गोल बजार

निबन्ध
किशोर नेपाल

केही दिनअघिसम्म प्रदेशमा चुनाव हुने नहुने कुनै ठेगान थिएन । राजनीतिमा लागेका मानिसहरू हल्ला गर्दै थिए, ‘संविधानको संशोधन गरेर जनताको जायज माग पूरा नगरी सरकारले चुनाव गरायो भने यहाँ ठूलो रक्तपात हुन्छ । पहिलो मधेस आन्दोलनको जस्तै उफान आउँछ ।’

गोल बजार

उनीहरूको हल्ला सुनेर मानिस डराए । डराउनैपर्ने कुरा थियो । बरु, चुनाव भए होस्, नभए नहोस् । संविधानका नाममा अब अरू मानिस मर्न हुन्न । सरकारले जनताको भावनाको कदर गरेको जस्तो देखाएर आफ्नो सजिलो चुन्यो । अरू प्रदेशहरूमा चुनाव भयो । यो प्रदेशमा चुनाव सर्दै गयो । यो साल आँपको मुजुरा राम्ररी लागेन । आँप थोरै फलेकाले काम पनि थोरै भयो । रजियाले पोहोर आँप बेचेर बीस हजार कमाएकी थिइन् । यसपालि आँपको सिजन कति बेला आयो र कति बेला सकियो थाहै भएन ।

गर्मी बढ्दै गयो । कोसी नदी नजिकका बस्तीहरू सुनसान देखिन थाले । साँझ बिहान बस्तीमा चहलपहल भए पनि दिउँसो सबै निदाउँथे । यस्तोमा सर्पदंशको डर बढी नै हुन्थ्यो । गर्मी मनग्य नै थियो, असह्य । घाम चर्किइरहेको बेला अचानक भयानक वर्षा सुरु भयो । छेउछाउका नदी–नाला र खोला–खहरे एक्कासि बढे । धेरै घर डुबानमा परे । फुसको घर त पाटाका पाटा बगे । मानिस पनि निकै मरे । धेरै बिजोक बालबच्चाको भयो । मानिसहरू राहत लिएर आए । कलवाले पनि रासनको एउटा पोको समात्यो । दाताले एक हातले कलवालाई अंगालो मार्‍यो र अर्को हातले सेल्फी खिच्यो । सुर्तीले पहेंला भएका आफ्ना दाँत देखाएर हाँस्यो कलवा । 
यत्रो विपद् पर्दा पनि निर्वाचन आयोगले चुनावको तयारी एक दिन पनि रोकेन । सरकारले दुई नम्बर क्षेत्रमा पाँच मतदाता बराबर एक सुरक्षाकर्मी व्यवस्था गरेको आरोप लगाए सरकारविरोधी दलहरूले । गाउँ र सहरका गल्लीगल्लीमा केटाकेटीहरू बडो सांगीतिक लयमा गाउन थालेका थिए, आ–आफ्नो चुनावी अपिल । 
उम्मेदवारको ठेगान नभए पनि चुनाव चिह्नको प्रचार बडो धुमधामसँग भैरहेको थियो । टिकट आकांक्षीहरू पाएसम्म नगरपालिकाको मेयर, नपाए उपमेयर, त्यो पनि नपाए वडाध्यक्ष बन्ने प्रयत्नमा लागेका थिए । सबै जनमा अत्यधिक आकर्षण थियो पदको । एउटै पदमा धेरै आकांक्षी भएपछि दलहरूले उम्मेदवारको छनोट गर्न गोला प्रथाको सहारा लिएका थिए । यो पहिलो अवसर थियो जब मानिसहरू वैदेशिक रोजगारीमा जाने अवसरसमेत छाडेर चुनावमा रमाएका थिए । यता चुनावमा जितिए सानको सान, मानको मान । पद भएपछि पैसा । पैसा भएपछि प्रतिष्ठा ।
यो बस्तीको नामै बस्ती हो । अस्तिसम्म यो अलि ठूलो गाउँ मात्रै थियो । गाउँ र नगरको कित्ताकाट गर्नेहरूले कुन्नि के गरे । अहिले यो नगरपालिका भएको छ : बस्ती नगरपालिका । यहाँका मानिसहरू रातारात नगरबासी भएर रमाएका छन् भने उनीहरूको मनमा अलिकति डर पनि पलाएको छ । नगरपालिका भएपछि कर धेरै तिर्नुपर्छ भन्ने सुनेका छन् यहाँका मानिसहरूले । मुख्य डर त्यसैको हो । उनीहरू बडो सन्देहास्पद भाषामा कुरा गर्न थालेका छन् । अस्ति चिया दोकानमा मुखियाजी भन्दै थिए, ‘नगरपालिका भएर त राम्रै भएको छ । अब जग्गाको भाउ बढ्ने भयो भन्थ्यो मिश्री मण्डल । हामीलाई त के र ? यहाँबाट अब एकैपल्ट माथि नै जाने हो । ओहो यो अवस्था । न जियैछी, न मरैछी, बस हुकुर हुकुर करैछी ।’
बस्तीका व्यापारीहरू नयाँ परिस्थितिसँग निकै डराएका छन । नगरपालिका हुनेबित्तिकै बैंक आउँछ भन्ने परेको छ उनीहरूको मनमा । बैंकलाई सामान्य किसानले त्यति मन पराएका छैनन् । बैंक आएपछि सुदखोरी बढ्ने र पुराना घरानियाँ साहु महाजनबाट सरसापट र सहयोग नपाइने डर पसेको छ व्यापारीको मनमा । डर पस्नु स्वाभाविक नै हो । भैंसीपालनमा ऋण लिन कतिपय किसानहरू गोठमा नै गाडिएका थिए । भैंसीको स्याहार गरेर दूध जम्मा गर्‍यो, बजार नै छैन । कहिले हडताल छ, कहिले गाडी पल्टेको छ । धन कमाउला र ऋणबाट उत्रियौंला भन्नेहरू सुदमा नै अड्किए । हिजोआज बस्तीको थेगो नै बनेको छ : ‘अब चुनावपछि केही हुन्छ कि ?’ 
टेलर राजु पनि मनमनै डराएको थियो नगरपालिकासँग । उसले निकै सोचेर आफ्नो पसलको नाउँ राखेको थियो ‘दबंग’ टेलर एन्ड ड्रयापर । निकै चम्किलो थियो उसको पसलको साइनबोर्ड । साइनबोर्डमा सलमान खानको अनुहार पेन्ट गरिएको थियो । बस्ती नगरपालिका भएपछि पसलमा लगाएको साइनबोर्डको पनि ट्याक्स तिर्नुपर्छ भन्ने थाहा थियो राजुलाई । अहिलेका लागि ऊ सोच्दै थियो, ‘चुनाव भइदिए यो सिउने कलमा खिया लाग्न पाउँदैनथ्यो । झन्डाको आकारमा कपडा काट्दै सिलाउँदै गर्दा राम्रो कमाइ हुन्थ्यो । कामको त के दु:ख र । चार जनाका लागि भ्याइनभ्याई हुन्थ्यो ।’
ठूलो वर्षातको आतंकपछि राजुले चुनावको माया मारिसकेको थियो । गाउँ विकासको कार्यालय सहायक विष्णुले अघिल्लो साता मात्रै ऊसँग भनेको थियो, ‘सरकारलाई यो दुई नम्बर प्रदेशको चुनाव घाँडो भइरहेको थियो । यस्तो बेलामा यति ठूलो वर्षात् भएपछि चुनाव कसरी हुन्छ ?’ पल्लाघरको भगत पनि सुनाउँदै थियो, ‘के निहुँ पाउँ कनिका बुक्याउँ । हेरी राख राजु, अब चुनाव एकैपल्ट मंसिरमा हुन्छ ।’
तर, कसैको केही लागेन । सरकारले दुई नम्बर प्रदेशमा जसरी पनि चुनाव हुने घोषणा गरिछाड्यो । निर्वाचन आयोगले चुनावको कार्यक्रम निकाल्यो । त्यसपछि त लाजले होला, विष्णु र भगत दबंग टेलरिङमा साताभरि नै आएनन । राजु दंग थियो । उसको सिउने कलमा अब खिया नलाग्ने भयो । वर्षात थामिएको भोलिपल्टै उसकहाँ अर्डरको थुप्रो लाग्न थाल्यो । उसले जे चिताएको थियो त्यो पूरा भयो । नेताहरू आउँदै अर्डर र पेस्की दिँदै जान थाले । पेस्की नलिए त राजुले काम कसरी गरोस् ?
मनोनयन दर्ता गर्ने दुई दिनअघि आएका गोल पार्टीका एक जना नेताले त राजुको भाग्य नै चम्काइदिए । उनले आफ्नो पार्टीको नारा र झन्डासँगै पचास जोर खादीको कुर्ता–सुरुवाल सिलाइको समेत अर्डर दिए । राजुले एक जोर कुर्ता–सुरुवालको पैंतीस सय असुल गर्‍यो । उनका पचास जना नातेदार चुनाव प्रचारका लागि आएका थिए । ती कुर्ता तिनैका लागि थिए । नेताजीका ती नातेदारको नाप लिन त बाँकी नै थियो । राजुले पैसा त असुल गर्‍यो । सामान कसरी दिने हो ?
यही बेला आइपुगी वविता साह । उसले आफ्नो छ वर्षको छोरा सपनलाई राजुतिर धकेल्दै भनी, ‘ओ राजु भाइ, तनी एकर नापके कट्टु सिलवा दिऊ ।’
राजुले वविताको मुखमा पुलुक्क हेर्‍यो र भन्यो, ‘नहीं देखलछी ? चुनावके मारामारी है । तू भी क्या आर्डर लगाती है वविता ।’
यो स्थानीय तहको चुनावका लागि स्वतन्त्रसमेत गरेर तेह्रवटा पार्टीको झन्डा र चुनाव चिह्न तयार गर्नुपर्ने भो राजुले । कामको चाप बढ्दै जान थालेपछि राजु अलिकति आत्तियो पनि । उसले चुनावसम्मका लागि उर्मिला दिदीका छोराहरूलाई काममा बोलाउने विचार गर्‍यो । उर्मिला दिदीलाई फोन गर्‍यो । दिदीले भनिन्, ‘हुन त हुने हो राजु । ती दुइटै मामाघर गएका छन् वीरगन्ज ।’
दुई दशकअघिको चुनावले राजुको जेठा बाउको छोरा प्रकाशलाई सप्रिने राम्रो मौका दिएको थियो । चुनावमा मात्रै होइन, अघिपछि पनि त्यो बेबकुफको बिजिनेस राम्रैसँग चलेको थियो । यसअघिको चुनावमा उसले पार्टीका झन्डा र चुनाव चिह्न सिएर पाँच लाखभन्दा बढी नै कमाएको थियो । तर, माओवादी आन्दोलन सुरु हुनेबित्तिकै तल्लो गाउँको टेकेन्द्र आएर उसलाई जनसेनामा भर्ती हुन कर गर्न थाल्यो । एक दिन प्रकाश छँदा–खाँदाको बिजिनेसलाई गोली मारेर डाँडाडाँडै भाग्यो । पहिले ऊ काठमाडौं पुगेको खबर आयो । केही समय ऊ काठमाडौंमा लुकेर बस्यो । त्यसपछि कहाँ गयो थाहा भएन । पछि कतैबाट ऊ कतार पुगेको उडन्ता खबर आएको थियो । कसैले कुबेतमा भेटेको सुनाउँथे । 
राजु यो चुनावबाट सप्रिने धुनमा छ । बेला पनि राम्रो छ । सबै कुरो मिलेकाले सप्रिन बेर लाग्दैन । सप्रिएन भने पनि ऊ कतार, कुबेत, साउदी, दुबई कतै जान तयार छैन । जे गर्ने हो ऊ यहीं, यही बस्ती नगरपालिकामा बसेर गर्न चाहन्छ । उसकी डालीले यही सर्तमा ऊसँग बिहे गरेकी छ । अनि, आमा छिन् जो ऊ बस्ती छाडेर एक दुई रातका लागि कतै गए पनि छटपटाइहाल्छिन् । बुढिया कति बेला पुक्लुक्क हुने हुन् । राजु संसार छोड्न तयार छ, आमालाई एक मिनट पनि छोड्न तयार छैन ।
बस्तीकी अर्की मुख्य पात्र हुन् मरासिनी बजै । उनको पूरा नाम हो डुन्डुदेवी मरासिनी । बजैले द्वन्द्वकालमा प्रशस्त भात बेचिन् । त्यही बेला अलि धेरै पैसा जम्मा गरेकी हुन् । उनी रातविरात खाना खोज्दै आफ्नो होटलमा आउने माओवादी, गैरमाओवादी, एनजीओ, पत्रकार, सेना र पुलिस– सबैलाई भात पकाएर खुवाउने गर्थिन् । जतिसुकै बेला पाइने हुनाले उनको होटलमा भात अरू होटलमा भन्दा महँगो थियो । उनको होटलमा माओवादी जनसरकारले तोकेको दररेट पनि लागू हुँदैनथ्यो । 
गाउँका जान्ने–सुन्ने, बुद्धिजीवी, सुराकी, हुलाकी सबैलाई थाहा थियो मरासिनी बजैको होटलमा राति पनि भात पाइने कुरा । उनको होटलमा बेला–बेलामा जंगली बँदेलको मासु पनि पाइन्थ्यो । उदयपुर ब्यारेकका जवानहरू बँदेलका साँप्रा बोकेर आउँथे । रमाइलो गर्थे र जान्थे । बजार वरपरका सबै मानिसहरू मरासिनी बजैको हिम्मतको तारिफ गर्थे । पुलिसहरू बेला–बेलामा बजैलाई थर्काउँथे, ‘ल है बजै, ज्यानमाराहरूलाई यसरी राति–राति भात पकाएर खुवाउन हुँदै भएन । कुनै दिन कारबाही गर्न पर्‍यो भने तपाईं बित्थामा फँस्नुहोला ।’
मरासिनी बजै केही बोल्दैनथिन् । उनको अनुहारमा डरको घेरो लेस मात्र पनि हुँदैनथ्यो । उनको हाँसो उदास हुन्थ्यो । हाँसेको हो कि नहाँसेको हो थाहै नहुने ।
त्यस्तो समय, दोहोरो बन्दुकको चेपमा मानिस चेपिएको समयमा पनि चिनेका, नचिनेका, राम्रा, नराम्रा सबैथरी मानिसलाई भात पकाएर खुवाउनु ठूलो कुरा थियो । मरासिनी बजै भान्सामा आफैं खट्न्थिन् । अचेल मानिसहरू हरियो–परियो सागसब्जी नपाएसम्म खाना रुचाउँदैनन् भन्ने थाहा थियो उनलाई । उनी थोरै शुध्द तोरीको तेल हालेर खसीको मासु पकाउँथिन् । त्यसको पातलो झोललाई स्वादिलो बनाउने कला सिकेकी थिइन् उनले । मानिसहरूले त्यो झोलसँग स्वाद मानेर भात खान सकुन् भन्ने ध्येय हुन्थ्यो उनको । अहिलेको यो बेतोड महँगीमा पनि उनी मासु खानाको दुई सय पचास र सादा खानाको एक सय पचास मात्रै लिन्थिन् जम्मा ।
विगत बीस वर्षदेखि मरासिनी बजैको होटल निरन्तर छ । विगत दस वर्षको अवधिमा उनको होटलको खासै स्तरोन्नति भएको थिएन । माथि मचानमा लस्करै दसवटा खाट राखिएका थिए । उनी एक जनाको पचास रुपैयाँ लिन्थिन् । योपटकचाहिं मरासिनी बजैले पनि चुनावपछि होटलको रूप परिवर्तन गर्ने विचार गरेकी छन् । गर्नु पनि पर्‍यो । वैदेशिक रोजगारीमा गएको छोरो दस वर्षपछि फर्किंदै छ ।
बस्ती नगरपालिका, गोल बजारबाट अहिलेसम्मको समाचार यत्ति नै थियो । घटनाहरू बन्दै छन् । आवाजहरू घन्किँदै छन् । बाजाहरू निरन्तर बज्दै छन् । चुनाव एक दिन हुनेछ । चुनावी उत्सवका लागि सरकारले पाँच दिन बिदा दिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?