जागरणकी अभियन्ता

लेखनाथ भण्डारी

महाराज छन् दरबारमा हेर्न आउँदैनन्दुखिजनले नीयाँ पाउँदैनन् ।जागिरदार लोभी छन् नियाँ हेर्दैनन्मर्नुपर्ने शरीर हो विचार गर्दैनन् ।

महाराज छन् दरबारमा हेर्न आउँदैनन्

दुखिजनले नीयाँ पाउँदैनन् ।
जागिरदार लोभी छन् नियाँ हेर्दैनन्
मर्नुपर्ने शरीर हो विचार गर्दैनन् ।
-योगमाया नेउपाने

Yamaha

करिब एक शताब्दीपहिले नेपालको सामाजिक सुधारको आन्दोलनको नेतृत्व नेपालको पूर्वी पहाडको ग्रामीण इलाकामा पर्ने नदीकिनारबाट एक विद्रोही महिलाले गरेकी थिइन् । उनले १९७० सालदेखि करिब २८ वर्ष पूर्वी नेपाल र काठमाडौँमा तत्कालीन राणा सरकारमा समेत ठूलै हलचल ल्याएकी थिइन् ।
१९२० सालको दशकमा भोजपुरको मजुवाबेंसीको ब्राह्मण परिवारमा जन्मेकी योगमायाको तत्कालीन सामाजिक प्रचलनअनुसार बाल्यकालमै विवाह भएको थियो । उनको बालविवाहपछिको जीवन सन्तोषजनक हुन सकेन । बाल बुहार्तन सहन नसकेर माइतीमा फर्केर जाँदासमेत उनले शान्तिपूर्वक जीवन निर्वाह गर्न पाइनन् । यसरी माइतीघरमा आफ्नै आमाबुवाले समेत सहज रूपमा स्वीकार गर्न नसकेको र सामाजिक उपेक्षा पाएका कारण उनमा तत्कालीन सामाजिक बेथिति र छोरीहरूमाथिको असमान व्यवहारका विरुद्ध विद्रोहको बीजारोपण भयो । सामाजिक तथा पारिवारिक होचो–अर्घेलो सहँदै माइतीको शरणमा बसेकी योगमायाले युवावस्थामा पुगेपछि आफ्नै खुसीले विवाह गरेर केही वर्ष भारतको असमको फूलबारी आसपासको क्षेत्रमा गएर बिताइन् र पुन: आफ्नै जन्मथलो फर्केर आइन् । तर फेरि पनि तत्कालीन समाजले उनलाई सम्मानजनक रूपमा स्वीकार गरेन ।
कुनै पनि समस्यासँग कसरी जुध्ने, त्यसको निकास कसरी खोज्ने भन्ने कुरा व्यक्तिविशेषको भोगाइमा निर्भर हुन्छ । बग्दै गरेको खोलाले आफ्नो निकास आफैँ पत्ता लगाउने गरेजस्तै योगमाया पनि आफ्नो जीवनका समस्या समाधानका लागि मुखर हुन थालिन्, जुन तत्कालीन समाजका अन्धपरम्परा र यथास्थितिका विरुद्ध जागरणको बिगुल थियो ।
आफ्नो पहलको सर्वस्वीकार्यताका लागि उनले आफूलाई बिस्तारै धार्मिक चरित्रमा ढाल्दै लागिन् । स्थानीय महिला, दलित र उपेक्षित समुदायमा उनी माता अर्थात् ठूली हजुर वा शक्तिमाताका नामले चिनिन थालिन् । उनले कठिन योगसाधना गर्न थालिन्, सामाजिक बेथिति, कुसंस्कार र अन्धपरम्पराका विरुद्ध धाराप्रवाह प्रवचन दिन थालिन् । उनका प्रवचनहरू कवितात्मक हुन्थे ।
तर, योगमाया धर्मप्रचारक वा धर्मगुरु भने थिइनन् । तत्कालीन समयमा समाजसुधारका लागि सामान्य मानिसहरूलाई मात्र नभएर सरकारको समेत ध्यानाकर्षण गराउन उनले आध्यात्मिक हिसाबले आफ्नो जागरण अभियानलाई अघि बढाउनुपरेको थियो । उनले जे विषयमा प्रवचन दिइन् र सरकारसँग पनि जेजस्ता माग राखिन्, ती धार्मिक थिएनन् । तर, यसका लागि उनले आफ्नो छवि धार्मिक–आध्यात्मिक नबनाएको भए उनले र उनका अनुयायीहरूले तत्कालीन सरकारबाट ठूलो क्षति बेहोर्नुपथ्र्यो । यद्यपि योगमायाको आन्दोलन अकण्टक चल्न सकेन, आफ्नै कारणले उनीहरूले भयंकर क्षतिलाई आत्मसात् गर्नुपर्‍यो । तर यो पनि राज्यसँगको विद्रोह नै थियो, शान्तिपूर्ण विद्रोह । राज्यले दबाउन नसकेको एउटा सत्याग्रहको दु:खद अवसान थियो त्यो ।
सामान्यतया योगमायाको वैयक्तिक जीवनका बारेमा विभिन्न सन्दर्भ र शोधहरूमा पनि धेरैपटक चर्चा भइसकेको छ, हुने गरेको छ । शान्तिपूर्ण र अहिंसात्मक यो विद्रोहको प्रभाव वा स्थान नेपालको समाजसुधारको आन्दोलनमा कस्तो रह्यो र यसले राष्ट्रनिर्माणमा कस्तो भूमिका खेल्यो भन्नेबारे भने कमै चर्चा हुने गरेको छ । कुनै पनि सामाजिक आन्दोलनको प्रभाव र परिणाम राजनीतिक वा अन्य आन्दोलनको जस्तो तत्कालै देखा पर्दैन । यसको प्रभाव र परिणाम देखा पर्न लामो समयसम्म कुर्नुपर्ने हुन सक्छ । योगमायाको विद्रोह पनि यस्तै नेपालको समग्र समाजसुधार आन्दोलनको प्रस्थानविन्दु थियो । तत्कालीन पुरुषप्रधान र यथास्थितिवादी समाजले सामाजिक रूपमा बहिष्कारमा समेत परेकी एउटी महिलाको आन्दोलनलाई स्वीकार गर्न चाहेन र त्यो सत्याग्रहलाई लामो समयसम्म ओझेलमा पारियो ।
तत्कालीन समयमा उनले उठाएका सुधारका मागहरू अहिले पनि सान्दर्भिक छन् । धनी र गरिबबीचको असमान लेनदेन, जातीय वा महिलाहरूमाथिको भेदभाव, जनताको समस्या समाधानमा राजा–महाराज (सत्ताधारी) हरूको उदासीनता, सरकारी कर्मचारीको काम छल्ने र घूस खाने प्रवृत्तिजस्ता विषय अहिले पनि उति नै ज्वलन्त छन् । योगमायाले यस्तै समस्या समाधानका लागि त्यस बेलाका राणा प्रधानमन्त्रीहरूलाई चिठी लेखिन् । चन्द्रशमशेर र जुद्धशमशेरसँग प्रत्यक्ष–अप्रत्यक्ष वार्ताहरू पनि गरिन् । राणा सरकारले ‘सत्य धर्म भिक्षा’ दिने अर्थात् उनका माग पूरा गर्ने कबोलसमेत गर्‍यो, सरकारी कामकाजको भाषामा ‘लालमोहर’ पनि लाग्यो, तर सरकारले यो कबोल लामो समयसम्म पूरा गरेन । फलस्वरूप योगमायाले सरकारलाई चेताउने अर्थात् दबाब दिने योजना बनाइन् । उनकै अगुवाइमा १९९५ सालमा करिब अढाई सय मानिसले सरकारलाई चेतावनी दिन अग्निदाह गर्ने भए । यो योजना थाहा पाएर सरकारले योगमायासहित एघार जनालाई पक्राउ गरी ६ महिनादेखि १८ महिनासम्म जेल तथा नजरबन्दमा पनि राख्यो । उनीहरूलाई ‘आफैं मर्नेछैनौं, मर्‍यौँ भने कानुनबमोजिम सहुँला’ भन्ने कागज गराई जेलमुक्त गरियो ।
तर त्यसपछि पनि उनीहरूका मागप्रति सरकारले बेवास्ता गरी नै रह्यो । सरकारलाई चेताउन १९९८ साल असार २१–२२ गते हरिशयनी एकादशीका दिन योगमायासमेत ६८ जनाले अरुण नदीमा हामफाले र जलसमाधि लिए । त्यसो गरेर उनीहरूले आफूले कबोल गरेको ‘सत्य धर्म भिक्षा’ प्रति सरकारले देखाएको उदासीनताप्रति विरोध जनाएका थिए । यति ठूलो शान्तिपूर्ण तथा अहिंसात्मक सत्याग्रह नेपाली समाजमा मात्र होइन, अन्यत्र नहुन पनि वा भए पनि कमै मात्र हुन सक्छ ।
७५ वर्षपहिले नेपालको पूर्वी पहाडमा भएको त्यस शान्तिपूर्ण तथा अहिंसात्मक विद्रोहको ज्वालाको प्रभावलाई तत्कालीन पुरुषप्रधान यथास्थितिवादी नेपाली समाज र सत्ताले स्वीकार नगर्नु स्वाभाविक थियो । पुख्र्यौली थलो अरब भएकी अमेरिकी समाजशास्त्री तथा पत्रकार बारबरा निम्री अजिज योगमाया एक अद्भुत साहसी र क्रान्तिकारी महिला भएको बताउँछिन् । सन् २००१ मा त्रिभुवन विश्वविद्यालय, नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) बाट प्रकाशित उनको ‘हेयर टु साइलेन्ट सङ : टु रेबेल वुमन अफ नेपाल’ पुस्तकमा योगमाया र उनका अनुयायीहरूको साहसिक कथा समेटिएको छ । संघर्षशील वीरांगना योगमायाको नेतृत्वमा गरिएको त्यति ठूलो आन्दोलन नेपाली इतिहासका पानाहरूबाट किन हटाइयो र त्यसको किन चर्चासम्म हुन पाएन ? अजिजले प्रश्न उठाएकी छन् । योगमायाको आन्दोलन अन्य कुनै सामाजिक परिवर्तनका आन्दोलनहरूभन्दा कमजोर वा पछाडि छैन । नेपाल मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी योगमायाको सामाजिक सुधारको आभियानबाट आफूलाई पनि प्रभाव परेको र प्रेरणा मिलेको बताउँछिन् । योगमायाको आन्दोलन र उनको जीवन अन्सारीका लागि हृदयदेखि नै प्रभावित पार्ने घटना पनि हो । योगमाया तत्कालीन समाजमा चेतनाको ज्योति हुन् । नेपालमा भएका शान्तिपूर्ण वा अहिंसात्मक सामाजिक सुधार वा राजनीतिक परिवर्तनका आन्दोलनहरूको इतिहासमा तुलनात्मक रूपमा यति ठूलो बलिदानको उदाहरण अर्को छैन । तर पनि किन यसलाई नेपाली इतिहासको मूलप्रवाहमा समेटिएन ? यो प्रश्न अझै पनि अनुत्तरित नै छ ।
आधा शताब्दीभन्दा लामो समयसम्म ओझेलमा परेको योगमायाको सामाजिक जागरणको आन्दोलन अब क्रमश: प्रकाशित हुँदै छ । नेपाल सरकारले योगमायाका नाममा हुलाक टिकट निकाल्नुका साथै राष्ट्रिय स्तरमा पुरस्कार पनि स्थापना गरेको छ । उनका नाममा आयुर्वेद विश्वविद्यालय स्थापनाको काम पनि अघि बढेको छ । उनको सत्कार्यको पहिचान र सम्मानका लागि र राज्यले स्वामित्व लिन पनि राष्ट्रिय स्तरमा वैज्ञानिक विधिसम्मत तथा प्राज्ञिक अध्ययन र अभिलेखनको पहल हुनु आवश्यक छ । योगमायाको समयमा सरकारी स्तरमा भएका पत्राचार, लालमोहर, जेलमा बन्दी बनाउँदा र छोड्दाका कागजात, उनका मागपत्र आदिको खोजी गर्नुपर्छ । बन्दी बनाइएका र जलसमाधिमा गएकाहरूको नाम पत्ता लगाएर तिनको सम्मान र सम्झनामा कुनै सार्वजनिक स्थलमा शिलालेख र स्मारक बनाएर राख्नुपर्छ । यसबाट भविष्यको पुस्ताले गाउँ, समाज र देशको हितमा लाग्न अन्तप्र्रेरणा पाउन सक्छ ।

प्रकाशित : आश्विन ७, २०७४ १०:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT