पर्दाअगाडि र पछाडि

व्यक्ति
घिमिरे शुक्रबार आधा दिनको अध्यापन समय, शनिबारको बिदा, अनि सार्वजनिक बिदाका दिनहरू फारो गरी–गरी अभिनय कर्मका लागि खर्चन्छन् ।
भीम घिमिरे

रुचि, पेसा र परिवार । तीन थोककै लागि समयको सन्तुलन सजिलो छ ? जो–जोसँग सकिँदैन, अप्ठ्यारो–असहज भन्ने जवाफ छ, उनीहरूले ‘पशुपतिप्रसाद’ चलचित्रमा ‘मितबा’ पात्रको अभिनय गर्ने प्रकाश घिमिरेलाई भेट्दा हुन्छ । उनको घर पुगे हुन्छ ।

पर्दाअगाडि र पछाडि

त्यसो त उनको परिचय ‘मितबा’ पात्रले मात्रै पूरा हुँदैन । टेलिशृंखला ‘दलन’ मा धम्मरे परियार नामका पात्र भएर ‘क्यामेरा फेस’ सुरु गरेका उनले नेपाली भाषाका हालसम्म २२ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । रंगमञ्चबाट क्यामेराका अघि आएका ५५ वर्षीय घिमिरे कुनै चलचित्रमा पनि नायक/सहनायक भएर पर्दामा आएका भने छैनन् । सहयोगी भूमिकामै सही उनले फिल्महरूमा प्रभावशाली पात्रका रूपमा खेलेका छन् ।
***
 
घिमिरे पोखराको नदीपुर बस्छन् । घरनजिकैको कन्या माविमा निमावि तहका बिद्यार्थीलाई गणित पढाउँछन् । साँझ–विहान श्रीमती, तीन छोराछोरीका साथ घर र दुईवटा माउ गाई भएको गोठमा भेटिन्छन् । साँझ–बिहान गाईलाई घाँस–पराल हाल्छन्, दुहुन्छन् । भकारो सोर्छन् । बिहान गोठबाट निस्केर घर पुग्नुअघि चर्न जान दिन गाई फुकाउँछन् ।
ठूली छोरी चितवनमा ‘बीडीएस’ पढ्छिन् । सानी पोखराकै जनप्रिय कलेजमा बीबीए पढ्दै छिन् । ‘डिप्रेसन’ की विरामी श्रीमती र ‘डाउन सिन्ड्रोम’ भएका १९ वर्षका छोरा प्रतीकलाई उनले समय दिएका छन् । ‘छोरीहरू भरपर्दा छन्,’ उनी भन्छन्, ‘इन्टरनेट टेक्नोलोजीका धेरै कुरा मलाई छोरीहरूले बुझाउँछन् ।’ छोरो जन्मिएको धेरै बेरसम्म रोएन । चिनजानका चिकित्सकले पटक–पटक हेरे । उभिन–बोल्न नसक्ने हुने बताएको त्यो सन्तानलाई उनले सकेजति सीप लगाए । उपचार चलाए । ‘अहिले नर्मल केटाकेटीजस्तो त छैन तर, हिँड्न–बोल्न सक्छ,’ उनले भने, ‘बिस्तारै भर पर्न सकिने भएको छ । उसका रुचि र रहर अलि फरक छन् ।’ कन्या मावि संस्थापकमध्येका एक तथा पूर्वप्रधानाध्यापक तेजनाथ घिमिरे साहित्यकर्मी पनि हुन् । यिनै तेजनाथका तीन छोरामध्ये प्रकाश जेठा हुन् । पिता–पुत्रको बसाइँ छुट्टाछुट्टै भए पनि नजिकै छ । 
***

