बहुमुखी व्यक्तित्व

चूडामणि बन्धु

२०६२–६३ सालको लोकतान्त्रिक आन्दोलनपछि नेपाली समाजको रूपान्तरणबारे चर्चापरिचर्चा चल्न थाल्यो र महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूको समय सान्दर्भिकताबारे पनि प्रश्न उठे— के देवकोटा र उनका कृति अहिले पनि सान्दर्भिक छन् ?

उनको जन्मशताब्दी पनि देशविदेशमा २०६६ को वर्षभरि नै मनाइँदा सभा, सम्मेलन, गोष्ठी, विशेषांक प्रकाशन, सम्मान र पुरस्कारको वितरणका कार्यकम सम्पन्न भए । विगत वर्षहरूमा उनका कृतिहरूको विभिन्न भाषामा अनुवाद गरियो, उनका कृतिका विभिन्न पक्षमा शोध प्रबन्धहरू तयार गरिए । उनका कृतिका विषयवस्तु र रूपरचनाबारे लेखहरू लेखिए । वैचारिक दृष्टिले देवकोटाका र उनका कृतिहरूको मूल्यांकन भयो । समीक्षकहरूले सुरुका देवकोटालाई रोमान्टिक भने, त्यसपछि उनी प्रगतिवादी भए अनि रोमान्टिक प्रगतिवादी कहलिए । केही समीक्षकले उनलाई नास्तिक भने, केहीले आस्तिक । केही समीक्षकले देवकोटाको मूल्यांकन माक्र्सवादी सिद्धान्तका आधारमा गरे । तर सबैले उनलाई मानवतावादी पाए । मानवतावाद उनका सिर्जनामा अनवरत रूपमा व्याप्त रहेको देखे ।

देवकोटा व्यक्तिका रूपमा प्रेरणाका स्रोत हुन् र उनका डोकाका डोका रचनाबाट केही छानिएका कृति वर्तमान युगका लागि पठनीय सामग्री हुन् । देवकोटाको व्यक्तित्वका कतिपय कुरा अनुकरणीय छन् र उनका कृतित्वका चुनिएका रचना पठनीय छन् । उनले समाजका हेपिएका, गरिब र दलितका पक्षमा बोले । उनले असमानता, अन्याय र अत्याचारका विरोधमा लेखे । उनले दासताका विरोधमा विद्रोह गरे र क्रान्तिका निम्ति जनतालाई उचाले । उनी आफ्नो प्राध्यापकको काम, परिवारको प्रेम, साथीभाइहरूको सम्मान सबै थोक छाडेर प्रजातन्त्र ल्याउनका लागि प्रवासतिर लागे । देवकोटाको त्यो त्याग अरूको भन्दा फरक खालको थियो । उनले देशका निम्ति त्याग गर्न सिकाए । केही जान्न र सिक्न विदेश जानुपरे पनि देश बनाउन आफ्नै देशमा फर्कनुपर्छ भन्ने उनको सोच थियो । उनले लेखे— ‘देशको सेवा घरैमा हुन्छ विशुद्ध मनले ।’ 
महाकवि देवकोटा (१९६६–२०१६) लाई बुझ्न उनकै समयमा जानुपर्छ । उनी नेपालमा त्यस बेला जन्मे जुन समयमा समाजमा परिवर्तन हुँदै थियो । राणा शासनमा जकडिएको समाज बिस्तारै स्वतन्त्र हुन खोज्दै थियो । भारतीय स्वतन्त्रता आन्दोलन, रूस र चीनमा भएका परिवर्तनले नेपालीहरूलाई पनि सचेत बनाएको थियो । काठमाडौँका सुशिक्षित ब्राह्मण परिवारमा जन्मेका देवकोटामा परम्परागत मूल्य र मान्यताको प्रभाव पर्नु पनि स्वाभाविकै थियो । उनले परम्परा र आधुनिकताको सम्मिश्रण गरे । आधुनिक शिक्षाका लागि त्यस बेलाको दरबार स्कुलमा प्रवेशिकाको अध्ययन गरी त्रिचन्द्र कलेजमा पुग्दा उनको ज्ञानमा निकै विस्तार भइसकेको थियो । अंग्रेजी स्वच्छन्दतावादी कविताको अध्ययनबाट प्रभावित देवकोटाले नेपाली कविताको अभ्यास गरिसकेका थिए । कानुनको अध्ययनका निम्ति भारतको पटनामा बस्दा उनले अझ थप ज्ञान र अनुभव बटुले । आधुनिक शिक्षाले समाजमा चिन्तन र चेतनाको विस्तार हुँदै थियो । नेपाली भाषामा पाठ्यसामग्री निर्माण गर्न र शासकहरूका लागि अवाञ्छित प्रकाशनको नियन्त्रण गर्न गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना भएको थियो र पछि त्यो नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तर भएको हो जहाँ देवकोटालगायत त्यस समयका विशिष्ट साहित्यकार साहित्य सिर्जना र अनुवाद कार्य अनि शब्दकोश निर्माणको अभ्यास गर्थे । 
अभ्यासकालका केही कविता र गीत प्रकाशित भए पनि देवकोटाको साहित्यिक जीवन १९९२ देखि ‘शारदा’ पत्रिकाको प्रकाशनका साथ सुरु भयो र २०१६ सम्म चल्यो । आधा शताब्दीको जीवन लिएर आएका महाकवि देवकोटाले एकचौथाइ शताब्दीकै अवधिमा नेपाली साहित्यलाई महाकाव्य, खण्डकाव्य, फुटकर कविता, निबन्ध, कथा, उपपन्यास र नाटकहरू दिए । उनले केही कृति अंग्रेजीमा अनुवाद गरे भने केही अंग्रेजीबाट नेपालीमा । 
महाकवि देवकोटाको जस्तो विलक्षण प्रतिभा भएको व्यक्ति नेपालमा अहिलेसम्म जन्मेको छैन । उनले दस दिनमा महाकाव्य, एक दिनमा खण्डकाव्य र पटक–पटक तत्क्षण कविता लेखिदिएर ‘बिजुली कवि’ को उपाधि पाएका थिए । कसैको आग्रह र अनुरोधमा तत्काल कविता रचेर चकित पार्ने आशुकवि देवकोटाले एकपटक कविता लेखेपछि त्यसलाई फर्केर हेरेनन्, परिष्कार गरेनन् भन्ने कतिको सोचाइ छ । तर उनले २०१० देखि १३ सालसम्म केही कविताको सम्पादन आफैँले गरी परिष्कार पनि गरेका छन्, खास गरी ‘लक्ष्मी कवितासंग्रह’ का कवितामा । 
आफ्नै जीवनकालमा नेपाली साहित्यलाई देवकोटाले उत्कृष्ट महाकाव्य, खण्डकाव्य र कविताहरू दिए । अनि उनले उत्तिकै राम्रा निबन्धहरू दिए । उनका कविता र निबन्धहरू उनकै समयका सुन्दर रचना थिए । लेखनाथ पौडयाल र बालकृष्ण समसमेत भएको उनको समय नेपाली साहित्यको स्वर्णयुग थियो । उनका सिर्जना नपाएको भए नेपाली साहित्य यत्ति माथि उठ्ने थिएन । 
देवकोटालाई धेरैले विद्रोही कविका रूपमा चित्रित गरेका छन् । हुन पनि उनका काव्यकवितामा विद्रोहको चर्को स्वर सुनिन्छ । उदाहरणका रूपमा धोबिनी चरीको स्वरमा उनी भन्छन्—
अब्रण कवि झैँ युग यो टटोली !
मुटु अब गाउँछ जीवन होली, 
तर्स मदेखिन्, पर सर केही !
आगो भयो अब नांगो देही ! 
बोल्छु फिलिंगो, 
हेर्दछु ज्वाला
के भो के भो आज मलाई 

सुगन्ध निस्क्यो माटो खोली ! (धोबिनीले पगली बोली, झ) 
२०६० को दशकमा क्रान्ति गर्नेहरूले भन्दा अझ बढी नै देवकोटाले आफ्ना कविता, नाटक, निबन्ध र कथाका माध्यमबाट क्रान्तिको उद्बोधन गरेका थिए । नेपाली समाजमा जागरण र परिवर्तनको आवश्यकता देखाएका थिए र आफैँ पनि प्रजातन्त्र संग्राममा होमिएका थिए । 
महाकवि देवकोटा कविका रूपका चिनिए, अझ महाकविका रूमा । महाकाव्य लेखेका कारण मात्र उनी महाकवि भएका होइनन् । खण्डकाव्य र कविता मात्र लेखेर पनि आफ्ना उत्कृष्ट रचनाका कारणले व्यक्ति महाकवि हुन सक्छ । उनी महाकवि भएका हुन् ‘गरीब’, ‘यात्री’, ‘पागल’ जस्ता कविता, ‘मुनामदन’ जस्तो झ्याउरे गीतिकाव्य र ‘प्रमिथस’ जस्तो महाकाव्य लेखेर । यस्ता कालजयी कृतिका माध्यमबाट उनले मुख्य रूपमा मानवताको सन्देश दिएका छन् । 
महाकवि देवकोटा महान् कविका साथै महान् व्यक्ति पनि हुन् । मान्छे आफ्ना लागि होइन, अरूका लागि गरेका कामबाटै महान् हुन्छ । देवकोटाले आफ्ना कृतिका माध्यमबाट नेपाली समाजमा मानवीय गुणहरूको विस्तार गरे । सहयोग, प्रेम, सद्भाव र करुणाका भावनाहरूको विस्तार गर्ने माध्यम नै साहित्य हो, जसको अन्तिम लक्ष्य हो सुसंस्कृत र शान्तिपूर्ण समाजको परिनिर्माण । 
देवकोटाले जीवनमा अनेक कष्ट सहे । दिन रात ट्युसनको चक्र चलाउँदा बिरामी पनि भए । तर जस्तै अभावमा र बिरामी हुँदा पनि उनले लेख्न भने छाडेनन् । उनी धेरैका आदरणीय गुरु बने र आफ्ना चेलाहरूका निम्ति जीवनोपयोगी शिक्षा दिए । उनको मूल शिक्षा थियो— जीवनको लक्ष्य बनाऊ र त्यसको प्राप्तिका लागि कर्म गर । उद्देश्य नलिई अघि बढ्न सकिन्न । तर ‘उद्देश्य के लिनु ?’ उनले नै भने— ‘उडी छुनु चन्द्र एक’ । 
 देवकोटाको परिश्रम गर्ने बानीले हामी सबैलाई ‘कर्म गर, अल्छी भएर नबस’ भन्ने शिक्षा दिन्छ । उनले ‘मुनामदन’ को अन्त्यमा भनेका छन्— ‘कर्ममै पूज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद’ । उनले प्रश्नोत्तरमा कर्मलाई पसिना भने । उनले संसारमा मान्छेले गर्ने सबभन्दा ठूलो कुरो के हो भनी प्रश्न गरे— ‘के हो ठुलो जगतमा ?’ अनि आफैँले उत्तर दिए— ‘पसीना विवेक’ ।
पसिना परिश्रमको परिणाम हो । परिश्रम उन्नतिको आधार हो । यही कर्म हो । कर्मजस्तो ठूलो कुरा संसारमा केही छैन । कर्म नै प्रगतिको आधार हो, समुन्नतिको सोपान हो । तर मानिसका निम्ति विवेक पनि त्यत्तिकै महत्त्वको कुरो हो । विवेक भनेको असल र खराब छुट्याउन सक्ने क्षमता अर्थात् बुद्धि हो । बुद्धिमान् व्यक्ति विवेकी हुन्छ । उसले साँचो र झूटो, उचित र अनुचित, न्याय र अन्याय छुट्याउन सक्छ । पसिना मात्रै चुहाएर पनि हुँदैन, विवेक मात्र सँगालेर पनि हुँदैन । मानिसका निम्ति संसारमा ठूलो कुरा पसिनाका साथ सँगालेको विवेक नै हो । देवकोटाको यो सन्देश सबैका लागि र सधैँका लागि हो । 
देवकोटा विश्वलाई नेपालको परिचय दिन चाहन्थे । यसै कारण उनले आफ्ना र अन्य कविका कवितालाई अंग्रेजीमा अनुवाद गरे । उनले अंग्रेजीमै पनि कविता, लेखहरू र महाकाव्यसमेत लेखे । यसरी नेपाली साहित्यलाई बाहिरी संसारसँग परिचित गराउने काममा पनि देवकोटाले लेखेर अनि अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाषण दिएर बाहिरी दुनियाँलाई नेपाली साहित्य र नेपालको परिचय दिए । 
आफ्ना समयका प्रखर बुद्धिजीवी देवकोटाले साहित्यिक गोष्ठीहरूमा श्रोतालाई मन्त्रमुग्ध पार्थे । उनका कुरा सुन्न थालेपछि मान्छेहरू समय बितेको पत्तै पाउँदैनथे । उनी नभएको सभा र समारोह खल्लो हुन्थ्यो । उनले काव्य प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना र संवद्र्धन गर्ने योजनाहरू बनाए । यी संस्थाहरूको जग हाल्ने काममा उनको उपस्थिति र योगदानमा नेपालको सुन्दर भविष्यको परिकल्पना थियो । उनले ‘सुन्दर, शान्त र विशाल’ नेपालको चिनारी दिए । २०१५ मा भएको तासकन्द सम्मेलनमा उनले आफ्नो जीवनको ओजस्वी भाषण दिए— ‘हाम्रा हिमाली नदीहरू आफ्नै नागबेलीका फन्कामा हराई जान सक्दैनन् । तिनको ताक एसिया र अफ्रिकावरिपरिको समुद्र हुनुपर्छ, जहाँ तिनीहरू विलीन पनि हुन सक्छन् र जहाँबाट तिनको शिर वर्षेर पनि आउन सक्छ । यहाँ हामीहरू परस्पर परिचयका लागि सम्मिलित छौँ र प्रत्येक राष्ट्रले यहाँ केही दिनु छ र धेरै लिएर जानु छ । हृदयले हृदयलाई बोलाउँछ, ध्वनिले प्रतिध्वनि गुल्जार गर्दछ र सब एक भेल भै हामी उठेर भविष्यलाई सन्देश दिन सक्छौँ ।’
सम्मेलनपछि उनले रूसमा उपचार गराउँदा लेखेका कवितालाई रूसी विदुषी आगानिनाले संघर्षशील र तिक्खर अनि जीवन र देशवासीका बारेमा लेखिएको कविता भनी प्रशंसा गरेकी छन् । तर देशको शान र साहित्यकारको मान राखेर भर्खरै उपचार गरी फर्केका देवकोटालाई कम्युनिस्टमा लागेको भनी ससाना निहुँमा नौ महिनासम्म भत्ता रोकेर उनलाई मृत्युशय्यातिर धकेलियो । 
देवकोटा मानवतावादी थिए । मान्छेले मान्छेलाई मान्छे नगनेको देखेर उनी दु:खित हुन्थे । उनी गरिब र उसको मिहिनेतको पसिनालाई प्रेम गर्थे । उनी मानवसेवा नै ईश्वरसेवा हो भन्थे । सनातनदेखि चली आएको जातपातको विभेद गर्ने समाजमा उच्च जात मानिने ब्राह्मण परिवारमा जन्मेका देवकोटाले वर्णव्यवस्थाको विरोध गरे र भने— ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ । देवकोटा बालबालिकालाई साह्रै माया गर्थे । 
नेपाली भाषामा महाकाव्यको अभाव देखेर उनी महाकाव्यको सिर्जनामा लागे, बाल साहित्यको अभाव देखेर बालकविताको रचना गरे । २००० तिर नेपाली भाषा प्रकाशिनी समितिमा लेखकका रूपमा काम गर्दा उनले विविध विधामा लेखेर नेपाली साहित्यको विकास गर्ने योजना बनाएको कुरा उनको एउटा टिपोटले पनि देखाउँछ । विभिन्न रसका कविता लेख्ने देवकोटाले व्यंग्य कविता लेखेर सामाजिक विकृति, विषमता र विरोधाभासहरूको अभिव्यक्ति दिन थाले । ‘पागल,’ ‘गैँडोपासना’ र ‘उद्बोधन’ उनका केही यस्ता कविता हुन् । 
प्रतिभाशाली र बहुमुखी व्यक्तित्वका कारण महाकवि देवकोटा अरू साहित्यकारभन्दा फरक छन् र उनी अहिलेका बालबालिका, युवायुवती र प्रौढहरूका लागि पनि प्रेरणाका स्रोत छन् । उनको व्यक्तित्व सबैका लागि र सधैका लागि प्रेरणादायक छ । उनका शास्त्रीय छन्द, लोक छन्द र आधुनिक गद्य शैलीमा लेखिएका कविता–काव्यहरू, नाटकहरू, आख्यान र निबन्धहरू अहिलेका लागि पनि सान्दर्भिक छन् ।

Yamaha

प्रकाशित : आश्विन ७, २०७४ ११:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT