‘रोकियो’ ठाडो भाका

सम्झना
आश गुरुङ

गुरुङ र दुरा गाउँको रोधीमा ९ वर्षको उमेरमै लोकभाका गाएका ब्राह्मणपुत्र हुन् भेडीखर्के साइँला अर्थात् दीर्घराज अधिकारी ।

 ‘रोकियो’ ठाडो भाका

सिन्दुरेको तुर्लुङकोटमा जन्मिएका उनी ६ वर्षदेखि बुवा बलभद्रसँगै भेडीगोठ बस्न थालेका थिए । राणाकालीन समयमा पठनपाठन थिएन । गाईभैंसी, भेडाबाख्राका गोठालाको जमातमै उनको समय बित्थ्यो । गोठालो जाँदा गढीमा पुग्थे उनी । हलगोरु नारेर खेतालाहरू भाका फिराई–फिराई गीत गाउँथे । गढीमा बसेर त्यही गीत छोप्थे उनी । उकाली ओराली गर्नेसँग हिँड्दाहिँड्दै उनी रोधी बस्न जान्थे, त्यहीं गीत गाउँथे । ब्राह्मणपुत्रले गीत गाउँदै हिँडेको उनको बुवालाई पटक्कै मन परेन । उनी आमा नन्दकुमारीसँग पनि बस्न मानेनन् । ‘सिरमै रानी...’, ‘मायारानी...’ का भाका गाउँदै हिँडे । रोधी र खेतका आलीका सुसेल्दै गाइने गीत नै ठाडो भाका थियो जुन सुन्दा निकै आनन्द र रमाइलो लाग्ने किसिमको थियो । 
उनले यस गीतबारे सोधखोज गरे । नजिकै बांग्रे हाँडीखोलाका देउबहादुर दुरा र तत्कालीन नयाँ कास्कीको रबैडाँडाका पञ्चैसुब्बाबारे पत्ता लगाए । उक्त जोडीले १८७० को दशकतिर यस भाकालाई जन्माएको थियो । त्यही भाकालाई भेडीखर्केले संसारमा चिनाए । अहिले त युट्युबभर ठाडोभाका खोज्नेबित्तिकै भेडीखर्केले ‘लाइभ’ गाएको प्रशस्तै भेटिन्छन् । 
बैंस छँदा करापुटारको छेलो हान्ने मेलामा भेडीखर्केले ३ रात ३ दिन लगातार ठाडो भाका गाए । अनि यो भाका कर्पुटारे भाकाको नामबाट पनि चिनियो । कुनै वर्ष शिवरात्रिको छेलो हान्ने मेलामा करापुटार बजारमा उनी पुगेनन् भने स्थानीयवासी गीत गाउँथे, ‘कहाँ गयो भेडीखर्के साइँला, शून्य भयो कर्पुटार बजार... ।’ ठाडो भाकामै सतीदेवी अग्निकुण्डमा हामफालेका आख्यानहरू भन्न सक्ने क्षमता उनमा थियो । 
भेडीखर्केले यही भाका गाएरै कतिलाई हँसाए, कतिलाई रुवाए । जीवनको उत्तराद्र्धमा समेत माइक समात्न पाएपछि गाइहाल्ने उनको ८५ वर्ष पुग्न ३ दिन बाँकी छँदा सोमबार डुब्दै गरेको घामसँगै निधन भयो । स्थानीय सरकारको तर्फबाट सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरे । 
ठाडो भाका गण्डक क्षेत्रमा चर्चित छ । सुरुमा केटाले मात्रै गाउँथे । थप रौनक बढाउन देउबहादुरले नेटा हाँडीगाउँकी मैरानीलाई सिकाइन् । यसले गीतमा थप रौनक ल्यायो । देउबहादुर र मैरानीको जोडी धेरै समयसम्म टिक्यो । उनीहरूको जोडीपछि हराउन थालेको ठाडो भाकालाई भेडीखर्केले अँगाले । ५ दशकयता उनी ठाडो भाकाको अभियन्ता बनेर हिँडे । 
लोकगायिका बिमाकुमारी दुराको नजरमा भेडीखर्के साइँला दुरा जातिको सिंगो खम्बा थिए । ‘सिंगो दुराको खम्बा ढलेको छ । ब्राह्मणको छोरा भएर दुराको भाका जगेर्ना गर्नुभयो । यो गुन कसैगरी तिर्न सकिन्न,’ उनले सम्झिइन् । गत साउनमा काठमाडौंमा आयोजित कार्यक्रममा भेडीखर्केसंँगै गाएको ठाडो भाका नै उनका लागि अन्तिम सम्झना बन्यो । भेडीखर्केसँंगको पछिल्लो गायन सहयात्री हुन बन्दीपुरकी उत्तमकुमारी गुरुङ । गत शिवरात्रिमा करापुटारमा सँगै ठाडो भाका गाएकी थिइन् उनले । ‘यस्तो भेट जिन्दगीमा कहिल्यै हुने छैन । साइँला दाइसँगको भेटले मेरो दु:ख हराएको थियो । मेरा दु:खको दिन फेरि आउने भए,’ उनले भनिन्, ‘अब सूत्रबिनाको हिसाब मिल्दैन । उहाँ नहुँदा मेरो कोही छैन, केही छैनजस्तो लागेको छ ।’ २०६३ सालमा पहिलोपटक दमौली महोत्सवबाट भेडीखर्केसँग ठाडो भाका गाएपछि उनी यसमै तल्लीन छन् । 
भेडीखर्केका सारथि हुन् देवीबहादुर गुरुङ । उनी पनि ८५ वर्षका भए । ५० वर्षको यात्रामा भेडीखर्केलाई मादलमा साथ दिँदै आएका उनी सुखदु:खका साथी थिए । बेलायत बसेका भाइ धनबहादुर गुरुङको घरभाडा उठाएर देवीबहादुरले भेडीखर्के साइँलाको उपचार गराए । धनबहादुरकै सहयोगमा उपचार गराएपछि ३ वर्षअघि भेडीखर्के निको भएर गाउन सक्ने भएका थिए । सिम्पानीका गुमानसिंह भण्डारीलगायतको टोलीले अफगनिस्थानबाट आएर घरमै पुगी सहयोग गरेको थियो । ‘यसपालि हामी हार्‍यौं । दैवले जित्यो,’ देवीबहादुरले भने, ‘भेडीखर्केको निधनसँगै राष्ट्रको शिरको फूल खस्यो । अब छिपेर लगाउन मिल्दैन । ठाडो भाकाको जगेर्ना कसले गर्छ ?’ १ छोरा र ३ छोरी पिता भेडिखर्के परेवाडाँडाको घरमा पत्निसँग बस्थे । दमले च्याप्न थालेपछि सुन्दरबजारस्थित जेठीछोरी र ज्वाइँको घरमा बस्दै आएका थिए । ‘अहिले पनि बीर अस्पताल लगें । उहाँ बस्नै मान्नुभएन । उपचारका लागि राज्यले नहेरे पनि शुभचिन्तकबाट जुटाउने अठोट थियो,’ ज्वाइँ शमशेरबहादुर लौडारीले भने । 
भेडीखर्केले ठाडो भाकालाई जीवन्त बनाउन खोजे । धेरैलाई सिकाउन खोजे । गायन क्षेत्रमा उनले लिइरहने नाम राजु परियार र बिमाकुमारी दुरा हो । 
भेडीखर्के साइँलालाई जिउँदो छँदै उनको जन्मदिन भदौ २९ गते सरकारी तवरबाटै ठाडो भाका शिरोमणिको उपाधि दिलाउन ठाडो भाका लोककला प्रतिष्ठान लागिपरेको थयो । उनको निधनले त्यो सम्भव नभएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । उनलाई २०६५ माघ १८ गते हिमालचुली कला साहित्य प्रतिष्ठानले ‘ठाडो भाका गायन शिरोमणि’ उपाधि, २०६८ मंसिर १८ गते लमजुङ लोकसंस्कृति विकास केन्द्र काठमाडौंले ठाडो भाका ‘सम्राट्’ को उपाधि दिएको थियो । गत वर्ष उनले ५० हजार रुपैयाँ राशिको प्रतिभा राणा पुरस्कार पाएका थिए । नागरिकस्तरबाट अनेक उपमा र शुभचिन्तक संस्थाबाट धेरै पुरस्कार पाएका थिए उनले । पुरस्कार राशि सबै उपचारमा सकिएको छ । सरकारले भने उपचारमा कुनै खर्च गरेन ।
 २०३५ सालमा पहिलोपटक ठाडो भाका रेकर्ड गराउन भेडीखर्के रेडियो नेपाल पुगे । स्टुडियोमा चिनेको कोही नभएपछि उक्त भाका रेकर्ड हुन सकेन । २०५३ सालमा अल्ट्रासाउन्ड प्रालिले ‘मेरो सेरोफेरो’ नामक अडियो एल्बममा भेडीखर्के साइँलाको आवाजमा ठाडो भाका रेकर्ड गराएर बजारमा ल्यायो । प्रतिक्यासेट ३ रुपैयाँका दरले रोयल्टी दिने भनिए पनि उनले एउटा क्यासेटबाहेक केही पाएनन् । त्यसपछि पोखरास्थित लोककवि अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले ‘लमजुङे ठाडो भाका’ नाम दिएर एल्बम निकाल्यो । यसमा जोडी तनहुँकी ज्ञानमाया थापामगर थिइन् । प्रतिष्ठानले अडियो सीडी निकाल्नुका साथै भेडीखर्के र ज्ञानमायालाई सम्मान गर्‍यो । एक दशकअघि धनकुमारी तामाङले ‘धन’ एल्बम मा ठाडो भाकाको गीत समेटेकी थिइन् । 
***

वरपरका सत्यनारायण पूजा हुनेबित्तिकै उनलाई बोलाइहाल्थे । मेला, पूजापाठ भनेपछि ऊ पनि हुरुक्कै हुन्थे । लमजुङ मात्रै नभएर ठाडो भाका गाउन कास्की, स्याङ्जा, बागलुङ, पर्वत, म्याग्दी, गोरखा, धादिङ, तनहुँ सबै घुमेका छन् उनले । टाढाका ठाउँ महेन्द्रनगर, सुर्खेत, भैरहवा, काठमाडौंलगायत जिल्ला पनि पुगेका छन् । कसैले गाउन आग्रह गर्नेबित्तिकै उनी बाटोमा उभिएरै गीत गाउन पछि पर्दैनथे । उनीसँग फोटो खिच्नेको भीड हुन्थ्यो । गीत गाएर पैसा कमाएनन् । कुनै कार्यक्रममा बोलाउने आयोजकसँग उनले ‘यति दिनुपर्छ’ भनेर कहिल्यै भनेनन् । राति गीत गाएर फूल लगाइदिएबापत कमाएको पैसा घर ल्याउँथे, अनि दिनभरि काम गर्ने उनी । 
***

ठाडो भाका दुरा समुदायको लोकभाका हो । दुराको उद्गमस्थलका रूपमा लमजुङको दुराडाँडा क्षेत्रको सिन्दुरे, ठुलस्वाँरालगायतलाई चिनिन्छ । यसको मौलिक स्वादलाई जोगाइराख्न भेडीखर्के तल्लीन थिए । बिरामी परेपछि उनलाई आफूभन्दा ठाडो भाकाको चिन्ता हुन्थ्यो । ‘म मरेपछि यो गीत कसले गाउँछ, कसले जोगाउँछ ?’ भन्ने प्रश्न उनी बारम्बार सोध्थे । २ महिनाअघि मात्रै उनले भनेका थिए, ‘म मरे पनि ठाडो भाका नमरोस् ।’ हिजोआज केहीले ठाडो भाकालाई बंग्याएर वा थुप्रै धुन बजाएर ठाडभोका भनी गाएको सुन्दा उनी अचम्ममा परेका थिए, ‘यो त ठाडो भाका होइन । फिका फिका पो छ त ।’
भेडीखर्के बाहुनले पूजापाठ मात्रै होइन, गीत पनि गाउनुहुन्छ भनेर विद्रोह गरेका भेडीखर्केले छलिमाया श्रेष्ठसँग तेस्रो विवाह गरेका थिए । नेवारकी छोरीसँग विवाह गरेपछि उनले परिवारमा पनि संघर्ष गर्नुपरेको थियो ।

प्रकाशित : भाद्र ३१, २०७४ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?