१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गल्फ नै धर्म

खेलाडी
नेपालको पहिलो व्यावसायिक गल्फ खेलाडी घनश्याम थापा ६ दशयकता खेलमा निरन्तर सक्रिय छन् । उनको यात्रा :
राजु घिसिङ

गल्फलाई विश्वमै सम्भ्रान्त वर्गको खेल मानिन्छ । छ पनि त्यस्तै । अध्ययन गर्नलाई बेलायत र भारत पुगेका राणा, शाहहरूले सय वर्षअघि नेपालमा गल्फ भित्र्याएका थिए । उनीहरूले नै गौचर गल्फ कोर्स बनाएका थिए । उनीहरू मोजमस्तीका लागि गल्फ कोर्स धाउने गर्थे ।

 गल्फ नै धर्म

गल्फमा लागेर सन्तान बिग्रिए भनी राणाहरूले नै सन् १९२९ मा कोर्स बन्द गराएका थिए । केही समय गल्फ खेल्न नेपालमा बन्द नै भयो तर बिस्तारै लुकीछिपी खेल सुरु गरियो ।

आरएनजीसी (रोयल नेपाल गल्फ क्लब, जसलाई पहिले गौचर भनिन्थ्यो) ३६ होलको थियो र यो त्रिभुवन विमानस्थलको रन–वे वारिपारि थियो । नरशमशेर, किरणशमशेरको पहलमा फेरि कोर्स १९५८ देखि सञ्चालनमा आयो । पहिले सुपरभाइजर रहेका पुरानो सिनामंगल (हाल पेप्सिकोला) मीनबहादुर प्रहरीको जागिरबाट फेरि गल्फ कोर्स फर्किए । छोरा घनश्याम पनि बुवालाई पछ्याउँदै कोर्सतिर बरालिन थाले ।
आर्थिक रूपले थापाको परिवार सम्पन्न थिएन । त्यसैले घनश्यामलाई पढ्नका लागि काम गर्नुपर्ने बाध्यता थियो । अलि चुलबुले स्वभावका उनी १० वर्षको उमेरमै बल ब्वाई बने । उनको काम राणा, शाह र युरोपेली–अमेरिकी कूटनीतिज्ञहरूले हानेको बल टिप्नु थियो । ‘दिनमा ५ घण्टा काम गर्दा २५ पैसा पाइन्थ्यो,’ उनले सम्झिए, ‘त्यस बेला पैसा महँगो थियो, सामान सस्तो । अहिले पैसा सस्तो छ, सामान महँगो ।’ उनी बिहान स्कुल जान्थे । स्कुलमा फुटबलतिर झम्टिन्थे । दिउँसो गल्फ कोर्स चहार्थे ।
‘पैसा कमाउन गल्फ कोर्स जान्थ्यौं तर त्यहाँ कुनै सिस्टम थिएन । जसको शक्ति उसैको भक्ति हुन्थ्यो । बल टिप्न तँछाडमछाड नै चल्थ्यो,’ उनले भने । बिस्तारै उनी क्याडी बने । गल्फरको ब्याग (गल्फ सेट) बोक्नु उनको काम थियो । मौका छोप्दै उनी आफंै पनि खेल्न थाले । ‘ब्यागभरी लट्ठी हुन्थे । छानेर एउटा लट्ठी निकालेर बल हान्थें । त्यस्तो देखेर मलाई पिनस्पिटरको ५ आइरन दिइयो,’ करिब ६ दशकअघिको उपहार उनले सम्झिए ।
गोब्रे चौर, गान्धी स्कुल, सडक र कोर्समा ६ वर्ष चलाएको ५ आइरन उनले अहिले पनि घरमा सजाएर राखेका छन् । क्याप्टेन बुलसाराले एक गल्फ सेट दिएपछि मात्र उनले ५ आइरनलाई आराम दिएका थिए । उनले काठदेखि मेटलको उडसम्मले १.६८० इन्चको गल्फ बल प्रहार गर्न भ्याए । उनलाई तत्कालीन अधिराजकुमार बसुन्धराले पनि सहयोग गर्न थालेका थिए । उनलाई दिल्ली गल्फ क्लबमा ‘प्रोफेसनल बेसिक कोर्स’ गर्ने मौका मिल्यो ।
आरएनजीसीमा म्यानेजर भइसकेका उनी ६ ह्यान्डिक्यापमा खेल्थे । उनी आफूलाई उत्कृष्ट गल्फर मान्थे । ‘दिल्ली पुगेपछि आफ्नो हैसियत थाहा भयो,’ उनले सुनाए, ‘मैले क्लब नै उल्टो समात्ने रहेछु । लाजै लाग्यो ।’ दिल्ली गल्फ क्लबका प्रो हीरालालसँग ६ महिना आधारभूत प्रशिक्षण लिएपछि उनले सन् १९६८ अप्रिल २३ मा व्यावसायिक गल्फरको प्रमाणपत्र हात पारे । अर्को वर्ष मार्चमा त्यही कोर्समा एसियन सर्किटको इन्डियन ओपनमा प्रतिस्पर्धा गर्दै उनी नेपालको पहिलो व्यावसायिक गल्फ खेलाडी बने ।
विश्व गल्फकै प्रतिष्ठित प्रतियोगिता द ओपन च्याम्पियनसिप ५ पल्ट जितेका अस्ट्रेलियन पिटर थोम्सन पनि इन्डियन ओपनमा सहभागी भएका थिए । घनश्यामले उनीसँगै एउटै समूहमा खेलेका थिए । ‘मैले १९ ओभर र ७ ओभर खेलेपछि कट मिस गरे । १३ ओभरसम्म खेल्ने कट बनाएर फाइनल चरण प्रवेश गरेका थिए । पहिलो प्रतियोगिता भएकाले मलाई त कट मिस गरेकोमा चिन्ता लागेन तर थोम्सनले एक स्ट्रोकले कट गुमाउँदा भने दु:ख लागेको थियो,’ उनले भने ।
उनले एसियाली स्तरका हङकङ ओपन, थाइल्यान्ड ओपनलगायत थुप्रै प्रतियोगिता खेले । सूर्य नेपाल मास्टर्स र वेस्टर्न ओपन खेलेपछि करिब डेढ दशकयता भने उनी प्रतियोगितामा ओर्लिएका छैनन् । ६९ वर्षीय उनी साताको चार दिन भने मदन राणा, रबिन मास्टन, कल्याण श्रेष्ठ र माधव आचार्यसँगै पूरा राउन्ड (१८ होल) खेल्छन् । पहिले जित्नका लागि अहिले फिटनेसका लागि, उनको खेलको फरक 
यही हो ।
उनले व्यावसायिक गल्फमा कुनै उपाधि जितेका छैनन् । ‘नेपालमा ११ औंसम्म भएको छु तर कुन प्रतियोगिता हो याद छैन,’ ६९ वर्षीय उनले भने, ‘विल्स ओपन १९७५ मा अन्तिम होलमा ग्रिनमा ३ स्ट्रोक खेलेपछि डबलबोगीमा परेको थिए, तैपनि तेस्रो भइयो । व्यावसायिक गल्फमा यो नै मेरो सबभन्दा राम्रो प्रदर्शन हो ।’

लुकेर खेल्ने युग
विमानस्थाल विस्तार गर्ने अभियानमा आरएनजीसी १९८२ मा बन्द गरिएको थियो । त्यसैले तिलगंगाका शम्भु आचार्यले पशुपति क्षेत्रमा केही ग्रिनहरू बनाउन थालेका थिए । तीन होल, ६ होल हुँदै नौ होलको कोर्स नै बन्यो । यसमा घनश्याम पनि सक्रिय थिए । 
खड्गजित बरालको अगुवाइमा २० वर्षे स्म्झौता गर्दै १९८२ मा आरएनजीसी ब्युँताइएको थियो ।
घनश्यामले बम्बई प्रेसिडेन्सी गल्फ क्लबमा सात वर्ष प्रशिक्षकको रूपमा काम गरे । ‘नेपालमा पनि गल्फ कोर्स छ भनी धेरैले सोधेर हैरान पारेका थिए,’ उनले बम्बई अनुभव सुनाए । उनी स्वदेश फर्केर पनि धेरै बसेनन् । सन् १९९३ मा जर्मनी पुगेर गल्फ क्लब ब्याड बाभेन्सन, सेक्लेन्डर्फमा चार वर्ष हेड प्रो भएर काम गरे । ‘खेलबाट नामसँगै दाम पनि मनग्गे कमाइयो,’ पूर्वयुवराज दीपेन्द्रका पनि गल्फ गुरु रहेका उनले आफ्नो गल्फ जीवनको समीक्षा गरे ।
शिवराम श्रेष्ठ नेपालका सर्वाधिक सफल प्रो हुन् । उनले ३६ उपाधि जितेका छन् । घनश्यामले प्रो टर्न हुँदासम्म उनी जन्मिएका पनि थिएनन् । न त उनीअघिका कीर्तिमानी दीपक आचार्य नै । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का संस्थापक अध्यक्ष पनि हुन्, घनश्याम । उनका छोरा राधेश्याम पनि प्रो कार्डवाला हुन् । उनकी पत्नी सुशीला पनि एक जमानामा गल्फ खेल्थिन् ।
घनश्याम, रिठे, दीपक थापामगर, दीपक आचार्य, रमेश नगरकोटी, तोरण शाही र राधेश्यामले १९ वर्षअघि एनपीजीए स्थापना गरेका थिए । त्यस बेलाका नेपाली प्रो उनीहरू नै हुन् । एनपीजीएले सन् २००८ यता सूर्य नेपाल गल्फ टुर सञ्चालन गरिरहेको छ । अहिले टुर खेल्ने नेपाली प्रो ६६ पुगेको छ ।
थापाले आफ्नै नाममा ‘घाना ओपन’ प्रतियोगिता आयोजना गर्दै व्यावसायिक गल्फरलाई प्रोत्साहन दिइरहेका छन् । टुरका प्रमुख मार्सल (निर्णायक) पनि रहेका उनी घरमाभन्दा बढी गल्फ कोसैमा भेटिन्छन् । निरन्तर ६ दशक गल्फमा रहेकाले उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार लाइफटाइम एचिभमेन्ट अवार्ड दिएको थियो । ‘त्यस बेला गल्फ खेल्नु विशेष हुन्थ्यो । खेल्नेहरू धनाढ्य नै हुन्थे । सर्वसाधारण मानिस गल्फ कोर्सतिर जानुहुन्न भन्थे । हामी पनि लुकेरै खेल्नुपथ्र्यो । अहिले आएर सबैलाई खेल्ने अधिकार हुनुपथ्र्यो भन्ने लाग्छ,’ उनले भने ।

विश्वकप
थाइल्यान्डले २३ औं विश्वकप गल्फ सन् १९७५ मा आयोजना गर्दै थियो । त्यस बेला आयोजक नजिकका १५ देशले सहभागी हुन पाउने प्रावधान थियो । यसमा नेपाल पनि पर्दछ । यसप्रति घनश्याम थापा जानकार थिए । तर नेपालमा तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकको माहोल थियो । सहर–बजार बन्द थिए । मानिसहरू व्यस्त । कार्यालयहरू पनि खुलेका थिएनन् । त्यसैले विश्वकपमा नेपाली गल्फको पहिलो सहभागिता अनिश्चित बनेको थियो तर घनश्याम ऐतिहासिक यात्रालाई सम्भव बनाउन लागिरहे ।
उनले थाई गल्फ संघलाई सहभागी हुन पाउनुपर्‍यो भनी पत्र पठाए । थई संघले अन्तर्राष्ट्रिय गल्फ महासंघमा पत्राचार गरिदियो । ‘नेपालमा गल्फ खेल्छ भन्ने थाहा थिएन भन्दै तत्कालै विश्वकपमा हामीलाई स्वागत गर्‍यो,’ घनश्यामले भने । विश्वकपमा एक देशका शीर्ष दुई व्यावसायिक गल्फर (प्रो) ले प्रतिस्पर्धा गर्न पाउने व्यवस्था थियो । त्यसबेला धरानका रिट्ठे (रिधी) सापकोटा पनि प्रो–टर्न भइसकेका थिए तर उनी विश्वकपबारे बेखबर थिए ।
दुई जना प्रो नभएको देशलाई विश्वकपमा एक जना एमेच्योर खेलाउने छुट पनि थियो । यसमा विष्णु शाहीको भाग्य खुल्यो । बैंककको नावातानी गल्फ कोर्समा धनश्याम र विष्णुले नेपालको प्रतिनिधित्व गरे । ‘विणु चार ह्यान्डिक्यापमा खेल्थे । तर विश्वकपमा योग्य हुन दुई ह्यान्डिक्याप हुनुपथ्र्यो । त्यसैले विष्णुलाई दुई ह्यान्डिक्यापको खेलाडी बनाएर विश्वकपमा लगियो,’ घनश्यामले भने, ‘५० देश सहभागी विश्वकपमा हामी युगोस्लाभियाभन्दा अगाडि रह्यौं । अर्थात् अन्तिमबाट दोस्रो ।’
फेरि घनश्याम र विष्णुले १९७५ मा मनिला (फिलिपिन्स) मा भएको विश्वकप पनि खेले । त्यसमा पनि अन्तिमबाट दोस्रो नै भएको थियो । ‘विश्वकपमा हाम्रो तयारी थिएन । हामीसँग कुनै ड्रेस पनि थिएन । विश्वकपमा के गर्नुपर्छ भन्ने त्यही पुगेपछि मात्र थाहा पाइयो,’ घनश्यामले भने, ‘फेरि विश्वकप खेलिन् तर गल्फ पनि छाडिन् । गल्फमै मेरो जीवन बित्यो । त्यसैले मेरो धर्म नै गल्फ बन्यो ।’
Twitter: @rghising

प्रकाशित : भाद्र ३१, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?