३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एउटा गीतको कथा

संगीत
गुरुङ सुशान्त

बजारको बाढीले हाम्रो गीतका रूखलाई बगाउन थालेको धेरै भयो । पुँजीवादले जरा लगातार उखेलेपछि संगीतले जमिनसँगको साइनो भुल्नु अनौठो प्रसंग रहेन अब ।

एउटा गीतको कथा

माटो छाडेका ती रूख भेलसँगै बगरमा फालिन्छन् । र, छिट्टै बिर्सिइन्छन् । ती खहरेमा बग्छन् । तर, केही गीतचाहिँ माटोमा उभिएका हुन्छन् । लामो समयसम्म हरिया पातले सुसेल्छन् ती । र, हाम्रो दिलदिमागमा अनुरणन भइरहन्छन् । यस्तै गीत हो, ‘छातीमा लागेको माटो ।’ 
कवि श्रवण मुकारुङको शब्दमा बुनिएको यो गीत कवि प्रकाश आङदेम्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ को ‘थिम सङ’ हो । फिल्म हेरेपछि यो गीतको मोहमा परिहालेँ । क्षणिक हँसीमजाक र उत्तेजनालाई मलजल गर्ने गीतचाहिँ लाखौँले हेरेका छन् युट्युबमा । तर, सतही गीतको तुलनामा ‘माटो’ जस्ता गम्भीर संगीत किन बेवास्ताको सिकार हुन्छन् ? यस दृश्यले संगीत–साहित्यमा रहेको हाम्रो न्यून साक्षरतालाई आँकडामै पुष्टि गर्दैन र ?
मौसमी गीतहरूको जगजगीबीच पनि कहिलेकाहीँ गम्भीर गीत–संगीतको विमर्श हुने गर्छ । सुखद पाटो हो यो । आभासको संगीत र स्वरूपराज आचार्यको स्वरमा रहेको यस गीतबारे बौद्धिकहरूमाझ बिस्तारै चर्चा हुन थालेको छ । विशेषगरी साहित्यिक जमातले रुचाएको यो गीत सुनेर धेरै शरणार्थीहरूले आफ्नो संवेदना गहमा छचल्काएछन् । यस गीतको आरम्भमै एकालाप शैलीको काव्यिक हरफ गुन्जिन्छ—
म गर्भमा छँदा मेरी आमाले 
माटो खानुभएछ,
त्यही माटो मैले खाएछु
त्यसैले होला मलाई
यो देशको यति धेरै माया लागेको ।

कवि विनोदविक्रम केसी ठट्यौली पारामा बोल्छन्, ‘सुन रे सियाराम लेख्ने श्रवण मुकारुङको एक खुनसम्म बिर्सिदिन सक्छु । तर, ‘माटो’ लेख्ने श्रवण मुकारुङले सात खुन गरे पनि माफ गरिदिन सक्छु ।’ यो गीतमा रहेको चुम्बकीयता के हो ? जिज्ञासा जिउँदो छ । गीतलाई माध्यम बनाएर मनोरञ्जन गर्ने माहोलबीच पनि श्रवण मुकारुङहरूलाई के कुराले प्रेरित गर्छ, यस्तो गहन रचनाका लागि ? रचनागर्भ भनेको सिर्जना–स्थान, समयतालिका र भौतिकी मात्र होइन, सर्जकको सिर्जनप्रक्रिया र परम्परा पनि हो । गीत लिपिबद्ध गर्दाको कुनै अनौठो कथाचाहिँ छैन श्रवणसँग । 
पूर्वेली युवा प्रकाश आङदेम्बे भुटानी शरणार्थीमाथि फिल्म बनाउँदै थिए, ‘देश खोज्दै जाँदा’ । श्रवणको कविताबाट नामकरण गरिएको यस फिल्मको पटकथा–निर्मितिका ‘इन्जिनियर’ हुन्, कवि उपेन्द्र सुब्बा । यी दुई कविले श्रवणलाई सादर अनुरोध गरे, ‘दाजु, फिल्मका लागि तपाईंले गीत लेखिदिनुपर्‍यो ।’ उपेन्द्र आफैँ अब्बल शब्दशिल्पी भए पनि श्रवणकै शब्द चाहिने ढिपी कस्दै थिए । गीत लेख्ने आग्रहसहित आएका धेरै फिल्म–निर्देशकको कुरा खाएका थिएनन् श्रवणले । उनी जो कोही संगीतकार र निर्देशकलाई भर गर्दैनन् । पत्याउँदैनन् । सायद ठान्छन्, रकममा किन 
आफ्नो सिर्जनालाई बन्धकी राख्नू ? तर, यति ‘चुजी’ गीतकारले प्रकाश आङदेम्बेको काव्यचेतमाथि सहजै विश्वास गरे । र, लेखिदिने वचन दिए ।
समयले व्यस्त पाना पल्टाउँदै गयो । वचनबद्धतामा ताकेता थपियो । तर, एउटा गीत रच्न ढिलाइ गरे मुकारुङले । नक्सामा मात्र देखेको भुटानबारे पुस्तकहरू पढ्न थाले उनले । शरणार्थी मित्र/स्रष्टाहरूको गीति–अनुभूतिलाई नजिकबाट छामे । चियागफमा निर्देशकबाट एकसरो कथावस्तु सुनेका थिए फिल्मको । तर, ‘स्क्रिप्ट’ पढेका थिएनन् । दस दिनजति दिमागमा शब्द खेलाइसकेपछि उनलाई लाग्यो, ‘म प्रसव सकसमा छु ।’ तर, कता–कता रोमाञ्चको अनुभूति पनि हुँदै थियो । यही जटिल मानस यात्राबीच एक मध्यरात उनी मस्त निद्राबाट ब्युँझिए । र, एकै बसाइमा यो गीत लेखिभ्याए । त्यसपछि स्वस्थ सन्तान जन्माएको हर्षसहित हलुका भए उनी ।
संगीतमा काव्यिक ब्रान्ड बनिसकेको ‘श्रवण–आभास’ जोडी यस गीतमा पनि जुटे । दुवैले शब्द–संगीतको संयोजन गर्दा एकआपसमा अनुभूतिको तह बुझिसकेका हुन्छन् । संगीतकार आभास भन्छन्, ‘श्रवणका गीत आफैँ धुन बोकेर मेरासामु आउने गर्छन् । शब्दका पंक्ति हातमा पर्नासाथ म तिनले बोकेका धुन पहिल्याउँछु मात्र । यस अर्थमा श्रवण मेरा नयाँ धुनका आंशिक स्रोत हुन् ।’ रेकर्डिङपश्चात् गायक आचार्यले जीवन्त र अर्थपूर्ण गीत गाउन पाएको भनी श्रवणलाई प्रतिक्रिया दिए । उपेन्द्र सुब्बा बोले, ‘दाजु त अन्तर्यामी नै हो कि क्या ? हामीले खोजेजस्तै गीत लेखिदिनुभो ।’ हामीलाई पनि लाग्छ, यस्तो गीत श्रवण मुकारुङजस्तो कविबाट मात्र सम्भव छ—
शिरमा लागेको माटोलाई
कुनै दिन आकाशले पखाल्ला
पाउमा लागेको माटोलाई
बाटोको शीतले पखाल्ला
मनमा लागेको माटोलाई
कसरी मैले पखाल्नु ?

लेखक नारायण वाग्ले भन्छन्, ‘श्रवणको कवितामा गीत हुन्छ र गीतमा कविता । गीत र कविताबीच यतिसारो घनिष्ठता एकसरो औंला भाँचे पुग्ने नेपाली कविहरूमा मात्र पाइन्छ । उनको कुनै–कुनै कविता 
पढ्दा म संगीतकार हुन पाए भन्ने कल्पन पुग्छु । अनि, उनको गीत सुन्दा कविताको प्रकाशक हुन पाएको भए भनी घोत्लिन पुग्छु ।’ मुकारुङका सिर्जना गेयात्मक हुनुको कारण छ, उनीसँग संगीतको आधारभूत ज्ञान छ । ‘नेत्र’ खुलेको संगीतकारले उनको रचनामा संगीततत्वको भेउ पाइहाल्छन् । उनका काका हुन्, संगीतकार बुलु मुकारुङ । गाउँमै काकाको संगतमा परेका श्रवण काठमाडौंमा पनि उनै काकासँग बसेका थिए केही समय । कुनै जमानामा आफैँ गितार बजाएर कलेजहरूमा गाउँथे श्रवण । पुरस्कृत पनि भइरहन्थे । र, सानै ‘स्केल’ मा भए पनि चर्चित थिए । पवित्रा सुब्बाको घरमा पुग्दा चियाभन्दा अघि नै उनको हात आइपुग्थ्यो, गितार । कुबेर राई, उदय सोताङहरूले स्वरको तारिफ गर्दै उनलाई गीत गाउन निकै कर पनि गरेछन् । तर, कसोकसो उनी गायनमा लागेनन् । रोचक प्रसंग छ, प्राज्ञ/कविका रूपमा भर्खरै दक्षिण कारियामा गएका श्रवणले एक कार्यक्रममा आफ्नै गीत गाएछन् , ‘बाबा मलाई मार्नै छ भने तिमी आफैँ नमार ।’ उनी आफ्नो रचनाप्रक्रियाको रहस्य खोल्छन्, ‘म हरेक गीत रच्दा चार–पाँचवटा धुनमा गुनगुनाउँछु, जुन कुरा कोही संगीतकारलाई पनि सुनाउँदिनँ ।’
माटोकेन्द्री विम्बलाई मर्मस्पर्शी बनाएका श्रवण बेलडाँगीको भुटानी शरणार्थी शिविरसमेत छिरेका छैनन् । तर, शरणार्थीलाई रुवाउन सक्ने गीत कसरी रचे ? ‘रवि नपुग्ने ठाउँमा कवि पुग्ने’ उखान उनीजस्तै कालजयी कलमलाई हेरर बनेको हो कि त ? 
श्रवणका प्राय: गीतको केन्द्रमा भुइँमान्छे र तिनका व्यथा–पीडा नै हुन्छन् । ‘सुन रे सियाराम’ मा कमलरी प्रथा र तराईको उत्पीडनलाई मर्मस्पर्शी शैलीमा उनिएको छ । ‘माथिमाथि सैलुङ्गेमा’ मा चौंरी गोठालो तामाङलाई ‘नायक’ बनाइएको छ । ‘मिसकल’ को लयभित्र परदेशमा मजदुरी गर्ने निम्नवर्गीय व्यथा चित्रित छ । उनका कवितामा रहेको प्रतिरोधी चेतबारे त हामी परिचित नै छौँ । उनका गीतमा पनि माटो गुमाएका दुखियाहरूको व्यथा प्रशस्त भेटिन्छन् । अर्को एक गीतमा श्रवण लेख्छन्—
ए नौलो मान्छे
सुन यो सहरमा तिमी एक्लो छैनौ
बाटो हराएका, माटो गुमाएका
यो ठूलो संसारमा तिमी एक होइनौ ।

‘माटो’ गुमाएकाहरूको पीडालाई कसरी आत्मसात् गर्न सके श्रवणले ? पाठक–श्रोताको मनमा यो जिज्ञासा स्वाभाविक रूपमा जागेकै हुन्छ । विश्वव्यापी रूपमा निर्वासमा रहेका शरणार्थीहरूको गहन विषयमा गीत लेख्दा श्रवणले आफ्नै बाल्यकालको कथा फर्किएर स्पर्श गरे । उनी सानो छँदा घरको आर्थिक अवस्था निकै कमजोर थियो । आमाको सङ्घर्षलाई एकदमै नजिकबाट देखेका थिए उनले । सासुसँगको बेमेलका कारण उनकी आमा भोजपुरको थातथलो छाडेर उदयपुरको सिरुवानी झरिन्, नाबालक च्यापेर । त्यहाँ झोडा फाँडी बासको लागि खाँबो गाडेका एकएक पलहरू श्रवणको दिमागमा शिलालेखझैँ छापिएका छन् । त्यसैले गीतमा उनी लेख्छन्—
सबैले भन्छन् माटो त
देश हो गरिखानेको 
कुन देश बाँकी रह्यो र
खोरिया फाँडी खानेको
पसिनासरिको माटोलाई
कसरी मैले पखाल्नु ?

उनका बा बिन्दास स्वाभावका थिए, जहाँ–जहिल्यै पनि हराइदिने । तर, आमाचाहिा असाध्यै पौरखी । जंगलबीच फुसको बस्तीमा जमिन विस्तार र खेतीपातीमा प्रतिस्पर्धा हुन्थ्यो । आइमाईलाई नहेपून् भनेर उनकी आमा लोग्नेको दौरा–सुरुवाल लगाएर हलो जोत्थिन् । र, आफ्नो पसिना पोखिएको जमिन जोगाउाथिन् । त्यतिबेलै श्रवणले माटोको महत्ताबोध गरे । लेकमा भोकको बेला असारे खाएर आमाले पेट भरेको देखेका छन् उनले । माटो खोस्रेर जीविकोपार्जन गर्ने धेरैको पेटमा माटो परेको हुन सक्छ । एक दिन आमाले सुनाइन्, ‘तँ गर्भमा छँदा मैले माटो खाएकी छु ।’ धेरै ग्रामीण आमाहरूको साझा भोगाइ हो यो । तर, श्रवणले भने लेखनमा कलात्मक प्रयोग गरे—
जन्मिँदा लागेको माटो त
मरेर भोलि पखाल्छु
नजन्मी लागेको माटोलाई
कसरी मैले पखाल्नु ?

केही वर्ष बिरानो भूमिमा समयको जाँतो घुमाएपछि श्रवणकी आमाले परिवारलाई फेरि पहाड भोजपुर उकालिन्, पल्टने जेठाजुको बोलावटमा । त्यसपछि पहाडसँगै दु:खको अर्को उकालो पनि चढे श्रवणले । बाले अर्की श्रीमती भित्र्याएपछि आमा माइती गएर बसिन् लामो समय । आमासँगको भौगोलिक दूरताको उदास एक्लोपनमा साथी थिइन् बोजु । त्यही उमेरमा उनले आमाको मूल्य हृदयको गहिराइबाट बुझे । आमासँग टाढिएको त्यो अनुभूतिलाई पनि ‘माटो’ लेख्दा परोक्ष रूपमा गाँसेका छन् उनले । उनलाई लाग्यो, माटोसँग विछोडिनु पनि आमाबाट टाढिनुजस्तै त हो ।
यो गीत सुनिरहँदा श्रोताको मनमा यात्रा गरिरहेको पात्रको विम्ब लस्करै आउाछ । यस्तो विम्ब–निर्माणमा आफ्नै अनुभव र कल्पना घोलेका छन् । भुटान र नेपालबीचको दूरीसम्म थाहा थिएन उनलाई । त्यसैले कवि–कल्पनाको चक्र घुमाए । सोचे, ‘भुटान पनि पहाड हो । पहाडको दु:ख आफन्तजस्तै परिचित छ मेरा लागि ।’ उनले यात्राको दु:खलाई आफ्नै विगतसँग जोडे । उनी सानै छँदा भरियाहरूसँग तीन–चार दिन लगाएर धरान झरेका थिए । सुन्तला बेच्न र नुन किन्न बाइस जङ्घार तर्ने/पहाड नाघ्ने भरियाको पछि लागेका थिए उनी । सात–आठ वर्षको उमेरमै सीमान्त सकससँग उनको नाता गाँसियो । बसाईं हिँड्नेहरूको पसिनाको गन्ध आफ्नै छिमेकीजस्तो भयो उनका लागि । यिनै बाल्यस्मृतिलाई उनले गीतको स्रोतका रूपमा प्रयोग गरे, जो चानचुने खुबीको कुरा होइन । 
विपर्यास र सार्थक अन्तरालको प्रयोगले गीत–कवितामा सौन्दर्यको बढोत्तरी हुने हो । यस गीतमा पनि श्रवणले आफ्नो सौन्दर्यचेतलाई भरपुर खेलाएका छन् । उनले ‘नजन्मी लागेको माटो’ मार्फत भुटानी शरणार्थीहरूको पुरानो इतिहासतिर संकेत गरेका छन् सायद । संवेदनामा सहजै पग्लिन्छन् कविहरू । माटो गुमाएकाहरूले जमिन पाउनुपर्ने माग नै गीतको मुख्य विषय हो । तेस्रो मुलुक पुनर्वासका क्रममा लाखभन्दा बढी शरणार्थी तितरबितर भइसके । तर, हजारौँको संख्यामा अझै नेपालको भूमिमै छन् । झन्डै चार सय वर्षअघि भुटान लगिएका नेपालीहरू त्यहाँका आदिवासी नभएकाले नेपालले जमिन दिनुपर्ने आशय पनि राख्छन्, श्रवण । भुटान र नेपालको ‘सत्ता’ ले अलपत्र जनका लागि स्थायी जमिनको व्यवस्था गर्नुपर्ने धारणा छ उनको । यही विचारलाई गीतमा नौलो उचाइ दिएका छन् । तर, यो राजनीतिक पाटो पनि भएकाले मतान्तर हुन सक्छन् । 
उनले राजनीतिक सीमाभन्दा पर पुगी मानवताको भावलाई लिपिबद्घ गरेका छन् । संरचना लघु भए पनि द्रुत र सघन रूपमा आम मानिसलाई प्रभावित पार्ने विधा हो, गीत । भावनाको तालमा सामाजिक वैचारिकीको डुंगा खियाउन सके गीतको आयु लम्बिन सक्छ । श्रवणका गीतहरू दीर्घायुको पर्याय बन्न सक्ने आस गर्न सकिन्छ । उनका गीतमा स्वर र संगीतको सुसंयोजन रहे कालान्तरसम्म जीवन्त हुन सक्छन् ती । यस्तै कोटीको गीत हो, ‘माटो’ । शरणार्थीहरूको निर्वासित इतिहासलाई कलात्मक रूपमा अभिलेखीकरण गरिएको ‘देश खोज्दै जाादा’ बाट यो गीत झिकिदिने अधकल्चो हुनेछ फिल्म । समाजशास्त्रीय, राजनीतिक र ऐतिहासिक विमर्शको सन्दर्भमा गतिलो पाठ हुन सक्छ यो गीत । आशा गरौँ, यस्तै गहकिला रचनाको अपेक्षा गर्ने पाठक–श्रोतालाई श्रवणले याद गर्नेछन् ।

 

प्रकाशित : भाद्र १०, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?