कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

किरातीको अदुवा साइनो

संस्कृति
विद्या राई

अदुवा नेपालीहरूको खानामा नछुट्ने मसला हो । तरकारी र अचारदेखि चियासम्ममा यसको प्रयोग हुन्छ । किरातीहरूका लागि भने सांस्कृतिक हिसाबले पनि अदुवा निकै महत्त्वपूर्ण छ । उनीहरूले जन्मदेखि मृत्युसम्मका सांस्कृतिक कर्महरूमा अदुवाको प्रयोग गर्छन् ।

 किरातीको अदुवा साइनो


संस्कृति अध्येता चन्द्रकुमार हतुवालीका अनुसार किरात राई जातिमा अदुवाको व्यावहारिक वा सांस्कृतिक प्रचलन किरात समुदायका सृष्टिकर्ताहरू पारुहाङ र सुम्निमाको पालाबाट आएको विश्वास छ । अदुवा पारुहाङको हातको पञ्जाको प्रतीक भएको उनीहरूको विश्वास छ । ‘हात मानिसको महत्त्वपूूर्ण अंग हो । यही अंगको माध्यमले नै व्यावहारिक जीवनका सारा कामहरू गर्न सहज हुन्छ । त्यसैले पारुहाङका हातको पवित्र प्रतीकका रूपमा यसलाई सांस्कृतिक प्रचलनमा ल्याइएको हो,’ उनले भने ।
यस समुदायमा अदुवाको कछुर काट्ने चलनको महत्त्व छ । नाक्छोङ (किरात राईहरूको पुजारी) बालजित राईका अनुसार पितृ पूजा, विवाह, पास्नी, साकेलाजस्ता शुभकार्यमा धामीहरूले अदुवाको कछुर काट्छन् । किरातीहरू प्रकृति पूजक हुन् । उनीहरू प्राकृतिक विपत्ति, दु:ख, रोग महामारी आई नलागोस् भनी भूमिको पूजा गर्छन् । कछुरको माध्यमले किरात राई जातिको परिवार तथा समाजमा रोगव्याधि आउने/नआउने, लक्ष्मीले बास बस्ने/नबस्ने, अन्नपानी हुने/नहुने र त्यसरी नै बस्तुुभाउ फैलिने/नफैलिने, आफ्ना पितृहरू खुसी छन्/छैनन् ? यसैमार्फत थाहा हुुने हुँदा अदुवाको महत्त्व रहेको हो ।
सांस्कृतिक रूपमा पवित्र वस्तु भएकाले पितृमा चढाइने अदुवालाई करेसाबारीको एक निश्चित स्थानमा घरका मुलीले रोप्छन् । र, भरसक घरका मुली मान्छेहरूबाहेक अन्यले छुँदैनन् पनि । गैरकिरात र बाख्राहरूले छोएको खण्डमा माङ (पितृ) बिटुलो भई घरमा शारीरिक, आर्थिक हानि हुने परम्परागत विश्वास छ । त्यसैले अन्य जातिका मानिसहरू किरात राईहरूको करेसाबारीतिर छिर्न हड्बढाउँछन् ।
विवाहका लागि दुलही माग्न जाँदा, माइतीको चुलाबाट बाहिराउँदा तथा विवाह गरेर गएको घरको चुलामा भित्र्याउँदा अदुवाकै कछुर काटिन्छ । ढुंगा गाडेर बनाएको तीन चुलालाई देवता मान्ने चलन यो समुदायमा छ । उनीहरू वैशाखे पूर्णिमाको उभौली साकेला र मंसिरे पूर्णिमाको उधौली साकेलाका बेला तीन चुलामा खानेकुरा, जाँड–रक्सी र अदुवाले पुज्छन् । ‘अदुवाबिना राईहरूको धर्मकर्म नै चल्दैन, यसकारण सांस्कृतिक रूपमा यो महत्त्वपूर्ण छ,’ इसितहासविद् एवम् भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक कमलजंग राईले भने ।
यो जातिमा खानका लागि अदुवा नभए पनि हुन्छ तर पितृ पुज्न अदुवाको अनिवार्य जोहो गरेर राख्नैपर्छ । नेपाली कृषिमा पछिल्लो समय अदुवा खेती व्यावसायिक बन्दै गइरहेको छ । तर अधिकांश किरात राईहरूमा भने बेच्नै नहुने पुरानै धारणा पाइन्छ । अदुवा बिक्री गर्दा धनकी लक्ष्मी बाहिरिने र अदुवा बेच्नु भनेको सुम्निमा र पारुहाङ बेच्नुसरह हुने उनीहरूको मान्यता छ ।
यति मात्र होइन किरात राईहरूले अदुवालाई औषधिको रूपमा पनि प्रयोग गर्छन् । विशेषत: रुघाखोकी लागेको बेलामा अदुवाको बोक्रा ताछेर डढ्ने गरी पोलेर सानो–सानो टुक्रा बनाई चुस्ने चलन छ । यसले खोकीलाई रोक्छ । अदुवालाई उमालेर खाने चलनसमेत छ । यसले पनि खोकी नियन्त्रण गर्दछ । ज्वरो आउँदा कोदोको पिठोबाट बनाएको खोलेमा अदुवा पिसेर मिसाई खाने चलन छ । अदुवा पिसेर मिसाएको कोदोको खोले सिटामोल औषधिले जत्तिकै काम गर्ने यस समुदायका अग्रजहरूको अनुुभव छ । गाउँघरमा अझै पनि चिसो लाग्दा, ज्वरो आउँदा ‘मजाले खोले पकाएर अदुवा मिसाई खानु नि †’ भनेर अर्ति दिनेहरू पाइन्छन् ।
अचार वा तरकारी पकाउँदा अदुवा पिसेर प्रयोग गर्ने चलन किरात राई जातिले सुरु गरेको जानकारहरू बताउँछन् । अचार वा तरकारीमा अदुवाको प्रयोग गर्दा खाना स्वादिलो तुल्याउँछ । अझ कुखुराको मासुु वा मुलाको तरकारी बनाउने बेलामा अदुवाको मसला अनिवार्यजस्तै हुन्छ । अन्य जातिले समेत अदुवालाई खानपिन र औषधि प्रयोजनमा प्रयोग गर्छन् ।
[email protected]

प्रकाशित : भाद्र ३१, २०७४ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?