कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इतिहासको अध्ययन र चाँगु क्षेत्र

पुस्तक
राम लोहनी

अनुसन्धानमा तर्क वितर्क गर्ने केही युक्ति छन् । निगमनात्मक युक्ति (डिडक्टिभ रिजनिङ) अनुसार सामान्य सत्यलाई दोहन गरेर फुटकर तथ्यहरू पत्ता लगाइन्छ । गणितका तथ्यहरू निगमनात्मक युक्तिका निष्कर्षहरू हुन् ।

इतिहासको अध्ययन र चाँगु क्षेत्र

पर्याप्त फुटकर तथ्यहरूको अवलोकन, परीक्षण गरेर सामान्य सत्यमा पुग्ने अर्को विधि छ (आगमनात्मक युक्ति (इन्डक्टिभ रिजनिङ) । आगमनात्मक विधिले इन्द्रिय तथा उपकरण आदिबाट अवलोकन गर्न नसकिने तथ्यको कुनै सत्ता हुँदैन भन्ने मान्यता राख्छ । सीमित तथ्यको आधारमा वस्तुस्थितिको अनुमान गरेर निष्कर्ष निकालिने विधि हो विगमनात्मक युक्ति (याब्डक्टिभ रिजनिङ) । चिकित्सकले बिरामीको रोगको अनुमान गर्दा वा न्यायाधीशले न्यायिक निर्णय गर्दा विगमनात्मक विधिलाई पछ्याइएका हुन्छन् । उनीहरूले अवलोकन गर्न पाउने तथ्य र प्रमाण पर्याप्त हुँदैनन् । यसकारण विगमनात्मक युक्ति अपनाएर निकालिएको निष्कर्ष निर्णयकर्ताको सिर्जनात्मक क्षमतामा धेरै भर पर्छ । सीमित घटना, परिणाम र उपलब्धिलाई अवलोकन गरेर त्यसको स्रोतको पहिचान गर्नु शब्दभेदी वाण चलाउनु जत्तिकै चुनौतीपूर्ण काम हो । विज्ञानमा ठूला ठूला अन्वेषणको पछाडि यस्तै प्रकृतिका सिर्जनात्मक अनुमानहरू रहेका हुन्छन् । इतिहास, पुरातत्त्वको अनुसन्धान यस्तै प्रकृतिको अनुसन्धान हो । तथ्यहरू छरिएर रहेका हुन्छन्, पर्याप्त हुँदैनन्, अस्पष्ट र अप्रत्यक्ष पनि हुन्छन् । प्रयोगशालामा परीक्षण गर्ने अवसर पनि हुँदैन । प्राप्त प्रमाणकै आधारमा अनुमान गर्नुबाहेक अरू विकल्प हुँदैन ।

नेपालमा इतिहासको अध्ययन
नेपालको इतिहासबारे पढे–लेखेकालाई पनि एकदमै कम जानकारी छ । आफ्नो जातिको इतिहासबारे सम्बन्धित समुदायलाई नगण्य सूचना छ । इतिहासको नाममा नेपालमा जे जति भएको छ, त्यो वंशावली र शासक वर्गको विरुदावलीमा सीमित छ । त्यो इतिहास पनि धेरै अगाडि जाँदैन । जे थाहा छ भनिएको छ, त्यो कति सत्य हो, कति तथ्य हो भन्ने जटिल प्रश्न टड्कारो छ । नयाँ अनुसन्धानका खबरहरू लगभग शून्य छन् । इतिहासको अनुसन्धानमा राज्यको उदासीनता अत्यासलाग्दो छ । नयाँ पिंढीलाई इतिहासको अनुसन्धान कसरी गर्ने भन्ने शिक्षा दिन सकिएको छैन । कस्ता कुराहरू ऐतिहासिक तथ्य हुन सक्छन्, ऐतिहासिक विषय वस्तुमा कसरी तर्क गर्ने, तथ्यहरू कसरी स्थापित गर्ने भन्ने जस्ता आधारभूत ज्ञानको अभाव नराम्ररी खट्किएको देखिन्छ । विश्वविद्यालयमा इतिहास पढ्ने विद्यार्थीको अभाव छ । इतिहासको अध्ययन अन्तिम छनोट हुने गरेको छ । उच्च माध्यमिक तहमा ऐच्छिक विषयको रूपमा इतिहास पढ्ने विद्यार्थी पाइँदैन ।
