाँ जानकारी दिन पाउँदा पनि कहिलेकाहीँ आनन्द लाग्छ । गोविन्दले पनि त्यही आनन्द लिने विचारमा त्यो जानकारी दिन खोजेका थिए तर उनलाई ती विदेशीले त्यस्तो मौका दिएनन् । गोविन्द केही नबोली, अलि–अलि ठुस्किएजस्तो मुखमुद्रामा ती विदेशी पुरुषतिर हेर्दै अगाडि बढे । 
***

ती विदेशीसँगको पहिलो भेटघाटपछि केही बेरसम्म हामी सँगसँगैजस्तो थियौँ । उनी हाम्रो पछिपछि आइरहेका थिए तर घोडातबेलाबाट ओरालो झर्ने बेलामा उनी हामीभन्दा अगाडि देखा परे । उनी कति बेला हामीभन्दा अगाडि पुगे भन्ने पत्तो हामीलाई भएन । तैपनि सुरुको एकपटक हामीले त्यो कुरालाई अनौठो रूपमा लिएका थिएनौँ, सामान्य रूपमै लिएका थियौँ । 
उनीहरू ठूलो स्याफ्रु पुगेर बास बस्ने उद्देश्यका साथ लाङटाङबाट हिँडेका रहेछन् । हामी सानो स्याफ्रु अर्थात् स्याफ्रुबेंसी पुग्ने लक्ष्यका साथ हिँडेका थियौँ । हाम्रो टोलीमा नारायण ढकाल, गोविन्द वर्तमान, प्राणेश न्यौपाने र मसमेत चार जना थियौँ । हामी लाङटाङ भ्यालीबाट बिहान साढे छ बजेतिर हिँडेका थियौँ । हिउँ नै हिउँमाथि पैताला घिसार्दै अगाडि बढ्न हामीलाई निकै कठिन भएको थियो । तेर्सो न ओरालो, अलिअलि चिप्लिने कुरा सामान्य थियो । लाङटाङबाट चम्की हुँदै थाङस्यापसम्मको पैदलयात्रा बढीमा पौने घण्टाको हो तर हामीलाई एक घण्टाभन्दा बढी लागेको थियो ।
हामी गुम्बाचोकमा आइपुग्यौँ । त्यहाँ हामीले नुडलसुप र चिया खायौँ । हामी त्यहाँबाट हिँड्नै लागेका थियौँ, ती विदेशी पुरुष तिनै दुईवटी महिलाका साथ भर्खरै माथिबाट झर्दै गरेका देख्यौँ । दुइटी महिला त हामीभन्दा पछि नै थिए तर अघि नै हाम्रो अगाडि देखिएका ती विदेशी पुरुष फेरि कसरी पछाडि परे ? हामीले सोच्यौँ— दिसापिसाबका लागि जङ्गलतिर पसेका हुन सक्छन् । 
उनी पछाडि नै थिए । हामी अगाडि बढ्यौँ । उनी पछाडि नै छन् भन्ने कुरामा हामी कसैमा कुनै द्विविधा थिएन । हामी चारै जनामा थिएन तर हामी चारै जना त्यति बेला फेरि छक्क पर्‍यौँ जब उनलाई हामीले लामा होटलभन्दा तल रिम्छे भन्ने ठाउँमा कुर्सीमा घाम तापेर बसिरहेका देख्यौँ । गुम्बाचोकदेखि रिम्छेसम्म आउन अर्को बाटो कतै छैन । हामी बाटो छोडेर दायाँबायाँ कतै लागेका पनि छैनौँ । बाटोमा कसैले हामीलाई उछिनेको पनि हामीलाई थाहै छैन तर हामीभन्दा पछाडि रहेका ती विदेशी कहाँबाट कसरी हामीभन्दा अगाडि आइपुगे ? हामीले अनौठो मान्यौं तर उनीसँग कुनै कुरा गरेनौँ । 
हामी रिम्छेमा पन्ध्र मिनेट जति बस्यौँ । हामीभन्दा दस मिनेट अगाडि ती विदेशी त्यहाँबाट हिँडिसकेका थिए । हामीलाई लाग्यो— अब उनी हामीभन्दा धेरै अगाडि हुनेछन् । 
