जसले नेपालको जग बसाए

इतिहासको विद्यार्थीको नाताले म ठोकुवा गरेर भन्न चाहन्छु– पृथ्वीनारायण शाहको समयदेखि अहिलेसम्मको इतिहास केलाएर भन्ने हो भने उनले गोर्खा राज्यलाई विस्तार गरेर नेपाल राज्य निर्माणको थालनी नगरेका भए, अहिले हामी नेपाली भनेर रहने स्थिति हुने थिएन ।
तुलसीराम वैद्य

नेपालको इतिहासको अध्ययन गर्दै जाँदा धेरै व्यक्तिहरू महत्त्वपूर्ण पात्रका रूपमा अगाडि आउने गर्छन् । पहिले–पहिले राजा–महाराजहरूको मात्र इतिहास लेख्न चलन थियो । आजभोलि आम जनताको पनि इतिहास लेख्ने चलन सुरु भएको छ । जनताबाट पनि उत्तिकै महान् व्यक्ति अगाडि आइरहेका छन् ।

त्यसैले उनीहरूबारे पनि अध्ययन र अनुसन्धान गर्ने प्रवृत्ति सुरु भएको छ । तर पनि पृथ्वीनारायण शाहको कार्य र व्यक्तित्व नेपाली इतिहासमै महत्त्वपूर्ण छ । 

पृथ्वीनारायण शाहले आफ्नो सानो गोर्खा राज्यलाई विस्तार गर्ने कार्यबाटै अहिलेको बृहत् 
नेपाल राज्य निर्माण भएको हो । उनीपछाडि बुहारी राजेन्द्रलक्ष्मी, छोरा बहादुर शाह र अन्य 
बहादुर लडाकुहरूले गोर्खा राज्य विस्तार गर्ने काम क्रमिक रूपमा गरे । बहादुर शाहको पालामा त कुमाउँसम्म सिमाना पुगेको थियो । यसरी उनको पालामा बृहत् नेपाल तयार भएको थियो । पछि नेपाल राज्य पूर्वमा टिस्टा र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । 
युरोपेली इतिहासको अध्ययन र त्यसको विश्लेषण गर्दा पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गरेको सय वर्षपछि इटाली र जर्मनीमा त्यस्तै एकीकरणका कार्य भएको पाइन्छ । इटाली र जर्मनीको एकीकरण हुँदा त्यहाँ कति राज्य र क्षेत्र मिलेपछि त्यो पूरा हुने हो, त्यो तय थियो । नेपालबारे चर्चा गर्दा यो कहाँ कतिसम्म पुग्छ त ? कति भयो भने नेपाल एकीकरण भएको मानिन्छ ? यो प्रश्न टड्कारो थियो । नेपाल र अंग्रेजबीच युद्ध हुनुअगाडि नेपालको सिमाना पश्चिम धेरै टाढा पुगिसकेको थियो । 
इतिहासको विद्यार्थीको नाताले भन्नुपर्दा नेपालको सीमाक्षेत्र तय गर्न मगध सम्राट् समुद्रगुप्तको इलाहावादको शिलालेखको सहयोग लिनुपर्ने हुन्छ र यो ठीक पनि छ । समुद्रगुप्तलाई उत्तर भारतका सम्राट् भन्दा उपयुक्त हुन्छ । उनको शिलालेखमा आफ्नो देशको क्षेत्रबारे उल्लेख गर्दा उत्तरमा तीन राज्य रहेको भनिएको छ । ती हुन्— कामरूप, नेपाल र कर्तृपुर । त्यो अर्थमा नेपालको क्षेत्रफल कामरूप र कर्तृपुरको बीचमा थियो । कामरूप भन्दा आजभोलि आसाम, भुटान र सिक्किम आदि क्षेत्र हुन्छ । कर्तृपुर भन्दा कुमाउ–गढवाल बुझिन्छ । त्यो शिलापत्रअनुसार नेपाल भनेर यिनै दुई स्थानको बीचको भाग भन्ने बुझिन्छ । नेपालको सीमाबारे बुझ्न यो व्याख्या उपयुक्त छ र यसकै सहयोग लिनु उपयुक्त छ । पृथ्वीनारायण शाहले आफ्नो गोर्खा राज्य विस्तारका क्रममा यही क्षेत्र आफ्नो अधीनमा लिने कार्यको थाली गरे । उनले आफ्नो दिव्य उपदेशमा यसरी नै व्याख्या गर्ने प्रयास गरेका छन् । 
नेपालको इतिहासमा पृथ्वीनारायण शाहले दिएको योगदानबारे लेख्दा उनको राज्य विस्तार निकै ठूलो कामका रूपमा अगाडि आउने गर्छ । उनको समयमा गोर्खा सानो राज्य थियो । यो चौबीसे राज्यको एउटा भाग थियो । त्यति बेला यो चौबीसे राज्यको समूहमा पनि आत्मीयता थिएन । लमजुङबाट छुट्टिएर गोर्खा राज्य बनेको थियो । त्यसैले गोर्खा राज्यसँग धेरैको राम्रो सम्बन्ध थिएन । यस्तो स्थितिमा पनि पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तारको काम गरे । नेपालको अहिलेसम्मकै इतिहासमा यो सर्वाधिक महत्त्वपूर्ण काम हो । उनले यो काम नगरेको भए, अहिले नेपाल भन्ने देश रहने थिएन । नेपाल अहिलेको जस्तो स्वतन्त्र राज्य रहने थिएन । इतिहासको विद्यार्थीको नाताले म यो तथ्य ठोकुवा गरेर भन्न चाहन्छु ।
पृथ्वीनारायण शाहका कदमका सकारात्मक र नकारात्मक धेरै पक्ष छन् ।  राज्य विस्तारको अभियानका क्रममा कैयौं मानिस मारिए पनि । तर उनले राज्य विस्तार नगरेको भए के हुने थियो ? त्यो अनुमानको विषय हो । इतिहासका विद्यार्थीले निष्पक्ष रूपमा भन्न सक्नुपर्छ । उनको समयदेखि अहिलेसम्मको इतिहास केलाएर भन्ने हो भने पृथ्वीनारायण शाहले गोर्खा राज्यलाई विस्तार गरेर नेपाल राज्यको निर्माणको थालनी नगरेका भए, अहिले हामी नेपाली भनेर रहने स्थिति हुने थिएन । 
यहाँनिर त्यति बेला अंग्रेजहरूको एउटा नीतिबारे पनि उल्लेख गर्न आवश्यक छ । त्यसअनुसार अंग्रेजहरूले भारतमा आफ्नो साम्राज्य बनाउने क्रममा र त्यहाँका विभिन्न राज्य गाभ्दा उनीहरूको चाहना उत्तरमा चीनसँग झगडा गर्न नपरोस् भन्ने थियो । त्यो सोचाइअनुसार उत्तरतर्फका साना–साना राज्य सिक्किम, भुटान र कश्मीरलाई स्वतन्त्र राखौं भन्ने नीति तयार भएको थियो । यसलाई भारतमा उपलब्ध रहेका ऐतिहासिक तथ्यले पुष्टि गर्छन् । 
यता नेपालमा मुख्तियार भीमसेन थापाको समयमा बृहत् राज्य तयार भयो । पछि नेपाल–अंग्रेज युद्धपछि भएको सुगौली सन्धिपछि आधुनिक नेपालको आकार परिवर्तन भयो । जंगबहादुरको पालामा अहिलेका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पायौं । यसरी तयार भएको आधुनिक नेपालको निर्माणको थालनीको श्रेय कसैलाई जान्छ भने त्यो पृथ्वीनारायण शाहलाई नै जान्छ । पृथ्वीनारायण शाहको सबैभन्दा ठूलो योगदान नै यही हो । त्यसैले उनलाई नेपाल राष्ट्रका निर्माता भन्न सक्छौं । मैले आफ्नो जीवनमा गरेको अनुसन्धानको सार पनि यही हो । 

