कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इतिहासका ‘स्कुल’

राजेश गौतम

नेपालको इतिहास लेखनको क्षेत्रलाई धेरै अगाडि बढाउने व्यक्तिको नाम हो— नयराज पन्त । नयराज गुरु नभएका भए नेपाली इतिहास लेखनको अवस्था के हुन्थ्यो, यसै भन्न सकिन्न । उनी नभएका भए सायदै अरू कुनै व्यक्तिले इतिहासका तथ्यहरू खोजी त्रुटि सच्चाउने थिए ।

 इतिहासका ‘स्कुल’

नयराजले नेपाली इतिहास लेखनका त्रुटिहरू सच्याउने परिपाटी बसाले । उनको ‘स्कुलिङ’ मा हुर्किएकाहरूले त्रुटि सच्याउनेदेखि इतिहास लेखनका काम निरन्तर गरिरहेका छन् ।

नयराजको जन्म १९७० साउन २६ मा काठमाडौंमा भएको हो । उनी कृष्णदत्त पन्तका छोरा हुन् । इतिहासमा उनको लगाव मावली बाजे भुवननाथ पाण्डेको संगतका कारण भएको हो । किनकि उनी धेरै समय मावलीमै बसे । मावली बाजे भुवननाथ उनलाई पुराना घटनाहरू सुनाउँथे । त्यसैबाट आफू इतिहासतिर लहसिएको नयराज सुनाउने गर्थे । शिक्षाचाहिँ भाषा पाठशालामा १९७७ देखि १९७८ सम्म लिए । त्यसपछि १९८४ मा गएर रानीपोखरी संस्कृत पाठशालामा पढे । त्यसपछिको उनको अरू सम्पूर्ण शिक्षा बनारसमा भयो । नेपाल फर्केपछि १९९७ मा नेपाली भाषा प्रकाशिनी समितिमा जागिर खाए । १९९९ मा नेपाली भाषा प्रकाशिनी समितिको सदस्य भए । २०३६ देखि २०५० सम्म उनी प्रज्ञा प्रतिष्ठानको सदस्य भए । 
नयराजलाई २०४३ मा ‘लिच्छवि संवत्को निर्णय’ का लागि मदन पुरस्कार दिइयो । उनको योगदानको कदर गर्दै २०५७ मा उनलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो । २०५९ कात्तिकमा ९० वर्षको उमेरमा उनको निधन भयो । 
खासगरी बनारस बस्दा नेपालसम्बन्धी अभिलेख अनुसन्धान गरी भारतीय विद्वान्हरूले जुन किसिमबाट नेपालको इतिहास व्याख्या–अपव्याख्या गरेका थिए, त्यसबाट उनी चिन्तित भए । उनले बनारसमै सच्याएर सही इतिहास लेख्नुपर्छ भन्ने अठोट लिए । काठमाडौं फर्केपछि आफ्नै घरमा गुरुकुल शिक्षा पद्धति सुरु गरे । यो पद्धति सुरु गरिसकेपछि विद्यार्थीहरू संस्कृत, गणित र ज्योतिष शिक्षा पढ्न उनको आँगनमा जम्मा हुन थाले, जहाँ करिब २२–२३ जना विद्यार्थी हुन्थे । विद्यार्थीलाई इतिहाससम्बन्धी ज्ञान दिनुपर्छ भन्ने दृष्टिकोण राखेर उनले १९९६ देखि त्यससम्बन्धी पठनपाठन सुरु गरे । 
त्यतिखेर केही नेपाली विद्वान्ले इतिहासका किताबहरू लेखिसकेका थिए । भारतीय विद्वान्हरूले त अगाडिदेखि नै यो काममा लागिसकेका थिए । त्यसैले यी किताबहरूमा देखिएका त्रुटिहरूलाई संशोधन गर्नुपर्छ र त्यसलाई बदल्नुपर्छ भनेर उनले १९९६ देखि नै संशोधन कार्य सुरु गरे । प्रारम्भमा यो काम असफल भयो । तर उनले अध्ययनको क्रम छाडेनन् । उनले इतिहास अध्ययन गर्ने, इतिहास लेख्ने, विद्यार्थीलाई शिक्षा दिने काम सुचारु राखे । १३ वर्षपछि २००९ मा फेरि यो काम थाले । आफ्ना २१ विद्यार्थीलाई पनि संलग्न गराएर संशोधन पद्धतिको सुरुआत गरे । २००९ देखि ‘इतिहास संशोधनका पत्रहरू’ प्रकाशनमा आए । ६८ पत्र प्रकाशन भएपछि यो बन्द हुन पुग्यो । 
यसबीच २०१६ देखि ‘इतिहास सावधानपत्र’ उनको इतिहास संशोधन मण्डलबाट निस्कन थालेको थियो । यो समूहले ‘अभिलेख संग्रह’ पत्रिकाको प्रकाशन गर्न थाल्यो । ‘अभिलेख संग्रह’ त्रैमासिक थियो, १२ अंक निस्किएपछि त्यो पत्रिका पनि बन्द भयो ।
इतिहास संशोधन मण्डलको विधिवत् दर्ताचाहिँ २०२० मा भयो । त्योभन्दा अघि इतिहास संशोधन मण्डलका नाममा कुनै पनि गतिविधि भएको थिएन । ती पत्रहरू व्यक्तिविशेषका नाममा निस्केका थिए, जसमा तिनै २१ विद्यार्थी संलग्न थिए । उनीहरू विषयवस्तु संकलन गर्थे, टिप्पणी गर्थे र छाप्थे । इतिहास संशोधन मण्डलको नामकरण भइसकेपछि पनि ‘इतिहास संशोधनका पत्र’ हरूचाहिँ क्रमिक रूपमा निस्किरहे, त्यसैगरी ‘सावधानपत्र’ हरू पनि निस्किरहे । यसरी टुक्राटाक्री मात्र निकालेर हुँदैन भनी उनीहरूले २०२१ मा पहिलोपल्ट इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ को प्रकाशन शुरु गरे । यो पत्रिका अझसम्म निरन्तर निस्किरहेको छ । ‘पूर्णिमा’ को इतिहास हेर्दा सयौं अंकसम्म धेरै मात्रामा इतिहासलाई महत्त्व दिइन्थ्यो । क्रमिक रूपमा यो बिस्तारै ज्योतिषप्रधान पत्रिका भएर प्रकाशित हुन थाल्यो । ज्योतिषकेन्द्रित भएपछि ‘पूर्णिमा’ पत्रिकाको महत्त्व त्यही रूपमा रहेको पाइँदैन । 
सुरुमा ‘पूर्णिमा’ पत्रिका निकाल्दा यसका नौ जना सम्पादक थिए— रामजी तिवारी, देवीप्रसाद, भोलानाथ, शंकरमान राजवंशी, धनवज्र, गौतमवज्र, महेशराज, नयनाथ पौडेल र दिनेशराज । यतिखेर महेशराज र दिनेशराज मात्र छन् । संशोधन मण्डलको सोचाइअनुरूप अघि बढ्न नसकेकाले संलग्न व्यक्तिहरू क्रमिक रुपमा बाहिरिए । संशोधन मण्डल स्थापना गर्दा ‘इतिहास संशोधनको उद्देश्य देशको शुद्ध र सर्वांगीण इतिहास निर्माण गर्दै जानु हो, कसैको मान या अपमान गर्नु होइन’ भन्ने उल्लेख थियो । तर संशोधन मण्डलको कार्यपद्धति क्रमिक रूपबाट हेर्दै जाने हो भने इतिहासका गलत तथ्यहरू संशोधनभन्दा पनि व्यक्तिगत आरोप–प्रत्यारोप बढी हुन थाल्यो ।
संशोधन मण्डल छाड्ने व्यक्तिका पनि आ–आफ्ना धारणा छन् । धनवज्रले त प्रस्टै रूपमा दिनेशराज र नयराजहरूको जुन आलोचना गर्ने प्रवृत्ति हो, त्यो प्रवृत्ति राम्रो नभएको अभिव्यक्ति दिए । ज्ञानमणि नेपालको पनि आफ्नै किसिमको धारणा छ । 
संशोधन मण्डलको एउटा प्रमुख योगदान भनेको के हो भने, यसले त्यसअघि प्रकाशित पुस्तकका त्रुटिहरू सच्याउने काम गर्‍यो । खासगरी बालचन्द्र शर्मा, अम्बिकाप्रसाद उपाध्याय, रूद्रराज पाण्डे, भैरवबहादुर प्रधान, ईश्वरराज अर्याल, केशरबहादुर केसी, काशीप्रसाद श्रीवास्तव, सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी आदिले लखेका कतिपय तथ्य गलत हुन् भनी उनीहरूले आलोचना गरेको पाइन्छ । यसरी अर्काको टिप्पणी गर्दागर्दै पनि संशोधन मण्डलले एउटा राम्रो पद्धति के बसाल्यो भने, आफ्नै पनि संशोधन गर्न हिच्किचाएन । उसले नयराजले लेखेकै किताबको पनि संशोधन प्रस्तुत गरेको पाइन्छ । 
निश्चित रूपमा नेपालमा इतिहास धेरैले लेखे । भारतीय लेखकहरूले पनि नेपालको इतिहास लेखे । आरोप–प्रत्यारोपको सवाललाई एकातिर राख्ने हो भने, इतिहास लेखनमा देखिएका त्रुटि औंल्याउन र सच्याउन संशोधन मण्डलले ठूलो भूमिका खेलेको पाइन्छ । चाहे त्यो किताब बालचन्द्र शर्माले लेखेकै किन नहोस्, चाहे अम्बिकाप्रसाद उपाध्याय र डिल्लीरमण रेग्मीले लेखेकै किन नहोस्, तिनमा भएका त्रुटिहरू सप्रमाण ‘पूर्णिमा’ मा प्रकाशित भएको देखिन्छ । धेरै विद्वान्ले भनेका छन्— ‘नेपालमा इतिहासको क्षेत्रमा यदि कसैलाई विश्वास गर्नुपर्छ भने इतिहास संशोधन मण्डललाई गर्नुपर्छ ।’ विदेशी विद्वान्हरूको धारणा पनि त्यस्तै छ । सिल्भा लेवी, लियो ई रोज, पेट्रिकले यस्तै धारणा प्रस्तुत गरेका छन् । इतिहासका क्षेत्रमा संशोधन मण्डलले जुन तरिकाले आलोचना गर्‍यो, खालि त्यसमा मात्रै कतिले आलोचना गरेका हुन्, त्रुटि सच्याउने सवालमा होइन । त्यसैले नेपालको इतिहासमा संशोधन मण्डलको सकारात्मक स्थान छ ।
इतिहासका क्षेत्रमा नयराज पन्त एउटा ‘स्कुलिङ’ को सुरुआत गर्न सफल भए । जस्तो : युरोपतिर जर्मन इतिहासकार लियोपोल्ड वोन र्‍याङ्कीको आफ्नो स्कुल छ । भारतमा पनि ‘लेफ्ट’ हरूको आफ्नै स्कुलिङ छ भने ‘डेमोक्रेटिक’ हरूको पनि आफ्नै । नयराजले त्यस्ता किसिमका राजनीतिक विचारहरू प्रस्तुत नगरे पनि उनका क्रियाकलाप हेर्दा आफ्नै किसिमको ‘स्कुलिङ’ खडा गर्न खोजेको देखिन्छ । उनले नेपालमा प्रारम्भमा इतिहासबारे केही थाहै नभएका, चासो नभएका विद्यार्थीलाई जम्मा गरेर जसरी इतिहासतिर ढल्काउँदै लगेर अनुसन्धान गर्न प्रेरित गरे, त्यसबाट यसैको पुष्टि हुन्छ । ज्ञानमणि नेपाल, धनवज्र, रामजी तिवारी, शंकरमान राजवंशी, गौतमवज्र वज्राचार्य उनकै ‘स्कुलिङ’ का प्रोडक्ट हुन् । तिनीहरूमध्ये केहीले कैयौं ऐतिहासिक तथ्य केलाउँदै पद्धतिमै आधारित भएर कलम चलाइरहेकै छन् । 
इतिहास लेखनको पद्धति सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी एवं नयराज पन्तको एउटै हो । किनभने ज्ञवाली र रेग्मीहरूले पनि अनुसन्धान गरेरै लेखेका हुन् । यद्यपि संशोधन मण्डलले तिनलाई आफूहरूले खोजेका विषय चोरेर अंग्रेजीमा अनुवाद गरी प्रकाशित गरेको आरोप लगाएको छ । त्यसलाई विश्वास गर्ने आधार भने छैनन् । किनभने रेग्मी त्यति तल्लो स्तरका विद्वान् होइनन् । नेपालको इतिहास लेखनका क्षेत्रमा रेग्मी जस्ता व्यक्तिलाई अथवा धनवज्रजस्ता व्यक्तिलाई अथवा केशरबहादुरजस्ता व्यक्तिलाई जुन किसिमले संशोधन मण्डलले आलोचना गर्‍यो, त्यही रूपबाट स्विकार्नुपर्छ भन्ने छैन । यसको अर्थ रेग्मी ठूला हुन्, संशोधन मण्डलचाहिँ होइन भन्ने दृष्टिकोण पनि होइन मेरो । नेपालको इतिहास लेखनका क्षेत्रमा संशोधन मण्डलको जुन किसिमको भूमिका छ, त्यसलाई कसैले नकार्न सक्दैन । यति हुँदाहुँदै अन्य विद्वान्ले गरेका काम केही पनि होइनन् भन्ने संशोधन मण्डलको दृष्टिकोणसँग पनि सहमति जनाउन सकिँदैन ।
संशोधन मण्डलबाट ‘पूर्णिमा’ पत्रिकाबाहेक अन्य महत्त्वपूर्ण किताबहरू पनि प्रकाशित भएका छन् । उनीहरूबाट व्याकरण संशोधन पनि भयो । पञ्चांग संशोधनका थुप्रै किताब छन् । कौटिल्य अर्थशास्त्रको ऐतिहासिक व्याख्या भयो । दिनेशराजले लेखेका गोर्खाको पाँच भागको इतिहासमा धेरै परिवर्तन छ । त्योभन्दा अगाडि निस्केका तथ्यहरू धेरै खण्डन र परिमार्जन गरिएको छ । आधुनिक इतिहासका क्षेत्रमा भन्दा बढी मध्यकालीन र प्राचीन इतिहासका क्षेत्रमा उनीहरूको बढी भूमिका रहेको देखिन्छ । नेपालको प्राचीन र मध्यकालीन इतिहास बाहिरका व्यक्तिहरूले लेखेको पाइँदैन । केही हदसम्म भारतीय लेखकहरूले लेखेका छन्, बेलायतीहरूले लेखेका छैनन् । हुन त, सिल्भा लेवीले पछिल्लो चरणमा आएर प्राचीन र मध्यकालीन नेपालमा हात हालेको देखिन्छ । 
हामीले ‘सावधानपत्र’ मात्र हेर्‍यौं भने पनि नयराज पन्त र उनका विद्यार्थीले कैयौं तथ्य सच्याएको पाउँछौं । इतिहासकारहरूले महीन्द्र मल्लका १२–१३ श्रीमती थिए भनेका थिए । त्यसमा खोजी गरी उनीहरूले दुइटी मात्रै पत्नी रहेको तथ्य बाहिर ल्याए । त्यस्तै कैयौं इतिहासकारले रानीलाई आमाका रूपमा र आमालाई रानीका रूपमा प्रस्तुत गरेको पाइन्छ । त्यसलाई पनि उनीहरूले संशोधन गरी सही जानकारी बाहिर ल्याए । कतिपयले संशोधन मण्डललाई केवल तथ्यतथ्यांकमा अल्झिएको मान्छन् । तर, इतिहास लेखनका लागि तथ्य नखोजी पनि हुन्न । त्यो तथ्यलाई हेर्ने दृष्टिकोणचाहिँ फरक हुन सक्छ । प्रामाणिक रूपमा घटना राखिदिनु नै महत्त्वपूर्ण हो । त्यसमा व्याख्या गर्ने काम पाठकको हो । घटनाबारे व्याख्या गर्ने आधार पनि आ–आफ्नै प्रकृतिको हुन्छ । कसैको चरित्रमाथि जुन किसिमले नांगो टिप्पणी गर्ने प्रवृत्ति छ, त्यसलाई चाहिँ स्विकार्न सकिन्न । 

प्रकाशित : आश्विन ७, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?