१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ती दिदी, यी दिदी

संस्मरण
जीवन क्षेत्री

दर्दके फूल भी, खिल्ते हें, बिखर जाते हें
जख्म कैसे भी हों, कुछ रोज में भर जाते हें
पीडाका फूल पनि जसरी फुल्छन्, उसरी नै वैलाएर झर्छन् । जसरी शरीरको घाउ समयक्रममा भरिएरै छाड्छ, उसै गरी मनको घाउ पनि समयसँगै निको भएर जान्छ अनि सुखजस्तै दु:ख पनि मानव जीवनमा सदाकालीन हुँदैन ।

 ती दिदी, यी दिदी

दर्दके फूल भी, खिल्ते हें, बिखर जाते हें

जख्म कैसे भी हों, कुछ रोज में भर जाते हें
पीडाका फूल पनि जसरी फुल्छन्, उसरी नै वैलाएर झर्छन् । जसरी शरीरको घाउ समयक्रममा भरिएरै छाड्छ, उसै गरी मनको घाउ पनि समयसँगै निको भएर जान्छ अनि सुखजस्तै दु:ख पनि मानव जीवनमा सदाकालीन हुँदैन । यी कालजयी शब्द हुन् विख्यात भारतीय सर्जक जावेद अख्तरका अनि यसमा मधुर स्वर दिएका छन् जगजित सिंहले । अप्ठेरोमा परेको बेला जीवनमा मैले जहिल्यै यो सत्यलाई सम्झेर चित्त बुझाएको छु । शरीरमा जस्तै मनमा पनि घाउ भरिंदै जाँदा साना वा ठूला, सामान्य वा कुरूप खाटाहरू बस्छन् तर आलो घाउ सधैं रहिरहँदैन । न मनमा, न शरीरमा ।
तर जीवन अपवादले भरिएको छ । कति घाउ हुन्छन् जुन वर्षौं रहन्छन्, रूप बदल्छन् तर ठीक हुँदैनन् । मनमा पनि शरीरमा पनि । यस्तै मानसिक घाउको एउटा उदाहरण फेला पर्‍यो यो वर्ष ।
सात वर्षपछि गाउँ फर्केर गएको थिएँ । गाउँको पुछारमा, खोलाको किनारमा एक जना दिदीको घर छ । नाताले टाढा तर कुनै बेला सम्बन्धले निकै नजिक रहेकी, उमेरका हिसाबले आमाकी सहेली ती दिदीलाई यतिका वर्षपछि भेट्न म आतुर थिएँ । घर पुगेर आवाज दिएको एक छिनमा खेततिरबाट केही बोकेर दिदी आइपुगिन् । देख्नासाथ मैले मुख बाएर मुस्कान दिएँ । तर दिदीले त्यसको प्रत्युत्तर दिइनन्, उनको अनुहारमा भएको भाव बदलिएन बरु उनको अनुहारमा निरन्तर रहेको कठोरताले झसंग भएर मैले नै सोधें : दिदी चिन्नु त भयो मलाई ? नचिन्ने कुरै थिएन । बाल्यकालमा वर्षौं वर्ष त्यही खोलाको किनारमा रहेर हुर्केको अनि सात वर्षअघिसम्म निरन्तर आउने–जाने गरेको मलाई उनले नचिन्ने कुरै थिएन ।
‘चिनें, चिनें’ भन्ने आवाज आए पनि दिदीको मुहारमा मुस्कान र उज्यालोपन नफर्केपछि मैले पनि मेरो मुस्कानको मात्रा ह्वात्तै घटाएँ ।
यति लामो समयपछि भएको दिदी–भाइको भेटघाट यति खल्लो होला भनेर मैले कल्पना पनि गरेको थिइनँ । भित्र–भित्र बेचैनीसँगै एउटा प्रश्न मडारिइरहेको थियो : आखिर दिदीलाई के भयो ? कुनै समय थियो, उनको अनुहारमा कतिखेरै मुस्कान हट्दैनथ्यो । उज्यालो अनुहार र टोलै थर्काउने उन्मुक्त हाँसोका लागि चिनिएकी दिदीको हाँसो कता गयो ? म एकाएक बाल्यकालतिर फर्कें ।
***

हजुरआमा गम्भीर बिरामी भएपछि हाम्रो बुवा भारतीय सेनाबाट छिट्टै फर्केलगत्तै तेस्रो सन्तानका रूपमा म जन्में । त्यही ताका बुवाकै काखमा हजुरआमा पनि बित्नुभयो । आमाको अन्तिम अवस्थामा सेवा गर्ने बुवाको धोका पूरा भयो तर त्यो बेला उहाँले पाउने निम्छरो पेन्सनले परिवार धान्ने स्थिति नै थिएन । मपछि भाइ जन्म्यो, दाइ–दिदीको स्कुल जाने बेला भयो । हामी चारजना हुर्कंदै जानु भनेको खर्च बढ्दै जानु थियो तर गाउँको खेतीले मुस्किलले वर्ष दिन खान पुग्थ्यो । फेरि त्यतिखेर बुवाको उमेर पनि चालीस कटेको थिएन । त्यसैले जीविकाको नयाँ उपायका रूपमा उहाँले हाम्रो गाउँबाट आधा घण्टा टाढा खोलाको किनारमा रुम्टा बजारमा एक टुक्रा खेत र एउटा घर किनेर किराना पसल थाप्नुभयो ।
बजार भन्नु नै के थियो र, एउटा पानी घट्ट, एउटा सुनपसल, एकाध अरू टहरा र एउटा होटल । त्यही होटल थियो ती दिदीको । श्रीमान् वर्षौंअगाडि मुग्लान पसेर बेखबरजस्तै थिए त्यतिखेर । पाँच छोरी र एक छोरा हुर्काउने बोझ उनीमाथि नै थियो । नाताले भान्जा–भान्जी भने पनि उनका छोराछोरी हाम्रा निकटतम बालसखा थिए । उनीहरूको घरमा हाम्रो घरमा जस्तो फौजी अनुशासन नभएकाले पनि हाम्रा लागि उनीहरूको घर चुम्बकीय आकर्षणको विषय थियो । हाम्रो घर पाहुना आएको बेला उनीहरूको आँटीमा गएर हामी ७, ८ जना केटाकेटी लस्करै सुतेको अहिले पनि याद छ । कता खोलाको एकोहोरो छङछङ आवाज मात्र सुनिने हाम्रो घरको सुनसान बार्दली, कता जहिल्यै कुनै न कुनै कल्याङमल्याङ भइरहने उनीहरूको आँटी । मरमसला धेरै हाल्ने हुँदा खानासमेत उनीहरूकोमा बढी मीठो लाग्थ्यो र कहिलेकाहीं खाना खाएर गएपछि हामीले फेरि खाइदिन्थ्यौं ।
अहिले सम्झँदा सबै विछट्ट रमाइलो लाग्छ तर दिदीका लागि ती दिन पनि सहज थिएनन् । होटलमा आउने पाहुनामध्ये आधाभन्दा बढी जँडयाहा हुन्थे र धेरैले बबन्डर मच्चाउँथे । पैसा नतिर्ने त कति हुन्थे हुन्थे । एकपटक एउटा जँडयाहाले खाना खाँदाखाँदै झगडा गरेर आफूसितै रहेकी श्रीमतीलाई निर्ममतापूर्वक पिटेको घटना मलाई याद छ । त्यसमाथि श्रीमान् बाहिर रहेका हुनाले ससाना बहानामा दिदीको चरित्रमा खोट खोज्ने र कुरा काट्नेहरूको कुनै अभाव थिएन । त्यसरी काटिएका कति कुराको अर्थ त मैले धेरै वर्षपछि मात्र बुझेको हुँ । नियमित काम होटल धान्ने भए पनि त्यतिका सन्तानलाई बढाउन र पढाउन दिदीले नगर्ने भन्ने काम थिएन । बाली लगाउने र उतार्ने बेलामा मेलापात गर्नुदेखि जंगल गएर दाउरा जुटाउनुसम्म, दिदीले हाँसेरै सबै काम भ्याइरहेकी हुन्थिन् । धेरै साँझहरूमा खोला किनारमा गुन्जिने झ्याउरे भाकामा जसरी हाम्रो बुवाको मादल र भाका छुट्दैनथ्यो, उसरी नै ती दिदीको सुरिलो स्वर पनि छुट्दैनथ्यो ।
अबोध बालापनमा बनेको रुम्टाबजारको त्यो चित्र धेरथोर मेरो मनमा अझै पनि थियो, भलै समयसँगै खुइलिंदै गरेको त्यो बजारको रङबारे म सुचित नै थिएँ । हाम्रा घरमा दिदीको बिहे भएपछि र दाइ र मैले पढाइका लागि गाउँ छाड्ने भएपछि हाम्रो परिवारका लागि खेती र पसल दुवै धान्न हम्मे परिसकेको थियो । त्यसमाथि खच्चडहरू गाउँ–गाउँ पुग्न थालेपछि ग्रामीण व्यापारिक केन्द्रका रूपमा रुम्टाको आकर्षण गिर्दो थियो । त्यसमाथि एउटा अति उत्साही युवा पसले आएर आडैमा अर्को किराना पसल खोलेपछि बुवाले दशक लामो व्यवसाय उठाएर माथि गाउँमा फर्कनुभयो । त्यही समयमा हाम्रो पसलभन्दा पनि पुरानो सुनारको पसल उठिसकेको थियो । लगत्तै जाँड खाने क्रममा एउटा उग्र झगडा भएर त्यहीं एक जनाको हत्या भयो । त्यससँगै हामीले बाल्यकालमा देखेको ‘गुल्जार’ रुम्टाबजारको मृत्यु भयो । सक्नेहरू त्यो ठाउँ छाडेर अन्यत्र लागे तर ती दिदीको जाने ठाउँ कहीं थिएन । अलि–अलि गरेको कमाइ छोरीहरूलाई पढाउन र बिहे गरिदिनमा सिद्धिइसकेको थियो । हत्याकाण्डपछि त अलि–अलि बचेको व्यापार व्यवसाय पनि ठप्पै भयो, मान्छे बाटोबाटै तर्केर हिंड्न थालेका थिए ।
यतिसम्म मलाई थाहै थियो । तर के पनि थाहा थियो भने दिदीका एक मात्र छोरा धेरै वर्षदेखि वैदेशिक रोजगारमा गएका थिए । त्यसैले यो नयाँ आय स्रोतले दिदीलाई धानेको होला भन्ने मलाई विश्वास थियो । हुन पनि छोरीहरू अन्माएर पठाएपछि बुढेसकालमा उनको अरू भरोसायोग्य मान्छे कोही थिएन ।
***

ठहर्‍याएर हेरें, दिदीका अगाडिका धेरै दाँत फुक्लिसकेका छन् । अनुहारमा आएका चाउरीहरू असमयमै प्रकट भएका भन्ने म सहजै बुझ्छु । उनीभन्दा एकाध वर्ष जेठी हाम्री आमाका अनुहारमा निकै कम मात्र चाउरी छन् । ज्यान सुकुटी परेको छ र कपडा मैलाधैला छन् । गाउँमा दु:खजिलो गर्ने मानिसका लागि यी सब कुरा सामान्य हुन् तर दिदीको अनुहारमा केही गरी नफर्केको हाँसोले मेरो मनमा बिस्तारै विषाद भर्दै लग्यो । कहाँ गयो दिदीको खोला थर्काउने अट्टहास ? सानैमा दुइटा भ्वाङ परेको हाफप्यान्ट लगाएर दिनभर रोपाइँमा बाउसे बनेको भनेर मलाई जिस्काउँदै दिदी धेरै वर्षपछिसम्म हाँस्थिन् र म अलि–अलि लज्जित हुन्थें । तर अहिलेको दिदीको मौनता र उदासीले मलाई निकै गहिरो पीडा
दिइरहेको थियो ।
पहिले–पहिलेझैं ‘ल भाइ चिया पकाउँछु है’ भन्दै दिदी चिया बसाउन लागिन् । स्थिति नजानिंदो गरी सामान्य हुन थालेको हो कि भन्ने मैले महसुस गरें । चिया पिउन सुरु गर्ने बेलासम्म झन्डै २० मिनेटसम्म दिदी–भाइबीच सन्चो–विसन्चोका एकसरो कुराबाहेक कुनै संवाद भएको हैन । म सम्झँदै थिएँ, दिदीले करिब २२ वर्षअगाडि कसरी बाटोमा भेटिएको भलिबललाई पछयौरामा लुकाएर हामीलाई ल्याइदिएकी थिइन् र कसरी हामीले त्यसलाई फुटबल बनाएर खेलेर केही दिनमै फुटाइदिएका थियौं ।
चियासँगै चाहिं दिदी अलिकति खुल्न थालिन् । भान्जाले विदेशमा काम गर्न थालेको दस वर्ष पुग्न थालेछ, पछिल्लोपल्ट गाउँ आएर फर्केकै ५ वर्ष पुग्न थालेछ । नाति स्कुल जाने भइसकेको छ । तर भान्जाले घरको चटक्कै माया मारेछन् । सुरुमा जानका लागि काढेको ऋण तिर्ने उदारतासमेत देखाएनछन् । यता दिदीको टाउकोमा ऋण थपिएको थपियै, उता भान्जा सायद आफ्नै जीवनमा मस्त । वर्षौंको वियोग र सन्तापले बुहारीमा टाउको दुख्नेलगायत अनेक समस्या देखा परेछन्, शारीरिक श्रम त ठ्याम्मै गर्न नसक्ने रहेछिन् । लक्षण सुन्नेबित्तिकै मेरो स्मृतिमा ती सयौं बिरामी आए जो स्नातक पढ्ने बेला मनोरोग विभागमा भेटिएका थिए र जसमध्ये अधिकांश वैदेशिक रोजगारीसँग सम्बन्धित थिए । सजिलो ठानेर जाँदा कठोर श्रम गर्न परेपछि सम्हालिन नसकेर फर्केका युवकदेखि अचानक बोली गायब भएका नवविवाहित युवतीहरूसम्म । वर्षौं टाउको दुख्नेदेखि एकै दिनमा कैयौंपल्ट बेहोस हुनेहरूसम्म ।
टाउको दुख्ने समस्याका कारण दिनभर सुतिरहनुपर्ने बुहारीलाई पोखरासम्म पुर्‍याएर उपचारका लागि कति खर्च गरें भन्ने विवरण दिदी सुनाउँदै थिइन् तर भान्जा नफर्केसम्म उनको त्यस खालको उपचार व्यर्थ छ भनेर उनलाई भन्ने आँट जुटाउन मैले सकिनँ । ती बुहारीप्रति समेत दया पलाएर आयो : कति रंगीन सपना देखेर बिहे गरेकी थिइन्, अहिले जीवनको सर्वाधिक उत्पादनमूलक समय भारी टाउको लिएर बिछयौनामा बितिरहेको थियो । टाउको दुखाइलगायत तिनका लक्षणहरू मिथ्या वा अभिनय पटक्कै थिएनन् तर जुन मानसिक अभाव र आघातबाट उनी गुज्रिरहेकी थिइन्, त्यो रहुन्जेल उनको समस्या समाधान हुनेवाला पनि थिएन । दुखाइको यसै पनि शारीरिक र मानसिक आयाम हुन्छ, त्यसमाथि पनि मानसिक कठिनाइका कारण शारीरिक रूपमा देखिएको दुखाइ एकसरो औषधोपचारले ठीक हुँदैन ।
उमेरकी बुहारी त्यसरी शारीरिक श्रमबाट अलग भएपछि परिवारका तीन सदस्यको हात–मुख जोर्न दिदीले बुढेसकालमा फलामका चिउरा चपाएसरह कठोर शारीरिक श्रम गरिरहेको प्रस्टै हुन्थ्यो । म त्यहाँ पुग्दा पनि दिदी धमाधम खेतमा काम गर्दै थिइन् भने बुहारी आँटीमा सुति नै रहेकी थिइन् ।
दिदीको गुमेको हाँँसोबारे मेरो जिज्ञासा अब शान्त भइसकेको थियो । तैपनि म बारम्बार उनको अनुहारमा त्यो टम्म परेको हँसमुख चेहरा खोजिरहेको थिएँ । झन्डै पौने घण्टाको बसाइमा मैले एकपल्ट पनि दिदीको अनुहारमा मुस्कानको धर्सो देख्न सकिनँ । उदासीपूर्वक झोलाबाट केही नोटहरू निकालेर हातमा थमाइदिएँ र बाटो लागें । मन उदासीको बादलले घेरिइरहेको थियो । अचानक मनमा एउटा आक्रोशपूर्ण प्रश्न आयो : किन यस्ता कथाहरू हाम्रो समसामयिक साहित्यमा देखिंदैनन् ? किन वैदेशिक रोजगारी भन्नासाथ श्रीमान् विदेश गएका बेला सम्पत्ति लिएर भागेका युवतीहरूका मात्रै कथा लेखिन्छन्, सिनेमा बन्छन् ? किन चरम् लैंगिक असंवेदनशीलता, रुढी र पूर्वाग्रह बोकेको ‘छक्कापञ्जा’ जस्तो सिनेमा सबैभन्दा बढी चल्छ ? वैदेशिक रोजगारीसँगै पतिव्रता धर्म हरायो भनेर कोलाहल चलिरहँदा पत्नी र आमालाई निरन्तर यातना दिइरहेका ती भान्जाजस्ता पुरुषहरूको ज्यादतीबारे किन कोही बोल्दैन र लेख्दैन ? के यस्तो कुरामा कम ‘ग्ल्यामर’ हुने भएर यस्तो भएको हो ?
खोला तरेर जीर्ण भएर भत्कनै आँटेको ‘हाम्रो’ (बेचिइसकेको) घरलाई अनेक काणबाट नियालेर मैले तस्बिरहरू खिचें । एकै छिनमा देखें पुलपारिबाट दिदीले टोलाएर मलाई हेर्दै रहेछिन् । सायद उनका मनमा पनि मेरो बाल्यकालजस्तै उनको जीवनको रंगीन कालका रिलहरू फन्फनी घुमेका हुँदा हुन् । मलाईझैं उनलाई पनि लागे होला : कुनै बेला दिनभरको मेलापातको काम अनि साँझ पाहुनाहरूलाई ख्वाएर सुताउने कामपछि ज्यान लत्रक्क थाके पनि मादलको तालमा झ्याउरे गाउँदा जीवन जति उज्यालो र रुम्टाबजार जति जीवन्त प्रतीत हुन्थ्यो, ती दिन अब फेरि कहिल्यै नआउने गरी गइसकेका छन् । बजारमा मान्छेहरू छन् तर पहिलेजस्तो यसमा जीवन छैन । अब खोलालाई वनमाराले ढाकिसकेको छ भने पहिले हामीले रोपाइँ गर्ने खेत डोजरले ओधारेर जिपहरू कुद्न थालेका छन् ।
तर दिदीका दु:खचाहिं जहाँको त्यहीं छन् र अनुहारमा चाउरी थपिएसँगै दु:खका पत्र पनि थपिंदै छन् । सायद दिदीले मलाई हेरेर खोलापारिबाट सोच्दै होलिन् : मेरो पनि छोरा थितिको भइदिए... । खोलापारिबाट देखिएको दिदीको धमिलो आकृति हेर्दा लाग्यो : सायद म त्यहाँ रहुन्जेल रोकिएका दिदीका आँसु अब ढिक्का बनेर चाउरिएका गालाबाट गुडुल्किँदै होलान् र भुइँमा झर्दै होलान्, त्यसै गरी जसरी प्रत्येकपल्ट महिनौंपछि फोन उठाएको छोराले टक्टकिंदै फोन राखेपछि उनले झार्ने गर्छिन् : तप्प । दिदीको पीडाको फूल कहिले ओइलाउला र उनको मनको घाउ कहिले भरिएला, यी प्रश्नले अहिलेसम्म मेरो पिछा छाडेका छैनन् ।
www.himalayawatch.com

प्रकाशित : भाद्र ३१, २०७४ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?