पारिवारिक अवस्था र शिक्षण पेसाको निरन्तरताका हिसाबले घिमिरेसँग ‘अभिनय’ जस्तो सोखको अतिरिक्त क्रियाकलापमा खर्च गर्न फुर्सदिलो समय देखिँदैन । अभिनयका लागि समय कसरी निस्कन्छ ? ‘शुक्रवारको स्कुल हाफ छुट्टीपछि शनिवार दिनभर मेरा लागि समय छ,’ उनी भन्छन्, ‘अनि स्कुल बिदा परेका बेला मेरो समय सुटिङका लागि हो ।’ आफ्नो पिरियड नपरेका बेला स्क्रिप्ट पढ्न घोरिने गरेका उनको काम गराइ देख्ता सँगैका शिक्षक सहकर्मी पनि छक्क पर्छन् । ‘प्रकाश सरले कसरी मेन्टेन गर्नुहुन्छ भन्ने अचम्म लाग्छ, हाम्रा सहकर्मी यस्ता भनेर गर्व पनि लाग्छ,’ कन्या माविका प्रअ प्रेम बुढाथोकी भन्छन्, ‘छुट्टी निकै कम मात्र लिनुहुन्छ । त्यसै पनि स्कुलमा सार्वजनिक बिदाका दिन धेरै आइपर्छन् । उहाँले त्यो समयलाई भरपूर सदुपयोग गर्नुभएको छ ।’ 
साढे तीन दशकदेखि शिक्षण पेसा गरिरहेका घिमिरे जागिरमा स्थायी भएकै २९ वर्ष पुगिसकेको छ । ‘मलाई जहिले पनि लाग्यो, म नभए घर, बुवाआमा, परिवारको बिचल्ली हुन्छ । कसले मेरो ठाउँमा घरको काम गर्छ,’ घिमिरेले भने, ‘त्यसैले मैले घर छाड्न नसकेको हो । हुन त म गलत पनि हुन सक्छु । तर, मेरो भागको दायित्व जे–जे छन् त्यो मैले नै पूरा गर्नुपर्छ भन्ने लाग्छ । गर्दै आएकै छु ।’ 
शुक्रबार आधा दिनको अध्यापन समय, शनिबारको बिदा, अनि सार्वजनिक बिदाका दिनहरू फारो गरी–गरी अभिनय कर्मका लागि खर्च गर्ने उनले बताए । ‘टाढा गएर धेरै दिनसम्म सुटिङ चल्ने सिनेमा मेरा लागि समस्या हो तर, साथीभाइले मलाई सजिलो हुनेगरी समय मिलाइदिएका छन्,’ उनले भने, ‘कतिपटक अवस्थाअनुसार मैले पनि एडजस्ट गरेको छु ।’
***

नेपाली सिने संसारमा फरक प्रकारको काम गराइका लागि चिनिएका नवीन सुब्बा र अनुप बराल घिमिरेको कला क्षेत्रको ‘करिअर’ सँग जोडिएर आउने नाम हुन् । रंगमञ्चमा अभिनय गर्दै आएका उनलाई क्यामेराअघि ‘दलन’ निर्देशक सुब्बाले धम्मरे परियार बनाएर उभ्याए । दलनको कथालाई क्यामेरामा उतार्नुअघि ‘कास्टिङ डाइरेक्टर’ को जिम्मेवारी बरालले सम्हालेका थिए । उक्त पात्रमा घिमिरे ठीक हुने निर्णय उनैले गरेका हुन् । 
कलाकार दुर्गा बराल ‘वात्स्यायन’ घिमिरेका छिमेकी हुन् । चार/पाँच वर्षले उमेरमा कान्छा भए पनि वात्स्यायनका जेठा छोरा अनुप बाल्यकालदेखि नै घिमिरेको संगतमा छन् । २०७० पछि बराल अधिकांश समय राजधानीकेन्द्रित भएर ‘एक्टर्स स्टुडियो’ सञ्चालन गर्दै नवोदित तन्नेरीहरूलाई अभिनयकर्म सिकाइरहेका छन् । ‘उमेरका हिसाबले मैले प्रकाशजीलाई दाइ भन्नुपर्छ तर, हामीबीच साथीको नाता छ,’ उनले भने, ‘मेरो उमेरका केटाहरूभन्दा अलि बढी बुझेका, अगुवा र आड–भरोस भएका हुन् प्रकाशजी ।’ बाल्यकालमा घरमा हुने अंग्रेजी किताब र कमिक्स बोकेर घिमिरेको गाई–भैंसी पालेको ग्रामीण बसाइँको झल्को दिने घरमा पुग्ने, त्यहाँ उनले ती किताब पढेर अथ्र्याइदिने गरेको स्मरण अनुपले गरे । ‘हामी टोलका केटाहरू केही सामाजिक कामका लागि जुटौं, केही गरौं भन्दा अगुवाइ प्रकाशजीले लिने हो,’ उनले भने, ‘२९ सालतिर सूर्योदय युवा क्लब गठन गरियो, साहित्यिक कार्यक्रम र नाटक/प्रहसनको क्रम त्यहीँबाट सुरु भयो ।’
बरालको बुझाइमा घिमिरे जहिल्यै जीवन–जगत्लाई बुझेका, नहतारिने, विचारेर मात्रै निर्णय दिने अगुवाका रूपमा रहिआएका हुन् । ‘पहिलो नाटक गर्दा मैले प्रकाशजीको निर्देशनमा अभिनय गरेँ, दोस्रो नाटकका बेला निर्देशनको जिम्मेवारी मलाई आयो, प्रकाशजीले अभिनय गरे,’ उनले भने, ‘अभिनय हाम्रो पूर्णकालीन पेसा थिएन, रहर थियो । मैले यहीँ क्षेत्र रोज्न दिल्ली पढ्न गएँ, प्रकाशजीले घरपरिवार, पढाउने काम गरेरै पनि अभिनयलाई समय दिँदै आउनुभयो ।’ थोरै काम गरेर धेरै प्रशंसा चाहने अभिनयकर्मीको भीडमा घिमिरेको बानी फरक रहेको उनको अनुभव छ । ‘म फर्केर आएपछि लामो समय पोखराबाहिर छु, हामीले अहिलेसम्म एउटै फिल्ममा सँगै काम गरेका छैनौं तर, एकअर्कालाई बुझ्छौं,’ उनले भने, ‘अवसर खोजिरहने, अवसरका लागि साथीभाइलाई आग्रह गरिरहने बानी प्रकाशको छैन । अनौठो पनि लाग्छ ।’
***

‘दलन’ र ‘नुमाफुङ’ चलचित्रका निर्देशक नवीन सुब्बाको अनुभवमा घिमिरे कलाकर्मीमात्रै होइनन् । ‘आहूतिजीले लेखेको कथाले दलनमा पर्वतको दक्षिण भेग स्याङ्जा जोडिने गाउँको परिवेश कुरा बोल्थ्यो, सुटिङ गर्ने बेला हामीले खौलालाँकुरी छान्यौं, जहाँको संस्कृति थोरै फरक थियो ।’ यही फरकमा स्थानीय लवज र संस्कृतिमा पात्रका दैनिकीबारे घिमिरेले आफूलाई प्रस्ट्याएको उनले बताए । ‘काम गराइको अनुभवअनुसार मैले प्रकाशजीमा एउटा कलाकार मात्रै होइन गण्डकी क्षेत्रको संस्कृति बुझेको स्रोतव्यक्ति पाएँ,’ उनले भने, ‘क्यामेराले खिच्ने कुरा कथाअनुसार कलाकारको अभिनय मात्रै होइन, नबोली, वर्णन नगरी पनि दर्शकलाई बुझाउने भाव खिचिन्छ, यसमा मैले प्रकाशको ठूलो सहयोग पाएको हो ।’ घरको काम भ्याएर खौलालाँकुरी पुगी सुटिङमा पात्रको चरित्र प्रस्ट उतार्ने क्षमताले आफूलाई प्रभावित पारेको उनले बताए । 
पछिल्लो पुस्ताका सिनेकर्मी खगेन्द्र लामिछानेको ‘धनपति’ हालै प्रदर्शनमा आयो । यसअघि उनले आफैं शीर्ष भूमिकाको ‘टलकजंग भर्सेज टुल्के’ र ‘पशुपतिप्रसाद’ बनाइसकेका छन् । ‘धनपति मेरो तेस्रो प्रोजेक्ट हो । प्रकाश दाइको रोल छोटो छ तर, यसमा पनि मैले दाइलाई छाडेको छैन,’ उनले भने, ‘उहाँको खुबी भनेको तपाईं यस्तो पात्र हो, सिन यस्तो छ भनेपछि सम्झाइरहनु पर्दैन । उहाँ सोझै त्यो चरित्रमा पस्न सक्नुहुन्छ ।’ निकै कम कलाकारमा देखिने असाधारण खुबी उनमा भएको लामिछानेको बुझाइ छ । ‘म पोखरा नै बसेर पढेको हो, प्रकाश दाइ र अनुप दाइले नै मलाई अभिनयको क्षेत्रमा लाग्न प्रेरित गर्नुभएको हो,’ उनले भने, ‘घरपरिवार सुखदु:खका अवस्था थाहा छन् । तर, क्यामेरा अगाडि जुन पात्र भएर उभिँदा पनि प्रकाश दाइको अनुहारमा घरेलु तनाव र निराशाका भाव मैले देखेको छैन ।’ स्क्रिप्ट तयार पार्दै गर्दा नै ‘यो पात्रको अभिनयमा प्रकाश घिमिरे ठीक’ भन्ने हुने गरेको उनले बताए । ‘अरूको जस्तो बानी नभएकाले पनि उहाँसँग जसले काम गर्छ, उसले फेरि–फेरि पनि काम गर्न चाहन्छ,’ उनले भने, ‘यो क्यारेक्टर म गर्दिनँ, यो गर्छु, यो मबाट हुँदैन भन्ने जवाफ कहिल्यै सुन्न पाइएको छैन ।’ 
यतिबेला घिमिरे घनश्याम लामिछानेको ‘पञ्चेबाजा’ को स्क्रिप्ट पढ्दै छन् । छायांकन सुरु भएपछि युवा निर्देशक घनश्यामसँग घिमिरेको यो तेस्रो चलचित्र हुनेछ । उनीहरूले यसअघि ‘धौली’ र ‘अग्निदहन’ (प्रदर्शन हुने तयारीको) मा काम गरेका हुन् । ‘उहाँको टाइम टाइट हुन्छ, हामीले उहाँबाट काम लिन उहाँकै समयअनुसार चल्नुपर्छ,’ लामिछानेले भने, ‘तर, यति भईकन उहाँलाई जुन क्यारेक्टर दियो भने पनि अभिनय जीवन्त हुन्छ । नाटकीय भाव पटक्कै पनि छैन । कामप्रतिको डेडिकेसन लोभलाग्दो छ ।’ नयाँ पुस्ताका कलाकर्मीले घिमिरेबाट सिक्न सकिने कुरा धेरै रहेको उनको बुझाइ छ । ‘मान्छेपिच्छे समस्या कसका हुँदैनन् तर, अभिनय गर्छु भनेर आएपछि कुनै पनि बहानाबाजी नगरी खुरुखुरु काम गर्ने र यतिबेलासम्ममा सक्नुपर्छ भनेर समयको महत्त्व सिकाउने मान्छे कमै छन्,’ उनले भने, ‘उहाँको त्यो सादा र सन्तुलित बानीव्यवहार प्रेरक लाग्छ ।’ 
***

तेजनाथ भूमिप्रशासन कार्यालयका नायबसुब्बा थिए । जिल्ला–जिल्लामा सरुवा भइरहन्थ्यो । जेठा छोरा प्रकाशले पितासँगै पोखरा बाहिर लमजुङ, धनगढी, परासी, जलेश्वर र जनकपुरमा पनि बाल्यकालका वर्षहरू बिताए । २०३९ सालतिर पोखराको नदीपुरका युवाहरूले सूर्योदय युवा क्लब गठन गरेर साप्ताहिक भेटघाटको जमर्को कविगोष्ठीजस्ता साहित्यिक कार्यक्रमबाट थाले । यसको अगुवाइ उनैले गरेका थिए । 
आºना उमेरका भन्दा पाका र कम उमेरका साथी बनाउन रुचाउने उनले साथीहरूसँग मिलेर सडकमा ढुंगा छाप्ने, चौतारो बनाउने र साहित्यिक कार्यक्रम आयोजनाको काममा सक्रिय हुँदै गए । साहित्यिक कार्यक्रमबाट युवा जमातलाई नाटक देखाउने रहर लाग्यो । दीपक पराजुलीले नाटक लेखे— जब इज्जत सल्कन्छ । ‘त्यो नाटक हामीले तीन वर्ष त रिहर्सल मात्रै गर्‍यौं,’ घिमिरेले सुनाए, ‘त्यसपछि डाँफे कला मन्दिरमा सात दिनसम्म मञ्चन भयो । यही हाम्रो सुरुआत थियो ।’ नाटक हेरेका सरुभक्तले ती तन्नेरीको जमातलाई ‘ताण्डवनृत्य र अजम्मरी भ्वाइलिन’ नामको आºनो नाटकमा अभिनय गराए । सरुभक्तले आºना नाटकमा लिन थालेपछि घिमिरे रंगमञ्चमा बराबर प्रभावशाली पात्रको भूमिकामा देखा पर्न थाले । पोखरेली कलाकर्मीले ‘प्रतिविम्ब नाट्य समूह’ का नामबाट नाटक लिएर राजधानी आउजाउको क्रम बाक्लियो । उनले दन्त्यकथाजस्तो, न्यायप्रेमी, सिरुमारानी आदि नाटकमा अभिनय गरे । दिल्लीको नेसनल स्कुल अफ ड्रामामा पढेर फर्किएका अनुप बरालले उनलाई सरुभक्तद्वारा लिखित ‘थाङ्ला’ नाटकमा अभिनय गराए । 
‘दलन’ रंगमञ्चको संसारबाट क्यामेराअघि लगेपछि उनले सुवर्ण थापाको सर्ट मुभी ‘मलामी’ मा काम गरे । यतिबेला उनको पनि अभिनय देख्न पाइने सूचीमा ‘करोडपति,’ ‘छक्कापञ्जा–२’ र ‘अग्निदहन’ चलचित्र प्रदर्शनको मिति पर्खाइमा छन् । याम थापाको निर्देशनमा निर्माण हुन लागेको ‘हुर्रे’ को छायांकन सुरु हुन लागेको छ । 
सांस्कृतिक र सांगीतिक कार्यक्रम गर्दै आएकाहरूको पुरानो संस्था पोखरेली युवा सांस्कृतिक परिवारको सचिवदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका घिमिरे यतिबेला पहिले जसरी कविता लेख्ने, गीत गाउने भने गर्दैनन् । ‘त्यो एउटा बेला थियो, यतिबेला थोरै पनि फुर्सद निस्क्यो भने किताब पढ्छु, सिनेमा हेर्छु,’ उनले भने, ‘अबका नेपाली सिनेमा मौलिक प्रकारका बन्दै छन् । आफूले पाएको भूमिका कसरी गहकिलो हुन्छ भन्ने सोच्छु ।’ 
रंगमञ्चबाट सिनेमामा पुगेका कलाकारलाई अभिनयका दृष्टिले कुन राम्रो भनेर सोधियो भने ‘रंगमञ्च’ भन्ने धेरै हुन्छन् । ‘दुवैका खुबी आ–आफ्नै पाराका छन्, सिनेमामा टेक खाएजस्तो नाटकको रिहर्सलमा तयारी राम्रो चाहिन्छ,’ उनले भने, ‘सिनेमामा अगाडि अर्को पात्र भएन भने पनि क्यामेराले कताबाट खिच्छ भन्ने हेक्का राखेर एक्लै पनि डाइलग बोल्नुपर्छ, एउटै सिनलाई भिन्न–भिन्न कोणबाट पटक–पटक सुट गर्दा कलाकारले सन्तुलित भइरहनु सजिलो कहाँ हुन्छ ?’ 
[email protected]

प्रकाशित : भाद्र १०, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?