Yamaha

राज्य विस्तार कि एकीकरण ?
मानिसहरू बहस गर्छन्— उनले गोर्खा राज्यको विस्तार गरेका हुन् कि नेपाल राज्यको निर्माण ? म यस विषयलाई दोहोर्‍याएर उल्लेख गर्न चाहन्छु— निश्चित रूपमा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार गरेका हुन् । र उनको त्यही राज्य विस्तारको कामले नै नेपाल राज्य स्थापना भएको हो । यसै कारणले अहिले हामी नेपालीले मेचीदेखि महाकालीसम्मको सीमालाई आफ्नो देश भन्न सकेका छौं । र, गर्वले आफूलाई नेपाली भन्न पाएका छौं । 
इतिहासलाई वस्तुगत ढगले विश्लेषण गर्नुपर्छ । त्यो बेलादेखि अहिलेसम्म उपलब्ध तथ्यको आधारमा भन्ने हो भने पृथ्वीनारायण शाहकै कारण नेपाल राज्य बन्यो । उनले सुरुमा नेपाल राज्य बनाउँछु भनेर आफ्नो काम सुरु गरेका होइनन् । यो गोर्खा राज्यको विस्तार नै हो । गोर्खा राज्य विस्तारकै क्रममा पछि नेपाल राज्य बन्न गयो । यो कार्यको थालनी गरेकोमा पृथ्वीनारायण शाहलाई ठूलो श्रेय दिनुपर्छ । 
आश्चर्यको कुरा, त्यति बेला उनले नेपालको एकीकरण भनेका छैनन् । दिव्य उपदेशमा पनि एकीकरण शब्द उल्लेख छैन । पृथ्वीनारायण शाहले सामाजिक, सांस्कृतिक र राजनीतिक आदि 
पक्षहरूमा धेरै बोले, तर उनले नेपाल एकीकरण गर्न यस्तो काम गरें भनेर कहीं बोलेका छैनन् । दिव्य उपदेशमा बोलेको भए, त्यो अति राम्रो प्रमाण हुन सक्थ्यो । त्यसबाट पनि भन्न सकिन्छ— यो वास्तवमै गोर्खा राज्यको विस्तार हो, यही विस्तारकै क्रममा नसोचेको किसिमले पछि गएर नेपाल एकीकरण हुन गयो । 
सुरुमा गोर्खा राज्य विस्तारकै क्रमलाई नै गोर्खालीकरण भन्न थालियो । उनले कहीं पनि म नेपाली हुँ भनेका छैनन् । दिव्य उपदेशमा पृथ्वीनारायणले ‘तीन सहर नेपाल र नौलाख किरायत (किराती) र हिन्दुपति (सेनराज्य) आज्र्याथ्येउ’ भनेर बोलेको उल्लेख छ । यस ग्रन्थमा २२ पटक ‘नेपाल’ शब्द उल्लेख छ, तर यसले काठमाडौं उपत्यकालाई मात्र जनाउँछ, नेपाल राज्यलाई होइन । त्यसैले राज्यको नाम गोर्खा रह्यो । जनता गोर्खाली । चन्द्रशमेशरको पालामा बनाएको राष्ट्रिय गीतमै ‘हामी गोर्खाली भाइ साराले’ भनिएको छ । भाषा गोर्खा भनियो । तक्माको नाम ‘गोर्खा दक्षिणबाहु’ । सरकारले निकालेको पत्रिका पनि ‘गोर्खापत्र’ । जुद्धशमशेरले गोर्खाली शब्दको स्थानमा नेपाली लेखेका हुन् । गोर्खा राज्यका स्थानमा ‘नेपाल राज्य’ लेखिन थालेको जुद्धशमशेरकै पालामा हो । 
नेपाली इतिहासले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला व्यक्तित्व पृथ्वीनारायण शाह नै हुन् । नेपाल राज्य स्थापनाका लागि दिएको योगदानका आधारमा यो सत्य र वास्तविकता हो । 