त्यसो त, आशाको दियो निभिसकेको चाहिँ छैन । डा. पुरुषोत्तमलोचन श्रेष्ठको ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’ पुस्तकले त्यो प्रयासलाई कायम राखेको छ । साना, मसिना र झलक्क हेर्दा कम महत्त्वपूर्ण लाग्ने प्रमाणहरू बटुलेर ऐतिहासिक तथ्यहरूमाथि कसरी तर्क गर्न सकिन्छ भन्ने उदाहरण हो यो कृति । पुस्तकले यद्यपि गहिराइमा गएर धेरै व्याख्या गरेको त छैन, सामान्य विवेचनासहितको एउटा अनुसन्धान प्रतिवेदनको स्वरूप हो यो । इतिहास अध्ययनमा रुचि जगाउन र प्रोत्साहित गर्ने प्रकृतिको हुनु नै यो पुस्तकको सबभन्दा सबल पक्ष हो ।
नेपालको इतिहास सम्बन्धी केही प्रश्न
नेपालको इतिहासमा लिच्छविकाल भनिएको अवधिभन्दा अघिको इतिहास लगभग अन्धकारमय छ । इतिहासमा नेपाल भनेर काठमाडौं उपत्यका र त्यसको वरिपरिलाई मात्र सम्झने गरिन्छ । पश्चिमका खस राज्यको एक हजार वर्ष जतिको इतिहासको एउटा रूपरेखा छ । कोसी पूर्वको इतिहास त झनै निराशाजनक छ । कौटिल्यको अर्थशास्त्रमा उल्लेख भएको ऊन निर्यात गर्ने ‘नेपाल’ यही काठमाडौं उपत्यका नै हो ? उक्त समयमा ‘नेपाल’ मा किराँतको शासन थियो । किराँतहरू भेडापालन गर्थे र ऊन तथा ऊनबाट बनेका सामानको व्यापार गर्थे ? लिच्छविकालमा पशुपालन, भेडापालन राज्यको मुख्य व्यवसाय भएको बुझिँदैन ।
महाभारतका कर्ण दिग्विजय यात्रामा नेपालमा आएर किराँतहरूलाई जितेको चर्चा छ । त्यो नेपाल अहिलेको काठमाडौं उपत्यका हो ? ती किराँत अहिले मेची र कोसीको बीचको पहाडी भूभागमा बसोबास गर्ने राई (किराँतका पुर्खा हुन्) ? यो विषयमा खासै बहस भएको पाइँदैन । उपत्यकाबाट विस्थापित हुने क्रममा सिङ्गो समुदाय कोसीपारि पुग्यो भन्ने कुरा बसाइँ सराइको सामान्य मान्यताअनुसार पत्यारलाग्दो लाग्दैन । विस्थापित हुनेहरू त उपत्यकावरिपरि छरिएका हुनुपर्ने † यो कोणबाट हेर्दा उपत्यका वरिपरि चारैतिर छरिएका तामाङ जातिलाई ती किराँतका वंशज ठान्नुपर्ने हुन्छ ।
उपत्यकामा किराँतअघि गोपाल वंशको शासन थियो भनिन्छ । तिनका उत्तराधिकारी अहिले को हुन् ? गोपालहरूसँग कृष्णको सम्बन्ध रहेका किंवदन्ती पाइन्छ । उपत्यकामा गोपालहरू अगाडि नागहरूको बसोबास भएको अनुमान गरिएको छ । उपत्यकामा नागसम्बन्धी थुप्रै कथा, किंवदन्तीहरू पाइएबाट यहाँ नागहरू थिए भन्ने निष्कर्षचाहिँ निस्कन्छ । चोभार, थाङ्कोट क्षेत्रमा वाणासुरको संहार गर्न कृष्ण आएको कथा प्रचलित छ । कथाअनुसार वाणासुरकी पुत्री उषा र कृष्णका नाति अनिरुद्धको प्रेम बस्यो । वाणासुरले नागहरूको सहायताले अनिरुद्धलाई कैद गर्‍यो । नातिलाई छुटाउन कृष्ण उपत्यकामा आए । वाणासुरको पक्षबाट शंकर (महादेव) ले कृष्णसँग युद्ध गरेको प्रसङ्ग पनि कथामा जोडिन्छ । महादेवबाट संरक्षित वाणासुर किराँतहरूको प्रतिनिधि हो ?
कथाहरू यद्यपि भर पर्दा त हुँदैनन्, तर पनि तिनमा तथ्यहरू लुकेका हुँदैनन् भन्न पनि सकिंदैन । जब अन्य प्रमाणहरू प्राप्त हुँदैनन्, किंवदन्ती, भाषा आदिमा सुषुप्त रहेका तथ्यहरू नै अगाडि बढ्ने आधार हुन्छन् । जहाँ थोरै भए पनि उज्यालो छ, अनुसन्धान त्यही विन्दुबाट सुरु हुन सक्छ । पुराणअनुसार उपत्यका त्यो समय शंकरको संरक्षणमा रहेको देखिन्छ । अर्कोतिर, कृष्णकथा र महाभारतलाई मसिनो गरी हेर्दा त्यसमा नागविरुद्धका थुप्रै अभियानहरू देखिन्छन् (कालिय नाग दमन, खाण्डववन दाह, जन्मेजयको सर्पसत्र आदि । नागहरूसँग कृष्ण र अर्जुनका द्वन्द्व र सम्झौताका घटनाहरू महाभारतमा पटक–पटक आउँछन् । कृष्णका अनुयायी गोपालहरू नागलाई दपेट्दै नेपालसम्म आएका हुन सक्छन् । कृष्णसँग जोडिएको भागवत धर्मकै स्वरूप वैष्णवपन्थ उपत्यकामा लिच्छवि कालअघिदेखि नै रहेको देखिनु काकताली मात्रै होइन । तर प्रश्न के हो भने ती नाग जातिका वंशज को हुन् त ? उपत्यकाका रैथाने ज्यापू ? उपत्यकाबाट विस्थापित बलामी ? स्वयम् नागहरू को हुन्, कहाँबाट आए भन्ने विषयमा छुट्टै चर्चा आवश्यक छ ।
लिच्छविकै कुरा गर्दा यिनीहरूलाई ‘लिच्छवि’ भनेर पहिलोपटक मानदेवकी छोरीको भनिएको संवत् ४२७ को एउटा अभिलेखमा उल्लेख गरेको पाइएको छ । मगधका राजा अजातशत्रुको आक्रमणबाट बच्न वैशालीबाट विस्थापित भएका मानिसहरू नै नेपाल उपत्यकाका ‘लिच्छवि’ हुन् भन्ने तर्क गरिन्छ (प्रस्तुत पुस्तक, पृ. ९४) । डा. राजाराम सुवेदीका अनुसार चन्द्र गुप्तले वैशालीमा राजतन्त्र लादेपछि लिच्छविहरू भागेर नेपाल प्रवेश गरेका हुन् (नेपालको तथ्य इतिहास, पृ. ६१)। बाबुराम आचार्यका अनुसार लिच्छविहरू नेपाल प्रवेश गरेको लगभग डेढ सय वर्षपछि नेपालको शासन सत्ता आफ्नो हातमा लिएका थिए (नेपालको संक्षिप्त वृत्तान्त, पृ. १३) । इतिहासकारहरूका तर्क बाझिएका छन् । लिच्छविहरू यहाँको समुदायमा कुन रूपमा समायोजन भए भन्ने प्रश्नको उत्तर खोजिनुपर्छ । वैशालीमा त्यो बेला बुद्ध र जैन धर्मको प्रभाव थियो । उपत्यकामा बुद्ध धर्मको प्रचार प्रसार ‘लिच्छवि’ कालअघि नै भइसकेको थियो । पटक–पटक गरेर नेपाल आएका लिच्छविहरूसँग जैन धर्मचाहिँ किन आएन भन्ने प्रश्नको उत्तर प्राप्त छैन । लिच्छवि राजा वृषदेवले बुद्ध धर्म त्याग गरेर सनातन धर्म ग्रहण गरेको तर्क बाबुराम आचार्यले गरेका छन् । पुरुषोत्तमलोचन श्रेष्ठको तर्कअनुसार उपत्यकाको हालको विशालनगर लिच्छविहरूले ‘वैशाली’ को सम्झनामा खडा गरेका हुन् । अजातशत्रुको समय आजभन्दा लगभग २५०० वर्षअघिको हो । दुई हजार वर्षभन्दा अघि यही नाम दिएर नगर खडा गरियो र त्यो नाम यथावत रह्यो भन्ने तर्क कमजोर लाग्छ । ‘लिच्छवि’ हरूको मौलिक प्रचलन भनेर केही प्रचलनहरूको उद्धरण गरिएको छ, तर वैशालीका लिच्छविहरूमा पनि त्यो संस्कार थियो र तिनका भारतीय वंशजमा पनि यो प्रचलन अद्यापि छ कि छैन भन्ने तथ्य पुस्तकबाट खुल्दैन ।
पुस्तकको विषयवस्तु
पुस्तकले मुख्यत: काठमाडौंको चाँगुनारायण वरिपरिको क्षेत्रमा स्थलगत अध्ययनका क्रममा फेला परेका पुरातात्त्विक महत्त्वका सामग्रीहरूको चर्चा गरेको छ । नेपालको इतिहासमा चाँगुनारायणको अभिलेखको विशेष महत्त्व छ । चाँगुको अभिलेख आजभन्दा डेढ सय वर्षअघि पत्ता लागेको थियो । अभिलेखले बताएको बृहत् परिवेशले नेपालको इतिहासको नयाँ ढोका खोलिदिएको थियो । त्यसपछि पनि चाँगु क्षेत्रलाई केन्द्र बनाएर थुप्रै अनुसन्धानहरू भए, तर ती सबै चाँगु परिवेशबाट बाहिर निस्केनन् । मानदेवभन्दा पहिल्यै चाँगुनारायणको स्थापना भइसकेको थियो । मानदेवले आफ्नो महत्त्वपूर्ण अभिलेख राख्ने थलोको रूपमा यसैलाई रोजे । यसको मतलब त्यो स्थानको ऐतिहासिक तथा सामरिक महत्त्व थियो । स्वयम् चाँगु परिसरमा लैनसिंह बाङ्देलले सप्तमातृकाको चारवटा मूर्ति फेला पारेर तत्कालीन शाक्त परम्परामाथि प्रकाश पारेका थिए । प्रस्तुत पुस्तक लेखकले थप तीनवटा मातृकाको मूर्ति मात्र फेला पारेनन् सप्तभैरवको मूर्ति पनि पत्ता लगाए । तन्त्र परम्परामा सप्तभैरव विरलाकोटी भएको तथ्यलाई लेखकले महत्त्वका साथ उल्लेख गरेका छन् ।
चाँगु, साँखुदेखि लाजिम्पाटसम्म फैलिएको ठूलो नगरमा ‘लिच्छवि’ हरूले उच्चस्तरको सभ्यता विकास गरेका थिए भन्ने तर्क लेखकले गरेका छन् । कैलाशकुट, भद्राधिवासजस्ता वास्तुकलाका भव्य सिर्जना यो कालको उपलब्धि थियो । चाँगु क्षेत्र मल्लकालमा पनि संवेदनशील रहिरह्यो । प्रताप मल्लले भक्तपुरलाई हत्याउन चाँगु क्षेत्रमै मुकाम खडा गरेका थिए । लेखकले सिन्धु घाँटीको सभ्यतासँग तुलना गरेको विशालनगरको भव्य सभ्यता किन र कसरी विलय भयो भन्ने कौतूहल भने समाधान हुँदैन ।
चाँगु क्षेत्रमा रहेका गुफा र तिनमा उत्कीर्ण लेखहरूलाई पुस्तकले महत्त्व दिएको छ । नेपालमा गुफा (गुहा) को ऐतिहासिक महत्त्वको बारेमा यसअघि अनुसन्धान भएको थिएन । यो विषयको पहिलो अनुसन्धान भएकाले लेखकले यसलाई महत्त्व दिएका हुन सक्छन् । त्यसो त मानव सभ्यताको सुरु नै गुफाबाट भएको हो । गुफामा विभिन्न चित्रहरू कोरेर मानव पुर्खाले पहिलोपटक कलात्मक अभिव्यक्तिको प्रयास गरेका थिए । इतिहासमा मानव जातिले प्राकृतिक गुफा मात्र होइन, कृत्रिम गुफाहरूको पनि व्यापक प्रयोग गरेका पाइन्छन् । चाँगु क्षेत्रमा फेला परेका गुफाले त्यसको झझल्को दिन्छ । खेतका गरामा फ्याँकिएका, मलखाल्डोमा पुगेका, सामान्य ठानेर त्यागिएका, झट्ट कसैको आँखा नपर्ने विभिन्न मूर्ति तथा प्रस्तरकलालाई सतहमा ल्याएर त्यसको ऐतिहासिक विवेचना गरेका छन् लेखकले ।
स्थानीय प्रचलन, संस्कार, किंवदन्ती, लोककथा, लोकविश्वास आदि समेतको सहयोगमा सर्वेक्षणको क्रममा फेला परेका विविध सामग्रीलाई इतिहासको समयरेखामा पहिचान दिलाउन खोजिएको छ । यो क्रममा पूर्वप्रकाशित अभिलेखहरूको समेत समुचित उपयोग भएको छ । मूर्तिहरूबाहेक ती क्षेत्रमा फेला परेका पाटी, पौवा, चैत्यजस्ता ऐतिहासिक रूपले महत्त्वपूर्ण स्थापत्य कलाको चर्चा पनि पुस्तकले गरेको छ । पुस्तकको अन्तिम खण्डमा भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकमा फेला परेका नवपाषाण उपकरणहरूको जानकारी पनि दिइएको छ । अवलोकन गरिएका र महत्त्वपूर्ण देखिएका सबै वस्तुको तस्बिर पनि पुस्तकमा समेटिएको छ । लेखकका साथ विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको यो सर्वेक्षण प्रतिवेदनले इतिहासका विषयमाथि सीमित स्रोत साधनको बाबजुद सामग्री सङ्कलन, अनुसन्धान र तर्क कसरी गर्ने भन्ने राम्रो शिक्षा प्रदान गर्दछ ।
पुस्तकमा गरिएका कतिपय तर्कहरू कमजोर र अपर्याप्त प्रमाणहरूको सिकार भएका देखिन्छन् । खास्गरेर लेखक नेपालको इतिहासको परम्परागत अध्ययन ढाँचाबाट फुत्किन सकेका छैनन् । उदाहरणका लागि किराँतकालबाट उत्तराधिकारीमा प्राप्त शब्दहरूलाई नेपालभाषाकै मान्नुमा लेखकको आग्रह देखिन्छ । नेपालभाषाका वर्णविन्यासभन्दा बेग्लै लाग्ने ती शब्दहरूलाई अन्य भाषाको हुन सक्नेतर्फ लेखकले सोचेका छैनन् । नवपाषाणकालीन उपकरणको वर्णन आफैंमा कमजोर मात्र छैन, त्यो अंश यो पुस्तकमा समावेश हुनुको औचित्य पुष्टि हुँदैन । इन्टरनेटमा उपलब्ध विकिपिडियालाई गम्भीर अनुसन्धानमा सन्दर्भको रूपमा दिने प्रचलन छैन । त्यसतर्फ लेखकको ध्यान गएको देखिंदैन । यी सामान्य कमजोरीलाई बिर्सेर सिङ्गो कृतिलाई हेर्दा यो एउटा मौलिक अनुसन्धानको दस्तावेज हो भन्नेचाहिँ प्रस्ट हुन्छ । सन्दर्भ ग्रन्थ सूची र अनुक्रमणिकासमेतले पुस्तकको गरिमालाई थप उजिल्याएको छ ।

प्रकाशित : भाद्र १०, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?