रिम्छेमा चिया खाइरहेको बेला हाम्रो सामुन्ने एक जना युवक भरिया अर्को एक जना वयस्क भरियासँग थकित पारामा आफ्नो दुखेसो पोखिहेका थिए । गोविन्दले जिज्ञासु पारामा युवक भरियासँग उनको समस्या सोधे । भरिया भाइले हामीसँग पनि आफ्नो दुखेसो पोखे । विदेशी पर्यटकको नेपाली गाइडले उनलाई ३० किलोसम्म भारी बोक्ने सर्तमा क्यान्जेन गुम्बासम्म जान भनेर ल्याएको रहेछ तर बाटोमा भारी थप्दैथप्दै ५० किलो पुर्‍याएछ । पैसा थप्नेचाहिँ कुरै गरेनछ । हुँदाहुँदा विदेशी पर्यटकको एउटा बच्चासमेत बोक्नुपर्ने कुरा गरेछ । छोडेर जाऊँ यहाँसम्म आएको पैसा दिएको छैन, नछोडौँ बोक्नै नसक्ने भारी कसरी बोकेर जाऊँ भन्ने द्विविधाको कठिन अवस्थामा उनी रहेछन् । उनको कुरा सुनेर हामीलाई पनि दु:ख लाग्यो तर हामीले उनलाई केही सहयोग गर्न सक्ने अवस्था थिएन । जताततै ठगहरूको बिगबिगी बढ्दै गएको कुरा गर्दै हामी त्यहाँबाट हिँड्यौँ । 
हामीले खाना खान बेम्बो पुग्ने योजना बनाएका थियौँ । त्यसैले सरासर अगाडि बढ्यौँ । बेम्बोकी सुकमाया तामाङको होटलमा पुगेर खाना बनाइदिन भन्यौ । खानाको प्रतीक्षामा रहने क्रममा हामी केही बेरको आरामसहित गफगाफमा थियौँ । थकाइले निकै शिथिल थियौँ हामी । निद्रा लाग्ला–लाग्लाजस्तो भइरहेको थियो तर हामी एक्कासि झल्याँस्स भएझैं भयौँ । हाम्रा आँखा हामी भर्खरै झरेर आएको उकालोतिर आकर्षित भए । हामीले देख्यौँ— ती विदेशी त भर्खरै पो बेम्बोतिर झरिरहेका छन् । हामी फेरि जिल्लियौँ— हैन यी विदेशी फेरि कसरी पछाडि परे ? हामीलाई बारम्बार छक्याउने काम यी विदेशीले किन गरिरहेका छन् ? 
***

बेम्बोबाट हिँडेको एक घण्टापछि हामी पहिरो भन्ने ठाउँमा आइपुग्यौँ । त्यहाँ दुईवटा होटल थिए । हामी तामाङनी बहिनीको होटलबाहिर राखिएका कुर्सीमा बस्यौँ र चार कप कालो चिया अर्डर गर्‍यौँ । 
‘लौ, त्यो विदेशी त अगाडि पुगिसकेछ ।’ अगाडितिर हेर्दै आश्चर्यका साथ प्राणेशले भने । हामी सबैको ध्यानाकृष्ट भयो— नभन्दै हामीलाई छक्याउँदै आइरहेका ती विदेशी अगाडि बढिसकेछन् । हामी फेरि पनि जिल्लियौँ । उनी फेरि पनि हामीलाई छक्याउन सफल भए । बारम्बार एउटा विदेशीको छक्याइमा पर्नु परेकोमा गोविन्द अलि बढी नै ‘मुडअफ’ को स्थितिमा थिए । 
हामी चिया खान थाल्यौँ । शरीर आलस्यले गलेको थियो । कालो चियाले पनि हामीमा फुर्ती जगाउन सकेको थिएन । शिथिल भावभङ्गीमा कालो चियाको सुर्कोसँगै झोक्राइरहेका हामी फेरि एक्कासि आश्चर्यमा पर्‍यौँ । भर्खरै अगाडि गएको भनिएका तिनै विदेशी पर्यटक मास्तिरबाट आइरहेको हामीले देख्यौँ । भर्खरै अगाडि गएका उनी फेरि कसरी पछाडि परे ? हामी फेरि पनि आश्चर्यमा पर्‍यौँ । 
ती विदेशी पुरुष दुइटी युवतीसहित हाम्रै अगाडि आइपुगे । उनीहरू पनि त्यहाँ एक छिन आराम गर्ने उद्देश्यले बसे । 
विदेशी पर्यटक प्लास्टिकको कुर्सी तानेर बस्दै थिए गोविन्दले सोधिहाले, ‘तपाईंहरूको राष्ट्रियता 
के हो ?’
‘हामी इटालियन हौँ ।’ ती पुरुषले जवाफ दिए । 
उनले आफ्नो नाम पनि बताएका थिए । उनको 
उच्चारण स्पष्ट बुझिएन । तैपनि उनले आफ्नो नाम मोरेटी भनेजस्तो लाग्छ । कतै कसैले इटालियन कवि मारिनो मोरिटीको नाम उल्लेख गरेको मैले पढेको थिएँ । उनी के कस्ता कवि हुन् केही पनि थाहा छैन तर उनको नाम सुनेको भरमा मैले यी इटालियनको नाम पनि सम्झिन पुगेको थिएँ । हामीले भेटेका यी मोरेटी कुनै कवि थिएनन् । यी सामान्य पर्यटकझैँ लाग्थे । 
‘तपाईं त अगाडि गइसकेको जस्तो हामीलाई लागेको थियो तर आउँदै पो हुनुहुँदो रहेछ । तपाईं कसरी पछाडि पर्नुभयो ?’ गोविन्दले उत्सुकतासहित सोधे । 
‘अगाडि गइसकेको भन्ठानिएको व्यक्ति म होइन । त्यो व्यक्ति अर्कै हो । ऊ निकै छिटोछिटो हिँड्छ । त्यसैले ऊ जहिले पनि अगाडि हुन्छ तर यतिबेला ऊ यतै हुनुपर्ने हो । यहीँ कुरेर बस्ने कुरा थियो ।’ अगाडितिर हेर्दै उनले भने, ‘ऊ पर बसिरहेको रहेछ ।’ 
उनको कुरा सुनेपछि हामी निद्राबाट ब्युँझिएजस्ता भयौँ । बारम्बार छक्किनुपरेको घटना सम्झेर हामी हाँस्यौँ पनि । हाम्रो अगाडि बसिरहेका इटालियन र अलि अगाडि लौरो हल्लाउँदै एक्लै बसिरहेका उस्तै अनुहारका अर्का इटालियनलाई एकैपटक देखेपछि हाम्रो शरीरको आलस्य पनि हराएको थियो । 
एकै खालका दुइटा अनुहारलाई सँगसँगै देखेपछि हामी जिल्ल पर्‍यौँ । अनुहार एउटै । जीउडाल एउटै । उमेर पनि उस्तैउस्तै लगभग चालीस–पैँतालीस वर्ष । हिँडाइ उस्तै । बोली पनि उस्तै । तालु खुइलिएका टाउका पनि उस्तै । दुवैको समरज्याकेट र भेस्ट पनि उस्तै । दुई जनामा फरक भनेको जुत्ता र प्यान्ट मात्र । एउटाले खैरो रङको हाफप्यान्ट र काला जुत्ता लगाएका थिए भने अर्कोले खैरो रङको प्यान्ट र खैरो रङकै जुत्ता लगाएका थिए । 
‘तपाईंहरू जुम्ल्याहा हो ?’ नारायण ढकालले सोधे । 
‘होइन, हामी दाजुभाइ हौँ । म दाइ, ऊ भाइ । हाम्रो उमेरमा चार वर्षको फरक छ तर देख्नेले हामीलाई कुनै कुरामा फरक देख्दैनन्,’ उनले भने । 
ती दुई दाजुभाइलाई देखेर हामीलाई रमाइलो लाग्यो । हामी कसरी झुक्किएका र छक्किएका रहेछौँ भन्ने कुरा खुलेपछि हामीले आफ्नो हाँसोलाई रोक्न सकेनौँ । हाम्रा कुरा सुनेपछि उनीहरू पनि हाँसे । एक छिन त्यहाँको वातावरण निकै रमाइलो बनेको थियो तर त्यो रमाइलो धेरै बेर टिकेन । हिँड्ने बेलामा दाजुचाहिँ इटालियनले हामीलाई सोधे, ‘तिमीहरू भारतीय हौ ?’
नारायण ढकालले तत्कालै जवाफ दिए, ‘होइन, हामी नेपाली हौँ ।’
अलि–अलि रिसाएजस्तो गरी ठूलो स्वरमा गोविन्द वर्तमानले थपे, ‘हामी यहाँका नागरिक हौँ । हामी पनि आफ्नो देश घुम्ने गर्छौं ।’
ती इटालियनले अलि आश्चर्य मानेझैँ गरे । उनले भने, ‘नेपालीहरू पनि यसरी घुम्ने गर्छन् भन्ने हामीलाई थाहा थिएन ।’
नेपाल र नेपालीलाई भारतीय आँखाबाट हेर्ने विदेशीहरू धेरै छन् । ती इटालियनका आँखा पनि हामीलाई त्यस्तै लाग्यो । नेपालीलाई भारतीय देख्ने उनीहरूको भ्रम, खासमा भ्रमको रूपमा मात्र रहेझैँ हामीलाई लागेन । त्यो एउटा उद्देश्यकै रूपमा रहेझैंंँ पनि लाग्यो । 
ती इटालियनले हामीलाई ‘तिमीहरू कहाँका ?’ भनेर सोधेको भए पनि हुन्थ्यो तर उनले त्यसरी सोधेनन् । उनको सोधाइले अलिकति होच्याएको महसुस हामीलाई भयो । त्यसपछि थप कुरा केही भएन । 
पहिरोबाट अलिकति अगाडि बढेपछि ती इटालियनहरू ठूलो स्याफ्रुतिर उकालो लागे । हामी स्याफ्रुबेसीतिर तेर्सियौँ । अब भने कुनै अनुहारले झुक्याउन–छक्याउन नसक्ने कुरामा हामी ढुक्क थियौँ ।

प्रकाशित : भाद्र १०, २०७४ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?