शासकीय दूरदृष्टि
पृथ्वीनारायण शाहको अर्को महत्त्वपूर्ण योगदान उनले दिएका दिव्य उपदेश हुन् । राज्य कसरी चलाउने हो भनेर उनले दिएका उपदेशहरू अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी सबै अनुकरणीय 
छन् । उनको बिरामीका कारण आकस्मिक रूपमा निधन भयो र आफूले थालेका सबै काम पूरा गर्न सकेनन् । आफू गम्भीर रूपमा बिरामी भएपछि आफ्नो नजिकका मान्छेलाई बोलाएर इच्छाहरू व्यक्त गरे । यी नै उनका दिव्य उपदेश हुन् र यसै कारण उनलाई दूरदर्शी भन्न सक्छौं । 
उनले आफूले भनेका सबै उपदेश आफ्ना सन्तानलाई सुनाउनू पनि भनेका छन् । उपदेशअनुसार देश अगाडि बढाउनुपर्छ भनेका छन् । उनले तय गरेका नीति लागू गर्ने हो भने अहिले पनि त्यसले फाइदा मात्र गर्छ, बेफाइदा गर्दैन । उनले दिएका उपदेशमा सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक पक्ष सबै समेटिएका छन् । उनले भनेका छन्, नेपाल चार वर्ण र छत्तीस जातको फूलबारी हो । यो निकै राम्रो र उपयुक्त उपदेश हो । यसले यो ठूलो, यो सानो भन्ने हुन्न । एउटा फूलबारीमा जस्तै सबै समान छन् । 
उनले नेपाल आत्मनिर्भर हुनुपर्छ पनि भनेका छन् । आफ्नै देशमा बनेका कपडा लगाउनू भनेका छन् । आफ्नै देशको भयो भने आर्थिक स्थिति राम्रो हुन्छ, बाहिरको वस्तु धेरै उपयोग नगर्ने भनेका छन् । बाहिरका धेरै साहुमहाजनलाई देशमा भित्रिन नदिनू, चाहिएका एक दुई जनालाई मात्र प्रवेश गराउनू भनेर जोड दिएका छन् । उनले भनेका छन्, घूस दिने र लिने देशका महाशत्रु हुन् । यस्तो काम गर्नेको ज्यान लिँदा पनि पाप लाग्दैन भनेका छन् । यो पनि निकै उपयुक्त छ । 
यस्तै पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुंगाबीचको तरुल’ हो भने । नेपाल तरुलै हो, उत्तरमा चीन र दक्षिणमा भारत दुई ठूला देश छन् । हामी ठूला देशको बीचमा किच्चिन सक्छौं । यो विदेश नीतिका लागि उत्तिकै सान्दर्भिक छ । उनले जनता बलियो भए मात्र दरबार (सरकार) पनि बलियो हुने बताएका छन् । खालि दरबार मात्र धनी र सम्पन्न भयो भने मात्र केही हुन्न । जनता धनी हुनुपर्छ । 
आफ्नो राज्य विस्तार गर्नुअगाडि उनले बनारस गएर हतियार किन्न खोजे, तर आर्थिक अभाव झेले । यस्तो स्थितिमा उनले गोर्खाको हरेक घरबाट एक–एक रुपैयाँ उठाएका थिए । त्यसपछि मात्र उनले हतियार किन्न सके । यस्तै उनले न्यायनिसाफमा राजाले हेर्नुपर्छ, अन्याय गर्नु हुन्न भनेका छन् । उनले यो देश कम्ती दु:ख सहेर बनाएका होइनन् । 
पृथ्वीनारायण शाहले सुरुदेखि धेरै दु:ख गरे । कीर्तिपुरको युद्धकै क्रममा उनले झन्डै ज्यान गुमाउनुपरेको थियो । एक नेवार सिपाहीले धर्म भावनाले उनलाई मार्न दिएका थिएनन् । त्यति बेला राजालाई ईश्वर मानिन्थ्यो । 
राज्य विस्तारका क्रममा उनले निकै मिहिनेत गर्नुपरेको निश्चित हो । उनी आजको भाषामा भन्दा व्यवहारमा पनि लोकतन्त्रवादी थिए । त्यति बेलै पृथ्वीनारायण शाहले कालु पाँडेलाई अहिलेको प्रधानमन्त्रीजस्तो पदमा राख्न बैठक राखेका थिए । यसका लागि जनतासँग सल्लाह लिइएको थियो । अझ छिमेकीसँग पनि राय लिइएको थियो । उनको रोजाइ विराज बखती थिए, तर सबैले कालु पाँडे नै राम्रो भनेपछि पृथ्वीनारायण शाहले उनलाई नै प्रधानमन्त्री पदमा छाने । 

काम गर्दा भूल
काम गर्दा भूल हुने गर्छन् नै । कीर्तिपुरको पहिलो युद्ध नै खासमा भन्ने हो भने पृथ्वीनारायण शाहको भूल हो । उनले कीर्तिपुर आक्रमण गर्दै छ भनेर थाहा पाएपछि ललितपर, भक्तपुर र कान्तिपुरका राजाहरू मिलेर त्यसको रक्षा गर्ने नीति लिए । यो थाहा पाएपछि कालु पाण्डेले पृथ्वीनारायणलाई युद्ध नगर्ने सल्लाह दिए । तर यो सुनेर उल्टै पृथ्वीनारायण शाह रिसाए र कालु पाँडेलाई युद्धदेखि डराएको आरोप लगाए । आखिरमा त्यसै युद्धमा कालु पाँडे मारिए ।यही युद्धका क्रममा उनको आफ्नो ज्यान पनि जान लागेको थियो । 
उनले राज्य विस्तारका क्रममा केही स्थितिमा जबरजस्ती पनि गरेका छन् । जयन्त रानालाई छाला काढेर मार्नु कतिसम्म ठीक हो, यो पनि प्रश्न उठ्न सक्छ । पृथ्वीनारायण शाहले जयन्ती रानाप्रति जे गरे, त्यो ठीक थिएन । दरबारिया षड्यन्त्रकै कारण जयन्त रानाले गोर्खा छाडेर कान्तिपुरका राजा जयप्रकाश मल्लसँग मिल्नुपरेको थियो । यसै कारणले पृथ्वीनारायण शाहको आदेश नमान्ने हो भने यस्तो सजाय हुने त्रास पनि उत्पन्न भयो । 
कीर्तिपुरको लडाइँमा त्यहाँको जनताको नाक काटेको पनि भनिन्छ । यो अत्यन्त विवादास्पद 
विषय हो । यसमा दुई–तीन खाले भनाइ छन् । वंशावली र भारतमा रहेका ऐतिहासिक प्रमाणका अनुसार दोस्रो कीर्तिपुर युद्धका क्रममा पृथ्वीनारायण शाहका भाइको आँखामा वाण लागेको थियो । तेस्रो युद्धका बेला पृथ्वीनारायण शाहले निकै चलाखी गरे र यसै क्रममा उनले आफ्ना भाइलाई फेरि युद्धमा पठाए । त्यति बेला उनलाई देखेर कीर्तिपुरका जनताले अन्धो मान्छे आयो भनेर जिस्क्याए रे । त्यसैमा रिसाएर उनले कीर्तिपुरको जनताको नाक काट्ने आदेश दिए भनिन्छ । यो सुनेर पृथ्वीनारायण शाह आपैंmले भाइलाई गाली गरे पनि भनिन्छ । 
फेरि यो काम पृथ्वीनारायण शाहकै हो पनि भनिन्छ । यसअघिका युद्धमा बेहोरेको हारका कारण उनी रिसाएर यस्तो काम गरेको भनिन्छ, आपैंm मारिन लागेको र कालु पाँडेले पनि ज्यान गुमाएकाले । त्यति बेला उनलाई कान्तिपुर, ललितपुर र भक्तपुर अझै जित्नु थियो । त्यसैले ती राज्यमा डर उत्पन्न गराउन पनि पृथ्वीनारायण शाहले यो काम गरे भनिन्छ । 
केहीले कीर्तिपुरका सबै जनताको नाक काटिएको भन्छन् । तर मैले गरेको शोध कार्यको सिलसिलामा खोजी गर्दा थाहा पाएअनुसार सबैको होइन, केही खास–खास व्यक्तिको नाक भने काटिएको थियो । युद्धमा सक्रिय भएकाहरूको मात्रै नाक काटिएको थियो । यसबारे अझै तथ्य आउन बाँकी छ । यो कामले गोर्खाका शत्रु त्रसित भएको मानिन्छ । त्यसै कारणले कान्तिपुर र ललितपुरसँग गोर्खाले राज्य विस्तारका क्रममा युद्ध गर्नुपरेको थिएन । चाहे सीमित संख्याका कीर्तिपुरका जनताको होस् अथवा चाहे खास–खास व्यक्तिको होस्, नाक काटिएको भने हो । यो कामले अन्तत: पृथ्वीनारायण शाहलाई फाइदा पुगेको थियो । 
(लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति तथा त्रिभुवन विश्वविद्यालयका इतिहास विभागका पूर्वप्रमुख, वैद्यसँग गरिएको कुराकानीमा आधारित ।)

प्रकाशित : आश्विन ७, २०७४ १०:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT