लेकका हामी गोठाला

फोटो
शब्द/तस्बिर : सुरविन्द्रकुमार पुन

वर्षको कम्ती पनि साता दिन लेकाली खर्कमा नबिताउँदा मलाई के–के नपुगेजस्तो लाग्छ । फिक्कापन महसुस गर्छु । कुनै न कुनै फुर्सदको मौका पारी खर्कहरू घुम्ने मेरो उत्कट रहर पछिल्ला वर्षहरूमा झन् चुलिँदो छ ।

हुन पनि म आफू गोठमा हुर्के–बढेको भएर पनि हुन सक्छ, मलाई खर्कहरू असाध्यै मन पर्छ । पछिल्लो समय विशेषत: ढोरपाटनका उपल्लो भेगमा अवस्थित खर्कहरू मेरा बिर्सनै नसकिने गन्तव्यस्थल बनेका छन् । 

खर्क भन्नेबित्तिकै खुला चरिचरनको क्षेत्र बुझिन्छ । विशेषत: मनसुनी सिजनमा उच्च पहाडी तथा हिमाली क्षेत्रका वनजंगल र पाटनहरूमा वस्तुभाउलाई चरिचरनका लागि प्रयोगमा ल्याइएका जमिनको सेरोफेरो नै खर्क हो । खर्क बसाल्दा वस्तुभाउ आफसेआफ एकत्रित हुन सक्ने स्थान विशेषलाई रोजिन्छ । ताकि कहिलेकाहीँ बगाल उछिट्टिएको खण्डमा गोठालोलाई ती वस्तुभाउ जम्मा गर्न सहज होओस् । त्यस्ता खर्कको विशेषता भनेको पानी, घाँसदाउरा जम्मा गर्न पायक हुनुपर्छ । वस्तुभाउको रखालो गर्ने मानिस सँगसँगै ती वस्तुभाउलाई आकर्षण गर्न सक्ने खुला ठाउँ नै वास्तवमा खर्क बन्न सक्ने उपयुक्त थलो हो ।

Yamaha


गोठालो जीवन त्यसै पनि पशुमैत्री हुन्छ । गाई, भैंसी, भेडा, बाख्रा नपालीकन गोठ निर्माण हुँदैन, खर्क बस्दैन । पूर्ण रूपले प्रकृतिको आँगनमै विचरण गरिनु नै वास्तवमा गोठालो जीवनको मौलिक शैली हो । त्यसैले गोठालाहरू पानीको मूल, दह, ढुङ्गा, रूख, जंगल, डाँडो, देउराली, हिमाललाई पूजा गर्छन् । यसरी हेर्दा गोठालाहरू आफैंमा प्रकृतिपूजक हुन् । प्रकृतिलाई आमा मात्र ठान्दैनन् जीवनरक्षा गर्ने देवताको रूपमा समेत पुज्छन् । 


गोठालो जीवन नियाल्दा जति सादगी देखिन्छ उत्तिकै दिलदार, सन्तुष्टि र खुसीउन्मुख चरित्र प्रस्टिएको आभास मिल्छ । तिनै गोठ तथा खर्कहरूमा विराट मनको सौन्दर्य देख्न सकिन्छ । बुकी घाँसको भारी बोकेर गोठ फर्कँदै गरेका रामदेवी र दिलमाया यसका जीवन्त साक्षी हुन् । गोठाला बसेका श्रीमान्हरूलाई रासन पुर्‍याउन साता दिनअघि घर बोबाङबाट गोठ उक्लिएका ती विश्वकर्माद्वय यत्तिका दिन बितेको पनि भर्खर हिजोको जस्तै लागेको बताए । ‘खर्कमा जुनी काट्नु पनि लेखेर ल्याउनुपर्ने रहेछ बाबु π’ बोझिलो लाग्ने बुकी घाँसको गर्‍हौं भारी बोकेका यी दुईले एकसाथ मुस्कुराउँदै भने, ‘खर्क उक्लिन पाए त अरू के खोज्नु !’ 


गत साउनको तेस्रो हप्ता ढोरपाटनका उपल्लो लेकका खर्कहरू पुगेको थिएँ । कोलाहलको सहर छाडेर शान्त लेकाली पाटन घुम्न पाउनुको मज्जा तुलना गरी नसक्नु छ । कुकुरगाडे खर्कबाट सेचुङ खर्कतर्फ देखिने अजीवका दृश्य मेरो मानसपटलमा झल्झली आउँछ । भैंसी गोठालो होमबहादुर अदैमगरले भनेजस्तो उन्मुक्त वातावरणमा स्वतन्त्र भई पेसेवर हुनुजस्तो सुखको जीवन बिरलैले भोग्न पाउँछन् । मैंले सोचेँ— हुन पनि सरल र सतही तथा गहिरो र जटिल भएर जीवनको भेद छुट्याउन कतै धाउन पर्दैन सिर्फ यी र यस्तै गोठालो जीवन नियाल्न खर्कहरूमा उक्लिए पुग्छ । 


हुन पनि प्रकृतिको सबैभन्दा निकट हुनेहरू नै बढी सन्तुष्ट, खुसी र सुखी देखेको छु । जसको लागि गोठालो जिन्दगी जिउनेहरू नै जिउँदाजाग्दा साक्षी छन् । खर्कका हरेक आरोह–अवरोहमा प्रकृतिको सम्मुख नभईकन गाँस पच्दैन, बास पाइन्न र सास फेरिन्न । 
वनस्पति, जडीबुटी, खोलानाला, जमिनसँग गोठालाहरू अभ्यस्त भइसकेका छन् । अनुशासनलाई पालना गर्नु, इमानदारीलाई पछ्याउनु, कर्मलाई सर्वोपरि ठान्नु, पाहुनालाई गाँस–बास दिनुले उनीहरूको सभ्यता कति उँचो छ भन्ने यसै भन्न सकिन्छ । आयु लम्बिनुमा उनीहरूमा स्वत:स्फूर्त सकारात्मक भाव पैदा हुनुले हो । 
एकादिउँसो लसुने खर्कमा भैंसी चराउन बसेका ६७ वर्षीय खड्के भण्डारी आफ्नो गोठालो जीवनप्रति कुनै गुनासो पोखेनन् । बरु आजको यो उमेरसम्म कुनै रोगव्याधिले सताउन नसकेकोमा आफूलाई भाग्यमानी सावित गरे । ‘हावापानीको त के कुरा गर्नु र बाबु ! रोग लाग्ला भन्ने सोच्दै नसोचे हुन्छ,’ खड्के गहिरिन्छन्– ‘बिहान–बेलुका खाने भनेको उही मकैको आतो । वनमा पाइने च्याउ, धकायो, निगालोका टुसालगायतका सब्जी हुन् । दूध, दही, घिउ त हुने नै भो !’ 
आश्रयस्थलको रूपमा तयार गरिने गोठघरहरू निकै स्वास्थ्यमैत्री छन् । गोठघरको छानो काठको फलेकले छाइएको मात्रै हुँदैन भुइँभरि पूरापूर फलेकले नै बिछ्याइएका हुन्छन् । उता भेडीगोठालाले खसीबाख्राको रौंबाट बुनिएका फेरुवा गोठघरमा छानोको रूपमा ढाक्छन् भने धुपी, भोजपत्र, हिमाली गुराँस र निगालोका स्याउला ओछ्यानको रूपमा बिछ्याउँछन् । यस्तोमा रत्तिभर धूवाँ र चिस्यानको महसुससमेत हुँदैन । 


मनसुन सिजनको मिति खुम्चिँदै जाँदा फुर्से देउरालीमा भेट भएका मेजलाल विकलाई निरसाइलो लाग्छ । लेकाली पाटनको जस्तो आनन्द हिउँदमा गाउँघरतिर खोजेर नपाइने उनको कथन छ । असोजको दोस्रो हप्तादेखि औलतर्फ झर्दै जाने उनले बताए । मेजलालसँग हामी करिब ४ हजार मिटर उचाइमा गफिँदै गर्दा माथिल्लो डाँडाबाट एक जोडी डाँफे बुरुर्र ओरालोमुखी हान्निए । यसो माथि हेर्‍यौं, त्यहाँ भेडाको बगाल हामीतर्फ चर्दै आइरहेका थिए । क्षणभरमै भेडाको बगालमा हामी हरायौं । यो बडो गजबको क्षण थियो । 

Esewa Pasal

प्रकाशित : भाद्र ३१, २०७४ ११:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हवाइन गितारका उस्ताद

व्यक्ति
पर्वत पोर्तेल

दार्जिलिङले अनगिन्ती स्रष्टा जन्मायो । दार्जिलिङ स्रष्टा, सर्जकको उर्वरभूमि नै हो । लामो सूचीमा संगीतकार प्रदीप दर्नालको नाम छुट्दैन । नेपाली सुगम संगीतका यी पाका साधकको पहिचान भने ‘हवाइन गितार’ ले बनायो ।

करिब १५ करोड जनसंख्या भएको पश्चिम बंगालले हवाइन गितारका उस्ताद ठान्छ यिनलाई । यिनले हात समाएर गितार सिकाएका धेरै संगीत क्षेत्रमा जमे । केही त बिति पनि सके । ‘आफ्ना चेलाहरू ठूलो संगीतकार भएको सुन्दा भित्रैबाट खुसी लाग्दो रहेछ,’ ९५ वर्षमा हिँडिरहेका दर्नालले खरसाङको घरमा अनुभूति साटे, ‘आत्मसन्तुष्टि मिल्दोरहेछ ।’ 
कुनै समय दार्जिलिङमा गितार बजाउने मान्छे पाउनु देउता भेटे बराबरी हुन्थ्यो । गितारवादकलाई सिला खोज्नुपर्ने त्यो जमानामा स्टिल इलेक्ट्रिक गितार (हवाइन) बजाउने मान्छे पाउनु त कल्पनाबाहिरको कुरा थियो । त्यसमा पनि नेपालीलाई भेट्नु दुर्लभ नै थियो । त्यति बेलै पनि उनको नामचाहिँ अग्रपंक्तिमै आउँथ्यो । दर्नालले पहिलोपटक संगीत सुरु गर्दा संगीतप्रति आममान्छेको रुचि खासै थिएन । संगीत सुन्ने तर सिक्नचाहिँ नचाहने जमात बढी थिए । अहिले गीत संगीतको क्षेत्रमा बढेको आकर्षण र क्रेज देखेर उनी चकित छन् । ‘अहिले संगीतप्रतिको आकर्षण डरलाग्दोसँग बढेर गएको छ,’ दार्जिलिङे लवजमा यिनी बोले, ‘अन्त, यो निकै राम्रो कुरा हो नि है ।’ 
उनका समकालीनहरू क्रमश: बित्दै जाँदै छन् । लगभग सकिए भन्दा पनि हुन्छ । ‘कसैलाई कालले लग्यो, कसैलाई नेपालले,’ दर्नाल हाँसोसँगै बोले, ‘मलाईचाहिँ न कालले लग्यो, न नेपालले नै ।’ धेरैजसो समकालीन नहुँदा उनलाई एक्लो महसुस पनि हुन्छ । भावुक बने, ‘यति बेला आफूलाई एक्लो ठानिरहेको छु ।’ यो उमेरमा उनको जोस बिल्कुल तन्नेरीझंै छ । अहिले पनि बिहान र साँझ केही घण्टा नियमित रियाज गरेर मात्रै बिछ्याउनामा पल्टिन्छन् । 
***
सन् १९६७ । खरसाङको सेन्ट हेलेन्स स्कुल । जहाँ रानी ऐश्वर्य पढेकी थिइन् । यही स्कुलले आयोजना गरेको एउटा सानोतिनो सांगीतिक कार्यक्रममा दर्नालले पहिलोपटक गितार फिटेका थिए । गितार बजाउने उनको फरक शैली देखेर दर्शक छक्क परेछन् । स्कुलकी प्रिन्सिपल सिस्टर युवानाले बोलाएर भनिछन्, ‘अबदेखि तपाईंले हाम्रो स्कुलका नानीहरूलाई गितार सिकाइदिनुपर्‍यो ।’ सिस्टरको प्रस्तावलाई उनले इन्कार गर्न सकेनन् । त्यो कार्यक्रम उनको जीवनमा कोसेढुंगा सावित भयो । उनी त्यो बेला खरसाङमा ‘सेलिब्रिटी’ नै थिए । उनको लोकप्रियता यसरी चुलियो कि सिलिगुढी, जलपाइगुडीदेखिका मान्छे गितार सिक्न खरसाङ उक्लिन थाले । उनलाई भ्याइनभ्याई भयो । 
त्यो बेला रेडियो पनि थिएन । ग्रामफोन रेकर्ड र हार्मोनियन तबलाको चल्ती बढी थियो । केही हिन्दी गीत र नेपालीमा मित्रसेनको रेकर्ड मात्रै सुन्न सकिन्थ्यो । त्यो पनि निश्चित ठाउँहरूमा मात्रै । दर्नालको पहिलो संगीत रेकर्डिङ नै भारतको सरकारी टीभी च्यानल दूरदर्शनबाट भएको थियो । 
सन् १९८६ ताका दूरदर्शनको टिम उनको घर खोज्दै पुगेछ । जति बेला दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनको आगो यसरी दन्किरहेको थियो, जसरी अहिले गोर्खाल्यान्डकै लागि ‘पहाडकी रानी’ अशान्त बनेको छ । उनलाई लाग्छ गोर्खाल्यान्डको आगो अझै लामो समय निभ्नेवाला छैन । आन्दोलनकै कारण दूरदर्शनवाला टिम ‘इनडोर रेकर्ड’ गरेर फर्कियो । सुनाए, ‘आउटडोर रेकर्डका लागि मलाई बोलाइयो, कोलकाता स्टेडियममा भयो ।’ उनले पुराना र ज्यादै रुचाइएका नेपाली गीतको धुन दूरदर्शनको प्रस्तुतिमा सुनाए । धेरैको मन जिते । 
दूरदर्शनमा अवसर पाउनु दार्जिलिङे स्रष्टाका लागि खेलाँची थिएन त्यो बेला । दूरदर्शनले भर्खर सेवा सुरु गरेको थियो । हिन्दी गीत–संगीत बाक्लै बज्ने दूरदर्शनमा नेपाली संगीतको कार्यक्रम थिएन । दर्नालको श्रव्यदृश्यसहितको रेकर्डिङ नै दूरदर्शनले पहिलो नेपाली कार्यक्रमको रूपमा वर्षौंसम्म बजायो, देखायो । उनका संगीतबद्ध धुनहरू अझै पनि बेला–बेला दूरदर्शनले सुनाउँछ । त्यो सुन्दा दर्नाल भित्रभित्रै खुसी हुन्छन् । 
अल इन्डिया रेडियोले खरसाङबाट प्रसारण सुरु गरेपछि त उनी झन् लोकप्रिय बने । साहित्यकार शिवकुमार राईका धेरै गीत र रूपकहरूमा उनले संगीत भर्न पाए । जुन रेडियोका श्रोताले अत्यधिक रुचाए । अरुणा लामाका पनि केही गीतमा यिनको संगीत छ । जब अरुणा नेपाल भासिइन् संगत पातलिँदै गयो । 
सन् १९४४ ताका सर्व संगीतालय नामको एउटा संगीत स्कुल खुल्यो खरसाङमा । यो स्कुलमा त्यस बेलाका मूर्धन्य हस्तीहरू माणिकचन्द्र प्रधान, सीबी गुरुङ, टीबी रामुदामु, एनबी गुरुङहरू जोडिए । उनीहरूकै संगतबाट दर्नालले संगीतलाई तिखार्ने मौका पाए । अमर गुरुड, अरुणा लामा, गोपाल योञ्जनहरूसँग पनि उनको संगत बाक्लै थियो । तर, यी हस्तीहरू क्रमैसँग नेपाल भासिएपछि भने सम्बन्ध टुट्यो । अम्बर गुरुङ दार्जिलिङ पुगेका बखत कहिलेकाहीं उनीकहाँ पुग्थे । 
नेपाल भासिने अवसर त यिनले पनि पाएकै थिए । तर, खै किन हो, यिनको भित्री मन मानेन रे नेपाल जान । १९५० ताका पासाङ गोपर्मा, तारानाथ शर्मा उनका सहपाठी थिए । उनीहरू सेन्ट अल्फासिसमा सँगै पढ्थे । तानासँग उनको बढी घनिष्ठता थियो । ‘मेट्रिक सकेर उहाँहरू नेपाल फर्कनुभयो,’ दर्नाल नोस्टाल्जिक बने, ‘मलाई पनि जाऊँ उतै भन्नुभाथ्यो, जान मनै भएन ।’ 
  twitter : @parwatportel2

प्रकाशित : भाद्र ३१, २०७४ १०:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT